टिकटकको प्रतिबन्धमा उजगार भएको साँस्कृतिक पछौटेपना
केही दिनअगाडि नेपाल सरकारले सामाजिक सद्भाव विथोलेको भन्दै लोकप्रिय सामाजिक संजाल टिकटकमाथि प्रतिबन्ध लगाइदियो। सरकारको यो निर्णयप्रति मिश्रित प्रतिक्रिया आएको देखियो। कहिले टिकटक विकृतिको माध्यम भएको हुनाले यसलाई बन्द गरेर सरकारले ठिक काम गर्यो भनेर प्रतिक्रिया दिएका छन्।
केहीले टिकटकमाथिको प्रतिबन्ध अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपको रुपमा लिएका छन्। राजनीतिक पार्टीहरुमा समेत यसप्रति मिस्रित प्रतिक्रिया आएको देखियो। सत्तारुढ पार्टी माओवादीका सम्पूर्ण पंक्ति टिकटक प्रतिबन्धको पक्षमा खुलेर लागेको देखिन्छ भने नेपाली कांग्रेसका देउवा घटकबाहेक अरु भने यसको विरुद्धमा लागेका छन। प्रमुख प्रतिपक्षी पार्टी एमालेले प्रस्टरुपमा दोधारे नीति लिएको देखिन्छ । एकातिर भित्री रुपमा ऊ सरकारको निर्णयबाट खुसी नै छ तर बाहिर यसको झिनोस्वरमा विरोध गरेको जस्तो देखाउँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा भने सरकारको यो निर्णयको प्रस्ट विरोधमा देखिएका छन्।
आमजनताले भने सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धलाई कसरी लिइरहेका छन्, त्यसलाई अवलोकन गर्नु महत्वपुर्ण छ। टिकटकलाई सामान्य मानिसहरुको लागि सपनाको संसार थियो। यसले मानिसहरुलाई केही नाचगान गर्ने र केहीक्षणलाई भएपनि आफुलाई रजतपटको संसारको अंग भनेको भ्रममा बाँच्ने अवसर दिएको थियो। टिकटक विसेष गरी किशोरी र महिलाहरुमा लोकप्रिय थियो। टिकटकको माध्यमको प्रयोग गर्दै केही विकृतिहरु मौलाएको पक्कै पनि सत्य नै हो। कतिपय मानिसहरु आफ्नो कामधाम छोडेर यसैमा लागेका पनि देखिन्थे। तर यो मात्रै सम्पूर्ण सत्य पनि होइन। टिकटकलाई माध्यम बनाएर आफ्नो व्यापारको विज्ञापन गर्ने र शैक्षिक र जानकारीमुलक सूचना प्रवाह गर्ने थुप्रै व्यक्ति पनि थिए। समाजका ठूलाबडा भनाउँदाहरुले लुकाउन दबाउन छिपाउन चाहेका कुराहरु पनि टिकटकको माध्यमबाट सजिलै सार्वजनिक हुने गर्थे । आम जनताले टिकटक प्रतिबन्धलाई खासै मनपराएको देखिएको छैन।
सरकारको प्रतिबन्धपछि टिकटक चलेको छ कि छैन भनेर मैले एउटा भिपिएन प्रयोग गरेर टिकटक खोलेको थिए। सरकारी प्रतिवन्धले नेपालि टिकटक प्रयोगकर्ताहरुलाई खासै असर परेको थिएन।
शहर बजारका टिकटक प्रयोगकर्ताहरु मात्र होइन, गाउँ देहातका एकदमै सामान्यभन्दा सामान्य प्रयोगकर्ताहरु समेत टिकटकमा लाइभ प्रसारण गरिरहेका भेटिए। गाउघरका महिला र किशोरीहरु बिहानीपख दाउराको चुलोमा खाना पकाउदै लाइभ स्ट्रीमिङ्ग गरिरहेका थिए। सरकारले टिकटक माथि लगाएको प्रतिबन्धलाई बाइपास गर्न गाउँघरमा समेत मोबाइलको डिएनएस सर्भर कसरी परिवर्तन गर्नु पर्छ र भिपिएन कसरी प्रयोग गर्नु पर्छ भन्ने प्राविधिक जानकारी पर्याप्त रुपमा रहेको पाइयो।
समाजशास्त्रमा एउटा अवधारणा छ साँस्कृतिक पछौटेपना (Cultural Lag) भन्ने। विज्ञान र प्रविधि जुन गतिमा परिवर्तन हुन्छ, संस्कृतिले त्योसँग तालमेल राख्न सक्दैन। यसले सामाजिक समस्याहरु उत्पन्न गर्छ। यसैलाई सांस्कृतिक पछौटेपना भनिन्छ। हाम्रो समाजमा पनि यही समस्या आइसकेको छ। विज्ञान र प्रविधि जुन रुपमा अगाडि बढेको छ र नया पुस्ताले त्यसलाई जति तीब्र रुपमा अपनाउँदै गएका छन्। हाम्रा शासक र नेताहरु यसप्रति पुरै अनभिज्ञ छन्। उनीहरुको मानसिकता आजभन्दा एक पुस्ता अर्थात पञ्चायतकालको समयको छ। त्यही मानसिकताबाट उनीहरु ग्रसित छन्। त्यही बासी सोचबाट ग्रषित भएर हाम्रा नेताहरुले सामाजिक संजालमा प्रतिबन्ध लगाउने फरमान जारी गर्छन् । मानौं उनीहरुको हुकुम र फरमानले सबै जनताले डरले थुरथुर भएर आदेश पालन गरिहाल्छन्। हाम्रा नेताहरुको सोच इन्टरनेट र स्मार्टफोन आउनुभन्दा अगाडिको समयको छ। जब सुचनाको श्रोत सरकारी सञ्चार माध्यम रेडियो नेपाल, नेपाल टेलिभिजन र केही अखबारहरु थिए। सूचनाको सबै श्रोतहरुमा उनीहरुको नियन्त्रण हुन्थ्यो। त्यो बेलाको जब उनीहरुले केही बोले र त्यो कुरा विवादास्पद भयो भने भोलिपल्ट सहजै मैले त्यो कुरा बोलेको थिइनँ, पत्रकारले बंग्याईदियो भनेर पन्छिन सकियोस्। अब त्यो जमाना त रहेन। अहिले इन्टरनेट र स्मार्टफोनमा सबैको पहुँचले गर्दा नागरिक पत्रकारिताको समय आएको छ। यो कुरामा तादम्यता राख्न हाम्रो नेतृत्व पुस्ता पूर्ण रुपमा असक्षम देखिएको छ। खुला समाजमा सामाजिक संजाल नियन्त्रण गर्न खोज्नु असम्भव कुरा हो। टिकटक प्रतिबन्ध प्रकरणले यही कुरालाई पुस्टि गरेको छ।
प्रविधिका राम्रो ज्ञान नभएका, अरुको कुरा सुनेर धारणा बनाउने बानी परेका, अस्ताचलको यात्रामा हिँडिरहेकाहरुलाई त टिकटकको प्रतिबन्धले आत्मसन्तुष्टि देला तर प्रविधिको असीमित क्षमतासँग दिनहुँ साक्षात्कार गरिरहने आजका उन्नत ज्ञानले लैस युवा पुस्तालाई भने यसले खासै असर नगर्ने देखियो । उनीहरुले प्रतिबन्धलाई खिल्ली उडाउँदै मज्जाले टिकटक चलाइरहेकै छन् ।
प्रतिक्रिया