प्यालेस्टाइनको समर्थनमा क्युबालीहरुको र्‍याली

प्यालेस्टाइनको समर्थन र गाजापट्टीमा इजरायलीको आक्रमण रोक्न माग गर्दै क्युबाको राजधानी हवानामा विशाल र्‍याली आयोजना गरिएको छ। सो र्‍यालीमा करिब एक लाख मानिसहरु सहभागी भएका थिए। हवानाको प्रसिद्ध ब्रोडवेमा यो र्‍याली आयोजना गरिएको थियो। क्युबाका रास्ट्रपति मिगेल डियाज़ कानेल, प्रधानमन्त्री म्यानुअल मारेरो र विदेशमन्त्री ब्रुनो रोड्रिगेज यो र्‍यालीमा सहभागी थिए।

प्यालेसटाइनप्रति ऐक्यबद्धता जनाउन रास्ट्रपति मिगेल डियाज़ कानेल र अन्य क्युबाली नेताहरुले प्यालेस्टाइनीहरुले शिरमा बाँध्ने सेतो र कालो रंगको स्कार्फ (कुफिया)  घाँटीमा बाँधेका थिए। प्रदर्शनकारीहरुले दुई किलोमिटर मार्च गरेका थिए। यो र्‍यालीमा प्रदर्शनकारीहरुले 'स्वतन्त्र प्यालेस्टाइन''इजरायल नरसंहारकारी देश हो' भन्ने जस्ता नारा लगाएका थिए। कतिपय प्रदर्शनकारीहरुले इजरायली हमलामा घाइते भएका बालबालिकाका तस्बिर अंकित प्लेकार्डहरु बोकेका थिए। यो प्रदर्शनमा क्युबामा चिकित्साशास्त्र अध्ययन गरिरहेका प्यालेस्टाइनी विद्यार्थीहरु समेत सहभागी थिए। स्मरणीय छ, क्युबामा १४४ जना प्यालेस्टाइनी विद्यार्थीहरु अहिले चिकित्साशास्त्र पढिरहेका छन्। तीमध्ये ५३ जना गाजापट्टीका रहेका छन्।

यो प्रदर्शनबारे एक जना प्यालेस्टाइनी विद्यार्थी सामी साबालाले भनिन्- 'यो मार्चले हाम्रो लागि ठूलो महत्व राख्दछ। यसले हाम्रो मनोबललाई बढाउँछ र प्यालेस्टाइनी जनतालाई हामी एक्लो छैनौं भन्ने महसु गराउँछ।' अर्की विद्यार्थी इसाम अल्दावोदेहले भनिन्- 'प्यालेसटाइनलाई सधैं समर्थन गरेकोमा क्युबाका जनता र सरकारलाई धेरै धन्यवाद छ। '

यो मार्च क्युबास्थित अमेरिकाको दुतावास अगाडिबाट गएको थियो। अमेरिकी दुतावास अगाडि पुगेपछि केही प्रदर्शनकारीहरुले 'फासिस्ट यांकी तिमीहरु आतंकवादी हौ' भन्ने नारा लगाएका थिए।

 इजरायल र हमासबीच युद्ध सुरु भए यता प्यालेसटाइनप्रतिको  एकबद्धता र्‍यालीमा क्युबाली उच्च नेताहरु सहभागी भएको यो दोश्रो पटक हो। गत हप्ता मात्र पनि क्युबाका रास्ट्रपिता मानिने जोसे मार्टीको स्मारकमा प्यालेसटाइनको झण्डा प्रदर्शन गरिएको थियो।

Title Photo: AP News