जंगलको कुचिकार: हाइना (हड्डी बाघ)

भारतमा नीलगिरी पहाडको दक्षिणी भू–भाग र नेपालमा तराई र उत्तरी पहाडी श्रृंखलाको छेउछाउतिर भेटिएका छन् । नेपालको महाभारत श्रृंखलातिर पनि भेटिन्छन् भनिएका यी वन्यजन्तुहरु तराईका संरक्षित क्षेत्रहरुमा पाइने कुरा प्रकाशमा आएको छ ।

हाइनालाई ठेट नेपालीमा अझैसम्म पनि नामाकरण गरिएको छैन । यसलाई हिन्दीमा ‘हुँडार’ भनिन्छ भने नेपालकै तराईमा भने ‘हड्डी बाघ’को नामले चिनिन्छ । यसले रहे–परेका सिनोबाट गुजारा गर्छ । साह्रै मोटो नभएर यो पातलो शरीरको हुन्छ । यस जातिमा करङ आकारमा काला धर्सा हुन्छन् । त्यसो भएर हाडजस्तो देखिने भएकोले यसलाई हड्डी बाघ भनिएको हुन सक्दछ । थारु जाति यो नामबाट परिचित भए पनि अन्य जातिले ‘लक्कर बाघ’ पनि भन्ने गर्दछन् । यो जनावर लखर–लखरका साथै लंगडोजस्तो भएर हिंड्ने भएकोले त्यस्तो नाम रहेको हुनसक्छ ।

आकार रुपरंग

हड्डी बाघको लम्बाइ पुच्छरसमेत गरी करिब ५ फिट हुन्छ र तौल ३५–४० किलोग्राम हुन्छ । यो करिब कुकुर जत्रै ३ फिट उचाईको हुनेगरेको पाइएको छ । हेर्दाखेरी कुकुरजस्तै लाग्ने यो जन्तुको अघिल्लो भाग अलि बलियो र उठेको देखिन्छ भने पछाडिको भाग होचो, दुब्लो र शरीरको रङ पहेंलो÷फुस्रो भूमिमा कालापाटा परेको भए पनि हावामा उडिरहेझैं लाग्दछ । यसको जगरमा केही लामा रौंहरु हुन्छन् । यी रौंहरु डर, त्रास र उत्तेजित अवस्थामा ठाडा हुन्छन् । यसको थुतुनो कालो हुन्छ भने पुच्छरको टुप्पातिर पनि काला रौं बढी हुन्छन् । हाइनाका जातहरुमा फरक–फरक रङ भेटिन्छ । तर एकै जातमा पनि मौसमअनुसार एकै ठाउँमा र जलवायुअनुसार फरक–फरक ठाउँमा पाइनेहरुमा रङको विविधता हुनसक्छ । धेरै गर्मीमा मट्याइलो र फुस्रो सेतो रङको बाहुल्यता पाइन्छ भने जाडो ठाउँमा घ्यूपहेंलो रङ भेटिन्छ ।

वितरण

नेपालमा पाइने जातको धर्के हड्डी बाघको उत्पत्ति अफ्रिकातिर भएको मानिन्छ । हालको वितरण भने हिमालयको छेउछाउदेखि भारत, मलाया, इण्डोनेसियाका साथै अफ्रिकाको उत्तरी भागतिर पाइएको छ । भारतमा नीलगिरी पहाडको दक्षिणी भू–भाग र नेपालमा तराई र उत्तरी पहाडी श्रृंखलाको छेउछाउतिर भेटिएका छन् । नेपालको महाभारत श्रृंखलातिर पनि भेटिन्छन् भनिएका यी वन्यजन्तुहरु तराईका संरक्षित क्षेत्रहरुमा पाइने कुरा प्रकाशमा आएको छ । साथै नेपालमा खुला जंगली भाग तथा चुरे पहाडका छेउछाउ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हाल पनि पाइने संभावना छ । हालै जनकपुरको ढल्केवर छेउछाउबाट यस जन्तुका बच्चाहरु संकलन गरिएको थियो ।

आनीबानी

अगाडिको तुलनामा यसका पछाडिका खुट्टा छोटा हुन्छन् । र, पछाडिका खुट्टाका औंलाले हिंड्ने यस जनावरको चाल र हिंडाई अनौठो हुन्छ । प्रायः दिनभर गुफा, ककारो वा दुलोमा आराम गरेर बस्न मनपराउने हाइना राती खानाको खोजमा धेरै टाढासम्म घुम्छ । त्यस्तै प्रायः अरुले छोडेको सिनो खाने यो जन्तु त्यही सिनोको गन्धले आकर्षित हुन्छ र शिकार पहिल्याउँछ । ठूलाठूला जनावरहरुको मृत शरीरबाट बाघ वा चितुवाले खाने जति खाएपछि बाँकी बचेको चाम्रो छाला तान्नु र हाडखोडमा बाँच्नुपर्ने भएकोले यसका बंगारा र अरु दाँतहरु अति बलिया हुन्छन् । यसले हाडहरु पनि फोरेर खान्छ– बलिया चौडा बंगारा खाना खान सहयोगी हुन्छन् । आफैंले कम शिकार गर्ने भएकाले कुकुर दाँत लामा हुँदैनन् ।

अलि पातलो जंगलको बासिन्दा ‘हड्डी बाघ’ घना जंगलभित्र बस्न रुचाउँदैन । आफ्नो खानाको लागि कहिलेकाहीँ यो जन्तु चितुवाहरुसँग प्रतिस्पर्धा गर्न पुग्छ । साह्रै हठी र चाम्रो जात भएकोले बेलाबखत अफ्रिकी सिंहहरुसँग जुध्न पुग्दछ र मृत्युको शिकार बन्न पुग्दछ । तर नेपाल भारतमा पाइने धर्के हड्डी बाघले त्यति हिम्मत गर्दैन, बरु गाउँ र काँठ क्षेत्रमा कहिलेकाहिँ यो जन्तुले बाच्छा, बाख्रा भेंडा र कुकुरसमेत खानपछि पर्दैन । मानिसलाई भने हड्डी बाघले बिरलै आक्रमण गर्दछ ।

यो जन्तुले विभिन्न आवाज निकाल्न सक्दछ । तीखो उराठिलो स्वर निकाल्नुका साथै खित्खित् गरिरहन सक्दछ । भाले पोथीसँगै रहन सक्छ र प्रायः त्यस्तो जोडा समूह नभए पनि ऋतुकालमा सँगै हुन्छ । बच्चाहरु आमासँग दूध नछुटुञ्जेल सँगै रहन्छन् । बच्चाहरुमा वयस्कका जस्ता काला पाटा हुँदैनन् ।

(साभार: विज्ञान लेखमाला, रोनास्ट) । Title Image: https://parsanationalpark.gov.np