माकुराका बच्चाले आफ्नै आमा खान्छन् !
महाभारतमा एउटा कथाको प्रसंग छ । आफ्नी बहिनी देवकीको आठौँ सन्तानबाट आफू मारिने कुरा कंशले नारदबाट सूचना पाउँछन् । रिसले आगो हुन्छन् उनी । देवकीलाई मार्न भनेर झम्टिन्छन् । वासुदेव अघि सर्छन् र जन्मेजति सबै बच्चा तुरुन्त कंशलाई सुम्पिदिने संकल्प गर्दै देवकीको प्राण रक्षाको विन्ती गर्छन् । तब जन्मनेबित्तिकै कंश आफ्ना भान्जा भान्जी मार्न थाल्छन् ।
ग्रीक पौराणिक कथामा पनि यस्तै एउटा कथा छ क्रोनोसको दन्त्यकथा । पछि रोमनहरुले यो कथा सापट लिए । रोमनहरु क्रोनोसलाई शनि भन्छन् ।
क्रोनोसले आफ्नै बाबुबाट सत्ता हत्याएको हुन्छ । उ पनि आफ्नै भाग्य प्रति ढुक्क हुन्न । समय क्रममा कसै गरी उसलाई थाहा हुन्छ कि उसलाई पनि कुनै एउटा आफ्नै छोराले अपदस्त गर्ने छ । तब भने ऊ जन्मने बित्तिकै आफ्नै छोरा एक पछि अर्को खान थाल्छ ।
बौद्ध इतिहासमा पनि यस्ता उदाहरण पाइन्छ । छिटो सत्तामा पुग्ने लालच देखाएका देवदत्तको उलामालामा लागेर युवराज अजात शत्रुले आफ्नै पिता मगध नरेश विम्विसारलाई कैद गरेर निर्मम हत्या गर्न पुगेका थिए ।(विम्बिसारको कथा पढ्न यहाँ थिच्नोस् !)
हामी कहाँ पनि इतिहासमा यस्ता घटना यत्रतत्र बग्रेल्ती पाइन्छन् ।
पृथ्वीनारायण शाहको निधन पछि उनका जेठा छोराको हैसियतले प्रतापसिंह शाह राजाको बिंडो सम्हाल्न पुगे । त्यसको तीन वर्ष पुग्दा न पुग्दै यिनको मृत्यु भयो । अढाई वर्षका नाबालक रण बहादुर शाहको शिरमा श्रीपेच पहिर्याइयो । स्वभाविक रुपमा काका बहादुर शाह रंगमन्चमा अघि देखापरे । भारतमा बढ्दो अंग्रेज़को गतिविधि नियालेका आफ्ना बावु पृथ्वीनारायणको 'चाँडो भन्दा चाँडो राज्य विस्तार गर्ने' सुझावलाई तामिल गर्न बहादुर शाहमा ठूलो हुटहुटी थियो । न भन्दै यिनैको पालामा काली गण्डकी पश्चिम हुँदै गडवाल राज्यमा समेत नियन्त्रण स्थापित गरी मुलुकको सिमाना अलकनन्दा नदीसम्म विस्तार भएको थियो ।
बहादुर शाह । तस्विर: https://i0.wp.com
बहादुर शाह वैयत्तिक जीवनमा लाभ हानीबारे बडो निस्पृय लाग्छन् । यिनले राजदरबारभित्रकै सामान्य कोठामा गुजारा चलाए । यिनमा धनसम्पत्ति जम्मा गर्ने कुनै रुचि थिएन । त्यतिका समय मुख्तियार वा राजप्रतिनिधि भएर बस्दा पनि अरुले जस्तो उनले आफ्नो निम्ति भनेर कुनै घरघडेरी जोडेनन् । बावु पृथ्वीनारायणले दिएको जिउनी पनि पशुपतिनाथनेर तीर्थयात्रीको निम्ति एउटा धर्मशाला बनाएर त्यसैको सञ्चालनको निम्ति भनेर गुठीमा राखी दिए ।
तर यिनी पनि दरबार भित्रको निर्घिणी सत्तासंघर्षका दाउपेचका शिकार भई छाडे ।
राजा रणबहादुर शाहले पुरै राजकाज संहाल्न साथै काका बहादुर शाहलाई तिरस्कार गर्न थाले । सबै किसिमका राजनीतिक दायित्वबाट उनलाई बन्चित गरियो । हुँदा हुँदा आफू बसेको कोठा पनि उनले छोड्नु पर्यो । त्यसपछि यिनी खुशीसाथ आफैले बनाई दिएको धर्मशालामा गएर सामान्य नागरिक सरह जीवन गुजार्न थाले, त्यसवापत यिनले कुनै संकोच, ग्लानी या सरम मानेनन् ।
आफु पाखा लगाइएकै हालतमा बहादुर शाह सायद सुरक्षित स्थलको खोजीमा थिए । हुनसक्छ उनलाई अरु भयानक षड्यन्त्रको सुचना पनि थियो । अंग्रेजहरुको नियतबारे राम्ररी जानकार उनले अरुको जस्तो भारत सुरक्षित स्थल ठानेनन् । उनले चीन भ्रमणमा जाने सोच्न पुगे । हुनसक्छ, उनी चीनबाट सहानुभूति, कुनै किसिमको सहयोग या त्यहाँ निर्वासनमा जान चाहन्थे । त्यहीं अनुसार निवेदन हाल्दै पत्रचार पनि गरे । त्यसको सुइँको पाएका राजाले उनलाई गिरफ्तार गर्न लगाएर कैदी बनाए । यिनी थिए बडो हक्की र निडर, उसमाथि सत्ताको चाल न बुझ्ने कुरै भएन । स्पष्टीकरण लिन भनेर राजाबाट बोलावट आयो । प्रत्युत्तरमा जवाफ पठाए, जे यथोचित लाग्छ निर्णय गरे हुन्छ - 'जे तरहले बन्छ त्यस्तै गर्नुहोस् । निर्णय शिरोधार्य गरौंला । 'यहाँ (कैदमा) बस्नाकन त गाह्रो मानेको छैन, … मलाई यहाँ बस्नु (नै) बढिया छ ।' तब भने सत्ताको रिसको पारो आँक्न सकिन्छ । उनलाई कैद गरियो । अन्तत: कैद भएको करिव ४ महिना पछि कैदखानामा नै बडो षडयन्त्रपूर्वक ढङले यिनको निर्मम हत्या गरियो ।
फ्रेन्च क्रान्तिमा पनि माथिका कथा र इतिहास सादृश हुन्छ ।
फ्रेन्च क्रान्ति (१७८९)भरखरै सम्पन्न भएको थियो र संक्रमणको क्रम जारी थियो । प्रतिक्रान्तिकारीहरू माथिको दमनचक्र तीव्र पारिदै थियो । राजा रानी गिलोटिनमा काटिसकिएका थिए । प्रतिकान्तिकारी भनेर शंकास्पद हजारौं मारिन पुगे । त्यसमा निर्दोषहरु पनि पर्न थाले । अराजकता र आतंकको बिगबिगी मचियो । यो सब काम क्रान्तिका नायक रोबोसपियरेको नेतृत्वमा भइरहेको थियो । क्रान्तिका अर्का नायक जर्जेस ज्याक्स दातोँ पनि थिए । यी दुवै एक अर्काका प्रतिद्वन्दी । रोबोसपियरेले दातोँलाई पक्रेर मुद्दा चलाए । पुर्पक्षको दौरानमा दातोँले ललकार्दै प्रतिवाद गरेका थिए, 'शनिले जस्तै क्रान्तिले आफ्नै सन्तानको आहारा बनाएको छ ।' उनलाई फासीमा चडाउने उर्दी भयो । बलिभेदीमा लादै गर्दा उनी रोबोसपियरेको घरको छेउबाट गुज्रदै थिए । घरलाई पुलुक्क हेरेर उनले टिप्पणी गरे, 'रोबोसपियरे ! तिम्रो गति पनि चाँडै हाम्रै जस्तो हुनेछ । तिम्रो यो घर पनि गर्ल्याम गुर्लुम ढालिने छ । अनि तिम्रा पनि घाउमा नुन चुक दलिने छ ।'
रोबोस पियरे। https://cdn.britannica.com
दातोँको भविष्यवाणी सत्य सावित भयो । पहिले गिरोण्डिनहरुको सफाया गरियो । दोश्रो शिकार दातोँहरु भए । अन्ततः रोबोसपियरे र उनका अनुयायीहरुलाई च्याङ्खुराइयो । यसरी क्रान्तिका संवाहकहरुको हुर्मत लिइयो । अनि उनीहरुको चिहानमाथि प्रतिक्रान्तिकारीहरुले बुर्कुसी मार्न थाले, लामो समयसम्म ।
इतिहास हो, निर्मम इतिहास ।
प्रतिक्रिया