‘अनौठो उपहार !’
“आमा मेरो बर्थ डे कहिले मनाउने ?”
“पन्ध्र दिनपछि ।”
“मैले भन्दिया छु है आमा, पोहोर परारको जसरी होइन, यस पटक मेरो बर्थ डे शानसित मनाउँने हो ! बुझ्नु भो ? आज बर्थ डे भनेर निधारमा टीका टाँस्ने, एउटा चकलेट, एउटा पेडा हातमा राखिदिने, एक चम्चा दही खुवाइदिने गरेको मलाई मन पर्दैन । म अब बच्चा छैन, ११ वर्षको हुन लागिसकेँ ! अब त साथीहरु बोलाउने, बडेमानको केक काट्ने, मैनबत्ती बाल्ने अनि भोज पनि दिने । देख्नु भएन राजेशको बर्थ डे कस्तो शानसित मनाए ?”
“छोरा, राजेशको र तिम्रो बर्थ डे उस्तै कसरी हुन्छ ? राजेश साहूको छोरा, तिमी मेरो छोरा । म राजेशका घरमा भाँडा माझ्ने नोकर । राजेशको जस्तै गरी तिम्रो बर्थ डे मनाउँन मेरो के तागत ? बर्थ डेमा आमाको माया र आशीर्वादले भलो गर्छ बाबु, फुर्ती र भोजले केही पनि गर्दैन ।”
आमाका कुरा रामुलाई चित्त बुझेन । उसले अति नै रहर लागेर बर्थ डे केक र पार्टीको प्रस्ताव राखेको थियो । प्रस्ताव पूरा गर्न आन्दोलनमै उत्रियो । बिचरी एकल महिलाको पुलपुल्याएर हुर्काएको छोरो । आफ्नै किसिमको थियो । ठूला बडाले दिएको जडाउरी कपडा बढो शान दिएर ल्याउँथ्यो । आमाले किनेर सिलाइ दिएको कपडा भने मन पराउँदैनथ्यो । भन्थ्यो, “आमा, मलाई अब रामु भन्ने होइन, रामेश्वर बाबु भन्ने गर्नुहोस् ।”
रामेश्वर बाबु प्रत्येक दिन आमासँग बर्थ डे पार्टीको कुरा गर्थ्यो । “मैले भनेजस्तै गरी बर्थ डे नमनाइदिने हो भने म घर छोडेर भाग्छु” भन्ने धम्की पनि दिन्थ्यो ।
छोराले भनेजसरी बर्थ डे मनाइदिन रुक्मिनासँग पैसा थिएन । भित्री मनबाटै छोरालाई आशीर्वाद दिएर उनी होलो–खुकूलो किसिमले बर्थ डे मनाउन चाहन्थिन् । सजधजसँग मनाउन उनीसँग उपाय पनि थिएन ।
विभिन्न उदाहरण दिएर सम्झाउन बुझाउन कोशिस गरिन् । रामुले सुनेन । सकेसम्म छोराको चित्त नदुखाउँ भन्ने सोच बनाएर रुक्मिनाले जसोतसो बर्थ डे केकको व्यवस्था गरिन् । साथीहरुलाई निम्ता गर्ने काम रामेश्वर बाबु आफैले गर्यो । भत्केको पाटीजस्तो भुइँकोठामा बर्थ डे पार्टीको आयोजना देख्दै अनौठो लाग्दो थियो । नजिकैको प्रथमिक विद्यालयबाट मागेर ल्याएका दुइटा डेस्क जोडेर त्यसैमाथि बर्थ डे केक राखिएको थियो । त्यसको नजिकै रामुका साथीहरु अरठिँदै बसेर आपसमा मुखामुख गरिरहेका थिए । सबैका आँखामा उपहास थियो । हात रित्तै थिए ।
रुक्मिना केक कटाउने तैयारी गर्दै थिइन् । एक्कासि त्यहाँ धनलाल आइपुग्यो । धनलाल राजेशको घरको नोकर थियो । उसले रक्मिनालाई एक्लै बोलाएर सोध्यो, “तपाईंले हिजो साहुजीका खल्तीबाट रुपियाँ निकालेको हो ? चर्को खोजी हुँदैछ । साहू साहुनी रिसले आगो भा छन् !”
सुन्ने वित्तिकै रुक्मिनाको नौ नारी खिँचियो । टेकेको जमीन भाँसिएर आफू गाडिँदै गएजस्तो लाग्न थाल्यो । । आँखा अगाडि दिउँसै तारा देखिन थाले । मुख च्यापच्याप्पी सुकेर आयो । बल्लबल्ल सम्हालिंदै भनिन् । “पख पहिले म छोरालाई बर्थ डेको आशीर्वाद दिउँ अनि कुरा गरौंला ।”
सबैका अगाडि उदास उदास र निभे निभेजस्तो अनुहार लिएर रुक्मिनाले मैनबत्तीहरु बालिन् । त्यही सोहोरिएको अनुहारले छोरालाई केक काट्न इशारा गरिन् । बर्थ डे केक काटियो । ‘ह्याप्पी बर्थ डे टु यू’ भनियो । आमन्त्रितहरुलाई नमकीन र मिठाइको पोकासँगै चिया बाँडियो ।
यसै बीच छोराका शिरमाथि हात राखेर रक्मिनाले आशीर्वाद दिइन् र भनिन्, “धनलाल बोलाउन आए । म अहिले काममा जानु पर्नेछ । जान्छु है” भन्दै बाहिर निस्किन् । आमा यति बेलै यसरी निस्केको रामेश्वरलाई निको लागेन । उसले धनलाल बोलाउन आएको पनि देखेको थियो । किन होला भन्ने सोच्दै रामेश्वर लुसुक्क पछि लाग्यो । साहूको घरको गेटै बाहिर राजेश भेटियो । सोध्यो, “तिमी मेरो बर्थ डे पार्टीमा आएनौ नि किन हँ ?”
“अँ मेरो होमवर्क थुप्रै थियो । भर्खरै सकियो । आउँन भ्याइनँ । नआए पनि म तिम्रो साथी नै छु क्यारे । बरु हिँड, फिलिम हेर्न जाउँ । बाटोमा म उपहार पनि किनिदिन्छु । जूनतारा चित्रमन्दिरमा निक्कै राम्रो फिलिम लागेको छ रे ! जाउँ ल ? एकै छिन तिमी यहीँ उभिइ राख, म भित्र गएर आउँछु ।”
राजेश भित्र पस्यो । रामेश्वरले आफू उभिएको ठाउँबाटै सुन्यो, दयाराम साहु उसकी आमा रक्मिनालाई हकार्दै थिए । “बदमास बेइमान चोर आइमाई, तलब दिन एकदिन ढिलो भयो भन्दैमा तैँले त्यसरी मेरो खल्तीमा हात हाल्नु पर्थ्यो ? चोर्नु पर्थ्यो ?”
“के गरुँ हजूर ! म साह्रै नै अप्ठ्यारोमा थिएँ । छोरा रामु बर्थ डे मनाउने कि मनाउने भनेर अड्डी लिइरहेको थियो । नमनाउँ भने अल्लारे छोरो फुत्त भाग्ला, हराउला भन्ने डर लाग्यो । गल्ती भो हजूर, एक पटकलाई माफ गर्नुहोस्, मेरो आउँदा महिनाको तलबबाट काटाउँने गरी मलाई माफ गर्नुहोस् !”
“के को माफ ? चोरलाई माफ ? यस्ता चोर आइमाईलाई म कुनै हालतमा माफ गर्दिनँ । जा.... अब यस घरमा खुट्टा राख्न पनि पर्दैन जा .....गइहाल् !” साहू कड्क्यो ।
रुक्मिना घुँक्क घुँक्क गर्दै ढोकाबाट निस्कन लागिन् । उमेश रोयो । राजेश फर्केर गेटबाहिर आयो । रामेश्वर त्यहीँ के गरुँ के गरुँ हुँदै उभिइरहेको थियो । रुक्मिनाले उमेशलाई उचालेर काखीमा च्यापिन् ।
उसका आँखाबाट आँसुका बलिन्द्र धारा बगिरहेका थिए । उता राजेशका बा बम्किरहेकै थिए । रामे अब बच्चा छैन । एघार वर्षको भइसक्यो । त्यसको लाइन ठीक छैन । पुलपुलिएको छ । तैँले यसरी चोरेको भरमा कहिलेसम्म छोराको इच्छा पूरा गर्लिस् ? हेरौंला नि ! यहाँबाट निस्केपछि अब मुखमा माड कसरी लाउँछेस् हेरौंला !”
रुक्मिनाले आफूलाई सम्हालिन् र हतार हतार उमेशलाई भुइँमा राखेर फटाफट गेट बाहिर निस्किन् । आमाको अगाडि उभिन पुग्दै रामुले सोध्यो, “आमा के भो ? किन रुनु भएको तपाईं ?”
“खुब मनाइस् नि बर्थ डे !” रुक्मिनाले घुँक्क घुँक्ककै बीच भनिन्, “मैले कति भनें टेरिनस् ! अब कसरी नाक देखाएर हिँड्ने हो था’ छैन !” रोक्न खोज्दाखोज्दै फुत्कन लागेको रोदनको मन्द आवाजसँगै रुक्मिना घरतिर हान्निइन् । रामेश्वरलाई साह्रै नमज्जा लागेर आयो । मनमनै सोच्यो, “अब त म बच्चा छैन नि ! किन त्यसरी जिद्दी गरेँ हुँला छिः !”
राजेशले भन्यो, “जाऊँ अब फिलिम हेर्न !”
“अहँ जान्न !” रामुको अहिले फिलिम हेर्ने मुडै थिएन ।
“ल त्यसो भए म फर्कन्छु । मैले मेरो बचत बाकसबाट आज पाँचसयको नोट निकाल्या छु । त्यो म तिमीलाई बर्थ डे प्रेजेन्ट दिन्छु है त !”
“मलाई तिम्रो प्रेजेन्ट चाहिया छैन । तिम्रा पापाले मेरी आमालाई जथाभावीसित गाली गर्नुभयो । मेरो बर्थ डे मनाउन आमाले तिम्रा बाका खल्तीबाट चोरी गर्नुभएछ । मैले आमाको थैलीमा पाँचसयको नोट त देख्याथेँ, काम गरेर ल्याउनुभा होला भन्ठानें । आफूलाई बर्थ डे मनाउने सुर चढेको थियो । म साह्रै नै जिद्दी भएछु । खराब भएछु । म असल भएको भए आमाले त्यस्तो खराब काम गर्नुपर्ने थिएन ।” यति भनेर रामु आफैं आफ्ना गालामा थप्पड हान्न थाल्यो ।
रामुको हात च्याप्प समातेर रोक्दै राजेशले भन्यो, “रामु, तिमी मेरो मिल्ने साथी होउ नि हैन र ? तिम्रो आमाले हामीलाई सानैदेखि स्याहार सुसार गरेर हुर्काउनु भा छ, माया गर्नु भा छ । तिम्रो आमा मेरो पनि आमा हो । तिमीलाई जस्तै मलाई पनि दुःख लाग्या छ । म पनि के गरुँ के गरुँमा थिएँ । भर्खरै मनमा एउटा उपाय सुझ्यो । म यो सबै ठिक गर्छु । अहिले तिमी घर जाऊ । एकछिनपछि म पनि आउँला ।”
रामु घरतिर लागेपछि राजेश गेटभित्र पस्यो । उमेश रोएर कोकोहोलो मच्चाइरहेकै थियो । आमाले फुल्याउँन खोज्दा अरु चर्केर रुन्थ्यो । पापाको त हातमा टोकिनै दियो । रुकु अण्टीलाई बाबा आमाले गाली गरेको उसलाई खपिसाध्य भएको थिएन । हाकिम बा, कामकाजी आमा उसले त सबैको सट्टा माया रुकु अण्टीबाटै पाएको थियो । उसको रुवाइ स्वभाविक थियो । पापा मामी हैरान थिए र अहिल्यै रुक्मिनाको अभाव अनुभव गरिरहेका थिए । एक्कासि पापाको हात समातेर राजेशले लाचार स्वरमा भन्यो, “मैले एउटा गल्ती गरेको छु, माफ गर्नुहोस् है ! बजारमा नयाँ आएको फिलिम हेर्ने र फिलिमहलमै खाजा खाने बिचारले हिजो मैले तपाईंको खल्तीबाट पाँचसयको नोट निकालेको थिएँ । गल्ती मेरो थियो । रुकु अण्टीले सजाय पाउनुभयो । मलाई साह्रै नमज्जा लाग्यो ।”
“हँ, त्यो पैसा तैंले निकाल्या होस् ?”
“हो पापा यी यही हो नोट !” राजेशले दयारामका हातमा सयका हरिया हरिया पाँच वटा नोट राखिदियो ।
“धत् लम्फू, अघि नै भन्नुपर्दैन ?! जा जा धनलाल, त्यो रुक्मिनीलाई अहिल्यै बोलाएर ले ! मैले बेकारमा बिचरीको चित्त दुखाएँ । किन हो कुन्नि, उसले पनि ‘होइन, मैले चोरेकी छैन भनिनँ । एकल आइमाई, डराई होली !” दयारामले भन्यो ।
राजेश फुत्त निस्क्यो र बित्तातोडसित रामुको घरतिर दगुर्यो । रामु दुःखित हुँदै आमासित भनिरहेको थियो, “म अब कहिल्यै आफ्नो हैसियतभन्दा बढी खर्च गरौं भनेर तपाईंलाई हैरान पार्दिनँ । अब म ठूलो भइसकें । अब पनि मैले आमालाई दुःख दिइरहन मिल्दैन । कुरै नबुझी जिद्दी गर्नु मेरो ठूलो गल्ती हो । आमा, दुःख नमान्नोस् । अब म पनि कतै काम गर्छु । काम गरेरै पढ्छु । अब म....”
रामेश्वर थप के भन्दै थियो कुन्नि राजेश टुप्लुक्क आइपुग्यो । उसले एकै सासमा रुक्मिनालाई सबै कुरा बतायो र भन्यो, “जाऊँ अन्टी, हाम्रो घर जाऊँ । हामीलाई तपाईंको माया चाहिन्छ । उमेश रोइरा’छ ! जाऊँ । मैले तपाईंलाई आजसम्म केही दिन सकेको थिइनँ । रामुलाई बर्थ डे उपहार किनिदिन्छु भनेर बचत बाकसबाट बिहान पैसा निकाल्या थिएँ, उपहार त दिएँ तर पापाका हातमा । आफू चोर साबित भएर पनि तपाईंलाई चोख्याउन सकेकोमा मलाई अति नै खुसी लागेको छ अण्टी ! अति नै .... !” भन्दाभन्दै राजेश रुँन थाल्यो ।
रुक्मिनाको छाती राजेशप्रति मायैमायाले भरिएर आयो । दुबै आँखाबाट आँसु भुलभुल पार्दै रुक्मिनाले राजेशलाई झ्वाम्म अँगालो हालिन् ।
रामेश जिल्ल परेर यो दृश्य हेरिरहेको थियो– बर्थ डे उपहारको अनौठो दृश्य ।
प्रस्तुतिः शारदारमण नेपाल
प्रतिक्रिया