मार्खेज र सलाइको काँटी
महान कोलाम्बियाई लेखक ग्याब्रियल गार्सिया मार्खेजको एउटा गजबको कथा छ केही धेरै नराम्रो हुन लागिरहेको छ भन्ने। एउटा गाउँमा एकजना बुढी मान्छे बस्छिन्। उनका दुई वटा छोराहरु हुन्छन्। बिहान नास्ता दिँदा उनको अनुहारमा चिन्ता र पिरको भाव देखेर छोराहरुले के भयो सोध्छन्। आमाले जवाफ दिन्छिन्- मलाई थाह छैन तर मलाई यस्तो लाग्दैछ कि आज यो गाउँमा केही नराम्रो हुनेवाला छ।
आमाको कुरा सुनेर छोराहरु हाँस्छन्।
छोरा पुल (स्नुकर) खेल्न गाउँमा जान्छ। खेल्ने क्रममा उसले जित्न लागेको हुन्छ। एउटा सजिलो बल बाँकी हुन्छ। अर्को खेलाडीले भन्छ– तैले यो जित्न सक्दैनस्। म पैसाको बाजी राख्छु। सबैजना हाँस्छन्। केटो पनि हाँस्छ। उसले प्रहार गर्छ तर जित्न सक्दैन। बाजीमा हारेवापत उसले पैसा तिर्छ। सबैजना छक्क पर्दै सोध्छ– 'त्यति सजिलो खेल थियो, कसरी हार्यौ ?'
'हो, खेल त सजिलै थियो तर मलाई एउटा कुराको चिन्ता थियो। आज बिहान मलाई आमाले भन्नु भएको थियो यो गाउँमा केही नराम्रो हुनेवाला छ। त्यही भएर हुन सक्छ ।' सबै जना उसको कुरा सुनेर हास्छन्।
बाजी जित्ने मान्छे घर फर्किन्छ र भन्छ– 'मैले दामासोबाट सजिलै पैसा जितें किनकि ऊ मुर्ख छ।'
घरकाले सोध्छन्- 'कसरी उ मुर्ख भयो ?'
उसले जवाफ दिन्छ– 'त्यो केटोले उसकी आमाको कुराको कारण खेल जित्न सकेन। उसको आमालाई आज यो गाउँमा केही नराम्रो हुदैछ भन्ने लागिरहेको छ रे भनेकी थिइन् रे !'
बाजी जित्नेकी आमाले उसलाई हप्काउदै भन्छिन्- 'तँ बुढाबुढीहरुको कुरालाई खिल्ली नउडा ' कहिलेकाही सत्य पनि हुनसक्छ।' यो कुरा सुनिरहेकी उसको एक जना आफन्त मासु किन्न जान्छिन्। उनले मासु पसलेलाई भन्छिन्- 'मलाई एक किलो मासु देऊ, होइन दुई किलो नै देऊ। यहाँ मान्छेहरु आज गाउँमा केही नराम्रो हुँदैछ भनेर हिँड्दैछन्।' पसलेले उनलाई मासु दिन्छ।
त्यसै बेला अर्की एकजना महिला पसलमा आउछिन्। उनले एक किलो मासु माग्छिन्। पसलेले भन्छ- 'तपाई दुई किलो मासु लानुहोस्। यहाँ मान्छेहरु गाउँमा धेरै नराम्रो हुनेवाला छ भन्दै हिँडदैछन् र त्यसको लागि तयारी गर्दैछन्।'
महिलाले यो कुरा सुन्ने बित्तिकै भन्छिन्- 'त्यसो भए मलाई चार किलो मासु दिनुहोस्। मेरा थुप्रै बच्चाहरु छन्।' उनले चार किलो मासु लिएर जान्छिन्। मासु पसलेको सबै मासु आधा घण्टाभित्रै सकिन्छ।
यो हल्ला फैलिदै जान्छ। एउटा समय यस्तो आउछ, जब गाउँका सबै मान्छे कुनै घटना हुने कुराको प्रतिक्षा गर्न थाल्छन् । सबै गतिविधि पक्षघात भएजस्तो ठप्प हुन्छ। अकस्मात मध्यान्नको बाह्र बजे सधैं जस्तो चर्को गर्मी हुन्छ। एकजनाले भन्छ– 'कसैले विचार गर्नु भएको छ आजको गर्मी कस्तो छ ?' जबकि त्यस्तो गर्मी अरुबेला पनि सधैं नै भइरहेको हुन्थियो।
जे भए पनि आजको जस्तो गर्मी कहिले भएको थिएन। सुनसान गाउँको खुला आँगनमा अचानक एउटा सानो चरा बस्छ। त्यो आवाज सुनेर डरले काम्दै त्यो चरालाई हेर्न पुरै गाउँ ओइरिन्छ। तर गाउँमा चराहरु त सधैं आइरहेका हुन्छन्। हो तर यो बेला कहिले पनि आउँदैन थियो। गाउँलेहरुमा तनाव यति बढेको हुन्छ कि सबै जना त्यो ठाउँ छोडेर भाग्न चाहन्छन् तर कसैले पनि हिम्मत गर्न सक्दैनन्।
त्यतै बेला एक जना कराउछ- म संग यति हिम्मत छ, म चाहिँ हिँडे। नभन्दै उसले आफ्ना मालसामान, बालबच्चा, जनावरलाई गाडीमा समेट्छ र गाउँको मूल बाटो बाट अन्यत्र जान थाल्छ । त्यो सबै गतिविधि त्यहाँ उपस्थित गाउँलेहरुले देखिरहेका हुन्छन् । मान्छेहरुले भन्न थाल्छन् यदि उसले यति हिम्मत गर्छ भने हामीहरु पनि अन्यत्र जान सक्छौं। मानिसहरुले बिस्तारै गाउँ खाली गर्न थाल्छन् । उनीहरु आफ्ना साथ मालसामान, पशुहरु र सबैकुरा लिएर जान्छन्।
गाउँ छोडेर जाने अन्तिम मान्छेहरु मध्येका एक जनाले भन्छ- 'यो अभिशापको असर हाम्रो घर र बाँकी बचेखुचेका सामानहरुमा नपरोस् ।' यसो भन्दै उसले आफ्नो घरमा आगो लगाई दिन्छ। अरुले पनि आआफ्नो घरहरुमा आगो लगाउन थाल्छन्। एउटा भयंकर त्रासबीच मानिसहरु भाग्न थाल्छन् मानौं यो कुनै युद्धको क्रममा भएको विस्थापन होस्।
अन्यत्र जान थालेका मानिसहरुका बीचमा एक जना महिला पनि बिस्तारै हिँडिरहेकी हुन्छिन्। उनी भन्दै थिइन् – 'मैले बिहानै भनेको थिएँ नि आज धेरै नराम्रो हुनेवाला छ भनेर तर मान्छेहरुले मलाई पागल भने !'
अहिले नेपालको स्थिति पनि यही कथाको जस्तै हुन थालेको छ। केही भएको छैन तर सबैलाई देशमा केही नराम्रो हुनेवाला छ भन्ने आशंका लाग्न थालेको छ। आम जनता सशंकित छन् भोलि के हुन्छ भनेर। सरकार झन् सशंकित छ। उसले त झन् एक कदम अगाडि बढेर सामाजिक संजालमा प्रतिबन्ध र ६-६ महिना सम्म निषेधाज्ञा जारी गर्न थालेको छ। बजारमा व्यापारी सशंकित छन्। उनीहरु सटर बन्द गरेर पलायन भइरहेका छन्। युवाहरु देश छोडेर पलायन भइरहेका छन्। चिकित्सकहरु पलायन भइरहेका छन्। बैंकरहरु पलायन भइरहेका छन्। जसको कुनै पेसा र व्यवसाय छैन उनीहरुको पलायनको त कुनै हिसाब नै छैन।
यस्तो लाग्दैछ हाम्रो देश नेपाल पनि ग्याब्रियल गार्सिया मार्खेजको गाउँ जस्तै सलाईको एउटा काटीको पर्खाइमा छ। कसैले सलाईको एउटा काटी सल्काई दियो भने पूरै देश सल्किन पनि बेर छैन ।
आखिर कवि भूपि शेरचनले भने जस्तै 'हल्लै हल्लाको देश न हो नेपाल... ।
त्यो कुराको 'डेमो' त हामीले इराक हत्याकाण्ड र ऋतिक रोशन काण्डमै देखिसकेका पनि त हौं नि !
प्रतिक्रिया