मान्छेको छालाको रंग भिन्दा–भिन्दै हुनुको कारण यस्तो रहेछ !
छालाको फरक फरक रङ वातावरणको अनुकूलतामा ढल्ने प्राकृतिक प्रक्रिया
सबैको छालाको रंग एउटै भए कति जाति हुन्थ्यो होला हगि ? कम्तिमा छालाको रंगकै आधारमा मानिस–मानिस बीच भेदभाव त हुने थिएन होला । यो त मीठो कल्पनाको कुरा भयो, व्यवहारमा यस्तो सम्भव हुँदैन ।
तपाईं हामीमध्येकै कतिपयको छाला सेतो, गहुँ गोरो, कालो, पहेंलो पहेंलोजस्ता विभिन्न खालको हुन्छ । एउटै जातिका मान्छेहरुकै छाला पनि समान हुँदैनन् भने जाति पिच्छै छालाका रंगहरु झनै भिन्नाभिन्नै हुन्छन् । चर्को घाम लाग्ने स्थानमा बस्नेहरुको छालाको रंग बढी कालो हुन्छ भने, घाम कम लाग्ने स्थानका मानिसहरुको छालाको रंग पहेंलो पहेंलो वा सेतो हुन्छ ।
मानिसको छालाको रंग कस्तो हुने भन्ने कुरा उसको शरीर र छालामा हुने रासायनिक प्रक्रियामा निर्भर गर्दछ ।
आखिर मान्छेको छालाको रंग किन यसरी भिन्नाभिन्नै भएको होला ? किन मानिसहरुको छालाको रंग एकै नभएको होला ?
मानिसको छालाको रंग कस्तो हुने भन्ने कुरा उसको शरीर र छालामा हुने रासायनिक प्रक्रियामा निर्भर गर्दछ । वास्तवमा, हाम्रा छालाका तन्तुहरुमा रंगका निश्चित आधारहरु हुन्छन्, जसलाई chromogens भनिन्छ । रोचक के छ भने, यो क्रोमोजेन आफैंमा चाहिँ रंगहीन हुन्छ । जब निश्चित फर्मेन्ट्स (ferments) वा इन्जाइम (enzymes) हरुको यी रंगका base (एउटा खास रसायन)हरुसँग प्रतिक्रिया हुन्छ, तब हाम्रो छालाको निश्चित रंग निर्धारण हुन्छ । बेस (base) भनेको त्यस्तो रसायन हो जसले अम्ल (acid) सँग प्रतिक्रिया गरेर लवण (salt) र पानी निकाल्दछ ।
जब कुनै कारणले मानिसको छालाको निश्चित भागमा वा पूरै छालामा त्यस्ता रंग–बेसहरु हुँदैनन् वा त्यससँग कुनै कारणले इन्जाइम वा फर्मेन्ट्सहरुको प्रतिक्रिया हुँदैन, त्यस अवस्थामा मान्छेको छालाको रंग पूरै सेतो हुन्छ । यस्तो अवस्थालाई दुबी (albino) आएको भनिन्छ । यो संसारको जुनसुकै भागको मानिसलाई पनि हुन सक्छ । उदाहरणको लागि, सामान्यतः छाला अति कालो हुने दक्षिण अफ्रिकाको मानिसलाई समेत यो हुन सक्छ । यस्तो अवस्थामा त्यस्तो मानिसको छाला गोरोभन्दा गोरो मानिसको छालाभन्दा पनि सेतो हुन्छ ।
त्यसो त रंग–बेसबिना नै पनि छालाको रंग सामान्यतः खैरो–सेतो रंगको हुन्छ । अझ छालामा हुने पहेंलो पिग्मेन्ट (pigment) ले यसलाई पहेंलो पहेंलो रंग प्रदान गर्छ । छालामा नै पहेंलोबाहेक अर्को कालो रंगको पिग्मेन्ट पनि हुन्छ, जसलाई मेलानिन (melanin) भनिन्छ । यो पिग्मेन्ट आफैंमा पूर्ण कालो रंगको हुँदैन तर जब एकै ठाउँमा यो पिग्मेन्ट बढी जम्मा हुन्छ, त्यस अवस्थामा छालाको रंग कालो देखिन्छ ।
माथिका तीन रंगहरु, सेतो, पहेंलो, कालो बाहेक हाम्रो छालामा रहने रक्तनलीहरुले गर्दा छालाको रंगमा रातोपन पनि थपिन्छ । मानिसको छालाको रंग मूलतः यिनै चार वटा रंगहरु– सेतो, पहेंलो, कालो र रातोको संयोजनबाट विभिन्न रंगको देखिन्छ ।
त्यसो त घामको किरणले हाम्रो छालामा मेलानिन उत्पन्न गराउँदछ । यही नै त्यो कारण हो, जसले गर्दा बढी घाम लाग्ने ठाउँमा बसोबास गर्ने मानिसहरुको छालाको रंग कालो हुन्छ । घाममा बढी काम गर्ने मानिसहरुको छाला डढ्यो भन्नु पनि यही मेलानिन बढी पैदा/सक्रिय भएकै कारणले कालो हुनु हो ।
मेलानिनले हाम्रा छालाका कोषहरुको लागि छाताको जस्तो काम गर्छ । जति हाम्रा छालामा बढी मेलानिन हुन्छ, उत्तिनै यो कालो देखिन्छ ।
वास्तवमा मेलानिनले हाम्रा छालाका कोषहरुको लागि छाताको जस्तो काम गर्छ । जति हाम्रा छालामा बढी मेलानिन हुन्छ, उत्तिनै यो कालो देखिन्छ । मेलानिनको उत्पादन कम वा बेसी हुने कुरा मुख्य रुपमा मातापिताहरुबाट प्राप्त जीनमा निर्भर हुन्छ । यी जीनहरुको फरक संयोजनले छालामा कति बढी मात्रामा मेलानिन उत्पादन हुने भन्ने कुरा निर्धारित गर्ने गर्छ ।
सूर्यको किरणमा मानव स्वास्थ्यको लागि हानिकारक परावैजनी किरणहरु पनि हुने गर्छ । मेलानिनको काम ती परावैजनी किरणहरुको खराब असरबाट मानिसको छालालाई जोगाउने काम गर्छ । यही कारण नै सूर्यको प्रकाश बढी पर्ने ठाउँमा बसोबास गर्ने मानिसहरुको छालाको रङ बढी कालो हुने गर्छ । त्यसो त वैज्ञानिक मान्यताअनुसार कालो छालाको तुलनामा गोरो छालाले सूर्यको प्रकाशबाट राम्ररी भिटामीन डी ग्रहण गर्न सक्छ ।
विश्व इतिहासमा छालाको रङकै कारण मानव मानवबीचमा भयंकर भेदभाव हुने गरेको, गोरो छाला हुनेहरुले आफूलाई श्रेष्ठ मानवजाति घोषित गर्दै कालो छाला हुनेहरुमाथि शोषण अत्याचारको श्वेत आतंक मच्चाएर तिनीहरुलाई दास समेत बनाएको घृणित इतिहास छ ।
वास्तवमा छालाको रङको फरकपना मानव उद्भवका क्रममा विकास भएका वातावरणको अनुकूलतामा ढल्ने प्राकृतिक प्रक्रिया पनि हो । यो मानव जातिको श्रेष्ठता प्रमाणित गर्ने कुरै होइन । तर दुर्भाग्यवश, विश्व इतिहासमा छालाको रङकै कारण मानव मानवबीचमा भयंकर भेदभाव हुने गरेको, गोरो छाला हुनेहरुले आफूलाई श्रेष्ठ मानवजाति घोषित गर्दै कालो छाला हुनेहरुमाथि शोषण अत्याचारको श्वेत आतंक मच्चाएर तिनीहरुलाई दास समेत बनाएको घृणित इतिहास छ । दुःखको कुरा त के भने त्यस्तो काम आफूलाई विकसित र उन्नत भन्ने गोरो छाला हुनेहरुबाटै भएको थियो । काला जातिहरुमा आएको जागरण तथा गोरा छालाहरुमध्येकै मानव मानवबीचमा भेदभाव हुनुहुँदैन भन्ने असल भावनाका मानिसहरु समेतको साथ समर्थनमा अहिले यस्ता रङभेद निक्कै हराएर गएको छ । आधुनिक समाजमा रङभेद निमिट्यान्न भइसकेका त छैन तर सभ्य समाजले रङ्गभेदलाई घृणित र दण्डनीय अपराध मानिसकेको छ ।
प्रतिक्रिया