जुत्ता

देशलाई बदल्छु भनेर 
कसम खानेहरूले 
एकाएक बदलेका छन् 
आफ्नो जुत्ता

जुत्ताको रंग छ कालो 
विश्वासघातको रंग पनि 
कालो नै हुन्छ
र काला रातहरूमा 
उत्सव मनाउँछन्
दलाल, पाखण्डी, भाट, 
बेइमान र जुवाडेहरू

दुष्ट जादुगरले 
उचाल्यो चमत्कारिक लठ्ठी 
घुमायो वायुमण्डलमा
र हामीले हेदहिर्दै गायब भयो 
यो देशको शरीरबाट
सबभन्दा नरम छाला
त्यसपछि सफल षड्यन्त्रकारी 
र त्यसका अनुचरहरूले लगाए
त्यही छालाबाट निर्मित
जुत्ता

हाम्रो शिरमाथि चढेर 
एकजोर कालो जुत्ता 
घोषणा गर्दैछ सगर्व
- देशबासीहरू हो
हामीले कसम पूरा गरेका छौं 
यो देशलाई पूरै बदलेका छौं