एउटा व्यापारीले हल्लाइदिन सक्ने ‘पिपलपाते गणतन्त्र’ र जनतामा बढ्दो चरम नैराश्यता
नभुलौं ! क्रान्ति–परिवर्तनको गर्भनालमा प्रतिक्रान्ति र प्रतिगमनको बीउ पनि जब्बर रुपमा विजारोपण भएकै हुन्छ
नेपालमा गणतन्त्र आएको झन्डै १७ वर्ष कटेछ । मानवीय जीवनको हिसाबले हेर्दा यो लक्का उमेर हो– बल, बैंश र जोश–जाँगरले भरिने उमेर, सामुन्नेका पहरा नै पनि फोरेर अगाडि बढ्ने उमेर । तर दुर्भाग्यवश, नेपालको गणतन्त्रको धरातल निक्कै कमजोर र लुते रहेछ– ससाना कुराहरुले पनि यसलाई निक्कै कम्पायमान तुल्याइदिँदो रहेछ । हिजो आफैंले हुर्काएका र पुल्पुल्याएका एक वाचाल चतुर व्यापारीले ‘व्यवस्था परिवर्तन’को धक्कुसहित आन्दोलनको घोषणा गर्दा पनि त्यो गणतन्त्र त हावाले पिपलको पात हल्लाएजस्तै लुगलुग काम्दो पो रहेछ । केही समयअघि ‘बाह्रबुँदे समझदारीका पक्षधरहरुको भेलामा जाहेर चिन्ता चासो’ अनि उथलपुथलकारी जनयुद्धको नेतृत्व गरेका तथा हाल सत्ताको नेतृत्व गरिरहेका प्रधानमन्त्री प्रचण्डले ठाउँठाउँमा बोल्दै आएको ‘प्रतिगमनको खतरा बढेको’ आशय दिने खालका भनाइले त्यसै कुराको छनक दिन्छ ।
इतिहाससिद्ध तथ्य हो– हरेक क्रान्ति वा परिवर्तनसँगसँगै त्यसका विलोम अवस्था पनि उत्तिकै शक्तिशाली रुपमा विद्यमान रहेको हुन्छ । जसरी प्रकाश सँगसँगै छायाँ जोडिएर आउँछ, क्रान्ति वा परिवर्तनको गर्भनालमा प्रतिक्रान्ति र प्रतिगमनको उर्बर बीज पनि उत्तिकै जब्बर रुपमा रहेर आएको हुन्छ । त्यो प्रतिक्रान्ति–प्रतिगमनलाई फेरि जन्मनै नदिने, गर्भनालभित्रै समाप्त पारिदिने कर्तव्य र दायित्व क्रान्ति–परिवर्तनका नेतृत्वकर्ताहरुको हो । उनीहरुका व्यवहार, संस्कार, संस्कृति र गतिविधिहरुमा क्रान्ति–परिवर्तनको विरुवा हुर्कने र फल्नेफुल्ने हो कि जरैबाट कुहिएर, मक्किएर ढल्ने हो भन्ने कुरा टिकेको हुन्छ ।
एउटा दुर्दान्त इतिहास–साक्षीका रुपमा फ्रान्सेली क्रान्तिका उदाहरण हामीसामु छ । क्रान्तिको फललाई राम्ररी स्याहार्न र हुर्काउन नसक्दा फ्रान्सेली क्रान्तिका नायकहरु नै आपसमा मारकाटमा भिडेको र दुःखद मृत्युवरण गर्नुपरेको तथा अन्ततः क्रान्ति प्रतिक्रान्तिमा रुपान्तरण भएर नेपोलियनको उदय भएको घटनाले विश्वका हरेक क्रान्ति–परिवर्तनका पक्षधरहरुलाई निरन्तर पाठ सिकाइरहेको छ ।
दुर्भाग्यवश, नेपालमा क्रान्ति–परिवर्तनका पक्षधरहरुले इतिहासको त्यो पाठबाट शिक्षा लिने काम गरिरहेका छैनन् ।
क्रान्तिको फललाई राम्ररी स्याहार्न र हुर्काउन नसक्दा फ्रान्सेली क्रान्तिका नायकहरु नै आपसमा मारकाटमा भिडेको र दुःखद मृत्युवरण गर्नुपरेको तथा अन्ततः क्रान्ति प्रतिक्रान्तिमा रुपान्तरण भएर नेपोलियनको उदय भएको घटनाले विश्वका हरेक क्रान्ति–परिवर्तनका पक्षधरहरुलाई निरन्तर पाठ सिकाइरहेको छ ।
नेपालको दुःखान्त के रह्यो भने क्रान्ति–परिवर्तनका माध्यमबाट सत्ताको सिंहासनमा आसिन हुन पगेको नेपालका राजनीतिक दल र तिनका नेताहरु जनअपेक्षामा खरो उत्रन सकेका छैनन् । हिजोका शासनसत्तालाई रुपान्तरण गर्ने र नयाँ शासनसत्ता स्थापना गर्न योगदान गरेका दलका नेताहरु आफैं चाहिँ रुपान्तरण हुन सकेका छैनन् । अंश र रुपमा मात्रै रुपान्तरित देखिएका छन् तर आधारभूत रुपमा अर्थात् सारमा उनीहरुले आफूलाई हिजोको शासकहरुभन्दा भिन्न साबित गर्न सकेका छैनन् । बोलीमा रुपान्तरण तर व्यवहारमा हिजोका शासकहरुकै सामन्ती–शोषणकारी संस्कार र संस्कृति ग्वार्लम्म ओढ्ने चरित्र शासनसत्तामा बसेकाहरुले अंगालेका छन् । बोली, व्यवहार, संस्कार र संस्कृतिमा हिजोको शासकहरुभन्दा भिन्न र उन्नत देखिनुपर्ने वर्तमान शासकहरुमा जब जनताले हिजोकै शासकहरुको छवि र झझल्को देख्न थाल्छ– स्वभाविक रुपमा त्यसले जनअसन्तोष र अनास्थालाई जन्म दिन थाल्छ । सम्भवतः अहिले नेपाल त्यही अवस्थाबाट गुज्रिरहेको छ ।
बोली, व्यवहार, संस्कार र संस्कृतिमा हिजोको शासकहरुभन्दा भिन्न र उन्नत देखिनुपर्ने वर्तमान शासकहरुमा जब जनताले हिजोकै शासकहरुको छवि र झझल्को देख्न थाल्छ– स्वभाविक रुपमा त्यसले जनअसन्तोष र अनास्थालाई जन्म दिन थाल्छ ।
आफ्ना सन्तानलाई जसरी भए पनि सत्ताको सिंहासनमा आरुढ गराइछाड्ने चाहना तथा आफू आर्यघाटको ब्रम्हनालमा तेर्सिएर जीवनको अन्तिम धुकधुकी रहेसम्म शासनको बागडोर आफ्नै हातमा रहिरहनुपर्ने कुरा वंश परम्पराको मूल प्रवृत्ति र संस्कार हो । त्यो प्रवृत्ति र संस्कार परिवर्तनपछि शासनसत्तामा स्थापित नेपालका राजनीतिक दलहरुमा मनग्गे रुपमा देखिन्छ । योग्यता र क्षमताको भयानक खडेरी भए पनि आफ्ना छोराछोरीलाई शासनसत्ताको केन्द्रमा स्थापित गर्नैपर्ने, जसरी भए पनि आफू शासनसत्ताको केन्द्रमा स्थापित भइबस्नै पर्ने र आफूले सम्हालेको पार्टीभित्र पनि वंश परम्परामा जस्तै निर्विकल्प रुपमा आजीवन केन्द्रीय भूमिकामा रहिरहनुपर्ने प्रवृत्तिले ‘नेपालमा एउटा राजतन्त्र हटेको तर अरु सयौं राजतन्त्रहरुको जन्म भएको’ अनुभूति आम जनताले गर्ने गर्छन् । यो भनेको पक्कै पनि व्यवस्थाको लामो आयुको लागि प्रियकर कुरा होइन । यस अर्थमा उन्नत राजनीतिक संस्कृतिको भयानक खडेरी आम जनताले यतिखेर महसूस गरिरहेका छन् ।
संविधानतः मुलुक धर्मनिरपेक्ष र संघीय बनिसकेको छ । तर व्यवहारमा अझै पनि मुलुक धर्मसापेक्ष र केन्द्रीकृत शासनप्रणालीबाटै चलेको छ । जनताको अधिकार भुइँतहसम्म पुर्याउनको लागि संघीय शासन व्यवस्था आफैंमा एउटा उन्नत र उत्तम विकल्प हो । तर नेपालको हकमा संघीयता जनताको अधिकार भुइँतहसम्म पुर्याउने हैन, शासनसत्तामा आफ्ना आसोपासे र कार्यकर्ताहरुको व्यवस्थापन गर्ने उपकरणको रुपमा दुरुपयोग भइरहेको छ । भन्नलाई संघीयता भन्ने तर सम्पूर्ण अधिकारहरु केन्द्रमै केन्द्रीकरण गरेर राखिँदा संघीयताका महत्वपूर्ण अवयव प्रदेश सरकार अधिकारविहीन तथा कठपुतली जस्तो मात्रै देखिन पुगेको छ । यसले गर्दा संघीयताको नै खिल्ली उडाउने काम भइरहेको छ भने जनतामा त्यस व्यवस्थाप्रति नकारात्मक धारणा निर्माण हुँदै गएको छ । धर्मनिरपेक्ष मुलुकमा शासकहरुको धर्मसापेक्ष व्यवहार र चरित्रले पनि संविधानको गला घोट्ने काम भइरहेको छ । उनीहरु पूर्व राजाकै झझल्को दिने गरी राजकीय तामझामका साथ विभिन्न अवसरहरुमा हिन्दू शक्तिपीठको भ्रमणमा जाने क्रमले एकलधर्मको पक्षमा मात्रै राज्य रहेको नकारात्मक सन्देश सम्प्रेषण गर्ने काम भइरहेको छ । अन्ततोगत्वा त्यसले पनि समग्र व्यवस्थाप्रति नै नकारात्मक भाव निर्माण गर्ने काम भएको छ ।
नेपालको हकमा संघीयता जनताको अधिकार भुइँतहसम्म पुर्याउने हैन, शासनसत्तामा आफ्ना आसोपासे र कार्यकर्ताहरुको व्यवस्थापन गर्ने उपकरणको रुपमा दुरुपयोग भइरहेको छ । भन्नलाई संघीयता भन्ने तर सम्पूर्ण अधिकारहरु केन्द्रमै केन्द्रीकरण गरेर राखिँदा संघीयताका महत्वपूर्ण अवयव प्रदेश सरकार अधिकारविहीन तथा कठपुतली जस्तो मात्रै देखिन पुगेको छ ।
यतिखेर मुलुकको आर्थिक अवस्था विकट रहेको यथार्थबोध गर्न अर्थशास्त्री भइबस्नै पर्दैन । आमजनताले आर्थिक संकटको दलदलमा मुलुक भाँसिदै गइरहेको यथार्थबोध कष्टकर हुँदै गइरहेको दैनिक जीवनबाटै गरिसकेका छन् । यो विकट अवस्थाबाट मुलुकलाई कसरी पार लगाउनेभन्नेतिर चिन्तन गर्नुको सट्टा शासन सत्तामा रहेका राजनीतिक दलहरुका लागि सत्ता स्वार्थका उठकपठक र चोचोमोचो प्रधान बन्ने गरेको छ । हिजोका शासकहरुले जनताको रगत पसिना चुसेर अकूत निजी सम्पत्ति आर्जन गर्दै देशलाई रसातलमा पुर्याएको ‘यथार्थ’ कुरा हो । सोही कुरालाई उल्लेख गर्दै परिवर्तनपछि तिनीहरुको शोषणको स्वर्गलाई ध्वस्त पारेर जनताको उन्नति प्रगतिमा तिनका सम्पत्ति खर्च गर्ने बाचा परिवर्तनका नेतृत्व गर्ने नेताहरुले जनतासामु गरेका थिए । तर हिजोको शासनसत्ता ध्वस्त भएर परिवर्तनको नेतृत्व गर्ने नेताहरु शासनको बागडोर सम्हाल्न पुगेपछि आफैं नै हिजोको शासकहरु जस्तो अकूत सम्पत्ति संकलनको होडबाजीमा लागेका छन् । वर्तमानका अधिकांश नेताहरु तथा तिनका नातेदार–आसेपासेको चुरीफुरी, आर्थिक हैसियत र वैभवशाली जीवनशैलीले हिजोका शासकवर्ग तथा तिनको वरिपरि रहेको कुलीनतन्त्रहरुलाई समेत माथ दिन थालेका छन् । यसअर्थमा अहिले सत्ताको भोग गरिरहेका तथा तिनका आसेपासेहरुका लागि त अझै पनि अवस्था स्वर्ग नै होला, तर आम जनताले नरकको अनुभूति गर्न थालेका छन् । धन्न ‘ह्याप्पिनेस इन्डेक्स’मा विश्वको आर्थिक महाशक्तिमा पाँचौ स्थान राख्ने छिमेकी मुलक भारत १२६ औं स्थानमा रहेको बेला नेपाल त्योभन्दा उन्नत अथात् ७८ औं स्थानमा रहेकोले पनि होला, नेपालमा भारतमा जस्तो आर्थिक निराशाको कारण आत्महत्या गर्ने प्रवृत्ति चर्को छैन, प्रेम आचार्य लगायत एकाध अपवादहरुलाई छाडेर ।
परिवर्तनको नेतृत्व गर्ने नेताहरु शासनको बागडोर सम्हाल्न पुगेपछि आफैं नै हिजोको शासकहरु जस्तो अकूत सम्पत्ति संकलनको होडबाजीमा लागेका छन् । वर्तमानका अधिकांश नेताहरु तथा तिनका नातेदार–आसेपासेको चुरीफुरी, आर्थिक हैसियत र वैभवशाली जीवनशैलीले हिजोका शासकवर्ग तथा तिनको वरिपरि रहेको कुलीनतन्त्रहरुलाई समेत माथ दिन थालेका छन् ।
व्यवस्था परिवर्तनपछि मुलुकमा कायापलट हुनेछ, आर्थिक उन्नतिको तीब्र महाअभियानको थालनी हुनेछ भनी परिवर्तनको पक्षमा देखाइएका आशाहरु भयानक दिवास्वप्न जस्तै बन्न थालेका छन् । आजभन्दा ६०–७० वर्षअघिसम्म नेपालभन्दा पछौटै एशियाली मुलुकहरु त्यहाँका शासकहरुको सुझबुझपूर्ण राजनीतिक नेतृत्व र जनताप्रतिको उत्तरदायित्वको बोधले प्रगतिको शिखरमा चढेर नेपाल लगायत तेस्रो विश्वका थुप्रै मानिसहरुलाई रोजगारी प्रदान गर्ने हैसियतमा पुगिसकेका छन् । हाम्रो देश भने मुलुकभित्र आवश्यक रोजगारीको अवसर सिर्जना गर्न नसक्दा विदेशी मुलुकहरुका लागि मूलतः अदक्ष–अर्धदक्ष कामदारहरु उत्पादन गर्ने कारखानामा रुपान्तरण भइरहेको छ । मुलुकभित्र रोजगारीको अवसर सिर्जना हुन नसक्दा युवापुस्ताको ठूलो संख्या अनिश्चित भविष्यको चरम नैराश्यताले ग्रसित छ र उनीहरुको एक मात्र ध्येय र लक्ष्य प्लस टुको पढाइ सक्नेबित्तिकै विदेश भाँसिने बन्न थालेको छ । आर्थिक रुपमा मुलुकको हालत उन्नयनको दिशातिर हैन, पतनको दिशातिर अग्रसर हुन थालेको निक्कै भयो । आर्थिक सूचाङ्कहरुमा तथ्यांकको अस्थायी उत्थानबाट क्षणिक आत्मसन्तुष्टि लिनेबाहेक जम्मामा मुलुक आर्थिक पतनको गर्तमा नराम्ररी धँसिदै गइरहेको अवस्थाले जनतालाई चिन्तित बनाएको छ । मुलुकभित्र बसेर गरिखाने वातावरण समाप्त हुँदै गइरहेको छ । जीविकाका आधारहरु फेला नपर्दा युवाजनसंख्याको ठूलो हिस्सा विदेशमा रगत सुकाएर पसिना बगाइरहेका छन् । मुलुकको उन्नयन र विकासका लागि चाहिने असल मस्तिष्कहरु भटाभट विदेशीहरुको पुँजीमा रुपान्तरण हुँदै गइरहेका छन् । मुलुकभित्रै रोजगारीका अथाह अवसरहरु सिर्जना गरेर आर्थिक उन्नतिको मार्गमा अगाडि बढ्नुको सट्टामा मुलुक बनाउने युवा पुस्तालाई वैदेशिक रोजगारमा निर्यात गरेर तिनले पठाउने रेमिट्यान्सको भरमा मुलकको अर्थतन्त्र धान्नुपर्ने दिशातिर अग्रसर हुनु जस्तो चरम पतन र लाजमर्दो कुरा के हुन सक्ला ? त्यसमाथि थप, मुलुक सञ्चालनका खर्चहरु धान्न आमजनतामाथि थपिएको करको भारीभरकम बाेझ र तिनमा वर्षेनी भइरहने बढाेत्तरीले आम मेहनतकश जनताको ढाड भाँच्दै जाँदा सिर्जना भएको चरम नैराश्यता त छँदैछ ।
आर्थिक सूचाङ्कहरुमा तथ्यांकको अस्थायी उत्थानबाट क्षणिक आत्मसन्तुष्टि लिनेबाहेक जम्मामा मुलुक आर्थिक पतनको गर्तमा नराम्ररी धँसिदै गइरहेको अवस्थाले जनतालाई चिन्तित बनाएको छ । मुलुकभित्र बसेर गरिखाने वातावरण समाप्त हुँदै गइरहेको छ ।
मुलुक बनेको वा मुलुकमा विकास भएको दावी गर्नका लागि तथ्यांकहरु हेरेर तुष्टि लिनबाहेक यथार्थमा कहालीलाग्दो अवस्था छ । समयको चक्रमा हुनैपर्ने वा अनिवार्य रुपमा हुँदै जाने क्रमिक विकासका कुराहरुलाई देखाएर पञ्चायतकालमा भन्दा उद्युमै विकास भएको दावी गर्न थालिएको छ । वास्तविकता भने चाहिँ के हो भने, पञ्चायती व्यवस्था नै रहिरहेको हुन्थ्यो भने पनि विकासका ती उपलब्धिहरु अनिवार्यतः हासिल हुन्थे । शासनसत्तामा रहेका तथा तिनका समर्थकहरु आफूसंग देखाउन उज्जवल वर्तमान नभएको हुनाले इतिहासको पानामा समेटिइसकेको अध्यारो बिगतसंग तुलना गर्न मन पराउँछन् र राजाको शासन खत्तम कि अहिलेको शासन खतम भनेर तुलनाको तुष्टिकरणमा रमाउने गर्छन् । यथार्थ चाहिँ के हो भने १९९० मा नेपाल संगै प्रजातन्त्र आएको बंगलादेश नेपालभन्दा आर्थिक रुपमा धेरै अगाडि पुगिसक्यो। नेपाल भने एसियामै अफगानिस्तानसंग दाजिने अवस्थातिर पुग्दैछ । सापेक्षित रुपमा विगत दुई–तीन दशक यता नेपालमा कुनै उल्लेखनीय विकास निर्माणका कामहरु भएका छैनन् । हिजो पञ्चायतीकालमै निर्माण भएका थुप्रै राष्ट्रिय संरचना एव उद्योगधन्दाहरु ध्वस्त पारिएका छन र अस्तित्वमा भएरहेका केही संरचनाहरु पनि मरणोसान्न अवस्थामा पुगेका छन् । उदाहरणको लागि, मुलकको ‘लाइफलाइन’ मानिने पञ्चायतकालीन समयमै निर्माण भएका सडकहरु उचित स्याहार सुसार हुन नसक्दा जीर्ण बनेका छन् र त्यसबाट आमजनताले ठूलो सास्ती खप्नु परेको छ । ती सडकको दुरावस्थाकाले पनि मुलुकमा विकासको लहर चलेको डिंग हाँक्नेहरुलाई गिज्याइरहेको अनुभूति हुन्छ । कदाचित बहुसंख्यक जनताका जीवनशैली एवं जीविकासँग जोडिएका ती सडकहरुलाई मात्रै पनि समयमै पुनर्निर्माण गरिदिने हो भने वर्तमान नेतृत्वप्रति जनताको आक्रोस धेरै कम हुनेथियो होला ।
शासनसत्तामा आरोहण भएको शुरुवाती कालमा भ्रष्टाचार र कुशासनका विरुद्ध दक्षिण भारतीय नायकहरुले भन्दा चर्को ‘स्टन्ट’ देखाउनेहरु त्यसको मायाजाल र प्रभुत्वको प्रभावमा परेर बीचैमा सेलाउन पुग्छ ।
यतिखेर मुलुकमा कस्तो दुरावस्था छ भने हिजोको शासनसत्तालाई निक्कै पछाडि छाड्ने गरी नेपालमा भ्रस्टाचार र कुशासन संस्थागत भइसक्यो । यसलाई हटाउने हो भने शासनसत्तामा रहेकाहरुले फेरि जनविश्वास कमाउन सक्छन् । तर प्रणालीगत रुपमै शासनसत्ताको हिस्सा बनेको त्यो भ्रष्टाचार र कुशासनलाई हटाउने सवालमा या त शासकहरु निरीह छन् वा त्यो प्रणालीले उनीहरुलाई समेत समाहित गरिसकेको हुनुपर्छ, त्यही कारण कसैले पनि भ्रष्टाचार र कुशासनलाई मेट्न सकेको देखिन्न, सकेको छैन । शासनसत्तामा आरोहण भएको शुरुवाती कालमा भ्रष्टाचार र कुशासनका विरुद्ध दक्षिण भारतीय नायकहरुले भन्दा चर्को ‘स्टन्ट’ देखाउनेहरु त्यसको मायाजाल र प्रभुत्वको प्रभावमा परेर बीचैमा सेलाउन पुग्छ । फलतः परिणाम टायटाय फिस्स हुन्छ ।
यो अवस्था अरु कसैका कारण हैन, शासनसत्तामा रहेकाहरुको अदुरदर्शिता, पुरानै पछौटे संस्कृति र संस्कारबाट आफूलाई मुक्त गराउन नसकेको कारण उत्पन्न भएको हो । अन्यथा, वर्तमानप्रतिको निराशा र शासनसत्ताप्रतिको चर्को अनास्थालाई पक्रेर दुर्गा प्रसाईजस्ता चतुर व्यापारीहरुले गणतन्त्रलाई नै ‘भूतपूर्व’ बनाइदिने खालको हुँकार गर्ने आँट गर्दैन थिए होलान् ।
समग्रमा भन्दा वर्तमानप्रति आशा कम, घोर निराशा बढ्दैछ र त्यसले समग्र व्यवस्थाप्रति नै आम जनतामा अनास्था बढ्दै जाने स्थिति तयार हुँदैछ । र, यो अवस्था अरु कसैका कारण हैन, शासनसत्तामा रहेकाहरुको अदुरदर्शिता, पुरानै पछौटे संस्कृति र संस्कारबाट आफूलाई मुक्त गराउन नसकेको कारण उत्पन्न भएको हो । अन्यथा, इतिहासको रछ्यानमा मिल्काइसकिएको राजतन्त्रले अहिलेको गणतन्त्रमा पक्कै पनि यत्तिको भाउ र महत्व पाउने थिएन होला । सत्ताको सिंहासनबाट ओर्लिएर आम जनताको तहमा झरेका पूर्व राजाका ससानो अभिव्यक्तिहरुले पनि ‘गणतन्त्र धरापमा पर्ने’ तथा सत्ताको चास्नीमा तर मारिरहेकाहरुको निद्रा हराम हुने अवस्था आउने थिएन होला । वर्तमानप्रतिको निराशा र शासनसत्ताप्रतिको चर्को अनास्थालाई पक्रेर दुर्गा प्रसाईजस्ता चतुर व्यापारीहरुले गणतन्त्रलाई नै ‘भूतपूर्व’ बनाइदिने खालको हुँकार गर्ने आँट गर्दैन थिए होलान् । प्रतिगमनका लागि सल्बलाइरहेका पुरातनपन्थी शक्तिहरुले दुर्गा प्रसाईलाई अघि सारेर यसरी खुलेआम चलखेल गर्ने आँट पनि गर्ने थिएन होला ।
साँच्चै नै भन्ने हो भने नेपालको गणतन्त्रलाई पूर्व राजा, दुर्गा प्रसाईहरु तथा प्रतिगमन गर्ने चाहना राख्नेहरुबाट हैन, गणतन्त्रका हिमायतीहरुबाटै सबैभन्दा ठूलो खतरा छ । यो व्यवस्थामाथि भोलि कुनै अनिष्टको वज्रपात भयो भने शासकहरुकै नालायकी र अदुरदर्शिताको कारण हुनेछ ।
प्रतिक्रिया