विश्व राजनीतिलाई 'प्रभावित पार्ने' किसिन्जरको निधन
प्रख्यात अमेरिकी राजनीतिज्ञ र कूटनीतिज्ञ हेनेरी किसिंजरको १०० बर्षको उमेरमा निधन भएको छ। बीसौं शताब्दीको विश्व राजनीतिलाई प्रभावित पार्ने व्यक्तिहरु मध्ये अन्तिम उनी जीवित कडी थिए। उनले आफ्नो जीवनकालमा गरेका कामको परिणामले अहिले सम्म विश्व राजनीतिलाई प्रभाव पारिरहेको छ र आउने दिनहरुमा समेत पार्नेवाला छ।
हेनेरी किसिंजरको जन्म १९२३ मा जर्मनीमा एउटा कट्टर यहुदी परिवारमा भएको थियो। जर्मनीमा हिटलरको नाजी शासनको दमन चक्र बढ्दै गएपछि उनको परिवार १९३८ मा शरणार्थीको रुपमा अमेरिकामा पुग्यो। दोश्रो विश्वयुद्धको समयमा हेनेरी किसिंजर अमेरिकी सेनामा भर्ति भए। हेनेरी किसिंजरले जर्मनीसंग अमेरिकाले लडेको निर्णायक लडाइँ 'व्याटल अफ बल्ज'मा भाग लिएका थिए। उनको जर्मन भाषाको दक्षता देखेर सेनाले उनलाई प्रतिगुप्तचर बिभागमा खटाएको थियो। दोश्रो विश्वयुद्ध पछि हेनेरी किसिंजर हावर्ड विश्वविद्यालयमा भर्ना भए। पढाइमा अत्यन्त तिक्ष्ण किसिंजरले त्यहीँबाट राजनीतिशास्त्रमा पिएचडीको उपाधि हासिल गरे। आफ्नो अध्ययन पूरा गरेपछि किसिंजरले त्यहीँ अध्यापन गर्न थाले।केहीसमय लगत्तै उनी तत्कालिन अमेरिकी रास्ट्रपति जोन एफ केनेडी र लिन्डन बेन्स जोन्सनको सलाहकार बने। यहीँबाट हेनेरी किसिंजरको राजनीति तर्फको यात्रा सुरु भयो।
हेनेरी किसिंजर अन्तर्राष्ट्रिय सम्बन्धमा यथार्थवादी विचारधाराका अनुयायी थिए। उनको राजनीति र कुटनीतिमा आदर्शवादलाई कुनै महत्व थिएन। १९६८ मा रास्ट्रपति निक्सनले उनलाई राष्ट्रिय सुरक्षा सल्लाकार नियुक्त गरेका थिए। उनको प्रमुख चुनौती भियतनाम युद्ध थियो। त्यस बेलासम्म भियतनाम युद्ध अमेरिकामा ज्यादै अलोकप्रिय बन्न थालिसकेको थियो। हेनेरी किसिंजरले भियतनाममा सम्मानसहितको शान्तिको अवधारणा अगाडि सारे। त्यसअनुसार एकातर्फ उत्तरी भियतनामसंग अमेरिकाले वार्ता सुरु गर्यो भने अर्कोतर्फ भयानक बमबारी पनि सुरु गर्यो। किसिंजरको रणनीतिका कारण यो युद्ध चार बर्ष लम्बियो। कम्बोडिया र लाओसमा पनि अमेरिकाले आक्रमण शुरु गर्यो। लाखौं मानिसहरुको मृत्यु भयो। २२ हजार थप अमेरिकी सेनाको पनि मृत्यु भयो। १९७३ मा उत्तरी भियतनाम संग भएको शान्ति वार्ताको लागि हेनेरी किसिंजर र उत्तरी भियतनाम राजनीतिज्ञ ली डक थोलाई नोबेल शान्ति पुरस्कारले सम्मानित गरियो। तर ली डक थोले यो पुरस्कार लिन अस्वीकार गरे।
https://media1.chinaworker.info
हेनेरी किसिंजरले सोभियत संघ र चीनबीचको विवादलाई गम्भीरतापूर्वक हेरिरहेका थिए। १९६९ मा सोभियत संघ र चीनबीच सीमा क्षेत्रमा ठुलै झडपहरु हुन थाल्यो । हेनेरी किसिंजरले यो मौकाको फाइदा उठाउदै चीनसंग गोप्य रुपमा वार्ता सुरु गरे। उनले १९७१ मा दुई पटक चीनको यात्रा गरे। पहिलो पटकको यात्रा गोप्य थियो। यात्राको क्रममा चीनका प्रधानमन्त्री चाउ एनलाई संग वार्ता गरे। किसिंजरको यो प्रयासले १९७२ को रास्ट्रपति निक्सनको चीन यात्रा र चीनियाँ नेता माओ त्से तुङ्गसंगको विश्व प्रख्यात शिखर वार्ता सम्भव भयो। निक्सन माओको शिखर वार्तालाई २० औ शताब्दीको निर्णायक वार्ता मानिन्छ। किसिंजरको यहि प्रयासका कारण चीनसंग अमेरिकाको सम्बन्धको सुरुवात भयो। र सोभियत संघ विश्व राजनीतिमा एक्लियो।
त्यस्तै १९७३ को अरब इजरायल युद्धपछि अरब देशहरुले पश्चिमी देशहरु माथि तेल नाकाबन्दी लगाएका थिए। यो तेल नाकाबन्दीले ती देशहरुको अर्थतन्त्रलाई ठुलो असर पार्न थालेको थियो। यही मौकामा हेनेरी किसिंजरले साउदी अरेबियाको भ्रमण गरे। त्यो भ्रमणमा साउदी अरेबियाको सुरक्षाको र उसलाई चाहिएको हतियार अमेरिकाले उपलब्ध गराउने जिम्मा अमेरिकाले लिने र त्यस वापत साउदी अरेबियाले आफ्नो तेल अमेरिकी डलरमा मात्र बेच्ने सम्झौता भयो। यही सम्झौताबाट पेट्रोडलरको युग सुरु भयो। राष्ट्रपति निक्सनले १९७१ मा ब्रेटन वुड्स प्रणाली परित्याग गरेपछि कमजोर बनेको अमेरिकी डलरको प्रतिष्ठा यो सम्झौताले फेरि पुनस्थापित गरिदियो ।
हेनरी किसिंजरका जीवनका उज्याला पक्षहरु मात्र छैन। उनका काम र त्यसले निम्त्याएका परिणामहरु धेरै नै भयावह छन्। हेनरी किसिंजरले अमेरिकाको शक्ति र सामर्थ्य विस्तार गर्न गरेका कार्यले विश्वभर रगतको खोलो बगाएको थियो। त्यसैले उनलाई धेरैले बीसौं शताब्दीका सबै भन्दा भयानक युद्ध अपराधी हुन् हेनरी किसिंजर। उनले आफ्नो पूर्ण जीवन भोग गरे, उनी सयवर्ष सम्म बाचे । तर उनको कालो कर्तुतका कारण लाखौं व्यक्तिहरुले आफ्नो किशोरअवस्था र युवा अबस्था समेत पुरा गर्न पाएनन्। हेनरी किसिंजरका अनुहारमा सदाको लागि कालो पोतिदिने मुख्य अपराधहरु निम्नानुसार छन्–
क्याम्बोडिया- १९६९ मा रिचर्ड निक्सन अमेरिकी रास्ट्रपति बनेपछि उनले र उनका प्रमुख सहयोगी हेनरी किसिंजरले भियतनाम युद्धलाई बिस्तार गर्ने योजना बनाए। अहिलेसम्म भियतनाम युद्धबाट अलग रहेको कम्बोडियामा निक्सन र किसिंजरले भयानक बमबारीको योजना बनाए। यो अप्रेसनको नाम राखियो अप्रेसन ब्रेकफास्ट। अमेरिका कम्बोडियाको विरुद्दमा युद्धमा संलग्न थिएन। तसर्थ यो हमलालाई अमेरिकी कांग्रेसको स्वीकृति प्राप्त भएको थिएन। तर निक्सन र किसिंजरले बडो उत्साहपूर्वक कम्बोडियामा कार्पेट बमबारी गर्ने आदेश दिए। यो क्रममा कम्बोडिया माथि ५ लाख ४० हजार टन बम बर्षा गरियो। जसका कारण करिव ५ लाख कम्बोडियाबासीको मृत्यु भयो। त्यस बेलासम्म एउटा सानो विद्रोही समुहको रुपमा रहेको खमेर रुज यही अमेरिकी बमबारीको कारण शक्तिशाली बन्न पुग्यो। र पछि खमेर रुजले कम्बोडिया पुरै कब्जा गर्यो।
बंगलादेश- १९७१ मा पुर्बी पाकिस्तान(बंगलादेश) मा पाकिस्तानी सेनाले गरिरहेको नरसंहारबारे त्यहा रहेका अमेरिकी कुटनीतिज्ञले जानकारी गराएका थिए। तर निक्सन र किसिंजरले पाकिस्तान पट्टि झुकाब राख्दै पाकिस्तानी सेनाको अत्याचार प्रति आँखा चिम्ले। जसका कारण बंगलादेशमा ३ लाख बंगाली मुख्यतया हिन्दुहरुको कत्लेआम भयो।
चिली- अमेरिकी असन्तुष्टि र प्रतिरोधका बाबजुद पनि चिलीमा बामपन्थी नेता डा साल्भाडोर एलेन्डे रास्ट्रपति पदमा निर्वार्चित भए। उनलाई असफल बनाउन अमेरिकाले अनेक हत्कण्डा अपनायो। अन्त्यमा केही नलागेपछि चिलीका सैनिकहरुलाई जनरल अगस्टो पिनोसेको नेतृवमा सैन्य बिद्रोह गरायो। सो सैन्य विद्रोहको क्रममा डा साल्भाडोर एलेन्डेको मृत्यु भयो। यो सैन्य विद्रोहको मुख्य योजनाकार थिए किसिंजर। जनरल अगस्टो पिनोसेको शासनकालमा चिलीमा हजारौ चिलियाँ नागरिकहरुको हत्या भयो।
पूर्वी टिमोर- १९७५ को डिसेम्बरमा पूर्वी टिमोर पोर्चुगलको उपनिवेशबाट मुक्त भयो। त्यो समय किसिंजर आफ्नो चीन भ्रमणको क्रममा इन्डोनेसियामा थिए। इन्डोनेसियाका सैन्य शासक सुहार्तोले किसिंजर समक्ष पूर्वी टिमोर कब्जा गर्ने मनसाय व्यक्त गरे। किसिंजरबाट ग्रिन सिग्नल पाएपछि भोलिपल्टै सुहार्तोले पूर्वी टिमोरमाथि आक्रमण गरे। पूर्वी टिमोर माथि इन्डोनेसियाको २५ वर्षको शासनको क्रममा करिव २ लाख टिमोरका जनताको हत्या भयो।
अर्जेन्टिना- १९७६ मा अर्जेन्टिनाको सेनाले विद्रोह गर्दै त्यहाका लोकप्रिय राष्ट्रपति इसाबेल पेरोनलाई अपदस्त गरे। सो सैन्य विद्रोह लगत्तै किसंगरको समर्थनमा अर्जेन्टिनामा रहेका बामपन्थी विचार बोकेका व्यक्तिविरुद्ध भयानक दमनको शृंखला सुरु गर्यो। त्यो दमन फोहोरी युद्ध (dirty war ) को नामले कुख्यात छ। यो फोहोरी युद्धको क्रममा ३० हजार जनाको मृत्यु भएको थियो।
हेनरी किसिंजरले आफुले गरेका यस्ता भयानक अपराधहरु प्रति कहिले खेद व्यक्त गरेनन। उनलाई आफ्नो अपराध बोध पनि कहिले भएन।
हेनरी किसिंजर आफ्नो जीवनको अन्तिम समय सम्म अमेरिकाको हितका लागि खट्न छोडेनन्। यही वर्ष १०० वर्षको उमेरमा पनि हेनरी किसिंजरले चीन संगको अमेरिकाको बिग्रिदो सम्बन्धलाई सुधार्नको लागि चीनको भ्रमण गरेका थिए। यो भ्रमणको क्रममा उनले चीनिया राष्ट्रपति सी जिनपिङ्गसंग पनि वार्ता गरेका थिए।
सारमा भन्दा किसिन्जर, विश्व राजनीतिक रङ्गमञ्चमा अमेरिकाका दमनकारी युद्धलाई फैलाउने र अमेरिकी हितको नाममा नरसंहारका ताण्डव मच्चाउनेहरुमध्येका मुख्य नायक थिए । उनले विश्व राजनीतिलाई प्रभावित त गरे तर त्यो प्रभाव सकारात्मकताका लागि, विश्व मानवताका लागि थिएन, त्यो विशुद्ध अमेरिकी साम्राज्यवादलाई स्थापित गर्नको लागि थियो । त्यसका लागि रगतको खोलो बगाउन, लाखौं कत्लेआम गराउन समेत उनी हिच्किचाएनन् । यस अर्थमा किसिन्जर विश्व नायक हैन, सफल कुटनीतिज्ञ हुनुका बाबजूद दुर्दान्त खलनायक थिए भन्दा फरक पर्दैन ।
प्रतिक्रिया