शान्तदास मानन्धरः लक्ष्यवेधी जाँगरका प्रतीक व्यक्तित्व

कम्युनिज्म मन पराउने विद्यार्थीका नाताले समचिन्तनी अग्रजहरुसँग जानपहिचान बढाउने पहलको सिलसिलामा शान्तदासजीसँग परिचय भएको हो । त्यो समय खण्ड चीनमा सांस्कृतिक क्रान्तिको थियो । भोटाहिटीका गोविन्द वैद्यको पसलमा चिनियाँ पत्रपत्रिका किन्न पाइन्थ्यो । बसन्तपुरस्थित नेपाल–चीन सांस्कृतिक केन्द्रमा चिनियाँ पत्र पत्रिका र कोटेसनका राता किता पनि निःशुल्क लिन पाइन्थ्यो । शान्तदासजी त्यसताका त्यस केन्द्रमा पनि काम गर्नुहुन्थ्यो । यो ०२१।०२२ तिरको कुरा हो ।

केही समचिन्तनी विद्यार्थी साथीहरुको पहलमा ठमेलमा हाम्रो पुस्तकालय नामबाट एउटा पुस्तकालय पनि चलाइएको थियो । त्यसका लागि पनि पत्रपत्रिका र पुस्तकहरु चाहिन्थे । आफ्ना भेग गाउँबस्तीका जनहरुलाई जानकारी दिन पनि ती पत्रपत्रिका र पुस्तिकाहरु चाहिन्थे । पुस्तकालयमा राख्ने किताहरुबारे छलफल गर्न पनि हामी केही विद्यार्थी साथीहरु शान्तदासकोमा पुग्थ्यौँ । यसरी धेरै परिबन्द मिलाएर थोरै बोल्ने शान्तदास हाम्रा लागि वेला वेला भेटुँ भेटुँ र सुनुँ सुनुँ लाग्ने आवश्यक व्यक्तित्व बन्नुभएको थियो । हामी केही साथीहरुले शान्तदासजीलाई नेता मानेर वहाँ रहनुभएको पार्टीमा पनि केही वर्ष काम गर्यौँ । वहाँ कुनै पनि कार्यक्रम वा आन्दोलनमा आफू अगाडि नबढ्नु अरुलाई अगाडि बढाएर पछाडिबाट नेतृत्व गर्नु भनी सिकाउनु हुन्थ्यो । बढी त गोप्यताकै चर्चा हुन्थ्यो । केही वर्षमै हामीले त्यस सिकाइलाई जानी नजानी आत्मसंस्कृति नै पनि बनाएछौँ । समयक्रममा हामीमध्ये धेरैको पार्टीगत आवद्धता फेरियो र पनि शान्तदासजीसँगको सम्पर्क, सम्बन्ध भने यथावत् कायमै रह्यो ।

हामी केही साथीहरुले शान्तदासजीलाई नेता मानेर वहाँ रहनुभएको पार्टीमा पनि केही वर्ष काम गर्यौँ । वहाँ कुनै पनि कार्यक्रम वा आन्दोलनमा आफू अगाडि नबढ्नु अरुलाई अगाडि बढाएर पछाडिबाट नेतृत्व गर्नु भनी सिकाउनु हुन्थ्यो । बढी त गोप्यताकै चर्चा हुन्थ्यो ।

०३६बाट शान्तदासजीसँग बालसाहित्य सृजनका क्षेत्रमा सहकार्य  गरियो । नानीहरुका पत्रिकाका रुपमा पहिले 'बालपोष' र पछि 'बालकोसेली' प्रकाशित भयो । ०४३पछि शान्तदासजीसँगको त्यो सहकार्य अरु घनीभूत हुँदैगयो । पहिले वहाँको प्रभात प्रिन्टिङ् प्रेस थियो । पछि वहाँले बालकोसेली प्रकाशन नै चलाउनु भयो । स्वाध्याय र साहित्यसृजनमा जाँगर र लक्ष्यवेधी चिन्तन शान्तदासजीले आफ्नो अनन्य विशेषता नै बनाइदिनुभयो । ०३६भन्दा अघि शान्तदासजी नदेखिने किसिमका राजनीतिक नेता हुनुहुन्थ्यो । कुरा गराइको विश्लेषण गर्दा शान्तदासजीमा अतिकुशल कूटनीतिज्ञता झल्कन्थ्यो । ०३६पछि वहाँले बालसाहित्यका सर्जक, सम्पादक, सम्बर्धक, प्रकाशकका रुपमा आफ्नो परिचय बनाउनुभयो । यो विस्मयकारी पदचालन थियो । वहाँ काठमाडौ पाटन भक्तपुरका कति स्कुलमा कक्षा कक्षामै पुगेर विद्यार्थीहरुलाई कथा सुनाउनुहुन्थ्यो । वालकोसेली र बालसाहित्यका अन्य कृतिहरु आफैं विक्री वितरण गर्नुहुन्थ्यो । कति इच्छुक बालबालिकालाई कथा लेखाउनुहुन्थ्यो । वहाँको सम्पादनकला सुजनात्मक र प्रेरणाप्रद थियो । यसैले बालबालिकामा लेखनप्रति रुचि जगाउन वहाँ सफल हुनुहुन्थ्यो । वहाँले एक पटक बालकथा वाचनको रेडियो कार्यक्रम पनि चलाउनुभयो । आज बालसाहित्यका क्षेत्रमा शान्तदासजीलाई गुरु मान्ने सर्जक धेरै छन् ।

०३६भन्दा अघि शान्तदासजी नदेखिने किसिमका राजनीतिक नेता हुनुहुन्थ्यो । कुरा गराइको विश्लेषण गर्दा शान्तदासजीमा अतिकुशल कूटनीतिज्ञता झल्कन्थ्यो । ०३६पछि वहाँले बालसाहित्यका सर्जक, सम्पादक, सम्बर्धक, प्रकाशकका रुपमा आफ्नो परिचय बनाउनुभयो । यो विस्मयकारी पदचालन थियो ।

बालसाहित्यमा सहकार्यका क्रममा शान्तदासजीसँग सिक्न सकिने कुरा धेरै थिए । मुख्यतः लगनशीलता र निरन्तरता थियो । जो सिक्न सकिएन । वहाँ साहित्यकार मात्र होइन, तिक्खर टिप्पणीकार र चित्रकार पनि हुनुहुन्थ्यो । राजनीतिज्ञ, कूटनीतिज्ञ र संस्कृतिविद् पनि हुनुभएकोले वहाँका कथा कलात्मक, एवम् लक्षपरक मात्र नभएर लक्ष्यवेधी पनि छन् । वहाँले  बाल गीत र बाल कविता पनि लेख्नुभएको छ । 

०३६देखि ०८०सम्मका ४४वर्ष शान्तदासजीले अटुट रुपमा बालसाहित्य सृजन, सम्पादन र प्रकाशनका फाँटहरुमा जीवन जोतिरहनु भयो । बित्नुभन्दा केही दिन अघिको टेलीफोन बार्तामा पनि वहाँले बालकोसेलीको सयौँ अङ्क चाँडै नै निकाल्ने मन भएर पनि तदनुरुप गतिमा लेख रचना जुट्न नसकेको गुनासो गर्नुभएको थियो । शुरुदेखिको इतिहास समेटिने गरी एउटा लेख लेख्न मलाई अह्राउनु भएको थियो । मैले कोसिस गर्छु भनको थिएँ । वहाँले भेटेरै कुरा गर्न चाहनुभएको थियो ।  छिट्टै भेट्न जाने सोचमा थिएँ  । जान भ्याएको थिइनँ । अचानक वहाँ बिरामी भएर हस्पिटल भर्ना हुनुभएको खबर पाएँ ।  भेट्न पुग्दा वहाँ कुरा गर्न सक्ने अवस्थामा हुनुहुन्थेन । बिर्सन नसकिने दुःख लाग्यो ।

बित्नुभन्दा केही दिन अघिको टेलीफोन बार्तामा पनि वहाँले बालकोसेलीको सयौँ अङ्क चाँडै नै निकाल्ने मन भएर पनि तदनुरुप गतिमा लेख रचना जुट्न नसकेको गुनासो गर्नुभएको थियो ।

शान्तदासजी बालसाहित्यका क्षेत्रमा विशेष आदरणीय र सम्माननीय व्यक्तित्व हुनुहुन्थ्यो । वहाँका शैक्षिक, सामाजिक राजिनीतिक जस्ता अरु विभिन्न योगदान पनि नभएका होइनन् । वहाँको अन्त्येष्टिमा वहाँसँग सहकार्य गरेका सवैजसो शैक्षिक, साहित्यिक व्यक्ति व्यक्तित्वहरुको शोकसन्तप्त उपस्थिति थियो । केवल गणतान्त्रिक लोकतान्त्रिक सरकारको मात्र त्यान्द्रो उपस्थिति पनि  देखिएन ।