हो चि मिन्ह र पेशा

एक पटक भियतनामका राष्ट्रपति हो चि मिन्ह भारत भ्रमणमा आएका थिए। सोही क्रममा एक मिटिङको बेलामा भारतका मन्त्रीहरुसंग उनको अनौपचारिक कुराकानी हुन थाल्यो।  कुराकानीको क्रममा हो चि मिन्हले अचानक भारतीय मन्त्रीहरुलाई सोधे – 'तपाईहरु के काम गर्नु हुन्छ ?'

राजनीतिलाई जनसेवाको माध्यम हैन, कमाइखाने भाडा बनाउदै आएका भारतीय मन्त्रीहरुले सहज रुपमा जवाफ दिए – 'हामीहरु राजनीति गर्छौं। '

राजनीति भनेको जनता र मुलुकको सेवा गर्नका लागि हो भन्ने विचार र सिद्धान्तले दीक्षित र सोहीअनुसार व्यवहारमा अभ्यास गर्दै आएका हो चि मिन्हका लागि यो उत्तर अपेक्षित थिएन । त्यसैले उनले भारतीय मन्त्रीहरुले सपाट रुपमा दिएको उत्तरको अर्थ बुझ्नै सकेनन् । त्यही भएर उनले आफूले सोध्न खोजेको प्रश्नको आशय प्रष्ट पार्दै फेरि  सोधे – 'मेरो प्रश्नको आशय तपाईंहरुको पेसा के हो ?'

भारतीय मन्त्रीहरुले सोझो रुपमा जवाफ दिए- 'राजनीति नै हाम्रो पेसा हो।'

 यो जवाफ हो चि मिन्हको लागि प्रियकर थिएन । त्यसैले उनले अलिक चिडिदै भने- 'सायद तपाईंहरुले मेरो प्रश्न नै बुझ्न सक्नु भएन। राजनीति त म पनि गर्छु तर पेसाले म किसान हु, म खेती गर्छु।  खेतीबाटै मेरो आजीविका चल्छ।  बिहान बेलुका म आफ्नो खेतमा काम गर्छु। र दिउँसो राष्ट्रपतिको रुपमा आफ्नो दायित्व निर्वाह गर्छु।'

यो कुरा सुनेर भारतीय प्रतिनिधिमण्डल स्तब्ध भयो। उनीहरुसंग यो कुराको कुनै जवाफ नै थिएन। अनि फेरि हो चि मिन्हले त्यही कुरा सोधे पछि एकजना भारतीय मन्त्रीले लज्जित हुँदै भने– 'राजनीति गर्नु नै हामी सबैको पेसा हो।' 

नेपालको अवस्था पनि भारतको भन्दा खासै फरक छैन। यहाँ पनि राजनीतिलाई जनसेवा र देशसेवाको माध्यम हैन, आफ्नो जीविकाको मूल पेसा बनाउने व्यक्तिहरुकै हालीमुहाली छ।  कतिसम्म भने, आफूलाई राजनीतिक पीडित भन्दै राज्यकोषबाट राहत, सहायता लिनेहरुको पनि यहाँ कमी छैन ।

वास्तवमा, राजनीति कसैको पनि मूल पेसा हुन सक्दैन।  आजीविकाको लागि व्यक्तिले केही केही काम गर्ने पर्छ। मान्छे किसान, मजदुर, व्यापारी, कर्मचारी, शिक्षक, डाक्टर, इन्जिनियर वा अरु केही हुन सक्छ तर राजनीति नै चाहिँ उसको पेसा हुन सक्दैन । राजनीतिलाई व्यक्तिको भरणपोषण गर्ने पूर्णकालीन पेसा बनाउनु निर्लज्जता हो ।  कसैले राजनीति गर्न चाहन्छ भने आफ्नो व्यवसायिक कामबाट केही सयम छुट्टाएर राजनीति गरे उत्तम हुनेथियो।

एउटा कालखण्डमा राजनीतिमा आबद्ध भएर देश–जनसेवा गर्ने, त्यसबाट निवृत्त भएपछि आफ्नो मूलपेशामा फर्कने– यो भन्दा सुन्दर काम अरु के होला र ? विकसित मुलुकहरुमा यो सामान्य कुरा हो । राजनीतिमा लागेपछि र कुनै राजकीय पदमा बसेपछि आजीवन त्यसलाई दोहन गर्ने निर्लज्ज काम चाहिँ शायद नेपाल जस्ता तन्नम मुलुकमै मात्र हुन्छ होला । राजनीतिलाई कमाइखाने भाडो बनाउन पाउन्जेल निश्चित समयपछि  राजनीतिबाट निवृत्त हुने तथा आफ्नो दक्षता र विशेषज्ञताको क्षेत्रमा फर्केर जीविकोपार्जन गर्ने तथा देशको उत्थानमा योगदान गर्ने चेत कहाँबाट पलाउँला र ?

वास्तवमा, राजनीतिलाई व्यक्तिको आजीविकाको श्रोत बन्न नदिने हो भने राजनीतिमा भ्रस्टाचार धेरै हदसम्म नियन्त्रण हुने थियो।  र राजनीतिमा दशकौंसम्म एउटै व्यक्ति हावी रहने वातावरणको अन्त्य हुन्थ्यो ।  त्यसो हुन्थ्यो भने राजनीति जमेको फोहरी पोखरी (scum pond) बन्ने थिएन। राजनीतिमा एउटा व्यक्ति एक वा दुई कार्यकाल सेवा गरेर सक्रिय राजनीति बाट सन्यास लिन्थियो र अर्को नयाँ अनुहार त्यो ठाउमा पुग्नेथियो। 

कुनै व्यक्तिले मेरो पेसा राजनीति वा समाजसेवा हो भनेर भन्छ भने त्यो नटवरलाल हो, त्यस्तालाई जनताले भोटको डण्डाले दण्डित गर्नु जरुरी छ ।