ठाडा कविताः खस्रा अभिव्यक्ति

मपाईंः एउटा असाध्य रोग

मनोचिकित्सकहरु सबैको

यौटै राय छ,

आफैलाई

नखाएसम्म

मपाईंका रोगीहरुको

बुभुक्षा शान्त हुँदैन !

 

हाम्रो देशः हाम्रो प्रवक्ता

नेपालको पहिचानबारे

विश्वमञ्चमा

घण्टौं धाराप्रवाह

बोलिरहने ती को हुन् हँ ?

आ–आफ्नै पहिचान नभएका

हाम्रै प्रतिनिधिहरु त हुन् नि !

 

चेतावनीः आफ्नै अन्तरको

समय–समयमा

बेलायती बैठकका ऐनाहरुमा

प्रतिविम्वित हुने गरेको

आ–आफ्नो विकृत अनुहारबारे

गम्भीरतापूर्वक वेलैमा सोचनौं भने

पछि ठूलो पछुतोमा त पर्ने छैनौं हामीहरु ?

 

प्रावधानः त्यसको खोजी

सामूहिक बलिदानको प्राप्ति

बलजफ्ती एउटैले मात्र

उपभोग गरे

त्यसलाई रोक्ने प्रावधान

हाम्रो ऐन–कानूनमा

छ कि छैन ?

 

अनिष्टः त्यसको सङ्केत

होशियारीका साथ

नसमाते

स्वयंलाई घाउ लाग्न सक्छ ।

म देखिरहेको छु

अनाडी तिम्रो हातमा

दुवैतिर धार भएको तरवार !

 

पुरस्कारः त्यसको पूर्व रुप

यथार्थताकै भूमि प्रदान गर्न सक्ने

बलिया पाखुरा भएका

मानिसहरुका लागि

कहिल्ये पो

पुरस्कार प्रमाणित भएको छैन

तिनले देख्ने गरेका सपनाहरु !

Photo: By Kedar Man Vyathit