मृत्यु

धेरैअघि एक साँझ

चराहरू निन्याउरा भएर हाँगातिर

बसिरहेको बेला

घरका समस्याहरूले पिल्सिएर

आफै पनि झोंक्रिएर बसिरहेकी बेला

मलाई एउटा कविता लेख्न मन लागेको थियो,

मृत्यु अभिशाप हो,

मृत्यु विसंगति हो,

मृत्यु जीवनको अन्त हो भनेर ।

 

मृत्युको कुरालाई धर्मग्रन्थहरूबाट

जस्ताको तस्तै ग्रहण गरेकी छु मैले

तथापि मसँग मृत्युको केही आलो व्यथा छ,

जीवनको विकराल दुःखहरूबाट तर्सेर

एकपल्ट मैले मृत्युको पछ्यौरीमा

मुख लुकाउने दुष्प्रयास गरेकी छु

तथापि मसँग मृत्युको केही साक्षात कथा छ ।

 

भट्मास दिएर नून साट्न आएकी साँघुरो भिरालो बाटोमा

पेटभरि आहार नभएर बाङ्गोटिङ्गो हिँडिरहेकी,

एउटी गरीब आमाको थुन्सेबाट

आँत सुकेको बालख छोरो अरल्लिएर रूँदा

फुत्केर कालीको बौलाहा छालमा खस्यो,

उसको मृत्यु भयो

ज्वरोको धङधङीमै ठालुले जोताको

एउटा निर्धो तन्देरी

रूखको हाँगा काट्दा–काट्दै

असन्तुलित भएर भुइँमा खस्यो,

उसको मृत्यु भयो,

रक्सी खाएर रङ साइडतिर हाँकिरहेको

महानगरको एउटा सफेदपोशले

एउटा झुम्रे रिक्सावालालाई

हाकाहाकी चेप्ट्याएर मार्‍यो

उसको मृत्यु भयो,

अझ थुप्रै–थुप्रै सामूहिक मृत्युहरू भए

खान नपाउनेहरूको,

दुई पाइलो जग्गा माग्नेहरूको

अब मसँग मृत्युको त्यो पुरानो परिभाषा छैन,

 

आज मलाई फेरि एउटा कविता लेख्न मन लागेको छ

मृत्यु विसंगति होइन,

मृत्यु जीवनको अन्त होइन भनेर

मृत्यु त शहीद भएर रातो झण्डाभित्र सुरक्षित

भीडहरूबीच हिँड्दोरहेछ

मृत्युको अर्को नाउँ बलिदान रहेछ,

मृत्यु बाँच्दारहेछन्

जिउँदाहरूको मानसमा सम्झना भएर

अन्यायमा परेर मरेका मृत्युहरू

डरलाग्दा आक्रोश भएर जुर्मुराउँदारहेछन्

प्रतिशोध भएर जताजतै फुँकार गरी हिँड्दारहेछन्,

कहाँ मर्दारहेछन् र मृत्युहरू

मृत्यु त संगठन भएर

अँगालोहरूतिर बाँधिदारहेछन्

नारा भएर भित्ताहरूतिर लिपिँदारहेछन्

पर्चा भएर हातभरि छरिँदारहेछन्

कहाँ मर्दारहेछन् र

भोका किसान र जिउँदै डढ्ने सुकुम्बासीका मृत्युहरू

उनीहरूको मृत्यु त

संघर्ष गर्न तम्तयार आएको

विशाल–विशाल जुलूशमा हिँड्ने संघर्षकारीहरूको

पाखुरी–पाखुरीमा,

मुट्ठी–मुट्ठीमा,

कसम भएर,

अठोट भएर,

प्रतीज्ञा भएर,

ज्यूँदै–ज्यूँदै जाग्दारहेछन्, बल्झिँदारहेछन्

मृत्यु त संगीन भएर

वर्ग शत्रुको छातीतिर तेर्सिंदारहेछन्

बन्दुक भएर पड्किँदारहेछन् ।

चित्र सौजन्य: राजन काफ्ले

कविता साभार : बैंसालु वर्तमान, पहिलो संस्करण– २०५० (नेपाल साहित्य गुठी, काठमाडौं),  दोस्रो संस्करण– २०५४ (निर्माण प्रकाशन, सिक्किम)