एङ्गेल्सको प्रसिद्ध कृति “परिवार, निजी सम्पत्ति र राज्यको उत्त्पत्ति” को सारसंक्षेप
परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति लुइस हेनरी मोर्गनको शोध अनुसार फ्रेडरिख एङ्गेल्सद्वारा सन् १८८४ मा लेखिएको एक ऐतिहासिक भौतिकवादी ग्रन्थ हो।यो पुस्तकलाई एक प्रारम्भिक मानवशास्त्रीय कार्य भनिन्छ र यसलाई पारिवारिक अर्थशास्त्रमा पहिलो प्रमुख कार्यहरूमध्ये एक महत्त्वपूर्ण कार्य मानिन्छ।यो पुस्तक तत्कालीन समाजको आधारभूत नारीवादी आलोचना हो तथा समतापरक साम्यवादी समाजको सपना हो।यही वैचारिक ऊर्जासँगै बीसौं शताब्दीमा एङ्गेल्सको यो पुस्तक महत्त्वपूर्ण सावित भयो।
सन् १८८३ मा आफ्ना परममित्र र सहविचारक कार्ल मार्क्सको मृत्यु भएपछि एङ्गेल्स उनका रचनाहरूलाई पूर्ण गर्ने कार्यमा लागे।यसरी आफ्ना विद्वान मित्रका विभिन्न रचनाहरूको प्रकाशनको लागि सक्रिय रूपले व्यवस्थापकीय काममा समेत लागे।यससँगै उनले आफ्नो अध्ययनकार्यलाई पनि निरन्तरता दिए।यद्यपि सन् १८८३ को उनको एक महत्त्वपूर्ण पुस्तकको पाण्डुलिपि प्रकृतिको द्वन्द्वात्मकता अधुरो रह्यो र अप्रकाशित नै रह्यो।
परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्तिको लेखन एंगेल्सले अप्रिल १८८४ को शुरुवातमा गरेर यसलाई २६ मईमा पूरा गरेका थिए।एङ्गेल्सले यो विषयमा आफ्नो काम प्रसिद्ध मानव वैज्ञानिक लुइस हेनरी मोर्गनको एन्सियन्ट सोसाइटीद्वारा मार्क्सको एउटा पुस्तकको हस्तलिखित सारांश पढेपछि शुरु गरेका थिए।एङ्गेल्सले आफ्नो पुस्तकमा मोर्गनका निष्कर्षहरूलाई समकालीन वर्गसंघर्षका अहिलेसम्म हाम्रो सामु नभएका प्रागऐतिहासिक तथ्यात्मक आधार प्रदान गर्ने रूपमा हेरे। उनको मान्यता अनुसार यो मोर्गनका विचारहरूको लागि ऐतिहासिक भौतिकवादका सिद्धान्तको एक महत्त्वपूर्ण पूरक हुनेछ।
परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्तिको लेखन एंगेल्सले अप्रिल १८८४ को शुरुवातमा गरेर यसलाई २६ मईमा पूरा गरेका थिए।एङ्गेल्सले यो विषयमा आफ्नो काम प्रसिद्ध मानव वैज्ञानिक लुइस हेनरी मोर्गनको एन्सियन्ट सोसाइटीद्वारा मार्क्सको एउटा पुस्तकको हस्तलिखित सारांश पढेपछि शुरु गरेका थिए।
सन् १८७७ मा प्रकाशित अमेरिकी मानवशास्त्री लुइस हेनगरी मोर्गनको ‘एनसियन्ट सोसाइटी : रिसर्चेज इन द लाइन्स अफ ह्यूमन फर्म सेवेजरी थ्रू बर्बरिज्म टु सिभिलाइजेसन' लाई पढेपछि एंगेल्सले काउत्स्कीलाई पत्र लेख्दै भनेका थिए – जसरी जीवन विज्ञानको लागि डार्विनको क्रान्तिकारी महत्त्व छ, त्यसरी नै मोर्गनको यो पुस्तकको महत्त्व आदिम समाजको सिलसिलामा हुनेछ।यसपछि एंगेल्सले यसैका आधारमा आफ्नो प्रसिद्ध पुस्तक परिवार, निजि सम्पत्ति र राज्यको उत्पत्ति पुस्तक लेखेका थिए।यो पुस्तकमा एंगेल्सको क्षमतालाई राम्रोसँग बुझ्न सकिन्छ।बीसौं शताब्दीमा मार्क्सवादी शासन स्थापित देशहरूमा महिलाहरूको सम्बन्धमा बनेका कानूनमाथि यो पुस्तकको प्रत्यक्ष प्रभाव परेको देखिन्छ।यहाँसम्क कि पश्चिमी देशहरूका समाजवादी नारीवादको पछाडि पनि यो पुस्तकको स्पष्ट प्रभाव परेको देखिन्छ।यसमा लैंगिक विषमतामाथि प्रबल रूपमा आक्रमण गरिएको छ।परिवार संस्थाको ऐतिहासिक आलोचना गरिएको छ र उत्तर-समाजवादी देशहरूमा यो पुस्तकका मान्यताहरूको विरासत देखिन्छ।यति मात्र होइन यो पुस्तकले आधुनिक समाजिक सम्बन्धहरूलाई बुझ्नको लागि एक आधारभूत दृष्टिकोण प्रदान गर्दछ।
लुइस हेनरी मोर्गन अमेरिकाका विकासवादी मानवशास्त्री थिए। उनी मानव समाजको प्रगतिशील विकासको धारणामा विश्वास गर्दथे।मोर्गनका अनुसार बर्बरताबाट सभ्यतातिर सामाजिक विकासको प्रत्येक चरण प्रतिपालनबाट बढ्दै गएको स्रोतहरूको परिणाम थियो, जुन परिवारको बदलिँदो रूपमा प्रतिबिम्बित हुन्छ।मोर्गन पनि डार्विनको जीव विकासवादी सिद्धान्तबाट प्रभावित थिए।उनको मान्यता के थियो भने बर्बरताभन्दा पहिलेका मानिस बाँदर प्राणी जस्तै थिए र उनीहरू आगो, धनुष-वाण तथा ढुंगाका हतियारको सहाराले लामो समयसम्म विकसित भइरहे।सभ्यता प्रवेश गर्नुभन्दा पहिले मानिसले कृषि, पशुपालन र फलाम तथा कच्चा धातु गलाउने काम सिकिसकेका थिए।मोर्गनका अनुसार यिनीहरूमध्ये प्रत्येक युगका अलग-अलग पारिवारिक संरचना थिए।परिवारको ढाँचा स्थिर होइन, समाजको विकाससँगै विकासमान भएको हो।उनको मान्यता अनुसार शुरुमा अर्थात् बर्बर अवस्थामा सामूहिक विवाह व्यवस्थाको चलन थियो र यौन स्वतन्त्रता मुक्त थियो।यस अवस्थामा युग्म विवाहको शुरुवात भयो र त्यसको साथै गोत्रमा आधारित समाजको विकास भयो।विवाहित युग्म सामुदायिक वंशगत आवासहरूमा बस्थे।यसपछि नै पितृसत्तात्मक परिवारको विकास भयो, जसमा मालिक पुरुष हुन्थ्यो र त्यो परिवारमा एकाधिक पुस्ता एकसाथ रहनुपर्दथ्यो।मालिकको पत्निहरू, बच्चाहरू, दासहरू र नोकरहरूमाथि अधिकार हुन्थ्यो।बर्बरताको अन्तिम चरणमा एक-पत्नि-व्रति परिवारको उदय भयो।यसमा पुरुषको परिवारमाथि पूर्ण स्वामित्व स्थापित भयो।विभिन्न समाज यही मार्गबाट भिन्न-भिन्न गतिले अगाडि बढे।यो सम्पूर्ण शोधको क्रममा मोर्गनले के कुरामा अचम्म माने भने कैयौं पटक भाषा परिवारका विद्यमान रूपको मेल हुँदैनथ्यो।उनको आफ्नो समयमा एक-पत्नि-व्रति परिवारको बहुलताको बाबजुद भाषामा विचित्र यौन सम्बन्धहरूका अवशेष विद्यमान थिए।यसबाट के बुझिन्थ्यो भने भाषामा अतीतका पारिवारिक रूपहरूका अवशेष बाँकी रहेका थिए।मोर्गनले जुन चीज भाषामा पाए, त्यसैको साहाले एंगेल्सले पुराना पारिवारिक स्वरूपहरूलाई खोज्ने कोशिस गरे। परिवारको यो पुरानो रूपलाई बदलिरहेको आर्थिक शक्तिसँगै बदल्नुपर्दथ्यो। मोर्गनको खोजले उत्पादनका साधनहरूको स्वामित्वमा परिवर्तनसँगै परिवारको रूपमा परिवर्तनको कुरा सावित गरिदियो।मानिसको प्राकृतिक अस्तित्वको प्रथम अवस्थामा कविला, जमिनमा उसको सामुदायिक स्वामित्व र यसप्रकारका पारवारिक संरचना थिए।मोर्गनको पुस्तक मार्क्स र एङ्गेल्सको लागि उत्कृष्ट सन्दर्भ सामग्री बन्यो, किनकि आदिम इतिहासमा तिनको धेरै नै रूचि थियो।
मोर्गनले के कुरामा अचम्म माने भने कैयौं पटक भाषा परिवारका विद्यमान रूपको मेल हुँदैनथ्यो।उनको आफ्नो समयमा एक-पत्नि-व्रति परिवारको बहुलताको बाबजुद भाषामा विचित्र यौन सम्बन्धहरूका अवशेष विद्यमान थिए।यसबाट के बुझिन्थ्यो भने भाषामा अतीतका पारिवारिक रूपहरूका अवशेष बाँकी रहेका थिए।
परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति प्राचीन समाजको व्यापक चर्चासँगै शुरू हुन्छ।यसले मानव विकासका प्रमुख चरणहरूको वर्णन गर्दछ, जस्तो कि एङ्गेल्सको समयमा आम रूपमा बुझिन्थ्यो।यहाँ दिइएको तर्क अनुसार मानव इतिहासमा पहिलो घरेलु संस्था मातृवंशीय कविला थियो।एङ्गेल्सको विशेष रूचिको एउटा कारण महिलाको समस्याको बारेमा प्रकाशित अगस्ट बेबेलको पुस्तक थियो, जसमा बेबेलले भनेका थिए – इतिहासको आरम्भदेखि नै महिला र मजदूरहरूको दमन उत्पीडन सामान्य कुरा रहेको छ। बेबेलका अनुसार परिवारको विकासभन्दा पहिले नै महिलाहरूलाई कविलाका सम्पत्ति मानिन्थे र उनीहरूलाई अस्वीकार गर्ने अधिकार हुँदैनथ्यो।यही कुरा कार्ल काउत्स्कीले पनि आदिम यौन सम्बन्धमाथि लेखिएको एक लेखसंग्रहमा दोहोर्याएका थिए।यसमा एङ्गेल्सलाई भू-स्वामित्वको प्रारम्भिक तरीका र विवाह पद्धतिको बीचको सम्बन्ध ज्ञात भयो।अगस्ट बेबेल र काउत्स्कीको विपरीत एङ्गेल्सको भनाइ के थियो भने आदिम मानव समाजमा पितृसत्ता थिएन, बरू सामुदायिक यौन सम्बन्धहरूको व्यवस्था रहेको हुनुपर्दछ।आदिम समाजमा महिला उत्पीडनले उनीहरूलाई आधुनिक विकारको प्रक्षेपण महसुस भयो।आधुनिक समाजमा आएर यौन स्वच्छन्दता पुरुषको विशेषाधिकार बन्यो, अतीतमा यो सुविधा पुरूषसँगै स्त्रीलाई पनि प्राप्त थियो।मोर्गनको पुस्तकको बारेमा मार्क्सका टिप्पणीहरूबाट एङ्गेल्सलाई आफ्ना मान्यताहरूको पुष्टि प्राप्त हुनलाग्यो र यसको आधारमा उनले अगस्ट बेबेल र काउत्स्कीका अनैतिहासिक मान्यताहरूको विरोधमा लेख्ने निश्चय गरे। किनभने मोर्गनको किताब पढ्ने मौका सबैलाई मिल्न सक्दैनथ्यो।त्यसपछि एङ्गेल्सले काउत्स्कीलाई पत्र लेखेर के कुरा भनेका थिए भने मोर्गनको खोजबाट इतिहासको भौतिकवादी दृष्टिकोणको पुष्टि हुन्छ।विगतलाई बुझ्ने यो दृष्टिकोण मार्क्स र एंगेल्सले शुरूमा नै विकसित गरेका थिए, जसमा धर्म, वर्ग, राजनीतिक प्रणाली, आदि सामाजिक संरचनाहरूलाई आर्थिक र प्राविधिक शक्तिहरूको उत्पादन मानिएको थियो। यसमा सबभन्दा महत्त्वपूर्ण तत्व सम्पत्ति सम्बन्ध थियो।यसैको आधारमा सबभन्दा बढी औपचारिक हुने तत्व राज्य थियो।सम्पत्ति सम्बन्ध अनुरूप राजनीतिक व्यवस्थाको रूपान्तरण हुँदै जान्छ।यो रूपान्तरणको संचालक वर्गसंघर्ष हुन्छ।यी त मार्क्स-एङ्गेल्सका सामान्य ऐतिहासिक भौतिकवादी दृष्टिकोण थिए।मोर्गनको खोजबाट परिवार पनि उपरिसंरचनाका वभिन्न पक्षहरूमा सामेल भए, जुन उत्पादनमा हुने परिवर्तन अनुरूप बदलिएको देखिन्छ। एङ्गेल्सले आफ्नो पुस्तकको पहिलो संस्करणको भूमिकामा यो कुरामाथि विशेष जोड दिएको देखिन्छ।
एङ्गेल्सले काउत्स्कीलाई पत्र लेखेर के कुरा भनेका थिए भने मोर्गनको खोजबाट इतिहासको भौतिकवादी दृष्टिकोणको पुष्टि हुन्छ।विगतलाई बुझ्ने यो दृष्टिकोण मार्क्स र एंगेल्सले शुरूमा नै विकसित गरेका थिए, जसमा धर्म, वर्ग, राजनीतिक प्रणाली, आदि सामाजिक संरचनाहरूलाई आर्थिक र प्राविधिक शक्तिहरूको उत्पादन मानिएको थियो।
एंगेल्सले मोर्गनको परिवार पनि धर्म, राजनीति र संस्कृति जसरी नै उत्पादन पद्धतिबाट प्रकट भएको हो भन्ने कुरालाई ग्रहण गरे।अत्यन्त आदिम अवस्थापछि जसरी-जसरी श्रमको उत्पादकता बढ्दै गयो, त्यसरी नै विनिमय, निजी सम्पत्ति, प्रविधि र विषमतामा पनि बढोत्तरी भयो। यसको साथै पहिलेदेखि विद्यमान सामाजिक संरचनाहरूमा दबाव तीव्र हुनलाग्यो। उत्पादन पद्धतिहरूमा परिवर्तनसँगै बदलिएको परिवारको स्वरूप आज निजी सम्पत्तिको प्रभुता अनुरूप एक-पत्नि-व्रति आधुनिक परिवारमा प्रकट भएको छ।यसको विकास, प्राकृतिक सामुदायिक सम्पत्तिमाथि निजी सम्पत्तिको समानान्तर भएको छ। एङ्गेल्सले मोर्गनको खोजसँग मार्क्सको ऐतिहासिक भौतिकवादलाई जोड्नुको अलावा एउटा आधारभूत कुरा भनेका छन्। उनका अनुसार कुनै पनि समय र देशका सामाजिक संगठनको निर्धारणमा एकातिर मजदूरको विकासको अवस्था त अर्कोतिर परिवारको विकासको अवस्था निर्णायक हुन्छन्।यो मान्यताको साथै मार्क्सवादी सिद्धान्तमा महिलाको प्रश्न धेरै माथि उठेको छ। उत्पादन सम्बन्धसँगै मानिसको पुनरूत्पादन र परिवारको संचालनमा महिलाहरूको भूमिकालाई पनि महत्त्व दिइएको छ।यही आधारमा एंगेल्सले मानव समाजको इतिहासमा महिलाको सम्प्रभुतामा कमी भएको कुरा उठाए।पहिले नै एङ्गेल्स कुन कुरालाई मान्थे भने आदिम समाजमा सन्तानकी आमा मात्र निश्चित गर्न सकिन्थ्यो।यससँगै महिलाको सम्मान त हुन्थ्यो नै, तिनको सामाजिक प्राधिकार पनि बलियो थियो। मोर्गनले जुन कविलाको अध्ययन गरेका थिए, त्यहाँ महिलाहरूलाई बुर्जुवा समाजको विरुद्धमा बढी स्वतन्त्रता हासिल थियो। तर एकल परिवारमा संक्रमणसँगै महिलाको स्वतन्त्रताको क्षय किन भयो ? यसको उत्तरमा एङ्गेल्स भन्दछन् – श्रम-विभाजन र निजी सम्पत्तिमाथि आधाधारित पूँजीवादी उत्पादन सम्बन्धहरूमा आगमनसँगै आएको एकल परिवारमा उत्तराधिकारको हस्तान्तरण पिताबाट पुत्रलाई हुन शुरु भयो।यसको लागि पुत्रको जैविक पिताको निश्चय र महिला स्वच्छन्दतामा बन्धन आवश्यक थियो।त्यसपछि महिलाको ऐतिहासिक हार भयो। घरमा पनि पुरूषको स्वामित्व कायम भयो र महिला दास समान बने।उसलाई केवल पुरुषको वासना सन्तुष्ट गर्ने र सन्तान पैदा गर्ने काममा सीमित गरियो।सन्तानको पितृत्वलाई निश्चित गर्नको लागि महिलामाथि पुरुषको स्वामित्व थोपरियो।यदि पुरुषले आफ्नो पत्निको हत्या गरिदियो भने पनि आफ्नो अधिकारको प्रयोग गरिरहेको हुन्थ्यो।महिलाले पतिव्रता धर्म निभाउनु हुन्थ्यो, पुरुषले भने आफ्नो लागि स्वच्छन्दताको अधिकार सुरक्षित राख्यो।
एकल परिवारमा संक्रमणसँगै महिलाको स्वतन्त्रताको क्षय किन भयो ? यसको उत्तरमा एङ्गेल्स भन्दछन् – श्रम-विभाजन र निजी सम्पत्तिमाथि आधाधारित पूँजीवादी उत्पादन सम्बन्धहरूमा आगमनसँगै आएको एकल परिवारमा उत्तराधिकारको हस्तान्तरण पिताबाट पुत्रलाई हुन शुरु भयो।यसको लागि पुत्रको जैविक पिताको निश्चय र महिला स्वच्छन्दतामा बन्धन आवश्यक थियो।त्यसपछि महिलाको ऐतिहासिक हार भयो।
एङ्गेल्सको यस्तो गहन विश्लेषणसँगै लैंगिकता ऐतिहासिक र सामाजिक निर्माण जस्तो देखिन लाग्यो।जहाँ अगस्ट बेबेलले पुरुष प्रभुत्वलाई अनादि कालदेखि विद्यमान मानेका थिए, त्यहीँ एङ्गेल्सले त्यसलाई हालको परिघटना प्रमाणित गरिदिए, जसको उभार निजी सम्पत्तिको विकाससँग भयो।उनले पुरानो समाजमा महिला केवल स्वाधीन मात्र होइन, सम्मानित पनि थिए भन्ने कुरा देखे।आदिम साम्यवादको अन्त्यसँगै महिलाको दुर्दशा शुरु हुन्छ।यसबाट के कुरा तय भयो भने पुरूष प्रभुत्व अस्थायी छ र लैंगिक विषमताको सम्बन्ध शरीरसँग होइन, बरु खास आर्थिक व्यवस्थासँग छ।इतिहासको गतिमा जसरी पूँजीवादको अन्त्य हुन्छ, त्यसरी नै पुरूष प्रभुत्व पनि समाप्त हुनेछ।आफ्नो यही घोषणाको कारण एंगेल्सको यो पुस्तक स्त्री समुदायको लागि आशाको सन्देश लिएर आएको थियो।
मार्क्स र एंगेल्सले जर्मन विचारधारामा नै आधुनिक श्रम विभाजनलाई घरभित्रसम्म विस्तारित भएको देखेका थिए। उनीहरूका अनुसार निजी सम्पत्ति र विषमताको केन्द्र परिवारभित्र हुन्छ, जहाँ पत्नि र बच्चाको स्थिति दास जस्तै हुन्छ।एङ्गेल्स यसभन्दा अगाडि बढेर भन्दछन् – सामाजिक वर्गका बीचमा शत्रुताको बीज आधुनिक एकल परिवारमा पुरुषद्वारा महिलाको उत्पीडनमा हुन्छ।सामाजिक उत्पादनबाट वंचित र घरेलु कामकाजको निजी संसारमा धकेलिएकी महिला आफ्नी पतिकी नोकर्नी बनेर रहन्छे।परिवारभित्र सम्पत्तिको मालिक हुनुसँगै पुरुष बुर्जुवा हुन्छ र पत्नि सर्वहारा हुन्छे।यसरी एङ्गेल्सको क्रोधको विषय आधुनिक बुर्जुवा परिवार हो, जसभित्र व्यापक विषमता संस्थागत हुन्छ।यसलाई उनी पूँजीवादी वर्गीय सम्बन्धहरूको लघु विश्व ठान्दथे।परिवारभित्रको नैतिकताकै पूरक बाहिरको पाखण्डपूर्ण आचरण हुन्छ। एकल परिवारको द्वन्द्वात्मक विपरीत वेश्यावृत्ति हो।मजदूरबाट पत्निको अन्तर के हुन्छ भने मजदूर आफ्नो शरीरलाई टुक्रा-टुक्रा गरेर दैनिक बेच्दछ, जबकि पत्नि त्यसलाई एकैपटक जिन्दगीभरको लागि सुम्पिदिन्छे।यसरी एंगेल्सका अनुसार वेश्यावृत्ति र विवाहबाह्य सम्बन्ध एकल विवाह संस्थाको अप्राकृतिक मागहरू र परिवारभित्र असमान शक्ति सम्बन्धहरूको परिणाम हुन्छन्।परिवारको आधुनिक संस्थाको निर्माण नै महिलाको दासताको आधारमा हुन्छ।त्यसकारण यसमा पूँजीवादी व्यवस्था जस्तै तनाव र अन्तर्विरोध हमेशा कायम रहन्छ।वंश परम्परालाई कायम राख्नको लागि विवाहबाह्य सम्बन्धलाई क्रूरतापूर्वक दण्डित गरिनेछ तर त्यसको अस्तित्व रहिरहनेछ।यसरी पाखण्ड के हो भने पुरूषले आफ्नो लागि यी सम्बन्धहरूको अधिकार सुरक्षित राख्यो र महिलाबाट यो खोसियो।परिवारको यो रूपले मजदूर वर्गमाथि पनि प्रभाव पार्यो।एङ्गेल्सलाई के आशा थियो भने पूँजीवादले जसरी महिलालाई पनि कारखानाको कामदार बनाएको छ, त्यसमा मजदूर परिवारभित्र त्यसको उत्पीडनको कुनै भौतिक आधार रहनगएको छैन।एकल परिवारको आगमनसँगै जोडिएको महिलासँगको क्रूर व्यवहारको अवशेष मात्र यी परिवरामा देखिन्छन्। तर पनि महिलाको पराधीनता पूँजीवादको माध्यमबाट खत्तम हुँदैन, बरु साम्यवादमा मात्र यसको समाप्ति संभव हुन्छ।विरासतमा प्राप्त हुने सम्पत्तिलाई साझा सामाजिक सम्पदामा बदलेर मात्र परिवारको वर्तमान रूपलाई बदल्न एङ्गेल्सले काउत्स्कीलाई लेखेको एउटा पत्रमा भनेका छन् – पुरुष र महिलाको बीचमा वास्तविक समानता त्यतिखेर स्थापित हुन सक्दछ, जतिखेर पूँजीको शोषण अन्त्य हुन्छ र घरेलु कामलाई सार्वजनिक उद्योगमा बदलिन्छ।शायद चार्ल्स फूरिएसँगै एङ्गेल्सलाई साम्यवादको क्रममा यौन र पारिवारिक सम्बन्धहरूमा मार्क्ससँग बढी रुचि थियो।एङ्गेल्सलाई के लाग्दथ्यो भने विवाहको आधार आपसी रूचिको अतिरिक्त अरू केही हुनुहुँदैन र यस्तो प्रेमवश नै हुन सक्दछ।साम्यवादमा परिवारको एक नयाँ रूप स्थापित हुनेछ, जुन आदिम स्वतन्त्रताको माहौलमा विद्यमान नातासम्बन्धको उन्नत स्वरूप हुनेछ।
परिवारको आधुनिक संस्थाको निर्माण नै महिलाको दासताको आधारमा हुन्छ।त्यसकारण यसमा पूँजीवादी व्यवस्था जस्तै तनाव र अन्तर्विरोध हमेशा कायम रहन्छ।वंश परम्परालाई कायम राख्नको लागि विवाहबाह्य सम्बन्धलाई क्रूरतापूर्वक दण्डित गरिनेछ तर त्यसको अस्तित्व रहिरहनेछ।यसरी पाखण्ड के हो भने पुरूषले आफ्नो लागि यी सम्बन्धहरूको अधिकार सुरक्षित राख्यो र महिलाबाट यो खोसियो।
यसप्रकार विभिन्न विद्वानहरूका अनुसार परिवारको इतिहासको सिलसिलामा जति मौलिक कुरा एङ्गेल्सले गरेका छन्, त्यति मौलिक कुरा राज्यको उत्पत्तिको सिलसिलामा गरेको देखिंदैन।यद्यपि त्यसमा पनि मार्क्स-एंगेल्सका विकसित सोच देखिन्छ।यो पुस्तकमा उनले भनेका छन् – आदिम सामुदायिकताको समाप्ति र विरोधी कविला तथा वर्गहरूको उत्पत्तिसँगै राज्य एक अनिवार्य दुर्गुणको रूपमा सामुन्ने आयो। यी विरोधी वर्गका टकरावहरूबाट माथि उठेर त्यसले समाजलाई निर्देशित गर्न लाग्यो।यसको साथै यी विरोधी वर्ग हितहरूको बीचमा राज्यका विभिन्न निकायहरूमाथि कब्जाका लडाइँ शुरु भए।आर्थिक रूपले शक्तिशाली वर्गका बलिया राज्य उत्पीडित वर्गलाई दबाउन र त्यसको शोषण गर्न लागे।तैपनि पूँजीवादी उत्पादन सम्बन्ध र एक परिवार जस्तै एङ्गेल्सले राज्य प्राधिकारको वर्तमान रूपलाई ऐतिहासिक माने।कम्युनिष्ट क्रान्तिले वर्तमान सामाजिक वर्गलाई अन्त्य गर्नेछ र यसको साथै ती वर्गहरूलाई त्यसको ठाउँमा कायम राख्ने राज्यको पनि समापन हुनेछ।अब त्यो पुरातात्विक वस्तुहरूको संग्रहालयमा पाइनेछ।
यसरी एङ्गेल्सको यो एक महत्त्वपूर्ण कृति हो।यसले प्राचीन समाजदेखि आधुनिक समाजसम्मको मानव जातिको विकासक्रममा भएका घटनाक्रमहरूलाई सूक्ष्म ढंगले केलाएर ऐतिहासिक भौतिकवादी दृष्टिकोण प्रदान गरेको छ।शोषणको जरो मातृसत्ताबाट पितृसत्तामा समाज प्रवेश गरेपछि र परिवारमा पिताले मालिकत्व लिएपछि शुरु भएको र त्यसले व्यापक रूप लिएको कुरालाई यसमा तथ्यसंगत ढंगले पुष्टि गरिएको छ।यो पुस्तकमा परिवारको इतिहास, परिवर्तन, मातृसत्तात्मक परिवारको विशेषता, निजी सम्पत्तिको उत्पत्ति र राज्यको विकासलाई तत्कालीन समाजका विभिन्न उदाहरणसहित पुष्टि गरिएको छ।मानव जातिको शोषणको इतिहासलाई पनि यसमा सूक्ष्म ढंगले विश्लेषण गरिएको छ। यो पुस्तकले नारीमाथि हुने अन्यायलाई स्पष्ट रूपले उजागर गरेको छ। त्यसैगरी यसले शोषणको आधार परिवारमा नै हुने र त्यो पुरुषले परिवारमा नारी, अन्य सन्तान र दासबाट शुरु गर्ने कुरा स्पष्ट पारिएको छ। त्यसैले यो पुस्तकाई साम्यवादी समाज निर्माणको लागि एक महत्त्वपूर्ण वैचारिक आधार सामग्रीको रूपमा लिने गरेको पाइन्छ।
सन्दर्भ स्रोतहरू
प्राचीन समाज, लेविस हेनरी मार्गन, हिन्दी संस्करण, अनुवाद – नरेश नदीम, प्रकाशन संस्थान, नयाँ दिल्ली, लोकचेतना – 11
परिवार, निजी स्वामित्त्व र राज्यको उत्पत्ति, नेपाली संस्करण, एंगेल्स, अनुवाद – राजेन्द्र मास्के, प्रगति प्रकाशन, मस्को
प्रतिक्रिया