विज्ञानको पक्षमा बाेल्दा जिउँदै जलाइएका वैज्ञानिक जियोर्डानो ब्रूनो
सोह्रौं र सत्रौं शताब्दीमा आफ्ना स्वतन्त्र तथा वैज्ञानिक विचार अभिव्यक्त गरेकै आधारमा इसाई धर्मका अधिकारीहरु अर्थात् पादरीहरुद्वारा सताइएका वैज्ञानिकहरुमा जियोर्डानो ब्रूनोको नाम अग्रस्थानमा आउँदछ ।
त्यस समयमा यूरोपको समाज इसाई परम्परा र इसाई दर्शन तथा विश्वासको जगमा चलेको थियो । पृथ्वी र विश्व ब्रम्हाण्डको सम्बन्धमा इसाईहरुको विश्वास इसापूर्व पाँचौ शताब्दीको ग्रीसका महान दार्शनिक प्लेटोले प्रतिपादन गरेको र पछि इसापूर्व चौथो शताब्दीमा ग्रीसका अर्का दार्शनिक अरस्तु र इसाको दोस्रो शताब्दीमा इजिष्टको अलेक्जेण्ड्रियामा गणितज्ञ टोलेमीले पूर्ण विकसित गरेको ‘पृथ्वी केन्द्रित ब्रम्हाण्ड’ (geocentric universe) को सिद्धान्तमा थियो ।
‘पृथ्वी केन्द्रित ब्रम्हाण्ड’को सिद्धान्तअनुसार, ब्रम्हाण्डको केन्द्र पृथ्वी हो । अर्थात् ब्रम्हाण्डमा पृथ्वी कुनै निश्चित स्थानमा स्थिर भएर बसेको छ र यसलाई सूर्यलगायत अन्य सबै ग्रह तथा नक्षत्र (तारा) हरुले निरन्तर परिक्रमा गरिरहेछन् ।
त्यस सिद्धान्तअनुसार, ब्रम्हाण्डको केन्द्र पृथ्वी भएको नाताले ब्रम्हाण्डमा पृथ्वीजस्तो अर्को कुनै ग्रह अस्तित्वमा छैन । ब्रम्हाण्डमा पृथ्वी नै एकमात्र हराभरा ग्रह हो र यो सर्वश्रेष्ठ छ ।
तर सोह्रौं शताब्दीको पाँचौ दशकको शुरुमा आएर पोलिस खगोलविद् निकोलस कोपर्निकस (१४७३–१५४३)ले इसाईहरुको विश्वासको ठीक विपरीत ‘सूर्य केन्द्रित ब्रम्हाण्ड (Heliocentric universe) को सिद्धान्त अगाडि ल्याए । त्यस सिद्धान्तलाई व्याख्या गरिएको कोपर्निकसको 'De revolutions orbium' (On the Revolutions of the Celestial Spheres) अर्थात् ‘खगोलीय पिण्डहरुको परिक्रमणबारे’ नामको किताब उनको मृत्यु भएको महिनामा प्रकाशित भएको थियो ।
‘सूर्य केन्द्रित ब्रम्हाण्ड’को सिद्धान्तअनुसार ब्रम्हाण्डको केन्द्र पहिले भनिएझै पृथ्वी नभई सूर्य हो । ब्रम्हाण्डमा ग्रह, नक्षत्र सबैले पृथ्वीलाई होइन, सूर्यलाई परिक्रमा गर्छन् । पृथ्वी स्वयंले पनि सूर्यलाई वर्षको एकचोटि फन्का मार्छ ।
कोपर्निकसको विचारले इसाई धर्मको आधिपत्य भएको यूरोपको समाजमा ठूलो हलचल ल्याइदियो । तर आफ्नो विचार बाहिर प्रकाशित हुँदासम्ममा कोपर्निकसको मृत्यु भइसकेकोले उनले इसाई पादरीहरुको अन्ध कोपभाजनको शिकार बन्नु परेन अर्थात् उनले कुनै ठूलो दण्ड भोग्नु परेन ।
जियोर्डानो ब्रूनो आफैंमा खगोलविद् थिएनन् । तर उनले कोपर्निकसको ‘सूर्य केन्द्रित ब्रम्हाण्ड’को सिद्धान्तलाई जनस्तरसम्म व्यापक रुपमा प्रचार प्रसार गर्न ठूलो भूमिका खेले । उनको त्यो भूमिकाले आधुनिक विज्ञानको ढोका खुल्न पुग्यो । वास्तवमा ब्रूनोको अभियान, विचारमा रहेको जडसूत्रवाद वा स्थिरतावादविरुद्धको सशक्त संघर्ष थियो ।
बू्रनोले झण्डै २० वटा पुस्तकहरु लेखे । तिनीहरुमध्ये तीनवटा पुस्तकहरुमात्र खगोलविज्ञानसम्बन्धी थिए । ती हुन्; (क) On cause, Principle and Unity र (ग) On the Infinite Universe and Worlds विशेष मानिन्छ ।
खगोलविज्ञानमा ब्रूनोले साहसका साथ जनस्तरसम्म ल्याएका विचारहरु दुईवटा हुन् । पहिलो, कोपर्निकसको ‘सूर्य केन्द्रित ब्रम्हाण्ड’को सिद्धान्त हो भने, अर्को अनन्त ब्रम्हाण्ड एवं असंख्या विश्वहरुको सिद्धान्त ।
ब्रूनोले कोपर्निकसको ‘सूर्य केन्द्रित ब्रम्हाण्ड’को सिद्धान्तलाई आफ्नो किताब The Ash Wednesday Supper मा राम्रो तरिकाले व्याख्या गरेका छन् । त्यो किताब एउटा निजी भोजको कथा हो । त्यसमा ब्रूनोले आफ्ना केही अंग्रेज पाहुनाहरुको बीचमा कोपर्निकसको सिद्धान्तबारे व्याख्या गर्दा तिनीहरु मरीमरी हाँसेको घटना उल्लेख गरिएको छ ।
त्यस्तैगरी, ब्रूनोले आफ्नो अर्को किताब On cause, Principle and Unity मा ‘यो सम्पूर्ण पृथ्वी, यो तारा प्रकृतिमा कहीं पनि नष्ट हुन असम्भव छ । किनकि यिनीहरु समय समयमा आफैले आफ्ना सबै भागहरु परिवर्तन तथा मर्मत सम्भार गरेर नविकरण गर्छन्’ भन्ने विचार व्यक्त गरेका छन् । त्यस किताबमा उनले अरस्तूले सुझाएजस्तो निरपेक्ष (स्थीर वा अतुलनीय) माथि वा तल भन्ने कुरा कहीं छैन भनेका छन् । उनका अनुसार, अन्तरीक्षमा निरपेक्ष स्थिति (absolute position) भन्ने कुरा छैन । बरु कुनै वस्तुको स्थिति अन्य सम्बन्धित वस्तुहरुको सापेक्षतामा निर्धारित भएको हुन्छ । ब्रूनोका अनुसार ब्रम्हाण्डभरि जहाँ कहिँ पनि स्थितिमा निरन्तर सापेक्ष परिवर्तन भइरहेको हुन्छ । तर अबलोकनकर्ता भने जहिले पनि वस्तुहरुको केन्द्रमा नै रहेको हुन्छ ।
तेस्रो किताब इल On the Infinite Universe and Worlds मा ब्रूनोले ब्रम्हाण्ड अनन्त छ भनेर तर्क प्रस्तुत गरेका छन् । उनका अनुसार अनन्त ब्रम्हाण्डमा असंख्य विश्वहरु छन् र ती सबैमा बुद्धिमान जीवहरुले बसोबास गरेका छन् ।
ब्रम्हाण्डको केन्द्र पृथ्वी नभएको र विश्व एउटा होइन, असंख्य भएको भन्ने ब्रूनोको विचारबाट इसाई धर्मगुरुहरु साह्रै आत्तिए । किनकि त्यो विचार इसाई विश्वासको विपरित थियो । त्यसैले, उनीहरुले ब्रूनोलाई पक्रने र जिउँदै जलाएर कायरतापूर्वक विभत्स दण्ड दिने काम गरे । जलाइनुअघि कठघरामा उभ्याएर मृत्युदण्डको सजायँ सुनाउँदा ब्रूनोले भनेका थिए– “सायद् तिमीहरु, जसले सजायँको घोषणा गरेका छौ, सजायँ पाउनेभन्दा बढी डराएका छौ ।”
जोर्डानो ब्रूनोपछि कोपर्निकसको ‘सूर्य केन्द्रित ब्रम्हाण्ड’को सिद्धान्तलाई अझ विकसित गर्ने काम अर्का इटालियाई वैज्ञानिक ग्यालिलियोले गरे । उनले सर्वप्रथम टेलिस्कोपको आविष्कार गरी त्यसको सहायताबाट वृहस्पति ग्रह वरिपरि त्यसका चन्द्रमाहरुले परिक्रमा गरिरहेको तथ्य पत्ता लगाए । र, त्यसकै आधारमा उनले गणितको भाषाबाट पृथ्वी तथा अन्य ग्रहहरुले सूर्यलाई परिक्रमा गर्ने कुरा प्रमाणित गरिदिए । इसाई पादरीहरुले ग्यालिलियोलाई ब्रूनोलाई जस्तै जिउँदै जलाएर प्राणदण्ड त दिएनन्, तर सन् १६३३ तिर उनलाई अदालतमा ‘सूर्यले पृथ्वीलाई घुन्छ’ भनेर जवरजस्ती रुपमा झूठ बोल्न बाध्य तुल्याइयो । झूठ बोलेर ज्यान जोगिए पनि ग्यालिलियोले जेलबाट भने मुक्ति पाउन सकेनन् । उनी जेलमै सडेर सन् १६४२ मा मृत्यु हुन पुगे ।
अहिले कोपर्निकस, ब्रूनो र ग्यालिलियोको विचार सही सावित भएको छ । सूर्यले पृथ्वीलाई घुम्छ भन्नु अब मूर्ख कुरो भइसकेको छ । सायद् यस कुरालाई नै बुझेर होला, सन् १९९२ मा इसाईहरुका सर्वोच्च पोपले कोपर्निकस र ग्यालिलियो सही थिए भन्ने स्वीकारोक्तिको सार्वजनिक गरे । तर ब्रूनोको सवालमा भने पोपले अहिलेसम्म केही बोलेका छैनन् । उनको वैचारिक कामलाई अझै इसाईहरुको विश्व केन्द्र भेटिकन शहरमा निषेधित विषयको रुपमा कायम राखिएको छ ।
सन्दर्भ सामग्री: Science Reporter, Feb. 2001, Encyclopedia Britanica, Encyclopedia Encarta
प्रतिक्रिया