राष्ट्रिय सभा चुनावको विद्रूप प्रहसन
"When a clown moves into a palace he doesn't become a king, the place becomes a circus."
–टर्किस भनाइ
राजनीतिबाट नीति हराएपछि के हुन्छ ? जनताका सेवा गर्ने बाचा कसम खाएर राजनीतिमा होमिएका र शासन गर्ने अवसर पाएका शासकहरुमा जनताको सेवा हैन, शासन गर्ने महात्त्वाकांक्षा पलाएपछि के हुन्छ ? त्यो हेर्न अहिले राष्ट्रिय सभाको निर्वाचनको नाममा भइरहेको विद्रूप प्रहसनलाई हेरे पुग्छ । यस्तो लाग्छ, नेपालका राजनीति पार्टीहरुबाट नीति भन्ने कुरा लोप भएको छ, उनीहरुमा जसरी भए पनि राज गर्ने दुर्भिलाषा पलाएको छ र उनीहरु कुनै पनि हालतमा सत्ताको सिंहासनमा जसरी भए पनि आसीन भइरहने रोगले ग्रसित भएका छन् ।
संविधानवादको आलोकमा हेर्ने हो भने राष्ट्रिय सभा गठनको अन्तर्य भनेको नियन्त्रण र सन्तुलन, शक्तिको बाँडफाँड र प्रजातान्त्रिक वैधानिकताका लागि हो । यसले तल्लो सदनमा अधिकारको असीमित रहन दिँदैन, त्यसलाई निरंकुशताको दिशातिर बढ्न अङ्कुश लगाउँछ । यसले समावेशिताको सिद्धान्तमा सवै जात, वर्ग, धर्म, लिङ्ग, क्षेत्र, समूहको प्रतिनिधित्वको सुनिश्चितता गर्छ र विषयविज्ञहरुको सहभागिताले तल्लो सदनबाट पारित भएर आएका ऐन कानूनहरुका कमी कमजोरीहरुलाई केलाएर तिनलाई संशोधन गर्ने गराउने काम गरी तिनलाई सन्तुलित र वस्तुनिष्ठ बनाउन भूमिका निर्वाह गर्ने गर्छ ।
संघीय संसदको महत्त्वपूर्ण हिस्साको रुपमा संविधानले परिकल्पना गरेको उच्च र मर्यादित संवैधानिक निकाय हो– राष्ट्रिय सभा । तर नेपालको परिदृश्यमा हेर्दा राष्ट्रिय सभा तल्लो सदनको चुनावमा हारेकाहरुलाई थान्को लगाउने, उनीहरुको राजनीतिलाई तुष्टिकरण गरिदिने थलोको रुपमा रुपान्तरण हुँदै गइरहेको प्रतित हुन्छ ।
राष्ट्रिय सभाको रिक्त भएको १९ पदहरुमा अहिले राष्ट्रिय राजनीतिमा नाम कमाएका तर अघिल्लो चुनावमा हार व्यहोरेका कृष्ण सिटौलाको उम्मेदवारी त्यसैको एउटा भद्दा नमूना हो । राष्ट्रपतिद्वारा राष्ट्रिय सभामा दुर्गा पौडेलको मनोनयन पनि त्यस्तै अर्को नमूना हो । उनीहरु अहिलेको सन्दर्भमा त्यस्ता केही नमूना पात्र मात्र हुन् र यो उनीहरुको हकमा मात्र पहिलो पटक भइरहेको होइन । यसअघि पनि चुनावको मैदानमा जनमतले तिरस्कार गरेकाहरुलाई चोरबाटोबाट राष्ट्रिय सभामा हालका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, वामदेव गौतमहरुलाई ससम्मान लैजाने नकाम भइसकेका कुरा हुन् । चुनाव हारेका माधव नेपाललाई टिपेर नेपालको प्रधानमन्त्री बन्ने अवसर प्रदान गरिएको विगतको इतिहास पनि छ ।
चुनाव हारेकाहरुलाई जसरी पनि सत्ताको सिंहासनमा लैजानै पर्ने यो चर्तिकलाको एउटै अन्तर्य के हो भने, दलहरुले राजनीतिक मर्यादा र नैतिकता गुमाएका छन्, दलहरु विवेकहीन बनेका छन् । जसरी भए पनि सत्तामा पुग्नै पर्ने र त्यहाँ टिकिबस्नका लागि पवित्र–अपवित्र गठबन्धन गर्नै पर्ने बाध्यताले नेपालका राजनीतिक दलहरु योग्य–अयोग्य पात्रहरुलाई स्वीकार्न र अघि सार्न अभिशप्त देखिन्छन् । उनीहरुको यो चर्तिकलाले राजनीतिको मञ्चमा उनीहरुको रजगजलाई क्षणिक आयु त प्रदान गर्ला तर त्यसले माथि शुरुमा उल्लेख गरिएको टर्कीस भनाइ 'जोकर दरवारमा पुग्दैमा ऊ राजा भइहाल्दैन, बरु दरवारलाई चाहिँ सर्कसमा परिणत गरिदिन्छ' लाई नै व्यहारमा चरितार्थ गर्ने काम गरिरहेका छन् ।
प्रतिक्रिया