सम्झनाको क्यानभासमा कोरिएका स्वनाम साथीको नमेटिने चित्र

सम्झनाको क्यानभासमा दिवंगत स्वनाम साथी अर्थात् अधिकांशका प्रिय ‘सोनाम दाइ’को चित्र उतार्न खोज्दा मेरो मानसपलटमा कोरिने विम्ब मोटामोटी यस्तो बन्छः दीर्घरोगले गालेको कृशकाय शरीर, लामाे  र तिलचामले तर मिलाएर पछाडितिर बानेको कपाल, सामान्य पहिरन, मधुरो तर दृढ आवाज अनि सबैभन्दा प्रभावित पार्ने कुरा– पहिलो भेटेमै पनि वर्षौंको परिचय रहेसरह अत्यन्तै आत्मीय र मित्रवत व्यवहार । यस्तो सहृदयी व्यक्तित्व, जसलाई पहिलो पटक भेट्दा पनि यो पटक्कै अनुभूति हुँदैन– म त्यस्तो एउटा व्यक्तित्वलाई भेट्दैछु, जसले आफूले अंगालेका विचार सिद्धान्तप्रतिको अटुट निष्ठालाई व्यवहारमै रुपान्तरण गर्ने सचेत–इमान्दार प्रयत्न गर्दै आए र  आफ्नो बेदाग चरित्रका कारण नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा एक उदाहरणीय र अनुकरणीय सुपात्रको रुपमा आफूलाई स्थापित गरे ।

हो, म तिनै ‘सन्त स्वभाव’ का स्वनाम साथीप्रतिका आफ्ना अनुभूति र संस्मरणलाई अक्षरहरुका माध्यमबाट अभिव्यक्त गर्ने कोशिश गर्दैछु ।

स्वनाम साथीसँगको मेरो सङ्गत–भौतिक भेटघाट विछट्टै बाक्लो होइन, यो मेरो निसंकोच आत्मस्वीकारोक्ति हो । तर यो स्वीकार्न मलाई रक्तिभर पनि संकोच छैन– मैले भेट्ने अवसर प्राप्त गरेका थुप्रै मानिसहरुमध्ये स्वनाम साथी पनि एक हुन्, जससँगको भौतिक भेटघाट अत्यन्तै कम रहे पनि सम्बन्धका आयाममा म तिनलाई अत्यन्तै निकट र आफूलाई अति प्रभावित गर्ने सीमित व्यक्तित्वहरुमध्येका एक ठान्छु । भौतिक रुपमा उनीसँगको मेरो सम्पर्क भेटघाट नगण्य नै भने पनि फरक पर्दैन । तर त्यही नगण्य भेटघाटले छाडेको छाप वर्षौंको सान्निध्यतामा प्राप्त हुने प्रभावभन्दा बढी नै मेरो मनमस्तिष्कमा अमीट रुपमा गढेर रहेको छ । 

भिन्न समयहरुमा प्राप्त टुक्रे जानकारीहरुलाई एक ठाउँमा उन्दा मेरो मानसपलटमा स्वनाम साथीको एउटा रोमाञ्चक विम्ब छापिएको थियो । खासगरी, उनले अङ्गालेका वामपन्थी विचार तथा त्यसलाई व्यवहारिक रुपमै लागू गर्न खोजेका अभ्यासहरुले ममा एउटा आदर्श पात्रको छवि निर्माण भएको थियो, अनि उनीप्रति एक किसिमको कौतुकता र आकर्षण पैदा गरेको थियो ।

स्वनाम साथीसँग मेरो सम्बन्ध जोड्ने सेतु वामपन्थी विचारधाराप्रतिको मेरो झुकाव नै रह्यो । भौतिक रुपमा भेटघाट हुनुभन्दा धेरै वर्षपहिले नै स्वनाम साथीका बारेमा पढ्ने, बुझ्ने र जान्ने अवसर मलाई प्राप्त भएको थियो । भिन्न समयहरुमा प्राप्त टुक्रे जानकारीहरुलाई एक ठाउँमा उन्दा मेरो मानसपलटमा स्वनाम साथीको एउटा रोमाञ्चक विम्ब छापिएको थियो । खासगरी, उनले अङ्गालेका वामपन्थी विचार तथा त्यसलाई व्यवहारिक रुपमै लागू गर्न खोजेका अभ्यासहरुले ममा एउटा आदर्श पात्रको छवि निर्माण भएको थियो, अनि उनीप्रति एक किसिमको कौतुकता र आकर्षण पैदा गरेको थियो ।

स्वनाम साथीका बारेमा पहिलो पटक मैले वि.सं. २०४६ सालको जनआन्दोलनपछि सुनेको थिएँ । तत्कालीन संरचना साप्ताहिकलाई नयाँ ढंगले अगाडि बढाउने सोचका साथ तयार भएको हाम्रो टीममा वामपन्थमा झुकाव राख्ने केही उत्साही साथीहरु जुटेका थियौं । त्यसबेला हाम्रो अल्लारे मनमा नेपाली कम्युनिष्ट आन्दोलन तथा विश्व कम्युनिष्ट आन्दोलनका इतिहास, तिनमा देखापरेका प्रवृत्ति र उतारचढावहरु अनि नेतृत्वका बारेमा व्यवस्थिति अध्ययन गरिनुपर्ने भन्ने ‘नयाँ जोगीवाला’ जोशजाँगर पैदा भएको थियो । त्यसअनुसार हामीले अध्ययनलाई अघि बढाउने प्रयत्नको थालनी गरेका थियौं ।  त्यसकार्यमा हाम्रो उत्प्रेरणाका मुख्य स्रोत सहकर्मी मित्र (हाल दिवंगत) डीआर लामिछाने थिए । त्यसबाहेक, पत्रकार प्रेम कैदी, प्राध्यापक माणिकलाल श्रेष्ठ, वामपन्थी नेताहरु शम्भुराम श्रेष्ठ, तुल्सीलाल अमात्य, कृष्णदास श्रेष्ठ लगायतका व्यक्तित्वहरुबाट समेत हामीलाई हौसला–उत्प्रेरणा र मार्गदर्शन प्राप्त हुने गथ्र्यो । सोही सिलसिलामा सहकर्मी लामिछानेबाट नै पहिलो पटक रुपलाल विश्वकर्मा, सोनाम साथी तथा उहाँहरुले नेतृत्व गर्नुभएको सर्वहारा श्रमिक संगठनका बारेमा पनि जानकारी प्राप्त भएको थियो र उक्त संगठनका केही दस्तावेजहरुसमेत अध्ययन गर्ने अवसर जुरेको थियो । पछि २०५१ सालतिर मूल्यांकन मासिकसँग मेरो पत्रकारिता यात्रा जोडिएपछि त त्यो जानकारी थप घनीभूत भयो ।

विभिन्न माध्यमहरुबाट जानकारी हासिल भएका उनका व्यक्तित्वको वर्णन र चरित्रचित्रण गर्ने ती कुराहरु रहस्य, रोमाञ्च र स्वैरकल्पनाले भरिएका आदर्श–कथाभन्दा कम लाग्दैन थिए ।

२०४६ सालको परिवर्तनको सेरोफेरोमा राजनीतिक चेतना अलि परिपक्व हुने अवसर पाएका मेरा पुस्ताले अनुभूत गरेको नमीठो प्रवृत्तिमध्ये राजनीतिक नेतृत्वमा देखिएको साँस्कृतिक–चारित्रिक विचलन हो, तिनमा देखिएको कथनी र करनीबीचको ठूलो खाडल पनि हो ।  राजनीतिक परिवर्तनमा सहभागी तथा तिनको नेतृत्व गरेको राजनीतिक नेतृत्वको एउटा ठूलो हिस्सामा पनि हिजोका कुलीन वर्गहरुमा शिरदेखि पाउसम्मै लपक्कै भिजेको पाइने व्यक्तिगत मानप्रतिष्ठा तथा निजी सम्पत्ति जोहोको ‘अगस्ति क्षुधा’ निक्कै डरलाग्दो गरेर पलाएको देखिन्छ । त्यो क्षुधा शान्तिका लागि परिवर्तनकारी ठानिएका–भनिएकाहरुबीच नै एकअर्कालाई उछिन्ने गरी लिगलिगे दौड लामो समयदेखि जारी छ । त्यस्तो बेलामा ठीक विपरीत चरित्र बोकेका र व्यवहारमा आफूलाई त्यसअनुसार ढाल्ने कोशिश गरिरहेका स्वनाम साथीका बारेमा पढ्न–जान्न पाउँदा स्वभाविक रुपमा अनौठो र रोमाञ्चकारी त लाग्ने नै भयो । विभिन्न माध्यमहरुबाट जानकारी हासिल भएका उनका व्यक्तित्वको वर्णन र चरित्रचित्रण गर्ने ती कुराहरु रहस्य, रोमाञ्च र स्वैरकल्पनाले भरिएका आदर्श–कथाभन्दा कम लाग्दैन थिए । खासगरी, जन्मँदै मुखमा सुनको चम्चा राख्ने हैसियतका एउटा धनी परिवारमा हुर्केका शशि शेरचन मार्क्सवाद–लेनिनवादको सिद्धान्त र आदर्शलाई व्यवहारमा उतार्न कसरी ‘तन्नम सर्वहारा’ स्वनाम साथी बने, उनले आफूलाई तद्अनुरुप रुपान्तरण गरे, त्यसलाई बोली र आदर्शमा मात्रै हैन, व्यवहारमै उतार्नका लागि के कस्ता भगीरथी प्रयत्न र कोशिशहरु गरे भन्ने कुरा पढ्दा–सुन्दा गज्जब लाग्थ्यो । शारीरिक रुपमा कुनै पनि बेला डङग्रङ्ग ढलिहाल्न सक्ने खालका दीर्घरोगी तर आदर्श र सिद्धान्तका पक्षमा सतिशाल जस्ता खडा भएर त्यसलाई व्यवहारमा उतार्न निरन्तर इमान्दार कोशिश गरिरहेका एक आदर्श पात्रको विम्बको रुपमा सोनाम साथीको छवि मेरो मानसपलटमा कोरिएको थियो । कम्युनिष्ट आदर्श, सिद्धान्त र नीतिका कुराहरुलाई तोत्रझैँ जप्ने तर व्यवहारमा व्यक्तिगत तुष्टिकरणका लागि बागमतीमा लगेर बगाइदिने थुप्रै कम्युनिष्ट नेताहरुको चरित्रले यतिखेर नेपाली कम्युनिष्ट आन्दोलनलाई वर्णशंकर तुल्याइदिएको छ । समाजका चुसीखानेहरुलाई निमिट्यान्न पारेर खटीखानेहरुको उत्थान गर्ने ध्येयका साथ अघि बढेको नेपाली कम्युनिष्ट आन्दोलनमा यतिखेर स्वयं आन्दोलनका हर्ताकर्ताहरु नै चुसीखाने वर्गमा बर्गेल्ती परिणत भएको विद्रूप दृश्य हामीसामु खडा छ । यस्तो स्थितिमाझ  आफूले  अंगालेको र विश्वास गरेका कम्युनिष्ट सिद्धान्त–आदर्शलाई व्यवहारमा उतार्न र व्यक्तिगत जीवनमा लागू गर्न इमान्दार कोशिश गरिरहेका सोनाम साथी मेरा लागि मिथकीय पात्र भन्दा कम रहेनन् । त्यसैको परिणति उनका बारेमा थप जान्ने कौतुकता र उनीप्रति नजानिँदो आकर्षण धेरै वर्ष पहिलेदेखि नै पैदा भएको हो । तथापि आफ्नै शिकाररुपना–अल्लारेपना र अल्पज्ञानले पैदा गरेको भयानक उदासिनताका कारण उनीसँग भेटघाटको सचेत प्रयत्न र जोहो भने हुन सकेन ।

कम्युनिष्ट आदर्श, सिद्धान्त र नीतिका कुराहरुलाई तोत्रझैँ जप्ने तर व्यवहारमा व्यक्तिगत तुष्टिकरणका लागि बागमतीमा लगेर बगाइदिने थुप्रै कम्युनिष्ट नेताहरुको चरित्रले यतिखेर नेपाली कम्युनिष्ट आन्दोलनलाई वर्णशंकर तुल्याइदिएको छ ।

स्वनाम साथीसँगको भेटघाटको संयोग शारदारमण नेपालले जुराइदिनुभएको थियो । २०७६ को वैशाख महिना । त्यसताका अनलाइन पत्रकारितामा सक्रिय मैले रातोपाटीको कार्यकारी सम्पादकको भूमिका निर्वाह गरिरहेको थिएँ । मैले २०४५–४६ सालदेखि चिनेको, जानेको र बुझेको र आदर्शको रुपमा लिएको आदरणीय शारदा सरले एक दिन मलाई फोनमा भन्नुभयो– लौ न चन्द्रजी, एक पटक सोनाम साथीसँग यसो भेटघाट–कुराकानी गरौं, उनको विचार रातोपाटीमा छापौं । एउटा आदर्श पात्रको रुपमा मानसपटलमा विम्ब कोरिएका सोनाम साथीको विचारलाई छाप्नु नपर्ने कुनै कारण नै थिएन । त्यसैले शारदा सरको प्रस्तावलाई स्वीकार्न रत्तिभर पनि समय लगाइनँ । तत्कालै उहाँसँग फोनमार्फत् समय मिलाइयो । कुराकानीको विषय मैले ‘कम्युनिष्ट संस्कार र चरित्र’बारे रोजें । निर्धारित दिनमा त्यसबेला सहकर्मीका रुपमा कार्यरत प्रशिक्षार्थी सुनिता न्यौपानेलाई साथ लिएर सामाखुसीस्थित सोनाम साथीको निवासतिर लाग्यौं । गोंगबु चोकबाट शारदा सरलाई पनि हामीले साथ लियौं ।

भौतिक रुपमा उनीसँगको भेटघाट पहिलो पटक हुँदैथियो तर मेरा लागि उनका अनुहार अपरिचत भने अवश्य पनि थिएन । खासगरी, पछिल्ला चरणमा विविध समसामयिक सवालहरु, अझ विशेषतः कालापानी लिपुलेक अनि एमसिसिको सवालमा उनको ‘युवा जोश’ सहितका सक्रियता निक्कै लोभलाग्दो थियो । उनका पहलकदमी र गतिविधिहरु छापा तथा विद्युतीय सञ्चार माध्यमहरुले प्राथमिकताका साथ समेटिरहेका थिए । त्यसैले, प्रत्यक्ष परिचय र संवादको मौका नजुरे पनि सञ्चारमाध्यममा छापिएका उनका विचार र तस्विरहरुबाट उनका भौतिक काया तथा पछिल्ला विचार–गतिविधिबारे म पूर्णतः परिचित थिएँ । त्यसमाथि थप, उनका बारे पढे–सुनेका कुराहरुले उनीबारे एउटा आदर्श विम्ब मेरो मानसपलटमा पहिल्यै कोरिइसकेको थियो ।

त्यसो त साथीभाइमाझ कम्युनिष्ट आन्दोलनको बारेमा चर्चा परिचर्चा गर्दा र प्रसंगवश स्वनाम साथीका बारेमा कुरा चल्दा यदाकदा मनमा सयंश पनि जन्मने गथ्र्यो– के साँच्चै नै उनी जस्ता आदर्श पात्र यथार्थमा होलान् त ? सुखद संयोगको कुरा, जब भौतिक रुपमा सोनाम साथीसँगको भेटघाटको संयोग जुर्यो, मेरा सयंशहरु पानीका फोका जस्तै विलाएर गए । पहिलो पटकको भौतिक भेटघाट मै  उनी त मेरो सोचाइको स्वनाम साथीभन्दा पनि सरल र आदर्श पात्रको रुपमा अनुभूत भयो । पहिलो भेटमै दह्रो मुठ्ठीका साथ अभिवादन गर्दै उनले भनेको शब्द ‘ल चन्द्र साथी, आउनुहोस्, स्वागत छ’ ले मनमा आनन्ददायी खुसीका तरंगहरु झंकृत गरिदियो । 

पूर्वीय दर्शन–मीमांसालाई निषेध गरेर विरोधमा उत्रने ‘परम्परागत कम्युनिष्ट बुझाइ’का विपरीत तिनमा समेत सकारात्मकताको खोजी गर्ने र तिनलाई कम्युनिष्ट दर्शन र सिद्धान्तको व्यहारिक अभ्यासको कोणबाट जोड्न सक्ने स्वनाम साथीको खुबीले मलाई प्रभावित तुल्याएकै हो ।

कतै पढेको थिएँ– नकारात्मकता र सकारात्मकताको जम्मा संयोग मानव सभ्यता–जीवनको अनिवार्य हिस्सा हो । यस अर्थमा पक्कै पनि स्वनाम साथीमा पनि नकारात्मकता र सकारात्मकताको अनिवार्य योग थियो होला भन्ने अनुमान लगाउन सकिन्छ । तर अत्यन्तै छोटो भौतिक संगतका कारण स्वनाम साथीका आफू फिटिक्कै जानकार नरहेका नकारात्मक पक्षहरुलाई पस्कनु मेरो ज्ञान र हैसियतले पुग्दैन । बरु भेटघाटपूर्व नै एउटा मिथकीयताको हदसम्म आदर्श पात्रको विम्बको रुपमा मेरो मनमस्तिष्कमा छाप छोडिसकेका साथीमा मैले थुप्रै सकारात्मकताहरु चाहिँ अवश्य पनि फेला पारेको छु  ।  पूर्वीय दर्शन–मीमांसालाई निषेध गरेर विरोधमा उत्रने ‘परम्परागत कम्युनिष्ट बुझाइ’का विपरीत तिनमा समेत सकारात्मकताको खोजी गर्ने र तिनलाई कम्युनिष्ट दर्शन र सिद्धान्तको व्यहारिक अभ्यासको कोणबाट जोड्न सक्ने उनको खुबीले मलाई प्रभावित तुल्याएकै हो । हिन्दू भगवान शिव (स्वनाम दाइको भाषामा भोले बाबा)देखि बुद्ध, महावीर र कविरसम्ममा समाजवादी–साम्यवादी व्यवहार चरित्रको अभ्यास फेला पार्ने, विज्ञान मीमांसाका पत्रहरु केलाएर तथ्यसहित कुराहरु राख्न सक्ने तथा पुरातत्व–नृतत्वीय तथ्यहरुका आधार प्रस्तुत गर्ने र तिनमा समाजवाद–साम्यवादको उपस्थितिलाई केलाएर आफ्ना कुराहरुलाई प्रभावकारी ढंगले प्रस्तुत गर्न सक्ने उनको ज्ञान र शैली गज्जबको थियो । आफ्ना ज्ञान र अध्ययनमा पटक्कै गर्व–घमण्ड नगर्ने बरु आफूले अरुहरुले खोजेको–जानेको ज्ञानलाई मात्रै बताएको भनी विनम्र रुपमा प्रस्तुत हुने उनको स्वभाव र शैली अनुकरणीय छ ।  हरेक वस्तु र पक्षहरुको नकारात्मकतालाई वेवस्ता गर्दै तिनमा सकारात्मकता खोज्ने, आफूले भोगेको र बाँचेको जीवनप्रति कृतज्ञता व्यक्त गर्ने सकारात्मक सोच अनि नकारात्मकताभित्रे पनि सकारात्मकताको खोजी गरिनुपर्छ भन्ने उनको चिन्तन र तत्परता पनि उल्लेखनीय छ । 

आफ्ना ज्ञान र अध्ययनमा पटक्कै गर्व–घमण्ड नगर्ने बरु आफूले अरुहरुले खोजेको–जानेको ज्ञानलाई मात्रै बताएको भनी विनम्र रुपमा प्रस्तुत हुने उनको स्वभाव र शैली अनुकरणीय छ ।

०००

प्रसंगवश उल्लेख गरौं, स्वनाम दाइसँग अनलाइनमा प्रकाशित गर्ने गरी औपचारिक कुराकानी गर्दा एउटा सर्वहाराकरणको अभ्यास गरिरहेका र निश्चित आम्दानीका स्रोत नभएका साथीका ज्ञान र समयको निशुल्क दोहान गर्नु उचित नहुने, यथासक्य निश्चित पारिश्रमिक दिनु उचित हुने सल्लाह साथी राजेन्द्र महर्जनबाट प्राप्त भएको थियो । सोहीअनुसार दोस्रो पटक अक्टोबर क्रान्तिको शतबार्षिकीको सन्दर्भमा स्वनाम साथीसँग अन्तर्वार्ता गरिसकेपछि केही संकोचका साथ मैले उहाँलाई ‘दाइ, अन्यथा नलिनुहोला, यो दाइको पारिश्रमिक त हैन, तर तपाईंको समयको हामीले हत्या गरेवातको सानो क्षतिपूर्ति मात्रै है’ भनी खाममा रु. २५००।– दिन खोजें । तर स्वनाम दाइले ठाडैं इन्कार गर्नुभयो र अरु असल मस्तिष्कहरुले सिर्जना गरेको ज्ञानलाई आफूले साझेदारी मात्रै गरेको भनी बताउनुभयो । तर हामीले मानेनौं । स्वनाम दाइका निकटस्थ मित्र समेत रहनु भएका शारदारमण सरले पनि उहाँलाई सो रकम लिन अनुरोध गर्नुभयो । बल्ल स्वनाम दाइले त्यो पैसा आफूले नलिने तर त्यसबेला उहाँसँग कुराकानी गर्न गएका हामीहरुको तर्फबाट उहाँको नेतृत्वमा सञ्चालन हुने प्रक्रियामा रहेको ‘मार्क्सीय गुरुकुल’लाई आर्थिक सहयोगको रुपमा अभिलेख हुने गरी राख्ने बताउनुभयो । त्यसमा हामीले आपत्ति जनाउनुपर्ने कुरै थिएन, स्वीकार्यौं ।

अनौपचारिक कुराकानीका क्रममा माक्र्सीय गुरुकुलका बारेमा उहाँले संक्षेपमा जानकारी दिनुभयो, त्यसमा जोडिन हामीलाई आमन्त्रित पनि गर्नुभयो । हामीले पनि आफू संलग्न सञ्चार संस्थाको माध्यमबाट त्यसलाई अघि बढाउन यथासक्य भूमिका निर्वाह गर्ने बचनबद्धता प्रकट गर्यौं । विचारको आदानप्रदानलाई घनीभूत पार्ने सल्लाह गर्दै हामी एकापससँग सामाजिक सञ्जालमा पनि जोडियौं ।

बीचमा फोन सम्पर्क, सामाजिक सञ्जालमार्फत् कुराकानीहरु भए । अक्टोबार क्रान्ति शतवार्षिकी समारोह, सीमा बचाउ नागरिक अभियान, कालापानी, एमसिसि प्रकरणमा जनविरोधका लहरहरुलाई नेतृत्वमा गर्ने सवालमा प्रतिकूल स्वास्थ्य र शारीरिक दुर्बलताका बीच पनि स्वनाम साथी दाइको लोभलाग्दो सक्रियता निरन्तर रह्यो । दुःखको कुरा, बीचमा कोरोना महाव्याधिको कहरले संसारलाई लपेट्यो । भौतिक भेटघाट दुरुह हुँदै गयो । फाट्टफुट्ट सामाजिक सञ्जाल र फोन सम्पर्कबाट हालखबर बुझ्ने काम भने जारी रह्यो ।

बीचमा लामो समय स्वनाम दाइसँग सम्पर्क हुन सकेन । कोरोनाका महामारीबीच आदरणीय खगेन्द्र संग्रौलाले त्यसबेला कार्यकारी सम्पादकको हैसियतले म कार्यरत रातोपाटी अनलाइनमा धारावाहिक कोरोना कैरन लेख्नुभयो । सोही सिलसिलामा खगेन्द्र सरसँग भाइबर सम्वाद अलि बाक्लै हुन थाल्यो । अचानक २०७७ असोज ३० का दिन सरको मेसेज आयो– स्वनाम साथी कोरोनाका कारण सिरियस भएर पाटन अस्पतालमा भर्ना छन् । यसो समाचार दिने कि ?

थप तथ्य जान्नका लागि स्वनाम दाइको फोन घुमाउँदा सम्पर्क हुन सकेन । तत्कालै स्वनाम दाइका निकटस्थ साथी शारदारमण सरलाई फोन घुमाएँ ।स्वनाम साथीका जीवनसंगीनी किरण गौतमसँग ठोस जानकारी हासिल गर्ने शारदा सर समेतको प्रयास सफल हुन नसकेपछि प्राप्त सीमित जानकारीका आधारमा ‘स्वनाम साथीलाई कोरोना संक्रमण’ भएको समाचार हालियो । पाटन अस्पतालमा करिब आधामहिनाभन्दा बढीको जीवनमरणको संघर्षमा स्वनाम साथीले कोरोनालाई परास्त त गर्नुभयो तर केही समय लगत्तै फेरि उहाँको स्वास्थ्य स्थिति बिग्रियो । उहाँलाई आपतकालीन रुपमा मोडेल अस्पताल भर्ना गरियो । चिकित्सकहरुको अथक प्रयास र स्वनाम दाइको जीवनसंघर्ष यस पटक सफलीभूत हुन सकेन । संसारलाई हायलकायल खेलाइरहेको कोरोना महाव्याधिले आखिर एक असल देशभक्त, समर्पण र त्यागका जीवित उदाहरण तथा कम्युनिष्ट आन्दोलनका प्रेरणादायी र अनुकरणीय व्यक्तित्व सोनाम साथीलाई हामीमाझबाट चुँडेर लग्यो ।