अकाल मृत्युबाट बच्ने उत्तम उपाय– सक्दो बेसी हिँड्ने !
हिँड्नुको फाइदा के हो ? कसैलाई यो प्रश्न सोध्यौं भने सम्भवतः तपाईंलाई उसले लामै व्याख्यान दिन सक्छ । अर्थात् हिँड्नुको फाइदाबारे प्रायःजसो सबैलाई थाहा छ । खासगरी, स्वास्थ्यको दृष्टिकोणले हिँड्नु फाइदाजनक कुरा हो । आजभोलि त मोबाइल तथा ग्याजेटहरुमा समेत तपाईंले कति हिँड्नु भयो भन्ने कुरा हेर्न र थाहा पाउने सकिने खालका एपहरु राखेका हुन्छन् ।
तर के वास्तवमै हिँड्नु फाइदाजनक छ त ?
यसको उत्तर हुन्छ– हो, हिँड्नु स्वास्थ्यको लागि अत्यन्तै फाइदाजनक हुन्छ ।
युरोपियन जर्नल अफ प्रिभेन्टिभ कार्डियोलोजीमा साउन २४, २०८० मा प्रकाशित एक अध्ययन रिपोर्ट अनुसार, दिनको ३,९६७ पाइला नियमित हिँड्ने हो भने त्यसले मानिस अकाल मर्ने खतरालाई कम गरिदिन्छ । त्यसैगरी, दिनको २,३३७ पाइला मात्रै हिँडने हो भने त्यसले मुटुसम्बन्धी रोगका कारण हुने निधनको सम्भावनालाई टारिदिन्छ ।
त्यसो त पहिलेदेखि नै स्थापित मान्यता के हो भने नियमित हिँडाइले मुटुको स्वास्थ्य राम्रो हुने गर्छ । यसले मानिसको आयु पनि बढाइदिने गर्छ । यसअघिका अध्ययनहरुले पनि स्वस्थ्य रहनका लागि दिनको कम्तिमा पनि ५ हजार पाइला हिँड्नुपर्ने देखाएको थियो ।
त्यसो त अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (CDC) ले पनि दैनिक १० हजार पाइला हिँड्न उत्प्रेरित गर्दै आएको छ ।
पछिल्लो अनुसन्धानले चाहिँ दिनको १० हजार पाइला हिँड्न नसक्नेहरुले दैनिक २५०० देखि ४००० पाइला हिँड्नु उचित हुने सिफारिश गरेको छ ।
२,२६,८९९ जना मानिसहरुमाथि गरिएका फरक फरक १७ वटा अध्ययनहरुको विश्लेषण गरेर उक्त निचोड निकालिएको हो । त्यसक्रममा सो अध्ययनमा सहभागीहरुको औसत सात वर्षसम्मको स्वास्थ्य अवस्थाको विश्लेषण गरिएको थियो ।
यस अध्ययनमा संलग्न अनुसन्धानकर्ताहरुले के फेला पारे भने दिनहुँ २५०० देखि ४००० पाइलासम्म हिँड्ने मानिसहरुको हिँडाइमा १००० पाइला मात्रै थपिदिँदा पनि अकाल मृत्युको सम्भावना १५ प्रतिशत घट्दो रहेछ । त्यसैगरी, ५०० पाइला मात्रै थपिदिँदा पनि मुटुसम्बन्धी रोगका कारण मर्ने सम्भावना पनि ७ प्रतिशतले न्यून हुँदो रहेछ ।
यो अध्ययन हिँडाइका फाइदाबारे विश्लेषण गरिएको सबैभन्दा विस्तृतखालको हो । त्यसमाथि थप, दैनिक २० हजार पाइलासम्म हिँड्दा हुने फाइदाबारे विश्लेषण गरिएको अध्ययन पनि यही पनि पहिलो हो । यसअघिका अध्ययनहरुमा १५ हजार पाइलासम्मको हिँडाइबारे विश्लेषण गरिएका थिए ।
यस अध्ययनको निचोड के रह्यो भने, दैनिक २५ सय पाइला मात्रै हिँड्दा पनि त्यसले शरीरलाई धेरै फाइदा गर्छ । त्यसमाथि थप, जति दैनिक हिँड्न सकियो, उत्तिनै फाइदा पनि बढी हुने गर्छ ।
यस अध्ययनले दिएको प्रमुख सन्देश नै के हो भने, जति धेरै हिँड्यो, अकाल मृत्युको सम्भावना उत्तिनै कम हुँदो रहेछ ।
कम हिँड्डुल गर्दा चाहिँ के हुन्छ ?
हिँड्डुल नगर्ने वा गर्न नचाहने मानिसहरुमा धेरै स्वास्थ्य समस्याहरु देखापर्ने खतरा बढेर जान्छ । तीमध्ये केही प्रमुख समस्याहरु निम्नानुसार छन् ः
–मुटुसम्बन्धी समस्याहरु
–क्यान्सर
–मधुमेह (टाइप २)
–उच्च रक्तचाप ।
त्यसो त उच्च आय भएका देशहरुमा करिब २७.५ प्रतिशत मानिसहरु (जसमा विशेषत महिलाहरु पनि पर्ने गर्छन्) ले पर्याप्त मात्रामा हिँड्डुल तथा शारीरिक गतिविधिहरु गर्ने गर्दैनन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार, शारीरिक गतिविधिहरु पर्याप्त नहुनु संसारभरिमा मृत्युका प्रमुख कारणहरुमध्ये चौथो नम्बरमा पर्दछ ।
स्रोतः हेल्थलाइन
प्रतिक्रिया