मार्क्सवादका सहप्रवर्द्धक फ्रेडरिक एङ्गेल्स

मार्क्सवादका प्रवर्तक कार्ल मार्क्सका अनन्य मित्र थिए फ्रेडरिक एङ्गेल्स। उनले मार्क्सलाई बाचुन्जेल मात्र होइन, जीवनपर्यन्त समेत साथ दिए। एङ्गेल्सले मार्क्सलाई जीवनभर आर्थिक रुपमा सहयोग गरे। त्यसभन्दा पनि महत्त्वपूर्ण सहयोग चाहिँ उनले मार्क्सलाई बौद्धिक रुपमा समेत गतिलो साथ दिए।

कार्ल मार्क्सको प्रख्यात कृति कम्युनिस्ट पार्टीको घोषणापत्रको एङ्गेल्स सहलेखक नै थिए । त्यस्तै जब मार्क्सको सर्वाधिक महत्त्वपूर्ण कृति दास क्यापिटल प्रकासित भयो, त्यो पुस्तकको बजारमा कुनै चर्चा-परिचर्चा समेत भएन। त्यस्तो महत्त्वपूर्ण कृति गुमनाम नबनोस् भनेर त्यो मौनताको षड्यन्त्र (conspiracy of silence ) लाई चिर्न एङ्गेल्सले विभिन्न उपनामहरुबाट पत्रपत्रिकामा दास क्यापिटलको समीक्षा लेखेर छाप्ने गर्थे। एङेल्सले मार्क्सको निधनपछि उनले अधुरै छोडेको उनको कृति "पूँजी" को दोश्रो र तेस्रो खण्ड लेख्ने, सम्पादन गर्ने र प्रकाशित गर्ने काम गरे। मार्क्सको योजना र खाका अनुसार पूँजी ४ खण्डमा लेखिनुपर्ने थियो। चौथो खण्ड अतिरिक्त मूल्यको सिद्धान्तहरु (Theories of Surplus Value)  बारे हुनेवाला थियो। तर एङेल्सले वृद्ध अवस्थाको कारण र रोगले ग्रसित भएपछि "पूँजी" को चौथो खण्ड पूरा गर्न सकेनन। पूँजीको चौथो खण्ड सम्पादन र प्रकाशित गर्ने काम एङ्गेल्सले आफ्ना सबैभन्दा विश्वासिला र प्रतिभाशाली शिष्य कार्ल काउत्स्कीलाई जिम्मा दिए। तर मार्क्स र एङ्गेल्सले जसरी काउत्स्कीले पूँजीलाई राम्रोसंग सम्पादन गर्न सकेनन् । उनले १९०५-१० तिर आफ्नो हिसाबले काँटछाट गरेर, किताब भित्रका पाठहरूको क्रमलाई तलमाथि पारेर Theories of Surplus Value लाई तीन खण्डमा प्रकाशित गरे। तर यो किताबलाई पूँजीका अघिल्ला ३ खण्ड जस्तो प्रमाणिक मानिदैन। पछि सोभियत संघ स्थापना भएपछि मार्क्स-एङ्गेल्सका पान्डुलिपिहरू सोभियत संघले खरिद गर्यो। ती पान्डुलिपिहरू मध्ये Theories of Surplus Value पनि थियो। यही पान्डुलिपिको आधारमा सोभियत संघले पनि ३ खण्डमा प्रकाशित गर्यो। यसले पनि एङ्गेल्सको बौद्धिक प्रतिभा कति प्रखर थियो भनेर प्रस्ट पार्छ।

एङ्गेल्स मार्क्स जस्तो कुनै विश्ववद्यालयबाट विद्यावारिधि प्राप्त विद्वान थिएनन्। उनले औपचारिक रुपमा स्कुल तह पनि उत्तीर्ण गरेका थिएनन्। तर उनमा अध्ययन, अनुसन्धान, विश्लेषण गर्न सक्ने अद्भुत प्रतिभा थियो। एङ्गेल्स ९ भाषा बोल्न र लेखपढ गर्न सक्थे। उनले बेलायतमा आफ्नो बुवाको फ्याक्ट्री देखरेख गर्न औद्योगिक शहर म्यानचेस्टरमा रहेको बेला मजदुरहरुको अवस्थाबारे अध्ययन गरेर बेलायतमा मजदुर वर्गको अवस्था (The Condition of the Working Class in England) भन्ने पुस्तक लेखे। त्यो पुस्तक अत्यन्त जीवन्त दस्तावेज बनेको छ। र छापिएको १७५ वर्षपछि पनि मानिसहरुले अचेल समेत उत्तिकै सुरुचिपूर्वक पढ्छन्। यो पुस्तक लेख्दा एङ्गेल्सको उमेर केवल २४ वर्ष मात्र थियो। एङ्गेल्सले 'परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति', 'ड्युहरिङ्ग मत खण्डन' र 'प्रकृतिको द्वन्दात्मकता' (Dialectics of Nature) जस्ता महत्त्वपूर्ण पुस्तक लेखेका थिए। मार्क्सवादमा विज्ञानलाई मिसाउने कार्य एङ्गेल्सकै देन थियो। मार्क्सवादलाई वर्तमानस्वरुप जुन सोभियत संघ र चीनमा प्रयोग भयो, त्यसका  लागि धेरै हदसम्म एङ्गेल्सलाई जस दिइन्छ ।  

एङ्गेल्स रुखो होइन, आनन्दपूर्ण जीवन बिताउनमा विश्वास गर्थे। उनको सिद्धान्त थियो– आरामले काम गर!