गधा र गधाका नातेदारहरु
एक पटक मुल्ला नसरुद्दीन इरानबाट बुखारा शहर जादै थिए। उनी शहर भित्र पस्ने गेटमा रहेको चुंगी कर असुल्ने चौकीमा पुगे। मुल्लासंग खासै केही सामानहरु थिएनन्। त्यसैले खालि उनले शहरमा भित्र पस्ने ट्याक्स मात्र तिर्नु पर्ने थियो। त्यहाँका हाकिमले मुल्ला नसरुद्दीनलाई सोधे- तिमी कहाँबाट आउँदैछौ ? यहा के कामका लागि आएका हौ ?
चुंगी करको लेखनदासले मसीले भरिएको डब्बामा चराको प्वाँखबाट बनेको कलम चोप्दै नसरुद्दीनको भनाइ टिप्न तयार भएर बस्यो।
मुल्ला नसरुद्दीनले जवाफ दिए- हजुर, म इरानबाट आएको हुँ। मेरा आफन्तहरु बुखारामा छन्। म उनीहरुलाई नै भेट्न आएको हुँ।
यो सुनेर हाकिमले भन्यो- तिमी आफन्तहरुलाई भेट्न आएका रहेछौ। अब तिमीले भेटघाट कर तिर्नु पर्छ।
मुल्लाले प्रतिवाद गर्दै भने- हजुर म उनीहरुलाई भेट्दिनँ। बरु म एउटा जरुरी कामले आएको हुँ।
हाकिमले चिच्याउँदै भने- कामको लागि आएका हौ ? यसको मतलब तिमी आफ्ना नातेदारहरुलाई पनि भेटछौ अनि आफ्नो काम पनि फत्ते गर्छौ। तिमीले दुईवटै कर तिर्नुपर्छ– भेटघाटको पनि र कामको पनि। यसको अलावा तिमीले यहाका मस्जिदमा भेटी पनि चढाउनु पर्छ। किनकि त्यही अल्लाहले तिमीलाई तिम्रो यति लामो यात्रामा चोर डाँकाहरुबाट रक्षा गरे।
मुल्ला नसरुद्दीनले सोचे - म त चाहन्थे कि अल्लाहले यी हरामखोरहरु बाट मेरो रक्षा गरे हुन्थ्यो, डाँकुहरुबाट आफ्नो रक्षा त म आफैं गरिहाल्थें। तर उनले यो कुरा भनेनन्। किनकि उनलाई थाह थियो– उनले बोलेका प्रत्येक शब्दको दश तंके (बुखाराको पैसा) चुकाएर तिर्नुपर्नेवाला थियो। उनले चुपचाप आफ्नो पैसा बोक्ने थैलीबाट शहरमा पसेको, आफन्तहरुसंग भेटघाट गरेको, कामवापतको र मस्जिदलाई चन्दा कर पनि तिरे। चुंगी चौकीका अरु सिपाहीहरुले मुल्ला नसरुद्दीनको थैलीमा अरु कति पैसा बाँकी छ भनेर निहुरिदै हेरिरहेका थिए। हाकिमले आफ्ना सिपाहीहरुलाई घुरेर हेरेपछि उनीहरु पछाडि हटे।
लेखनदासको कलम बहीखातामा तिब्र गतिमा चलिरहेको थियो।
कर तिरिसकेपछि पनि मुल्ला नसरुद्दीनको थैलीमा केहि पैसाहरु बाँकी नै थियो। हाकिमको आँखा त्यसमा परिसकेको थियो। उनले त्यो पैसा कसरी हातपार्ने भनेर सोच्न थाले।
कर तिरिसकेपछि मुल्ला नसरुद्दीन हिंड्न लागेका थिए। हाकिमले चिच्याउदै भने- पर्ख ! नसरुद्दीनले फर्केर उनको अनुहारमा हेर्न थाले।
हाकिमले भन्यो- यो गधाको कर चाहिँ कसले तिर्छ ? तिमीले आफ्ना आफन्तसंग भेटछौ भने गधाले पनि उसका आफन्तहरु संग भेटघाट गर्नेछ। यसको कर पनि बुझाएर जाऊ।
मुल्ला नसरुद्दीनले फेरि आफ्नो थैलीको मुख खोले र बडो बिनम्रताका साथ भने- मेरो मालिक, तपाईले एकदम ठिक भन्नुभयो। वास्तवमै बुखारमा मेरा गधाका आफन्तहरुको संख्या एकदमै ज्यादा छ। नत्र यो ठाउँमा जसरी काम भइरहेको छ, त्यो देख्ता यहाँ धेरै पहिला नै तपाईंहरुका अमिर (राजा) विरुद्ध विद्रोह भएर उनलाई राजगद्दीबाट लखेटिसकेका हुन्थे हजुर! र तपाईंलाई चाहिँ लोभी व्यवहारका कारण उहिलेनै सुलीमा चढाइसकेका हुन्थे।
करको हाकिमले उनको कुरा बुझ्नुभन्दा अगाडि नै मुल्ला आफ्नो गधामा बसेर त्यसलाई जोडले दौडाउदै शहरको गल्लीभित्र चम्पत कसे।
प्रतिक्रिया