शरीरलाई क्यालोरीको आवश्यकता पर्नु र बोसो थुप्रिनुका कारणहरु यस्ता छन् !

दुई वर्षको अन्तरालमा मेरो तौल स्वाट्टै बढ्यो । पहिले लगातार ५५ केजी तौल रहेको ५ फिट ५ इन्चको उचाई रहेको मेरो शरीरको तौल बीचमा ६५ केजी हुँदै अहिले ७० किलो बन्न पुग्यो । सबैले म बेसी मोटाएको ठहर गर्दै तौल घटाउन सल्लाह दिए । उनीहरुले के कुराको पनि सचेत गराए भने, बेसी मोटाएपछि मधुमेह, उच्च रक्तचाप तथा मुटुको अन्य रोगहरु लाग्ने खतरा पनि बढ्दै जान्छ ।

तौल त घटाउने, तर कसरी घटाउने ? यो कुरा बुझ्न मैलै परिचित चिकित्सकसँग सल्लाह लिन पुगें । उनले खानाबाट कार्बोहाइड्रेडको मात्रा कम गर्न, जमीनभित्र उब्जिएको चीज कम खान र चिनी खान बन्द गर्न सल्लाह दिए । उसको सल्लाह थियो– मेरो शरीरमा क्यालोरी बढी भयो । त्यसैले शरीर मोटाउन थाल्यो । तौल घटाउने हो भने, मैले खानामा क्यालोरी घटाउनै पर्छ !

०००

तपाईं हामीले प्रायः सुन्ने गरेका छौं– हामीलाई दिनको यति क्यालोरी शक्ति चाहिन्छ । अथवा, आलुमा यति क्यालोरी हुन्छ, सागमा यति । मासुमा यति क्यालोरी हुन्छ, गेडागुडीमा यति । आखिर यो क्यालोरी भनेको के हो ? मोटाएको शरीरको तौल घटाउन किन क्यालोरी नै घटाउनु पर्छ त भन्नेबारेमा केही चर्चा गरौं !

क्यालोरी भनेको के हो र यसले शरीरमा कस्तो भूमिका निर्वाह गर्छ भन्ने थाहा पाउनको लागि पहिले शरीरले खानेकुराबाट लिने पोषणबारे सामान्य जानकारी लिऔं ।

हामीले खाएको खानेकुरा–हरुलाई शरीरले शक्तिको रुपमा ग्रहण गर्छ । त्यसका लागि हामीले खाएको खानेकुरालाई शरीरमा अक्सिजनको मद्दतले टुक्र्याउने काम हुन्छ । अर्को शब्दमा हामी के पनि भन्न सक्छौं भने, यो इन्धन जस्तो बल्ने काम हुन्छ । हो यही बल्ने कार्यलाई नाप्नको लागि नै हामी क्यालोरी शब्दको प्रयोग गर्ने गर्छौं ।

यसलाई अझ प्रष्टसँग बुझ्नको लागि के भनौं भने, एक ग्राम क्यालोरी भनेको त्यति तापशक्ति हो, जति तापशक्ति एक ग्राम पानीलाई एक डिग्री सेन्टिग्रेट तातो पार्नको लागि आवश्यकता पर्दछ । त्यसैगरी, लार्ज क्यालोरी (Large calorie) भनेको चाहिँ त्यसको हजार गुणा बढी तापशक्ति हो । खानेकुराहरुको शक्ति नाप्ने क्रममा यो लार्ज क्यालोरी इकाइ प्रयोग गर्ने गरिन्छ ।

प्रत्येक खानेकुराहरु शरीरभित्र शक्तिमा रुपान्तरण हुने क्रममा अलग अलग मात्रामा निश्चित क्यालोरी पैदा हुने गर्छ । उदाहरणको लागि, एक ग्राम प्रोटिनले चार क्यालोरी शक्ति पैदा हुन्छ तर त्यति नै चिल्लो पदार्थले नौ क्यालोरी पैदा हुन्छ । त्यसैगरी, एक ग्राम कार्बोहाइड्रेटले पनि चार क्यालोरी शक्ति पैदा हुन्छ । जीवन निर्वाहको लागि खानेकुराहरुबाट पर्याप्त शक्ति पाएसम्म शरीरले यो मतलब राख्दैन कि, शक्ति पाउनको लागि कुन ‘इन्धन’ प्रयोग भएको छ ।

सामान्यतः हामीलाई कति क्यालोरी शक्ति चाहिन्छ भन्ने कुरा मान्छेको उमेर, उसले गर्ने कामको प्रकृति र अन्य विभिन्न पक्षहरुमा समेत निर्भर गर्दछ । तर सामान्यतः एउटा मान्छेलाई २४ घण्टाको समयावधिभित्र २,००० देखि ४००० क्यालोरीको आवश्यकता पर्दछ ।  त्यसमा पनि कति क्यालोरी आवश्यकता पर्दछ भन्ने कुरा विशेष गरी चाहिँ मानिसको शरीरले गर्ने कार्यमा निर्भर गर्दछ र त्यसअनुसार क्यालोरीको आवश्यकतामा माथि उल्लेखित परिणामभन्दा घटबढ पनि हुन सक्दछ । उदाहरणको लागि, एउटा ६८ किलोग्राम तौल भएको मानिस केही नगरी पूर्ण आरामको अवस्थामा रहन्छ भने उसलाई दिनको १६८० क्यालोरी चाहिन्छ । तर यदि उसले हल्काफुल्का, टेबुलमा बसेर गर्ने काम गर्छ भने उसलाई दैनिक ३३६० क्यालोरी शक्ति चाहिन्छ । अझ उसले गह्रौं र शरीरलाई बोझ पर्ने काम गर्छ भने, उसलाई आफ्नो शरीरलाई ठीक हालतमा राख्नको लागि दैनिक ६७२० क्यालोरीको आवश्यकता पर्न जान्छ ।

फेरि वयस्कहरुलाई भन्दा बच्चाहरुलाई बढी क्यालोरीको आवश्यकता पर्दछ । किनभने, हुर्केको मानिसहरुले बच्चाहरुले जस्तो चाँडो चाँडो ‘ऊर्जा’ खर्च गर्न सक्दैन । क्यालोरीको बारेमा रोचक त के छ भने, गर्मी महिनामा भन्दा जाडो महिनामा हाम्रो क्यालोरी बढी खर्च हुन्छ । हाम्रो शरीरको लागि आवश्यक पर्ने ऊर्जामा सामान्यतः कार्बोहाइड्रेड, स्टार्च र चिनी नै हो । विशेष गरी, पर्याप्त पोषण प्राप्त गर्न नसकिरहेका विश्वका विभिन्न भागका मानिसहरुमा क्यालोरीको मुख्य स्रोत नै कार्बोहाइड्रेट हुने गरेको छ । त्यसपछि बाँकी रहेको क्यालोरी चाहिँ चिल्लो पदार्थबाट आपूर्ति हुने गरेको छ । चामल मुख्य खाद्य पदार्थ हुने एशिया, मध्यपूर्व एवं अफ्रिकाका केही भागहरुमा शरीरको लागि आवश्यक क्यालोरीको ८० प्रतिशत भाग कार्बोहाइड्रेडबाट आपूर्ति हुने गरेको पाइन्छ भने पश्चिमी खाद्यपदार्थमा चाहिँ यो ३३ देखि ५० प्रतिशत मात्र हुन्छ । त्यसमा पनि १७ देखि २५ प्रतिशत स्टार्च, चिनी, दूधमा हुने गुलियो पदार्थ ल्याक्टोज (Lactose) र थोरै मात्रामा ग्लुकोज, धूलो अवस्थामा राखिएका फलफूलका धूलोहरु, मह, सिरप र निश्चित प्रकारका तरकारीहरु, जस्तै, गाजर, प्याज, चुकुन्दरहरुले ओगट्छ ।

मानौ, हामीले हाम्रो शरीरलाई चाहिनेभन्दा बढी क्यालोरी लियौं भने के हुन्छ त ? यसको उत्तर सजिलो छ । हाम्रो शरीरले आफूलाई चाहिने जति क्यालोरी खर्च गर्छ र बचेको जति चाहिँ भविष्यमा प्रयोग गर्नको लागि संचय गर्छ । हामीले आवश्यकताभन्दा बढी खानेकुरा खायौं भने, हाम्रो शरीरले प्रतिदिन चाहिने क्यालोरीको एक तिहाई क्यालोरी संचय गर्न सक्छ । यसरी शरीरले अनावश्यक क्यालोरी संचय गर्न थालेपछि त्यो बोसोको रुपमा शरीरमा जम्मा हुन थाल्छ ।

बोसो सञ्चयको विज्ञान

बोसो संचय एउटा प्राकृतिक र आवश्यक प्रक्रिया हो । यस प्रक्रियाका दुई पक्षहरु हुन्छन्– शक्तिको संचय र चिल्लोको वितरण ।

शक्तिको संचयअन्तर्गत मुख्य पक्ष क्यालोरीको सन्तुलन हो । वास्तवमा शरीरमा बोसो जम्नुको एउटा असल पक्ष भनेको यो शरीरका लागि आवश्यक पर्ने क्यालोरीहरुको सरकात्क सन्तुलन हो । कार्बोहाइड्रेड, प्रोटिन र बोसोमार्फत् प्राप्त हुने क्यालोरीहरु हाम्रो शरीरले खपत गर्न सक्नेभन्दा बढी हुँदा त्यो ट्रिग्लेसेरिड्स (triglycerides) मा परिणत हुन्छ । त्यो ट्रिग्लेसेरिड्स एडिपोसाइट्स नामक विशेष कोषहरुमा पुर्याइन्छ । ती कोषहरुमा रहेका लिपोप्रोटिन लिपास (lipoprotein lipase) नाम गरेका इन्जाइमले ट्रिग्लेरेरिड्सलाई बोसोमा परिणत गरिदिन भूमिका खेल्छ ।

ती बोसोहरु पनि अब शरीरका विभिन्न भागहरुमा वितरित हुन थाल्छ । खासगरी, हिप, तीघ्रा, पेट र शरीरका अरु भागका छालामुनि ती बोसोहरु जम्मा हुन थाल्छन् । यी बोसाहरुले हाम्रा शरीरलाई तातोचिसोबाट बचाउने तथा संवेदनशीलहरुलाई जोगाउन काम समेत गर्छ । यस्ता बोसोलाई सबक्युटानिअस फ्याट (Subcutaneous Fat) भनिन्छ ।

भित्री भागमा रहेका बोसोहरुले आन्द्रा कलेजो जस्ता संवेदनशीलहरुलाई घेरेर बस्छ । यस्ता बोसोलाई भिसेरल फ्याट (Visceral Fat) भनिन्छ । यस किसिमको बोसो शरीरमा बढी जम्मा भयो भने मधुमेह, मुटुका रोग लगायतका स्वास्थ्य समस्याहरु पैदा गर्न सक्छ ।

शरीरको कुन भागमा बढी बोसो जम्मा हुने कुरा वंशानुगत कुराले निर्धारित गर्छ । त्यसबोहक, हाम्रो शरीरमा हुने इन्सुलिन, एस्ट्रोजिन र कोर्टिसोल जस्ता हर्मोनहरुले पनि बोसो जम्मा हुने प्याटर्नलाई निर्धारित गर्छ ।

शरीरमा खपत हुनेभन्दा बढी बोसाे जम्मा हुन थालेपछि र कुनै पनि तरिकाले ती बोसोहरु खपत हुन नसकेपछि हामी मोटाउन थाल्छौं । जब हामी अत्यधिक मोटाउन थाल्छौं र तौल घटाउनको लागि विज्ञहरुसँग सल्लाह लिन पुग्छौं– हामीलाई क्यालोरीमा ध्यान दिन र त्यसलाई कम गर्ने सल्लाह दिनुको कारण पनि यही नै हो । र, क्यालोरी कम गर्नु भनेकै आवश्यकताभन्दा बढी खाना नखानु नै हो ।