नाकले गन्ध कसरी थाहा पाउँछ ?
गन्धले पनि खानाको स्वाद फरक पार्छ !
हाम्रो नाक नहुने हो भने के हुन्छ होला ? कसैले यस्तो प्रश्न सोध्यो भने, तपाईंको गन्ध थाहा पाउन सकिँदैन भन्ने नै हुन्छ होला । तर यस्तो उत्तर दिनुभयो भने त्यो गलत हुनेछ । किनभने, नाक नभएपनि हामीले गन्ध थाहा पाउन सक्छौं । नाक गन्ध थाहा पाउने प्रणालीको हिस्सा त हो तर यो बाहिरी हिस्सा मात्रै हो । साँच्चिकै गन्ध थाहा पाउने अंग नाकको भित्री भागमा हुने गर्छ । त्यसलाई ओल्फ्याक्ट्री भनिन्छ ।
मानिस लगायत जनवारको संसारमा सबैको नाक एकै किसिमको हुँदैन । कसैको नाक ठूलो हुन्छ, कसैको सानो, नेप्टो, च्याप्टो, गोलाकार, लामो, छोटो– जस्तोसुकै पनि हुन सक्छ । मानिसको नाक हड्डी, कार्टिलिेज (कडा टिस्यू) र छाला मिलेर बनेको हुन्छ । नाकमा दुईवटा प्वालहरु हुन्छन् । तिनै प्वालबाट हावा हाम्रो शरीर भित्र जाने र बाहिर निस्कने गर्छ । यसरी शरीरमा हावा भित्र जाने र बाहिर जाने क्रममा कुनै पनि पदार्थको अणुहरु पनि नाकबाट भित्र जाने बाहिर जाने हुन्छ । तिनै अणुहरुकै आधारमा हाम्रो नाकले गन्ध थाहा पाउने गर्छ ।
नाकको मुख्य काम सास फेर्ने हो । नाक भित्र कडा रौंहरु हुन्छन् । ती रौंहरुले सास फेर्दा धुलो, फोहोर र किराहरुलाई साससँगै भित्र जानबाट रोक्छन् । हामीले सास लिँदा नाकभित्र पसेको हावा नाकको ठूलो सुरुङ्गजस्तो भागमा पुगेपछि तातो र ओसिलो हुन्छ । त्यस भागलाई nasal cavity भनिन्छ । यही भाग नै हामीलाई सर्दी रुघा लाग्दा सुन्निने गर्छ ।
नाकको आकार, प्रकार र स्वास्थ्यले हाम्रो आवाजलाई पनि फरक फरक पारिदिइरहेको हुन्छ । प्रयोगको लागि, एक पटक नाक च्याप्प समातेर थुन्नुहोस् र बोल्नुहोस् । के तपाईंको बोली फरक भएन त ?
नाकले गन्ध कसरी थाहा पाउँछ ?
गन्ध भनेको कुनै पनि पदार्थमा भएको वास्ना थाहा पाउनु हो । यो हाम्रो शरीरका पाँच इन्द्रियहरुभित्र पर्दछ । शरीरका अन्य चार इन्द्रियहरुमा छुनु, स्वाद लिनु, हेर्नु र सुन्नु पर्दछ ।
हामीले गन्ध थाहा पाउने काम पनि आँखाका बीचमा रहेको नाकको सुरुङजस्तो भागमा नै हुने गर्छ । वास्तवमा त्यस भागमा गन्ध थाहा पाउँने नसाहरुका पुच्छर हुन्छन् । त्यसलाई Olfactory nerves भनिन्छ ।
जब कुनै पनि पदार्थको वास्ना भएको अणुले हाम्रो नाकको त्यो गन्ध थाहा पाउने नसालाई छुन्छ, त्यसले हाम्रो मस्तिष्कमा त्यसबारेको संकेत पठाइदिन्छ ।मस्तिष्कले त्यो गन्ध केको हो र कस्तो हो भन्ने विश्लेषण गर्छ र त्यसलाई चिन्छ । मानिसले सामान्यतया विभिन्न प्रकारका १० हजार गन्धहरु थाहा पाउन सक्छन् । तीमध्ये एउटा गन्ध गन्हाएको मोजाको पनि हो ।
गन्धले खानेकुराको स्वाद पनि फरक पारिदिने गर्छ । हाम्रो जिब्रोको स्वाद थाहा पाउने भागले चार प्रकारका स्वादहरु मात्र थाहा पाउँछन् । ती स्वादहरु गुलियो, अमिलो, नुनिलो र तीतो हुन् । हाम्रो गन्ध थाहा पाउने क्षमताले त्यसलाई अझ चर्को र कम पारिदिने गर्छ । त्यही कारण नै हाम्रो जिब्रोले थाहा पाउने मुख्य स्वाद चार वटा मात्रै भए पनि हामी खानेकुराको परिकार नै पिच्छे फरक फरक स्वादहरु पाउने गर्छौं ।
जनावरमा नाकको उपयोग
मानिसको लागि त नाक र गन्धको उपयोग त्यति हुँदैन । तर जनावरको संसारमा नाक र गन्धको निक्कै ठूलो महत्व हुन्छ । यो उनीहरुको जीवन र मरणसँगै गाँसिएको हुन्छ । गन्धले नै जनावरलाई खानेकुरा र शत्रुहरुबारे थाहा दिने गर्छ ।
धेरै जनावरहरुमा नाकको प्रयोग गन्ध थाहा पाउनुबाहेक अरु काममा पनि उपयोग हुन्छ । उदाहरणको लागि, हात्तीको नाक सुँड हो । यस अर्थमा हात्तीको नाक पाखुरा जस्तो लामो र हात जस्तो उपयोगी हुन्छ । आवाज निकाल्नको लागि र खानेकुरा खानको लागि हात्तीले नाकको नै बेसी प्रयोग गर्छ ।
घोडा र ऊटले आफ्नो नाकको दूलो हामीले आँखालाई गरेजस्तै गरी खोल्न र बन्द गर्न सक्छ । उसको यो क्षमताले गर्दा हुरी बतास चल्दा र मरुभूमिमा हिँड्दा धुलो र बालुवा नाकभित्र पस्नबाट जोगाउँछ ।
नाक र गन्धको अनौठो प्रयोग त साल्मोन नामक माछाका एक जाति ले गर्ने गर्छ । युवा साल्मोन नदीमा तैरिँदै हज्जारौं माइल पर समुद्रसम्म पुग्ने गर्छ । तर वर्षौपछि उसले आफू जन्मेकै ठाउँमा पनि फर्कने गर्छ । त्यसरी जन्मेको ठाउँमा फर्कनको लागि यसले बाटो पत्ता लगाउँन आफ्नो गन्ध थाहा पाउने क्षमता नै प्रयोग गर्ने गर्छ । यसको गन्ध थाहा पाउने क्षमता त्यति तेजिलो हुन्छ । तपाईं एकपल्ट सोच्नुहोस् त– आँखाले नहेरिकन के तपाईं गन्धकै आधारमा स्कूलबाट घरसम्म फर्कन सक्नुहुन्छ ??!
कुकरको सुँघ्ने शक्ति अति तेजिलो हुन्छ । यो हामीले जानेको कुरा हो । यही सुँघ्ने शक्तिकै कारण कुकुरलाई तालिम दिएर चोर पक्रने, बम पत्ता लगाउने, हिउँमा पुरिएको मान्छे खोज्ने, दुर्घटनामा परेर पुरिएका मानिसहरु पत्ता लगाउने, लुकाएर लैजान खोजेको चरेश, स्म्याक्स जस्ता नशालु पदार्थहरु पत्ता लगाउने जस्ता विभिन्न उपयोगी कामहरु लगाउने गरिन्छ ।
कुकुरको सुँघ्ने शक्ति मानिसको भन्दा धेरै बढी हुन्छ । उस्तै पर्दा कुकुरले आधा माइल परबाटै पनि गन्ध थाहा पाउन सक्छ ।
यस्तो हुनुको कारण चाहिँ कुकुरमा गन्ध पत्ता लगाउने तन्तुहरु (Olfactory receptors) २२ करोड वटा जति हुनु नै हो । यिनै तन्तुहरुका कारण कुकुरले मानिसले भन्दा ४० गुना बेसी गन्ध थाहा पाउन सक्छ ।
प्रतिक्रिया