अक्कासे ज्योतिषी

एकादेशमा एकजना ज्योतिषी थियो । उसलाई आकाशका एक एक ताराबारे जानकारी थियो ।बढी जानकारीका लागि त्यो ज्योतिषी दिनरात आकाशतिर मात्रै हेरिहन्थ्यो । ताराबाहेक उसको मनमस्तिष्कमा अरु केही हुँदैनथ्यो । जहिले हेर्दा पनि तिनै ताराहरु गनिरहेको देखिन्थ्यो ।

मान्छेहरु उसलाई तारा–हेरुवा माहिलो भन्थे ।

मानिसहरु जहाँ जेसुकै भनून्, उसलाई त्यसको वास्ता थिएन । कसैले ताराका विषयमा कुरा गर्यो कि ऊ कान ठाडा पारेर सुन्थ्यो । ऊ ताराकै विषयमा मात्र कुरा गर्न मन पराउँथ्यो । कति मानिस त उसले गरेका कुरा पनि बुझ्दैनथे । ऊ चलाख थियो तर साह्रै एकोहोरो ।

एकरातको कुरा हो, कालो विशाल ...जस्तो आकाशमा लाखौं ताराहरु ठाउँठाउँमा चमचम चम्किरहेका थिए । तारा–हेरुवा दङ्ग परेर अकाशतिर हेर्दै चउरमा अगाडि बढिरहेको थियो । हिँड्दै जाँदा चउर सकियो । चउरको छेउमा गहिरो खाडल थियो । तारा–हेरुवा त्यही खाडलमा गर्लम्म पर्यो । उफ्रेर बाहिर निस्कन खोज्यो, सकेन ।

“बचाऊ बचाऊ !” तारा–हेरुवा आत्तिएर चिच्यायो, “म खाडलमा परें, मलाई बाहिर निकालिदेऊ !”

एकजना बटुवाले आवाज सुन्यो । खाडलको डिलमा गयो, हात दिएर ताराहेरुवालाई तान्यो र खाडलबाट बाहिर निकाल्यो ।

“यस्तै हो दाइ !” लाजले रातो अनुहार बनाइरहेका तारा–हेरुवातिर हेर्दै बटुवाले भन्यो, “तपाईं जहिले पनि आकाशतिर मात्रै हेर्नुहुन्छ, तारातिरै मात्र हेर्नुहुन्छ, तपाई धर्तीतिर किन हेर्नुहुन्न, बाटोतिर किन हेर्नुहुन्न, खाडलतिर किन हेर्नुहुन्न ? तपाईं त ठूलो ज्योतिषी हुनुहुन्छ । आकाश र ताराबारे थुप्रै ज्ञान कमाउनु भएको होला, तर बस्न त पृथ्वीमै  परेको छ र हिँड्न पनि यहीँ परेको छ, तपाईंलाई यसैको बारेमा चाहिँ थाहा छैन । यो तरिका ठीक हो त ? जीवन बाहिरका ठूला ठूला कुराहरु थाहा हुनु जीवनभित्रका साना कुरा पनि थाहा नहुनु राम्रो हो त ? यसो गर्नु राम्रै हो भने तपाईं यसरी खाडलमा नपर्नुपर्ने । हैन र ?”

बटुवाको कुरा सुनेर तारा–हेरुवा जिल्ल पर्यो । लाजले रातो भएको उसको अनुहार झनै रातो भयो ।