महाकवि देवकोटा : आफ्नै दृष्टिमा
आफ्नै चर्चा आफैले सुन्दा
जन समाजमा स्वभावतः चर्चा भइरहने नाउँका वरिपरि उपाख्यान सोहरिन जान्छन् । मरिसकेकाहरूलाई त्यस सम्बन्धमा केही गुनासो हुँदैन । तर बाँच्नेमध्ये जसले आफ्नो व्यक्तित्वसँग त्यस्ता उपाख्यान गाँसिएको पाउँछन्, तिनलाई मृतकको पंक्तिमा आफू परेको भावनाले साह्रो ग्लानि हुन्छ । मलाई लिएर गढिएका कथाहरू, मैनको पुतली ठानी म उपर पोतरिएका अनेक रङ्गहरू, मेरा नाममा गुथिएका अनेक नीतिकथा एवं मेरा बानी बेहोरालाई लिई रचिएका अनेक वैचित्र उपर मलाई आफ्नो मर्का पोख्नु छ । ती सबैलाई केलाउँदा लाग्दछ मानौं मानिसहरूले केही कालदेखि मलाई एक विशालकाय दैत्यको रूपमा पो श्रद्धा गर्न प्रारम्भ गरेको रहेछ, र त्यस श्रद्धामा आवश्यक गुणका रूपमा वर्वर एवं विचित्र सँग सम्बन्धित सबै अत्युक्तिहरू समावेश छन् । यस कुराको पछाडि निकै ईर्षा छ, निकै दुष्टाइँ छ र छ चेतन वा अचेतन रूपमा नक्कल गर्ने प्रवृत्तिको क्रियाकलाप । जनमनोरञ्जनका लागि म कार्टुन बनाइएँ र यहि कुरालाई लिएर म आफ्ना एकान्त क्षणमा निकै क्षुब्ध हुन्छु ।
आशुकवि नामधारी एक अलौकिक व्यक्ति भनी मानिस मेरो चर्चा गरिदिन्छन्, तर त्यस कुरामा मैले कहिल्यै विश्वास गरिनँ ।
कल्पनाको प्रचुरता कविविशेषमा भन्दा जनताको सामुहिक क्रियाशीलतामा हुन्छ । आशुकवि नामधारी एक अलौकिक व्यक्ति भनी मानिस मेरो चर्चा गरिदिन्छन्, तर त्यस कुरामा मैले कहिल्यै विश्वास गरिनँ । मानिस भनिदिन्छन् मानौं पचास वर्षसम्मन मैले जिउँदो रगतको प्रत्येक तन्तु निचोर्दै निचोरिनँ, मानौं साहित्यको गोरेटोमा म चिसिदै घिस्रिनँ ।
साहित्यभूमिमा जब म आफूलाई जुआको निरन्तर बोझ सहिष्णु काँधमा बोकेर हिँड्ने हरिटाट गोरू जस्तो भन्ठान्दछु, त्यसबेला मानिसहरूले मलाई बादलमाथि सुवर्ण लाएर बोकेको अपेलो झैँ अनुचित ढंगले चित्रित गरेको पाउँदछु । अन्धकल्पना निर्वन्ध हुन्छ, क्यान्भासमा चाहेको रङ आफ्नै ढंगबाट पोत्न। तर, व्यक्तित्वको वास्तविक बुँदा चाहिँ चट् । केही व्यक्ति छन् जसले मलाई विद्युत् कविको संज्ञा प्रदान गरेका छन्, मानौं स्विच थिचिदिनु मात्र पर्छ र मेरो मुटु फोनको रेकर्ड झै स्वतः घुम्न थाल्ने छ, र त्यसबाट ध्वनित हुनेछ काव्य र सिर्फ काव्य । हो, म जान्दछु मैले एक शतक वा बढी श्लोक एक घण्टाभित्र तत्क्षण रचेको छु । तर मैले त्यसो गरेको बौद्धिक मनोरञ्जनका लागि थियो प्रेरणाको कुनै आदर्श प्रस्तुत गर्न होइन । कहिले काहीं कस्तो उल्टो पर्न जान्छ । संयोगलाई नै नियति ठानिदिन्छन् । गान्तोकमा, उत्साही बुद्धिजीवीहरूले एक घण्टासम्मन मेरो त्यो फोन बजाउने अनुरोध गरे, त्यो पनि कहिले भने चार घण्टाको नियास्रो यात्रा पछि । त्यस आह्वानबाट म लज्जित भएँ र कलम हातमा लिएर रिङ्गेर बसेका उत्साहीहरूको इच्छामा मैले स्वयंलाई ढाल्न सकिनँ । यस्तै कुरा हुन जसबाट हामी चित्रित हुन पुग्छौं एक-एक निरन्तर चालु रहने कविताको घट्ट झै तहाँ तत्कालिक जोशका खुराक स्वरुप जेसुकै विषय पनि सव्य पर्न जान्छ ।
केही व्यक्ति छन् जसले मलाई विद्युत् कविको संज्ञा प्रदान गरेका छन्, मानौं स्विच थिचिदिनु मात्र पर्छ र मेरो मुटु फोनको रेकर्ड झै स्वतः घुम्न थाल्ने छ, र त्यसबाट ध्वनित हुनेछ काव्य र सिर्फ काव्य ।
यात्राको झिसमिसे साँझमा सिमाना पुग्दा, कति विरोध गर्दा गर्दै पनि, त्यहाँका पुलिस अफिसरका लागि सरकारी रजिष्टरमा सिमानाबारे श्लोक नलेखी धरै पाइएन । साहित्यप्रतिको उनको उत्साहको मैले प्रशंशा गरे र गरें काव्य रचनालाई चाहिने प्रेरणासबन्धी उनको धारणालाई निरादर । जिपै रनक्क तात्ने गरी सफर गर्दा पनि, वीणावादिनी मेरै टाउको वरीपरि फन्को मारिरहन्छिन् भन्ने लोकभावना बन्न गए जस्तो छ । यस्तैयस्तै ढंगबाट, गान्तोकदेखि काठमाडौंसम्मन्, शिशिरले झै मैले आफ्ना श्लोक पत्र छरेको छु । तो पत्रहरु आलु पोको पार्न काम लाग्छ भनेर तरकारी पसलेले पनि तिनमा चाख लिने संभावना छ ।
केही नेपाली गीति काव्य उपरको मेरो प्रयास पछि जब केही समालोचकहरूले मलाई रोमाण्टिक अंग्रेजी काव्यबाट उत्प्रेरित भन्ने संज्ञा दिए, मैले अंग्रेजी साहित्य पढ़न छाडी दिएँ ।
जनसाधारणमा के हल्ला छ भने संस्कृत एवं अंग्रेजीमा मैले पाण्डित्य हासिल गरेको छु, नौ भाषामा म पूर्ण दक्ष छु । हुन त, अध्ययन गर्ने मेरो प्रबल इच्छा थियो, तापनि पटना विश्वविद्यालयबाट स्नातक बनेपछि कुनै पुस्तक पढ्ने समय मैले पाउन सकिनँ । दिनको १४/१६ घण्टाको ट्यूसनमा घोट्टिएर समय पाउन सक्थेँ पनि कसरी ? अपरिमेय अध्ययनको त्यस्तो चर्चा सुन्दा म लाजले निहुरिन्छु । सत्यं शिवंको मार्ग अपनाएर पनि, मैले जो यो सर्वथा मिथ्या परिकल्पना उत्प्रेरित गरे जस्तो भान हुन्छ, त्यो देख्दा सरस्वती माता के भन्लिन् ? एक पटक सभागृहमा विद्वत् वर्ग समक्ष संस्कृतमा व्याख्यान दिन एक सुप्रसिद्ध पण्डितले मलाई आव्हान गरे । यस्तै अप्ठ्यारा अवस्था आइपर्छन् । प्रचलित उपाख्यान निवारण नगर्दा । अझसम्मन् मैले कालिदासको मौलिक शकुन्तला पढेको छैन न मेघदूत नै आद्योपान्त पढ्न सकेको छु। कस्तो आफू होच्चिने कुरा, तर पनि मैले शिर निहुराएर यसलाई सकार्नै पर्छ । यस्तै अंग्रेजी पट्टि पनि, केही नेपाली गीति काव्य उपरको मेरो प्रयास पछि जब केही समालोचकहरूले मलाई रोमाण्टिक अंग्रेजी काव्यबाट उत्प्रेरित भन्ने संज्ञा दिए, मैले अंग्रेजी साहित्य पढ़न छाडी दिएँ । कच्चा वैद्यको मात्रा यमपुरी को यात्रा । तापनि म जान्दछु मेरा धाराप्रवाह भाषण र सृजनबाट अंग्रेजीमा मेरो दख्खल छ भन्ने प्रपंच म खडा गर्न सक्छु । तथापि मैले आजसम्मन प्राइड एण्ड प्रेजुडिस वा वाल्ट व्हिटम्यान वा एज्रा पाउण्ड पढ़ेको छैन । अंग्रेजी साहित्य उपरको आफ्नो अध्ययन टापटिपे प्रकारको भएर नै अंग्रेजी शैली सुधार्नु पर्यो भनी कम्मर कसी खूब मिहिनत गरें र निकै लेखी पनि हाले र यही कारणले गर्दा हो भाषामा अलिक प्रवाह आउन सकेको । तापनि, मेरा पिढीका व्यक्तिहरु मध्ये म सबभन्दा अंग्रेजी जान्ने कहलिन्छु - अद्यावधि टिकीरहेको यो यस्तो प्रवंचना हो जसले गर्दा म पानी - पानी हुन्छु ।
(२०२५ फागनुमा प्रकाशित भानु पत्रिकाको देवकोटा विशेषाङ्कमा प्रकाशित रुपरेखाबाट साभार गरिएको लेख) । Photo: https://www.reddit.com
प्रतिक्रिया