मार्क्सवादसम्बन्धी केही गलत धारणा

मानव समाजको विकास र मार्क्सवाद

मार्क्सवाद भनेको के हो ? छोटकरीमा मार्क्सवादलाई सत्यको खोजी गर्ने काममा पथप्रदर्शन गर्ने सबैभन्दा उन्नत विचारधारा वा दर्शनको रुपमा प्रस्तुत गर्न सकिन्छ । यस दृष्टिले मार्क्सवाद पनि एउटा दर्शन हो । तर, यो दर्शन पहिले पहिलेको दर्शनभन्दा फरक छ, धेरैजसो पुराना दर्शनभन्दा एकदमै विकसित र वैज्ञानिक छ । मार्क्सवादले सत्यलाई विस्तृत रुपले स्पष्ट पार्न सक्ने हुनाले अध्ययन गर्नु र यसलाई अँगाल्नु अनिवार्य छ । मार्क्सवादलाई जीवनको दर्शन मान्न सकिन्छ । यसलाई अँगाल्ने मानिसहरुलाई मार्क्सवादी भनिन्छ ।

मार्क्सवादसम्बन्धी केही गलत धारणा

मार्क्सवादलाई राम्ररी बुझ्न सबैभन्दा पहिले मार्क्सवादबारे गलत धारणा थाहा पाउनु आवश्यक छ । यससँगै सामान्य व्यक्तिहरुमा मात्र होइन, अझ बौद्धिक व्यक्ति र मार्क्सवादका समर्थक भनिनेहरुमा पनि मार्क्सवादबारे व्यापक रुपमा रहेका केही भ्रम हटाउनु नितान्त जरुरी छ ।

मार्क्सवाद र साम्यवाद एउटै होइन

पहिलो भ्रम हो, मार्क्सवादलाई नै साम्यवाद भनी ठान्ने सोच । त्यसैगरी मार्क्सवादीको अर्थ कम्युनिस्ट भन्ने धारणा पनि व्यापक छ । हो, पक्कै पनि कम्युनिस्टहरुको पथप्रदर्शक सिद्धान्त मार्क्सवाद हो र कम्युनिस्टहरु मार्क्सका अनुयायी हुन् । तर, मानव समाजको विकास अगाडि बढ्दै गई साम्यवादको उदय अनिवार्य छ भनी मार्क्सले भन्नुभएको हो भन्दैमा मार्क्सवाद भनेकै साम्यवाद हो भन्नु एकदमै अल्प बुझाइ हुन्छ ।

मानव समाजको विकास अगाडि बढ्दै गई साम्यवादको उदय अनिवार्य छ भनी मार्क्सले भन्नुभएको हो भन्दैमा मार्क्सवाद भनेकै साम्यवाद हो भन्नु एकदमै अल्प बुझाइ हुन्छ ।

मार्क्सवादलाई साम्यवाद भन्ने हो भने त मार्क्सवाद भनेको समाजवाद हो, पुँजीवाद हो, सामन्तवाद पनि हो, अझ दासप्रथा पनि हो भन्नुपर्ने हुन्छ । समाजको विकासको क्रममा आउने विभिन्न चरणको रुपमामा दास समाज, सामन्तवाद, पुँजीवाद, समाजवाद र साम्यवादलाई मार्क्सले उल्लेख गर्नुभएको हो । उल्लिखित समाज विकासको एक चरण साम्यवादलाई नै मार्क्सवाद भन्ने हो भने त मार्क्सले अरु चरणका बारेमा पनि चर्चा गरेका छन् । त्यस आधारमा मार्क्सवादलाई सामन्तवाद पनि भने भइहाल्यो । मुख्य कुरा के हो भने साम्यवाद समाज विकासको एउटा चरण हो भने मार्क्सवाद एउटा दर्शन र विचारधारा हो भनी अधिकांश मार्क्सवादी चिन्तकहरुले प्रष्ट पारेका छन् ।

प्रगतिशील र मार्क्सवादी साहित्य एउटै होइन

त्यस्तै सामान्य जनतामा मात्र होइन, साहित्यिक व्यक्तिहरुमा पनि साहित्यबारेको अर्को भ्रम व्याप्त छ । त्यो भ्रम हो, प्रगतिशील साहित्य भनेकै मार्क्सवादी साहित्य हो । निश्चय पनि मार्क्सवादका पक्का अनुयायी साहित्यिकहरु प्रगतिशील विचारका साहित्य लेख्छन् । तर, मार्क्सवादी लेखकहरु प्रगतिवादी हुन्छन् र मार्क्सवादी साहित्य प्रगतिवादी हुन्छ भन्दैमा प्रगतिशील साहित्य सबै मार्क्सवादी नै हुन्छ र मार्क्सवाद प्रेरित नभएपछि प्रगतिशील फाँटमै पर्दैन भन्न मिल्दैन । यो त मानिस एक प्राणी हो, तसर्थ सबै प्राणी मानिस हुन् भनेसरह भयो । समाजलाई प्रगतिउन्मुख बनाउने, परिवर्तन र जनताको विजयप्रति प्रतिबद्ध, जनताको शक्तिमा अपार विश्वास राखेर अग्रगतितर्फ प्रेरित र प्रोत्साहित गर्ने साहित्य नै प्रगतिशील साहित्य हो ।

मार्क्सवादी लेखकहरु प्रगतिवादी हुन्छन् र मार्क्सवादी साहित्य प्रगतिवादी हुन्छ भन्दैमा प्रगतिशील साहित्य सबै मार्क्सवादी नै हुन्छ र मार्क्सवाद प्रेरित नभएपछि प्रगतिशील फाँटमै पर्दैन भन्न मिल्दैन । यो त मानिस एक प्राणी हो, तसर्थ सबै प्राणी मानिस हुन् भनेसरह भयो ।

राणाकालीन समाजमा राणा शासनको विरोधमा र जनताको स्वतन्त्रताको पक्षमा लेखिएका साहित्य, त्यसपछि पञ्चायती तानाशाही कालमा जनतन्त्रको पक्षमा लेखिएका साहित्य प्रगतिशील हुन् । ती साहित्य कम्युनिस्ट समर्थक नै हुनुपर्छ भन्ने छैन । प्रगतिशील फाँटका लेखकहरुका लागि महान् क्रान्तिकारी नेता माओत्सेतुङले येनान गोष्ठीमा दिएको प्रवचनलाई लेखकहरुले मार्गदर्शन वा कम्तीमा पनि प्रेरणाको रुपमा लिन सक्छन् । त्यसमा माओले कम्युनिस्ट आन्दोलनको समर्थनमै लेख्नुहोस् भनी आग्रह गरेका छैनन् ।

यस्तै भ्रामक धारणा हो, मार्क्सले ‘हेगेलको द्वन्द्ववाद’ र ‘फायरबाखको भौतिकवाद’ लाई मिलाएर ‘द्वन्द्वात्मक भौतिकवाद’ को प्रतिपादन गरेका हुन् भन्ने कुरा । यो गलत प्रचार राजनीतिशास्त्रका विद्यार्थीहरुलाई पढाइने पाठ्यपुस्तकमा पनि लेखिएको छ । मार्क्सले आफ्नो विश्व दृष्टिकोण वा मानव समाजलाई हेर्ने र बुझ्ने आधारभूत दृष्टिकोणलाई ‘द्वन्द्वात्मक भौतिकवाद’ भनेका छन् । मार्क्सको सैद्धान्तिक–दार्शनिक पक्षलाई ‘द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद’ भनिन्छ । विश्वलाई हेर्ने उनको आधार द्वन्द्वात्मक भौतिकवाद हो । द्वन्द्वात्मक भौतिकवादका दुई तत्त्व द्वन्द्वात्मकता र भौतिकवाद हुन् ।

मार्क्सको ‘द्वन्द्वात्मक भौतिकवाद’ ले हेगेल र फायरबाखको अनुसरण गरेको होइन । बरु उनीहरुको सिद्धान्तलाई खण्डन गरेको हो ।

यसरी यसका दुई पक्ष द्वन्द्वात्मकता वा द्वन्द्ववाद र भौतिकवाद तथा मार्क्सभन्दा केही समयअघिका दार्शनिकमा हेगेलले ‘द्वन्द्ववाद’ र फायरबाखले ‘भौतिकवाद’ को सिद्धान्त प्रतिपादन गरेकाले मार्क्सले हेगेल र फायरबाखको सिद्धान्तलाई सम्मिश्रण गरी आफ्नो सिद्धान्त प्रतिपादन गरेको हो भन्ने भनाइ छ । यस्तो भनाइ कि त अज्ञानतावश यान्त्रिक रुपले बनाइएको धारणा हो कि त जानाजान मार्क्सलाई अवमूल्यन गर्ने उद्देश्यले गरिएको प्रचार हो । वास्तवमा मार्क्सको ‘द्वन्द्वात्मक भौतिकवाद’ ले हेगेल र फायरबाखको अनुसरण गरेको होइन । बरु उनीहरुको सिद्धान्तलाई खण्डन गरेको हो ।

मार्क्सवादको सारतत्त्व

यस्तै अर्को एउटा भ्रम राजनीतिशास्त्रका गैर–मार्क्सवादी विद्वानहरुले मार्क्सवादको सारतत्त्वबारे फैलाउने गरेका छन् । उनीहरुले नबुझेर गलत धारणा लिनु वा जानाजान तोडमरोड गरी भ्रम फैलाउनु स्वाभाविकै छ । तर, यस्तो प्रचारको प्रभाव मार्क्सवादका केही अनुयायी क्रान्तिकारीहरुमा पनि पर्नु अस्वाभाविक छ । यो चिन्ताको कुरा हो । यस्तो गलत व्याख्या मार्क्सवादका ‘कन्टेन्ट’ वा अङ्गहरुबारे लेनिनले भनेको शब्दलाई लिएर गरिएको देखिन्छ । लेनिनले मार्क्सवादको अलि सरल ढङ्गले व्याख्या गर्दा यसका विभिन्न पक्षः दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवादमा विभाजन गरी विश्लेषण गर्न खोजे । दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद गरी मार्क्सवादका तीन सङ्घटक अङ्ग छन् भन्ने लेनिनको भनाइलाई गलत व्याख्या गरिनुहुन्न ।

मार्क्सले ती सबै विचारकका सिद्धान्तहरुको विस्तृत अध्ययन गरी आफ्नो विचार प्रतिपादन गरेका हुन् । तसर्थ यी जर्मन शास्त्रीय दर्शन, बेलायती पुँजीवादी राजनीतिक अर्थशास्त्र र फ्रान्सेली समाजवादीहरुको विचारलाई मार्क्सवादको पृष्ठभूमि भन्न सकिन्छ । तर, स्रोत कदापि भन्न सकिँदैन ।

मार्क्सले प्रतिपादन गरेको द्वन्द्वात्मक भौतिकवादलाई हेगेलको द्वन्द्ववाद र फायरबाखको भौतिकवादको सम्मिश्रण वा एकीकृत रुप भनी गलत व्याख्या गरियो । त्यस्तै यान्त्रिक अर्थ लगाई मार्क्सको सिद्धान्तमा तीन अङ्ग दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादलाई मार्क्सभन्दा पहिलेका दार्शनिकहरुसित जोडेर दर्शन भन्नुको अर्थ जर्मन दर्शन, अर्थशास्त्र भन्नेबित्तिकै बेलायती राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादलाई उहाँभन्दा पहिलेका फ्रान्सेली समाजवादीहरुको विचारसित जोडेर व्याख्या गर्ने गरिन्छ । फ्रान्सेली पुँजीवादविरोधी समाजवादी क्रान्तिकारीहरुको विचारको सम्मिश्रण, एकीकरण र संश्लेषण नै मार्क्सले गरेका हुन् भन्ने तर्क गरिन्छ । यस्तो तर्क कि त मार्क्सवादको सार र भावनाको पूर्ण अज्ञानताको फल हो कि त मार्क्सविरोधी आदर्शवादी विचारले जन्माएको प्रतिक्रिया हो ।

निश्चय पनि मार्क्सले ती सबै विचारकका सिद्धान्तहरुको विस्तृत अध्ययन गरी आफ्नो विचार प्रतिपादन गरेका हुन् । तसर्थ यी जर्मन शास्त्रीय दर्शन, बेलायती पुँजीवादी राजनीतिक अर्थशास्त्र र फ्रान्सेली समाजवादीहरुको विचारलाई मार्क्सवादको पृष्ठभूमि भन्न सकिन्छ । तर, स्रोत कदापि भन्न सकिँदैन । ब्रिटिस शास्त्रीय राजनीतिक अर्थशास्त्रीहरु एडम स्मिथ र डेभिड रिकार्डोका विचारहरु पुँजीवादी सिद्धान्तका आधार हुन् । मार्क्सले ती विचारहरुको पैँचो लिएका होइनन्, खण्डन गरेका हुन् । मार्क्सको दर्शन हेगेल र फायरबाखभन्दा के कुरामा फरक छ ? मार्क्सको समाजवाद आफ्ना अग्रज समाजवादीहरुको चिन्तनभन्दा के कुरामा फरक छ ? यी निकै गहन प्रश्नहरु हुन् ।

प्रस्तुत विचार हामीले प्रसिद्ध मार्क्सवादी विचारक प्राध्यापक माणिकलाल श्रेष्ठको पुस्तक 'मानव समाजको विकासबारे मार्क्सवादी दृष्टिकोण'बाट लिएका हौं । हामी उक्त पुस्तकका बाँकी अंशहरु क्रमश: प्रकाशित गर्दै जानेछौं ।