शब्दचित्रमा फिडेल

फिडेललाई सबैभन्दा बढी गर्न मन लागेको कुरा – गल्लीतिर यसै बरालिन !

क्युबाको एकहप्ते भ्रमणमा सँगै गएका विदेशी पाहुनाबारे टिप्पणी गर्दै उनले भने, "वाफ रे ! ती मान्छेले कति कुरा गर्न सकेका । मभन्दा पनि पो बढी बोल्दा रहेछन् ।" उनले यसो भनेर अलि बढाइचढाइ गरेका हुन् । बोल्नमा उनलाई कसैले पनि जित्न सक्दैन । फिडेल क्यास्ट्रोलाई चिन्न यति काफि छ । बातचितमा उनीजतिको लत बसेका अर्को कोही भेट्न असम्भव नै छ ।

शब्दप्रति उनको समर्पण चामत्कारिक छ । क्रान्तिको सुरूतिर हवानामा उनको 'विजयी प्रवेश'को हप्ता दिन पनि बितेको थिएन होला, उनी टेलिभिजनमार्फत् ७ घण्टा अविच्छिन्न रूपमा बोले । यो विश्व रेकर्ड नै हुनुपर्छ । त्यो आवाजको सम्मोहन शक्तिसँग अझै परिचित नभएका क्युबालीहरू सुरूको केही घण्टा त परम्परागत तरीकाले भाषण सुन्न बसे । एक, दुई, तीन घण्टा गर्दै समय बित्दै गयो । तर, क्यास्ट्रो रोकिएनन् । त्यसपछि उनीहरू एक कानले भाषण सुन्दै र अर्को चाहिँ कामतिर लगाउँदै आफ्नो दैनिक कार्यव्यापारमा फर्किए । म पनि काराकासबाट पत्रकारहरूको समूहसँगै अघिल्लो दिन आइपुगेको थिएँ । हामीले चाहिँ उनको भाषण होटलको कोठाबाटै सुन्न सुरु गरेका थियौं । पछि नबिराइकन हामीले उनको भाषण 'लिफ्ट'मा, हामीलाई औद्योगिक क्षेत्रहरूमा लिएर गएको ट्याक्सीमा फूलैफूलले सजिएको कफी हाउसको बार्दलीमा, चिसो वातानुकूलित 'बार'मा समेत सुन्यौं । त्यति मात्रै हैन, गल्लीमा हिँड्दासमेत खुल्ला झ्यालबाट थर्किंदो स्वरमा बजिरहेको रेडियोबाट निरन्तर सुनिरह्यौं । साँझसम्ममा सबै कामहरू सकिसक्दा पनि हामीले एउटै शब्द नछुटाइ उनको भाषण सुन्यौ । 

उनको आवाजको धोद्रोपन सुनेका एकजना डाक्टरले त घोषणा नै गरिदिए, "अमेजन नदीजतिकै लामो म्याराथुन भाषण नगर्ने नै हो भने पनि आगामी पाँच वर्षभित्रमा आफ्नो आवाज गुमाउन क्यास्ट्रो अभिशप्त हुनेछन् ।" यसको लगतै पछि सन् १९६२ मा यो भविष्यवाणी सही सावित हुने डरलाग्दो खतरा देखापर्यो ।

फिडेल क्यास्ट्रोलाई पहिलोपल्ट सुनेका हामीहरूलाई उनका दुईवटा कुराले ध्यान खिच्यो । पहिलो, आफ्ना स्रोताहरूलाई सम्मोहित पार्न सक्ने डरलाग्दो शक्ति र दोस्रो, उनको एकदम कमजोर आवाज । उनको आवाज धोद्रो थियो, जुन कुनै बेला त साउती मारेजस्तो मात्रै सुनिन्थ्यो । उनको आवाजको धोद्रोपन सुनेका एकजना डाक्टरले त घोषणा नै गरिदिए, "अमेजन नदीजतिकै लामो म्याराथुन भाषण नगर्ने नै हो भने पनि आगामी पाँच वर्षभित्रमा आफ्नो आवाज गुमाउन क्यास्ट्रो अभिशप्त हुनेछन् ।" यसको लगतै पछि सन् १९६२ मा यो भविष्यवाणी सही सावित हुने डरलाग्दो खतरा देखापर्यो । अमेरिकी कम्पनीहरू राष्ट्रियकरण गर्ने घोषणा गर्दै भाषण गरिसकेपछि उनी आवाजविहीन भए । धन्य यो अल्पकालिन थियो । यस्तो फेरि कहिल्यै भएन । त्यसपछि २६ वर्ष बितिसकेको छ । क्यास्ट्रो ६१ वर्ष पुगिसकेका छन् । उनको आवाज सधैं अनिश्चित छ । तर, यो आवाजले अझै पनि बोलीको सुन्दर कलाको रूपमा सबैभन्दा उपयोगी र अप्रतिम उपकरणको रूपमा उनलाई साथ दिइरहेको छ ।

समस्याहरू जहाँसुकै खोज्दै हिँड्ने बानीले गर्दा होला, साइरन बजाउँदै सुरक्षा दिने 'कारगेट'विना नै कुनै पनि समयमा ( मध्यरातमा पनि ) हवानाका निर्जन गल्लीहरूमा उनलाई डुल्दै गरेको भेट्न सकिन्छ । उनको दैनिकी भद्रगोल छ । उनलाई निद्रामा उठेर हिँड्ने रोग लागेको छ । उनी जोसित जुनसुकै बेला पनि उठेर कतै भ्रमणमा जाने हुनाले सहयोगी रातभर जाग्राम हुन्छन् भन्ने किस्सा चलेको छ ।

सामान्य बातचित पनि तीन घण्टा चल्नु उनको लागि औसत समय हो । आफ्ना कार्यालयमा ओथारो लागेर बस्ने एकेडेमिक नेता होइनन् उनी । समस्याहरू जहाँसुकै खोज्दै हिँड्ने बानीले गर्दा होला, साइरन बजाउँदै सुरक्षा दिने 'कारगेट'विना नै कुनै पनि समयमा ( मध्यरातमा पनि ) हवानाका निर्जन गल्लीहरूमा उनलाई डुल्दै गरेको भेट्न सकिन्छ । उनको दैनिकी भद्रगोल छ । उनलाई निद्रामा उठेर हिँड्ने रोग लागेको छ । उनी जोसित जुनसुकै बेला पनि उठेर कतै भ्रमणमा जाने हुनाले सहयोगी रातभर जाग्राम हुन्छन् भन्ने किस्सा चलेको छ ।  उनले धेरै बानीहरू सियरा मायेस्त्राबाट अनुकरण गरेकोले उनको त्यो बिम्ब र किस्सामा केही सत्यता छ । आफ्ना लामा भाषणहरूले मात्रै उनी चर्चित भएका होइनन् । १५ वर्षसम्म पनि उनको न आफ्नो घर थियो, न कार्यालय । न त कुनै निश्चित दैनिकी नै । उनी जहाँ छन्, सरकारी कार्यालय त्यहीं हुन्थ्यो ।

अहिले विल्कुल फरक छ । आफ्नो चारित्रिक संवेग र जोशबाट अलिकति पनि पछि नहटी उनले आफ्नो जीवनमा अलिकति अनुशासन लादेका छन् । पहिलेपहिले उनी जहाँ थाक्थे, त्यहीं यसो आँखाको विष मार्थे । यसरी उनको दिनरात एकैसरह बित्थ्यो । अहिले उनी नियमित कम्तीमा ६ घण्टा सुत्ने प्रयास गर्छन् । तर, उनैलाई थाहा छैन, त्यो सुत्ने बेला चाहिँ कहिले आउँछ । कामको प्रकृतिअनुसार उनको सुत्ने समय राति १० बजे पनि हुनसक्छ र विहान ७ बजे पनि ।

क्रिस्टोफर कोलम्बसले सुर्ति पत्ता लगाएको देश क्युबामा धुम्रपानविरूद्ध लड्ने नैतिक धरातल बनाउन दैनिक आधा बट्टा सिगार तान्ने क्यास्ट्रोले अहिले पूर्ण रूपमा धुमपान त्यागेका छन् ।

दैनिक कार्यतालिकाको काममा लीन भएर उनी कार्यालयमा घण्टौं बिताउँछन् । कार्यालयमा एकदम व्यवस्थितसँग मिलाइएको फर्निचर र पुस्तकदराज छ । दराजका पुस्तकहरूले बृहत् क्षेत्रलाई प्रतिबिम्बित गर्छन् । यहाँ पानी, बाली लगाउने प्रविधिदेखिका रूमानी उपन्याससम्म छन् । क्रिस्टोफर कोलम्बसले सुर्ति पत्ता लगाएको देश क्युबामा धुम्रपानविरूद्ध लड्ने नैतिक धरातल बनाउन दैनिक आधा बट्टा सिगार तान्ने क्यास्ट्रोले अहिले पूर्ण रूपमा धुमपान त्यागेका छन् । 

तीव्र गतिमा शरीरको वजन बढ्दै गएपछि उनी स्थायी रूपमा नै खाना कटौति गर्न बाध्य भएका छन् । अगस्तिजस्तो खाने रूचि र खाना बनाउन देखाउने उनको अतृप्त आनन्दलाई ध्यानमा राख्ने हो भने यो ठूलो बलिदान हो । एक आइतबार विहान उनले खाजामा १८ स्कुप आइसक्रिमका साथ ठूलै भाग लडाए । उनी उमालेको तरकारीसँग माछाको परिकार रूचाउँछन् । सधैजसो पौडी खेलेर अनि केही घण्टा जिममा बिताएर उनी शारीरिक रूपमा तन्दुरूस्त रहन्छन् । आफूलाई एक गिलास ह्विस्कीमा सीमित राख्छन् । उनले आफूले बनाउन जानेको म्याकोरोनीप्रतिको कमजोरी नियन्त्रणमा लिन सकेका छन् । पौराणिक कथाको नायकको जस्तो उनको क्षणिक आवेग अतीतको कुरो भइसक्यो । अत्यन्त धैर्यताका साथ उनले आफ्नो खराब मुड सम्हाल्न सिकेका छन् । समग्रमा एक फलामे अनुशासन । समयको अभावले निम्त्याउने अनियमित कार्यतालिका र कल्पनाको जोशमा बहकिने उनको बानी विचार गर्दा यो अनुशासनको दायरा अझै फितलो लाग्छ । उनीसँग यात्रा गर्दा कहाँबाट सुरू गर्ने तपाईंलाई थाहा हुन्छ तर कहाँ टुङ्गिन्छ, अनुमान गर्न मुश्किल ! तपाईंले कुनै रात आफूलाई फिडेलसँग गोप्य स्थानतर्फ उडिरहेको जेटमा पाउनुभयो भने वा कसैको बिहेमा लोकन्ती हुन पुग्नुभयो भन्यो, अझ समुद्री तटमा 'सि फुड खोज्दै पुग्नुभयो भने असामान्य नमाने हुन्छ ।

निकै सयम अगाडि उनले भने, "काम सिक्न जति महत्वपूर्ण छ, आराम गर्न सिक्न पनि उत्तिकै महत्वपूर्ण छ ।" आराम गर्ने उनको विधि सर्वथा नवीन छ । अनि उनको आराममा बातचित वर्जित छैन । एकपटक उनले आफ्नो काम सक्दा मध्यरात भइसकेको थियो । उनी थकित देखिन्थे तर विहानको झिसमिसेअगाडि नै केही घण्टा पौडी खेलेर तरोताजा भएर फर्किए । व्यक्तिगत भोजभतेरहरू उनको चरित्रलाई सुहाउँदैन । उनी एकदम दुर्लभ क्युबालीमा पर्छन्, जसलई न त नाच्न आउँछ, न त गाउन नै । उनी आक्कलझुक्कल उपस्थित हुँदा भोजको माहौल नै बदलिन्छ । सब नाचगान बन्द हुन्छ । सायद उनलाई यो कुरा महसुस नै हुँदैन । उनको उपस्थितिले कस्तो शक्तिशाली प्रभाव पार्छ भन्ने कुरा उनलाई थाहै छैन होला । पहिलो छनकमा देखिएजस्तो भव्य र अजङ्ग नभए पनि उनको उपस्थितिले एउटा 'स्पेस' भरिदिन्छ । जस्तै मै हुँ भन्नेहरू पनि उनको साथमा रहँदा अलि बढी नै आत्मविश्वासी बन्न शरीरको भावभङ्गी मिलाउन खोज्छन् । यसरी सहज बन्न खोज्दा धेरैको धोति खुस्केको मैले देखेको छु । विचराहरूलाई थाहा नहुन सक्छ, क्यास्ट्रो पनि उतिकै लजालु छन् । यस्तो नदेखियोस् भनेर उनी पनि सजग देखिन्छन् । आफ्नै कदम र कामको बारेमा बोल्दा उनी बहुचनको 'हामी' सर्वनाम प्रयोग गर्छन्। जहाँसम्म मलाई विश्वास छ, यो जति भव्य सुनिन्छ त्यसभन्दा कता हो कता बढी यो उनको लज्जालुपन लुकाउने काव्यिक 'लाइसेन्स' बनेको छ ।

कहिलेकाहीं कुनै पूर्वसूचनाविना नै राति सुत्नेबेलातिर आफ्ना घनिष्ठ साथीकहाँ ढोका ढक्ढक्याउन पुग्छन् । अनि 'पाँच मिनेट मात्रै बस्छु' भन्छन् । उनले यो कुरा यति इमान्दारीसँग भन्छन् कि उनी भुइँ, कुर्सी कतैतिर पनि बस्दैनन् । विस्तारैविस्तारै नयाँ गफगाफबाट उनी जोसिन्छन् ।

भोजभतेरहरूमा उनी आउनेवित्तिकै सङ्गीत बन्द हुन्छ । खाना खाने, खुवाउने क्रम रोकिन्छ। भीडभाड उनीवरिपरि गफगाफको लागि झुम्मिन्छ । गफ तत्कालै सुरू हुन्छ । उनी त्यही 'पोज'मा अर्थात् उभिँदै खानापिना छाडेर जति लामो समयसम्म पनि कुराकानी गर्न सक्छन् । कहिलेकाहीं कुनै पूर्वसूचनाविना नै राति सुत्नेबेलातिर आफ्ना घनिष्ठ साथीकहाँ ढोका ढक्ढक्याउन पुग्छन् । अनि 'पाँच मिनेट मात्रै बस्छु' भन्छन् । उनले यो कुरा यति इमान्दारीसँग भन्छन् कि उनी भुइँ, कुर्सी कतैतिर पनि बस्दैनन् । विस्तारैविस्तारै नयाँ गफगाफबाट उनी जोसिन्छन् । एकछिनपछि छेउको कुर्सीमा खुट्टा तन्काएर लम्पसार परेर बस्छन् । र, भन्छन्- "एकदम नयाँ जीवन पाएजस्तै अनुभव भयो ।" यसरी उनी गफ गरेरै आराम गर्छन् ।

क्यास्ट्रोका साथ मार्खेज Photo: www.independent.co.uk

उनले एकपटक भने- "अर्को जन्ममा म लेखक हुनुपयो ।" उनी एकदम राम्रो लेख्छन् त्यसमा आनन्द लिन्छन् । गुडिरहेको कारमा पनि मनमा जे आउँछ, त्यही नोटबुकमा लेखिरहन्छन् । कहिलेकाहीं व्यक्तिगत चिठीहरू पनि लेख्छन् । सामान्य कागजका ती नोटबुकहरू निलो प्लास्टिकमा बेरिएका हुन्छन् । उनले लेख्ने अक्षर एकदमै साना हुन्छन् । सुरूमा हेर्दा त स्कुले केटाकेटीको जस्तै देखिन्छ । पूर्ण व्यवसायिक लेखकले झैँ लेख्छन् उनी । कुनै शब्दावलीलाई उनी धेरैपटक सच्याउँछन्, केरमेट गर्छन्, कापीको मार्जिनमा फेरि लेख्छन् । कुनै सही शब्दको खोजीमा शब्दकोष पल्टाउँदै वरिपरिकालाई सोध्दै दिन बिताउँछन् ।

सन् ७० को दशकमा उनी भाषण लेख्ने बानीमा फसे । उनी यति ढिलो र सावधानीका साथ लेख्थे कि त्यो पूर्ण यान्त्रिक बन्न पुग्थ्यो । उनको यही बानीले भाषण झन् बिग्रिन्थ्यो । त्यो लिखित भाषण पढ्दाखेरि फिडेलको व्यक्तित्व नै परिवर्तन भएजस्तो लाग्थ्यो । उनको लय फरक हुन्थ्यो, शैली र आवाजको गुणस्तर पनि फरक हुन्थ्यो । विशाल 'क्रान्तिचोकमा उपस्थित पाँचौ लाख मानिसको अगाडि बोल्दा आफैँले लेखेको शब्दको कम्बलभित्र क्यास्ट्रो निस्सासिन्थे अनि आफूले लेखेभन्दा अन्य कुरा बोल्न थाल्थे । अर्कोपटक उनका टाइपिस्टले गलत टाइप गरिदिए भने बोल्दाबोल्दै सच्याउनुको साटो उनी बोल्न रोकेर कलम निकालेर भाषण सच्याउन थाल्थे । उनी लिखित भाषणमा कहिल्यै सन्तुष्ट हुँदैनथे । आफ्नो भाषणलाई झन् जीवन्त बनाउने प्रयास थुप्रै सन्दर्भमा सफल भए तापनि भाषण सकिएपछि उनी निराश हुन्थे । उनले भन्न खोजेका सबै कुरा ती भाषणहरूले भन्थे । सायद अझ राम्रोसँग सम्प्रेषित पनि हुन्थे होला । तर, तिनमा उनको जीवनको उत्तेजना रहँदैन थियो ।

उनी बोल्न जानुभन्दा पहिले हुने अप्ठेरोपन जित्न प्रयास गर्छन् । तर, उनको यो डर कसैले थाहै पाउँदैन । यसलाई उनी स्वीकार गर्छन् । एउटा सार्वजनिक समारोहमा मलाई भाग लिन आउन गरिएको निमन्त्रणको नोटमा यसो लेखेका थिए- "स्टेजको भय हटाउन एकपटक बोल्ने प्रयास गरेर मात्रै आऊ । म पनि कहिलेकाहीँ त्यसै गर्छु ।"

कुनैकुनै विशेष अवस्थामा मात्र उनी केही बुँदाहरू टिपेको कार्ड प्रयोग गर्छन् । जुन उनी निसङ्कोच गोजीबाट निकालेर सबैले देख्ने गरी हेर्छन् । अलि हिचकिचाउँदै लगभग सुन्नै मुश्किल पर्ने आवाजमा उनी बोल्न थाल्छन् । स्रोतालाई विस्तारै कुहिरोतिरको अनिश्चित यात्रामा डोयाउँछन् । तर, शक्तिशाली पञ्जाले झैँ स्रोताको गर्दन समात्छन्, जसले दर्शक र स्रोताहरू उत्तेजित हुन्छन् ।

उनको सृजनशील कल्पना नास्तिकताको दलदलमाथि मडारिरहन्छ । गफगाफ होस् या रोस्ट्रममा, उनी आफ्ना प्रिय लेखक जोसे मार्टीबाहेक कसैको पनि भनाइ वा शब्दावली उल्लेख गर्दैनन् । उनले मार्टीका २८ वटा पुस्तक छिचोलेका छन् ।

पहिलापहिला उनी आएपछि मात्र सार्वजनिक कार्यक्रमहरू सुरू गरिन्थ्यो । तथापि उनको आगमन वर्षाजत्तिकै अनिश्चित हुन्थ्यो । तर, केही वर्षयता उनी एकदम ठीक समयमा आइरहेका छन् र उनको भाषणको अवधि स्रोताको 'मुड'मा भर पर्छ । सुरूसुरूका उनका अनन्त लामा भाषणहरू अब अतीत भइसके, जसबारे अहिले किस्सा बनेका छन् । उबेलामा मिहिनसँग व्याख्या गर्नुपर्ने कुराहरू अहिले जनताले बुझिसकेका छन् । वक्तृत्वकलाको 'पेडागोजी' को यतिविघ्न 'सेसन पछि उनको शैली पनि खँदिलो भइसकेको छ । उनले कम्युनिस्टहरूले जस्तो शास्त्रीय नारा दोहोऱ्याएको सुनिएको छैन । न त उनी व्यवस्थाको कर्मकाण्डीय भाषा नै बोल्छन् । उनी रूढीवादविरोधी सर्वोत्तम व्यक्ति हुन् । उनको सृजनशील कल्पना नास्तिकताको दलदलमाथि मडारिरहन्छ । गफगाफ होस् या रोस्ट्रममा, उनी आफ्ना प्रिय लेखक जोसे मार्टीबाहेक कसैको पनि भनाइ वा शब्दावली उल्लेख गर्दैनन् । उनले मार्टीका २८ वटा पुस्तक छिचोलेका छन् । उनको प्रतिभाले मार्टीको विचारलाई मार्क्सवादी क्रान्तिमा जोडेको छ । जनताको सार्वजनिक काम भनेको प्रत्येक व्यक्तिबारे चासो राख्नु हो । यही विचारप्रतिको उनको दृढ विश्वास नै उनको दर्शनको सार हो ।

यही कुराले जनतासँगको प्रत्यक्ष सम्पर्कमा उनको पूर्ण विश्वासलाई देखाउँछ । सबैभन्दा गाह्रोजस्ता भाषणहरू पनि अनौपचारिक गफजस्ता लाग्छन् । मानौं, उनी क्रान्तिको पूर्वसन्ध्यामा विश्वविद्यालयका विद्यार्थीहरूसँग गफिँदै छन् । विशेषगरी हवानाबाहिर कुनै सार्वजनिक समारोहमा उनलाई कसैले बोलाइहाल्यो र चर्कोचर्को स्वरमा गफ चल्न थाल्यो भने अनौठो नमाने हुन्छ । प्रत्येक अवसरहरूमा बोल्ने भाषा छ उनीसँग । त्यस्तै श्रमिक, कामदार, किसान, विद्यार्थी, वैज्ञानिक, राजनीतिज्ञ, लेखक वा विदेशी पाहुना, सबैलाई विश्वस्त पार्ने भिन्न तरीका पनि छ उनीसँग । आफूसँग भएको बृहत्त् र विशाल सूचनाभण्डारको सहायताबाट उनी जोसँग कुरो गर्दै छन्, उसैको तहमा ओर्लिएर कुरो सुरू गर्छन् । तर, उनको व्यक्तित्व यति जटिल छ कि एउटै भेटमा ती विभिन्न व्यक्तिहरूले उनको बारेमा भिन्नाभिन्नै अवधारणा बनाउन सक्छन् ।

दैनिक जीवनको सामान्य घटनालगायत अन्य पराजयको सम्मुखमा उनको भाव हेरिनसक्नुको हुन्छ । उनी पराजय स्विकार्नु त परै जाओस् बरू परिस्थितिका सर्तहरू नै बदलेर त्यसलाई विजयमा नढालेसम्म चैनको सास लिँदैनन् ।

तर एउटा कुरो निश्चित छ, उनी जहाँ भए पनि, जस्तो र जोसँग भए पनि गफमा जित्ने फिडेल क्यास्ट्रो नै हुन् । उनीभन्दा अरू कोही खराब हरूवा यो दुनियाँमा कल्पना गर्न सक्दिनँ । दैनिक जीवनको सामान्य घटनालगायत अन्य पराजयको सम्मुखमा उनको भाव हेरिनसक्नुको हुन्छ । उनी पराजय स्विकार्नु त परै जाओस् बरू परिस्थितिका सर्तहरू नै बदलेर त्यसलाई विजयमा नढालेसम्म चैनको सास लिँदैनन् । जेसुकै होस् र जहाँसुकै होस्, सबै कुरो अथक गफगाफको सीमाभित्रै सकिन्छ । स्रोताको रूचिअनुसार गफको विषय जे पनि हुन सक्छ । तर, उनी विस्तारै आफ्नो रूचिको विषयतर्फ गफ मोड्न थाल्छन् । प्रायजसो उनलाई धेरै दिनदेखि मथिङ्गल खाइरहेको विचार खोतल्ने बेलामा यस्तो हुन्छ । विषयको गहिराइमै पुग्ने तयारी गरेका बेलामा आफ्नो गफको विषयमा उनीजति सम्मोहित अरू कोही हुँदैन होला । कोही उनको कामको विपक्षमा देखिए भने त काम सानो होस् कि ठूलो, उनी दिलोज्यान दिएर लाग्छन् । यस्तो बेलामा उनीजति जोशिला सायदै अरू होलान् । उनलाई राम्रोसँग बुझ्छु भनेर विश्वास गर्ने कसैले एकपटक भनेका थिए- "तपाईं एकदम उज्यालो देखिनुभएको छ पक्कै केही गडबड छ ।

उनलाई पहिलोपल्ट भेट्ने विदेशी पाहुनाले केही वर्षपहिले मलाई भन्थे- "फिडेल अब बुढा भएछन् । एउटै विषयमा उनले राति सातपटकसम्म कुरो निकाले ।" मैले उनलाई सम्झाएँ । यो बहुलठ्ठीपूर्ण लाग्ने कदम उनको काम गर्ने तरीका हो । दक्षिण अमेरिकामा विदेशी ऋणबारेको गफमा उनले दुई वर्षअगाडि पहिलोपल्ट कुरा उप्काएका थिए । त्यसपछि त्यो विषय बढ्यो, हाँगाबिँगा फैलिए । अझ मजबुत भयो र अन्तमा यसले बारम्बार दोहारिने डरलाग्दो सपनाको रूप लियो । सामान्य अङ्कगणितीय निष्कर्षको शैलीमा उनले पहिलो कुरो भने- "यो ऋण तिर्नुपर्दैन ।" त्यो वर्ष तीनपटक मैले हवानाको भ्रमण गरें । अलिअलि गरेर यो विषयमा उनका नयाँनयाँ निष्कर्ष जोडजाड पारे । ऋणले गर्दा दक्षिण अमेरिकी देशहरूको आर्थिक, राजनीतिक र सामाजिक प्रभाव, अन्तर्राष्ट्रिय सम्बन्धहरूमा यसले पारेको निर्णायक असर र एकीकृत दक्षिण अमेरिकी नीतिका लागि यसको क्षेत्रीय महत्व छ । अन्तमा उनले विज्ञहरूको महत्वपूर्ण सम्मेलन आयोजना गरे । जसमा उनले भाषण गरे । भाषणमा उनले त्यो ऋणसम्बन्धी कुनै पनि कुरो छुटाएनन् । त्यसबेलासम्ममा उनले यो विषयमा एउटा छर्लङ्ग दृष्टिकोण बनाइसकेका थिए ।

मलाई लाग्छ, राजनीतिज्ञको रूपमा उनको सबैभन्दा ठूलो गुण भनेको समस्याको विकासक्रमलाई पहिचान गर्न सक्ने क्षमता हो । उनी समस्याको दीर्घकालिन निष्कर्षसम्म पुग्छन् । यस्तो लाग्छ, उनी हिउँको डल्लाको बाहिरी भाग मात्रै हैन, समुद्रभित्र डुबेको सातगुणा ठूलो भाग पनि देख्छन् । उनको यो क्षमता चिन्तनबाट सक्रिय हुँदैन बरू तनावपूर्ण र निरन्तरको तर्क-वितर्कबाट चल्छ । विदेशी ऋणको प्रश्नमा झैँ कुनै लगनशील स्रोताले क्यास्ट्रोमा कुनै विचारको पहिलो भ्रुण भेटायो भने महिनौसम्मको विभिन्न बातचितमा त्यो विस्तारै विकास भएको पाउँछ । त्यो विचार परिपक्व भएर सार्वजनिक नभएसम्म त्यसको विकासक्रमलाई क्यास्ट्रोसँगको गफमा नियाल्न सकिन्छ । यसरी एउटा विषयको काम सकिएपछि एउटा चक्र पूरा हुन्छ, जसलाई क्यास्ट्रो फेरि दोहोऱ्याएर हेर्दैनन् ।

तर यो चक्र पूरा गर्न उनलाई मजाले चपाएर पचाइएको सूचना र स्रोतहरूको अविरल आपूर्ति चाहिन्छ । उनको उत्कृष्ट सहयोगी उनको स्मरणशक्ति हो । उनले यही शक्तिलाई व्यक्तिगत कुराकानी र भाषणहरू टिकाउन, लम्ब्याउन र त्यसमा तर्कवितर्क गर्न दुरूपयोगकै हदसम्म प्रयोग गर्थे । विहान उठेदेखि नै उनी मथिङ्गलमा सूचना सङ्ग्रह गर्न थाल्छन् । संसारभरिका २०० पृष्ठ समाचारपत्रहरूसँगै उनी विहानको चियाचमेना लिन्छन् । दिउँसोभरि जता हिँडे पनि उनी जुहाँसुकैबाट भए पनि अत्यावश्यक सूचनाहरूबाट सूचित भइरहन्छन् । उनकै अनुमानमा पनि दिनभरिमा उनले कम्तीमा ५० वटा 'डकुमेन्ट' पढ्नुपर्छ रे । पाहुना र सरकारी कार्यालयबाट आउने सूचनाको त कुरै छाडौं । फूर्ति लगाएको होइन । यो जहाजको कुरोबाटै छर्लङ्ग हुन्छ ।

उनी जहाजमा उड्न त्यति मन पराउँदैनन् । केही विकल्प नभएमा मात्रै उनी हवाइजहाज चढ्छन् । तर, उनीजतिको खराब यात्री कोही हुनै सक्दैन । उनी सबै कुरो जान्न बेचैन रहन्छन् । उनी न सुत्छन्, न पढ्छन् । अलिकति शङ्का लाग्नेवित्तिकै जहाजका कर्मचारीलाई नक्सा लिएर बोलाउँदै सोध्न थाल्छन् । जहाजले किन अर्को रूट नलिएर यो रूट लिएको भन्ने प्रश्न सोध्छन् । त्यति मात्रै होइन, टर्वाइनको आवाज किन बदलियो वा सफा मौसम हुँदाहुँदै पनि जहाज किन उफ्रिरहेको छ आदि सोधेर हैरान पार्छन् । उत्तर एकदम सही हुनैपर्छ । शब्दमा अलिकति पनि तलमाथि पन्यो कि ऊ क्यास्ट्रोद्वारा समातिन्छ । क्यास्ट्रोको सूचनाको अर्को महत्त्वपूर्ण स्रोत किताब हो । विरोधीहरूले बनाएको उनको बिम्बसँग उनको व्यक्तित्व केही मिल्नुको कारण उनको औधी पढन्ते बानी पनि हो ।

प्राग्ऐतिहासिकजस्तो लाग्ने 'ओल्डसमोबाइल' कार, त्यसपछिको सोभियत जिलन र हालसालैको मर्सिडिजमा पनि पढ्नलाई पर्याप्त उज्यालो बत्ती हुन्छ । धेरैपटक त उनले मध्यराततिर पढेर विहानै त्यसबारे टिप्पणी पनि गरेका छन्।

उनी पढ्ने समय कसरी जुटाउँछन् र यति छिटो पढ्ने विधि के हो, कसैले बताउन सक्दैन । उनी आफैँ चाहिँ त्यस्तो विशेष केही छैन भन्छन् । प्राग्ऐतिहासिकजस्तो लाग्ने 'ओल्डसमोबाइल' कार, त्यसपछिको सोभियत जिलन र हालसालैको मर्सिडिजमा पनि पढ्नलाई पर्याप्त उज्यालो बत्ती हुन्छ । धेरैपटक त उनले मध्यराततिर पढेर विहानै त्यसबारे टिप्पणी पनि गरेका छन्। उनी अङ्ग्रेजी पढ्छन् । तर, बोल्दैनन् । प्रायः स्पेनीमा पढ्न रूचाउँछन्। उनलाई हालसालैको कुनै किताब चाहिएको छ तर अनुवाद भएको छैन भने उनी आफैं अनुवाद गर्न लगाउँछन् । उनका एकजना डाक्टर साथीले उपहारस्वरूप हाडजोर्नीसम्बन्धी आफ्नो किताब पठाएछन् । उनलाई क्यास्ट्रोले त्यो किताब पढ्लान् भन्ने लागेकै रहेनछ । तर, एकहप्तापछि क्यास्ट्रोले ती डाक्टरलाई किताबमाथिको टिप्पणीसहित चिठी पठाएछन् । आर्थिक र ऐतिहासिक विषयका उनी नियमित पाठक हुन् । लि इयाकोकाको संस्मरण पढ्दा क्यास्ट्रोले एकदम गम्भीर त्रुटीहरू भेटेछन् । उनले स्पेनीसँग तुलना गरेर हेर्नलाई अङ्ग्रेजी संस्करण लिन एकजनालाई न्युयोर्क नै पठाएछन् । वास्तवमा स्पेनीमा अनुवाद गर्ने मान्छे 'खर्ब' शब्दको अर्थमा झुक्किएको रहेछ । उनी साहित्यका पनि राम्रा पाठक हुन् । उनी एकदम ध्यान दिएर पढ्छन् । 'बेस्ट सेलर' हरूको तीव्र उपभोगमा उनको लत मैले नै सुरू गरिदिएको हुँ भन्ने तथ्य मेरो चेतमा अझै छ । सरकारी कागजातहरूको कर्मकाण्डीय पढाइविरूद्धको ओखतिको रूपमा मैले त्यसो गराएको थिएँ ।

लि इयाकोकाको संस्मरण पढ्दा क्यास्ट्रोले एकदम गम्भीर त्रुटीहरू भेटेछन् । उनले स्पेनीसँग तुलना गरेर हेर्नलाई अङ्ग्रेजी संस्करण लिन एकजनालाई न्युयोर्क नै पठाएछन् ।

तर अझै उनको तत्कालिन र सबैभन्दा उपयोगी सूचनाको स्रोत गफगाफ नै बनिरहेको छ । एकदम चाँडो सोधिखोजी गरिहाल्छन् उनी । अन्तिम जवाफ नपाएसम्म उनी किन, के, कसरी भन्नेजस्ता प्रश्नहरूको वर्षा गरिरहन्छन् । उनीसँग कुरा गर्दा केरकारमा फसेजस्तो अनुभव नगर्ने कुनै स्रोता भेट्न मुस्किल पर्छ । एकपटक दक्षिण अमेरिकाकै एकजना पाहुनाले आफ्नो देशका जनताले गर्ने चामल उपभोगको हचुवा तथ्याङ्क दिएछन् । क्यास्ट्रोले मनमनै लेखाजोखा गरेर भनेछन्- "कति अनौठो ! एकजनाले दिनमा ४ पाउन्ड चामल खाँदोरहेछ ।" उनी आफूले जानेको कुरो पनि सोधेर आफ्नो जानकारीलाई थप पुष्टी गर्छन् । कहिलेकाहीं चाहिँ आफूसँग कुराकानी गरिरहेको साथीको क्षमता जाँच्न र त्यसैअनुरूप गफ अगाडि बढाउन पनि उनी प्रश्न सोध्छन् । उनी आफूले सूचना पाउने कुनै पनि अवसर खेर जान दिँदैनन् । कोलम्बियाली राष्ट्रपति बेलिसारियो बेटानकुरसँग उनको बेलाबखत फोनमा कुराकानी भइरहन्छ । अहिलेसम्म यी दुईले न प्रत्यक्ष भेटेका छन्, न यी दुई देशबीच कूटनीतिक सम्बन्ध नै कायम भएको छ । यस्तैमा एकपटक कोलम्बियाली राष्ट्रपतिले फोन गरेछन् । पछि मलाई क्यास्ट्रोले भने, "कोलम्बियाको कफी खेतीबारे सोध्ने मौका उठाइहालें मैले । यस्तो सूचना अरूबेला समाचारमा विरलै आउँछन् ।"

अङ्गोलामा युद्ध चलिरहेको बेलामा एउटा आधिकारिक सरकारी भोजमा त्यहाँको युद्धको यति विस्तारमा वर्णन गरे कि एकजना युरोपेली कूटनीतिज्ञलाई उनले अङ्गोलाको युद्धमा भाग लिएका होइनन् भनेर सम्झाउन हम्मेहम्मे पर्यो ।

क्रान्तिभन्दा पहिले र पछि पनि उनले 'प्रोटोकल को साँघुरो घेराभित्र रहेर केही देशहरूको औपचारिक भ्रमण गरेका छन् । आफूले भ्रमण गरेको देशबारे त कुरा गरिहाल्छन् नै, आफू नगएको देशबारे पनि गएजसरी नै बखान गर्छन् । अङ्गोलामा युद्ध चलिरहेको बेलामा एउटा आधिकारिक सरकारी भोजमा त्यहाँको युद्धको यति विस्तारमा वर्णन गरे कि एकजना युरोपेली कूटनीतिज्ञलाई उनले अङ्गोलाको युद्धमा भाग लिएका होइनन् भनेर सम्झाउन हम्मेहम्मे पर्यो । चेग्वेभाराको पक्राउ र हत्याबारे उनले भाषणमा दिएको विवरण, मोनकाडा प्यालेसमा भएको बमवारी र साल्भाडोर एलेन्डेको मृत्युको वर्णन बडो जीवन्त थियो उनको । उनी शब्दमार्फत् घटनाको वृतचित्र देखाउँछन् ।

उनका पुर्खाहरूको भूमि स्पेनले उनलाई सधैं सम्मोहित गरिरहन्छ । दक्षिण अमेरिकाको भविष्यबारे उनको काल्पनिक तस्बिर मार्टी र बोलिभारको कल्पनासँग मिल्छ उनी दक्षिण अमेरिकालाई दुनियाँको भाग्यलाई प्रभावित पार्न सक्ने एकीकृत र स्वायत समुदायको रूपमा हेर्न चाहन्छन् । क्युबाबाहेक अर्को कुनै देशको बारेमा उनलाई धेरै जानकारी छ भने त्यो अमेरिका नै हो । अमेरिकाका जनताको स्वभाव, यसको शक्तिसंरचना, सरकारहरूको लुकेको नियत सबैबारे उनी पूर्ण जानकार छन् । अमेरिकी सरकारको कडिकडाउका बाबजुद हवाना र मायामीबीच दैनिक हवाइ सम्पर्क छ । विशेष उडान वा निजी विमानमा चढेर क्युबा आउने अमेरिकीहरू कहिल्यै टुट्दैनन् ।

अमेरिकी निर्वाचनको पूर्वसन्ध्यामा क्युबामा दुवै दलका राजनीतिज्ञहरूको ओइरो लाग्छ । त्यहाँ बसुन्जेल उनीहरूको राम्रो ख्याल गरिएको छ या छैन भन्नेमा आफैँ ध्यान दिन्छन् । नयाँ सूचना आदानप्रदानका लागि सकेसम्म धेरैलाई आफैँ भेट्ने प्रयास गर्छन् । उनी आफ्नो देशको केही तथ्य उनीहरूलाई बताउँछन् र उनीहरूले बताएको कुरा पनि राम्रोसँग ग्रहण गर्छन् । 'जङ्गली' नेतालाई': भेट्न आएका दुश्मनी प्रपोगान्डाका भरौटेहरूलाई उनी आफ्नो वास्तविक चेहरा देखाउनुमा जतिको आनन्द केहीमा लिँदैनन् । उनका गालिसियन पुर्खा र जेसुट शिक्षकहरूले उनमा कसरी नैतिक सिद्धान्त, आदर्शहरू भरिदिए र उनको व्यक्तित्व निर्माणमा यो कसरी महत्वपूर्ण भयो भन्ने कुरोको एकदमै सटिक विवरण उनले काङ्ग्रेसका केही सदस्य र पेन्टागनकै अधिकारीहरूका अगाडि सुनाए । अन्तमा उनले भने- "म इसाइ हुँ ।" टेबलमा ठूलो क्षेप्यास्त्र झरेझैँ भयो। श्यामश्वेत जिन्दगी मात्रै बुझेका अमेरिकीहरू क्यास्ट्रोको रङ्गिन बखान सुनेर चकित परे ।

कुनैकुनै सार्वजनिक समारोहहरूमा कुनै भाग्यमानी पत्रकारले सोध्ने 'क्याजुअल' प्रश्न घण्टौं लामो अन्तर्वार्तामा टुंगिन्छ । प्रत्येक प्रश्नको जवाफ उनी निकै समय लगाएर दिन्छन् । कुनै पनि अनावश्यक शब्दले अपूरणीय क्षति हुने डरमा उनी निकै तौलेर बोल्छन् । औपचारिक अन्तर्वार्ताहरूमा उनी तोकिएको समय दिन्छन् । तथापि उनको अनिश्चित लचकताले गर्दा समय प्रायः लम्बिन्छ ।

भेटघाटको अन्त्यतिर, झिसमिसे उज्यालो हुन नपाउँदै एकदम कट्टरपन्थी विधायक पनि अमेरिका र दक्षिण अमेरिकाबीचको मध्यस्थकर्तामा क्यास्ट्रोजति उपयुक्त कोही हुन सक्दैन भन्ने निष्कर्ष निकाल्थे । क्युबा जाने सबैजना जुनसुकै स्थितिमा पनि एकपटक क्यास्ट्रोलाई भेटिछाड्ने मौका खोज्छन् । तथापि उनको अन्तर्वार्ता लिन दाउ छोप्नेहरू खासगरी विदेशी पत्रकारहरूको सङ्ख्या पनि थुप्रै हुन्छ, जो अन्तर्वार्ताको ट्रफी लिएर नगएसम्म आफ्नो कामै पूरा भएको ठान्दैनन् । भौतिक रूपमा असम्भव नभइदिएको भए मलाई लाग्छ, ती सबैलाई उनले कृतज्ञ पार्ने थिए । अहिले पनि ३ सयवटा औपचारिक अनुरोधहरूको चाङ छ, जुन निर्णय कुरेर बसिरहेका छन् । उनलाई भेट्ने सबै स्रोतहरूलाई अपिल गरेर हवानाको होटलमा पर्खिबसेका पत्रकारहरू कहिल्यै टुट्दैनन् । कोही त महिनौं कुर्छन् । कोमार्फत् उनलाई भेट्ने वा कसलाई अनुरोध गर्ने थाहा नपाएर विचराहरू चिढिएर बसेका हुन्छन् । किनभने, भेट्ने सही माध्यम के हो र को हो, उनीहरू कसैलाई थाहा हुँदैन । सत्य कुरो त के भने त्यस्तो कुनै र कोही माध्यम नै छैन । कुनैकुनै सार्वजनिक समारोहहरूमा कुनै भाग्यमानी पत्रकारले सोध्ने 'क्याजुअल' प्रश्न घण्टौं लामो अन्तर्वार्तामा टुंगिन्छ । प्रत्येक प्रश्नको जवाफ उनी निकै समय लगाएर दिन्छन् । कुनै पनि अनावश्यक शब्दले अपूरणीय क्षति हुने डरमा उनी निकै तौलेर बोल्छन् । औपचारिक अन्तर्वार्ताहरूमा उनी तोकिएको समय दिन्छन् । तथापि उनको अनिश्चित लचकताले गर्दा समय प्रायः लम्बिन्छ । तर, उनको वार्ता चाहिँ गफजसरी चल्नुपर्छ । कुनै विशेष परिस्थितिहरूमा मात्रै उनी पहिल्यै प्रश्नहरूको फेहरिस्त माग्छन् । कहिलेकाहीं पूर्वनिर्धारित समय दुईबाट बढेर चार वा लगभग ६ घण्टै पुग्छ । अझ १७ घण्टा पनि पुग्न सक्छ । जियानी मिनालाई उनले १७ घण्टा अन्तर्वार्ता दिएका थिए । सायद अन्तर्वाताका लागि दिइएको सबैभन्दा लामो समय र पूर्ण अन्तर्वार्ता पनि यही नै होला ।

अन्ततः थोरै अन्तर्वार्ताहरूले मात्र उनलाई खुशी पार्छ । छापामा आएका अन्तर्वार्ता उनलाई फिटिक्कै मन पर्दैन । किनभने, यिनमा उनको नितान्त व्यक्तिगत शैलीको रङ्गिन र रमाइलो गफ दिइएको हुन्छ । वास्तविक कुरा चाहिँ बलिदान हुन्छन् । उनलाई टेलिभिजन अन्तर्वार्ता पनि अस्वाभाविक लाग्छ किनभने टेलिभिजनमा अन्तर्वार्ता शृङ्खलाबद्ध रूपमा आउँछ । सात मिनेटको कार्यक्रमका लागि सात घण्टा समय दिनुपर्दा उनलाई आफूमाथि अन्याय भएजस्तो लाग्छ | अझ फिडेल क्यास्ट्रो र उनका स्रोता- पाठकलाई सबैभन्दा पछुतो त त्यतिखेर लाग्छ, जब युरोपमा चर्चित भनिएका पत्रकारसमेत आफ्नो प्रश्नलाई तथ्यसङ्गत छ छैन भनेर जाँच्ने चेष्टा गर्दैनन् । तिनका प्रश्नहरू आफ्नै बुझाइ, आफ्नै देशको राजनीतिक र सांस्कृतिक पूर्वाग्रहबाट सङ्कुचित भएका हुन्छन् । अहिलेको क्युबा वास्तवमै कस्तो छ, यहाँका जनताका वास्तविक सपना र निराशाहरू के हुन्, तिनको जीवनको सत्य के हो भन्ने बुझ्न उनीहरू कति पनि चासो राख्दैनन् । यसरी संसारसँग बात मार्ने क्युबाली जनताको अवसरविरूद्ध उनीहरू भाँजो हाल्छन् । युरोपेली पूर्वाग्रहसहितका प्रश्नहरू होइन, आफ्नै जनताको सुखदुःखको प्रश्न फिडेल क्यास्ट्रोलाई सोधेर प्राप्त गर्नसक्ने आफ्नो पेशाको ठूलो उपलब्धिलाई पनि उनीहरू बेवास्ता गरिरहेका छन् ।

उनलाई तनाव नदिनका लागि सत्य लुकाउने प्रयास गर्दा पनि गफ अप्ठ्यारोमा पर्छ । तर, उनी थाहा पाइहाल्छन् । एकजना अधिकारीले त्यसो गरेको थाहा पाएर उनले भने- "मलाई दुःख नदिन तिमी सत्य लुकाउँछौ तर अन्त्यमा मैले सत्य थाहा पाउँसम्ममा तिमीले लुकाएका त्यस्ता अनगिन्ती सत्यहरूको सामना गर्दागर्दै म मर्नेछु ।"

निष्कर्षमा भन्नुपर्दा विविध परिस्थितिहरूमा उनले बोलेको वा गफ गरेको सुनिसकेपछि मैले आफैँलाई धेरैपटक सोधेको छु । शक्तिको दिग्भ्रमित मिराजको बीचमा सत्यको धागो कुनै पनि हालतमा छाड्न नहुने जैविक आवश्यकतालाई उनको गफिने, भाषण गर्ने उत्साहले पछ्याउँछ त ? धेरै सार्वजनिक र निजी गफहरूमा मैले उनलाई यो प्रश्न सोधेको छु । उनको उपस्थितिमा आफ्नो स्वाभाविकता गुमाएर तथ्यहीन सूत्रहरू बकबकाउनेहरूसँगको गफ कहिलेकाही निष्फल हुन पुग्छ । अथवा, उनलाई तनाव नदिनका लागि सत्य लुकाउने प्रयास गर्दा पनि गफ अप्ठ्यारोमा पर्छ । तर, उनी थाहा पाइहाल्छन् । एकजना अधिकारीले त्यसो गरेको थाहा पाएर उनले भने- "मलाई दुःख नदिन तिमी सत्य लुकाउँछौ तर अन्त्यमा मैले सत्य थाहा पाउँसम्ममा तिमीले लुकाएका त्यस्ता अनगिन्ती सत्यहरूको सामना गर्दागर्दै म मर्नेछु ।" उनका कमीकमजोरीहरू ढाकछोप गर्न लुकाइएका सत्यहरू सबैभन्दा गम्भीर कुरा हो । किनभने, क्रान्तिलाई बचाइराख्ने उनका राजनीतिक, वैज्ञानिक, खेलकुद र सांस्कृतिक उपलब्धिहरूबाहेक पनि यहाँ कर्मचारीतन्त्रमा ठूलो अक्षमता छ, जसले दैनिक जीवनका सबै काम र खासगरी दैनिक जीवनलाई प्रभावित पारिरहेको छ । क्रान्तिको ३० वर्षपछि पनि पाउरोटीको उत्पादन र बियरको वितरणजस्ता अति सामान्य कुरामा पनि फिडेल क्यास्ट्रो आफैँले व्यक्तिगत रूपमा 'डिल' गरिरहनुपरेको छ ।

अर्कोतिर, सडकका जनतासँग कुरा गर्दा उनी विलकुलै भिन्न हुन्छन् । अभिव्यक्तिको जीवन्तता र वास्तविक स्नेहसहित गफ फेरि सुरू हुन्छ । उनका थुप्रै सैन्य र नागरिक नाममध्ये फिडेल मात्रै बाँचेको छ । विनाकुनै खतरा मान्छेहरू उनलाई घेर्छन् र 'तिमी' भनेर सम्बोधन गर्छन्, उनीसँग बहस गर्छन् । मन नपरेको कुराको विरोध गर्छन् । उनीसँग आफ्नो राख्छन् । त्यो पनि कुनै मध्यस्थकर्ता वा माध्यममार्फत् होइन, सिधै आमुन्नेसामुन्ने । आफ्नै छविको उज्यालोमा लपेटिएको एक दुर्लभ मान्छेको असली छवि यस्तै सडकगफहरूमा देखिन्छ, जुन व्यक्तिगत भेटहरूमा दुर्लभ हुन्छ । राजनीतिको भूतले सम्पूर्ण रूपमा नछाडेको बेलामै भएका घण्टौं लामा गफगाफपछि मैले चिनेको फिडेल यिनै हुन् भन्ने कुरामा म विश्वस्त छु । एकदम नैतिक र साधारण अनि असीमित सपना देख्ने मान्छे, जोसँग पुरानो ढाँचाको औपचारिक शिक्षा छ, जो साधारण व्यवहार र सावधानीपूर्वक शब्द चलाउँछ र आम बुझाइभन्दा पर भएको विचारलाई पनि उनीहरूबीच सफल रूपमा सम्प्रेषण गर्छ । क्यास्ट्रो त्यस्ता योद्धा हुन् । यिनै हुन् मैले चिनेको फिडेल । उनी आफ्नै देशका वैज्ञानिकहरूले क्यान्सरको उपचार पत्ता लगाएको सपना देख्छन । सानो टापुको बीचमा पनि उनले विश्वको शक्तिशाली विदेशनीति निर्माण गरेका छन् । यो टापु जो आफ्नो मुख्य शत्रुभन्दा चौरासीगुणा सानो छ । उनले आफ्नो गोपनीयता यसरी लुकाएका छन्, जसलाई छिचोलेर उनको जीवनका बारेमा बुनिएका कुँदा बुझ्न सकिन्न ।

विनाकुनै खतरा मान्छेहरू उनलाई घेर्छन् र 'तिमी' भनेर सम्बोधन गर्छन्, उनीसँग बहस गर्छन् । मन नपरेको कुराको विरोध गर्छन् । उनीसँग आफ्नो राख्छन् । त्यो पनि कुनै मध्यस्थकर्ता वा माध्यममार्फत् होइन, सिधै आमुन्नेसामुन्ने ।

कुनै भौतिक उपलब्धि हैन बरु जीवनमा चेतना र नैतिक प्रेरणाको निर्माण नै सबैभन्दा ठूलो मानवीय उपलब्धि हो । यसैले संसार परिवर्तन गर्न सक्छ र इतिहासलाई अघि बढाउँछ भन्ने कुरामा उनी रहस्यमय तरीकाले दृढ छन् ।

उनी हाम्रो समयका सबैभन्दा ठूला आदर्श हुन् भन्ने मलाई विश्वास छ । हुनत यो नै उनको लागि सबैभन्दा ठूलो खतरा हो । सायद, यो नै उनको सबैभन्दा ठूलो गुण हो ।

धेरैपटक मध्यरातमा उनी मेरो घरमा आएका छन् । मैले धेरैपटक उनको हालचाल र प्रगति सोधेको छु । उनले मलाई धेरैपटक उत्तर दिएका छन्, "एकदम ठीक छ | हाम्रा सबै भण्डारहरू भरिपूर्ण छन् ।” एकटुक्रा चिज निकालेर खान उनले रेफ्रिजेरेटर खोलेको पनि मैले धेरैपटक देखेको छु । सायद बिहानको खाजापछि उनको मुखमा परेको खानाको टुक्रा पनि त्यही मात्रै हुन सक्छ । मेक्सिकोमा बस्ने उनको साथीलाई आफूलाई मन पर्ने खाना पकाउने विधि सोध्दै फोन गरेको र रातको खानापछि जुठा भाँडाकुडा छरिएको कोठामा भित्तामा अडेस लागेर पकाउने विधि टिप्दै गरेको पनि मैले देखेको छु । आफ्नो गाउँले विहानी, युवाकालिन प्रेमिका र यसो नगरेको भए कसो गर्थे होला भनेर गम्दै 'नोस्टाल्जिक' भएको पनि देखेको छु । एकरात ससानो गाँसमा ढिलोसँग चम्चाले भेनिला आइसक्रिम खाँदाखाँदै लाखौँ मानिसहरूको नियतिप्रति चिन्तनशील भएको पनि देखेको छु । त्यो बेलामा उनी आफूसँग धेरै टाढिएका, एक्ला र विलकुल भिन्न लाग्छन् । यो संसारमा तिमीलाई सबैभन्दा बढी के गर्न मन लागेको छ भनेर म सोध्छु । उनी तत्काल जवाफ दिन्छन्- "गल्लीतिर यसै बरालिन मन लागेको छ ।"

विकास बस्नेतको अनुवाद र भोगीराज चाम्लिङको सम्पादन रहेको 'मेरो युवाकाल: फिडेल क्यास्ट्रो'बाट साभार । उक्त पुस्तक वि.सं. २०६८ मा मूल्याङ्कन प्रकाशन गृह प्रा.लि.ले प्रकाशित गरेको थियो ।

Title Photo: https://evanstonpubliclibrary.files.wordpress.com