अल्छी गधाको मूर्ख काम !

एक समयको कुरा हो । एउटा शहरमा नूनका व्यापारी थिए । त्यसबेला अहिलेको जस्तो यातायातको सुविधा थिएन । सामान बोक्न घोडा गधाको प्रयोग हुन्थ्यो । ती व्यापारीले पनि गधा पालेका थिए । गधालाई नून बोकाएर सधैं बिहान उनी सामान बेच्न नजिकको गाउँमा जाने गर्थे ।

बाटोमा एउटा नदी थियो । अहिले जस्तो पुल थिएन । नदी तर्न पानीमा पस्नुपर्थ्यो

एक दिनको कुरा हो, नदी पार गर्दै गर्दा गधाको खुट्टा चिप्लियो । पानीले नून भिज्यो । पानीले भिज्दा पग्लिएर धेरै नून बग्यो । व्यापारीले गधालाई जसोतसो सम्हालेर बाहिर निकाले । धन्न गधालाई कुनै चोटपटक लागेन । तर पानीले धेरै नून बगाएको कारण व्यापारीलाई नोक्सान भयो । गधालाई भने हाइसन्चो भयो । किनभने उनको बोझ निक्कै कम भएको थियो । गधा खुसी भयो ।

गधाले सोच्यो– अब त दिनहुँ पानीमा चिप्लिएको नाटक गर्छु । त्यसो गरेपछि पानीले नून बगाउँछ । अनि त आफूलाई हाइसन्चो !

अर्को दिन पनि व्यापारीले गधालाई नून बोकाएर बेच्न हिँडे । नदी तर्दै गर्दा गधाले जानीजानी लडेको अभिनय गरे । पानीले नून बगायो । व्यापारीले गधालाई जसोतसो गरेर उठाए । व्यापारीलाई नोक्सानी भयो । बोझ कम भएको कारण गधा चाहिँ मनमनै खुसी भयो ।

यो क्रम अब निरन्तर चल्यो । गधा पानीमा लड्ने, पानीले नून बगाउने । गधालाई बोझ कम हुने । व्यापारीलाई नोक्सानी । गधा चाहिँ आफ्नो चलाखीबाट आफैं खुसी ।

गधाले जानीजानी पानीमा लडेको कारण व्यापारीलाई धेरै नोक्सानी भयो । उसले गधालाई पाठ पढाउने सोच्यो । त्यसैले उसले यस पटक नूनको सट्टा गधाको पिठ्युँमा रुवाको भारी बोकायो ।

नूनभन्दा रुवाको भार कम थियो । कम भारी बोक्नु परेकोमा गधा त्यसै खुसी थियो । सधैंझैं नदी तर्दै गर्दा ऊ चिप्लिएको अभिनय गरेर पानीमा लड्यो । मुर्ख गधाले यो सोचेन कि उसले नून हैन रुवा बोकेका छन् । पानीले भिजेपछि रुवा झनै गह्रुङ्गो भयो । गधाको नौटङ्कीबाट वाक्कदिक्क भएका व्यापारीले यस पटक उसलाई पानीबाट निकाल्न हतार गरेनन् । धेरैबेर पानीमा भिज्दा रुवा झनै गहु्रँगो भयो । गधालाई उठ्नै गाह्रो भयो । जसोतसो बल्लतल्ल गधा उठ्न सक्यो ।

भिजेको रुवाको भारी बोकेर हिँड्न गधालाई मुश्किल भयो । उनी विस्तारै मात्र हिँड्न सके । पटक पटक पानीमा नून बगाइदिएको रिस व्यापारीले गधालाई फेर्न थाले । उसले गधालाई छिटो हिँडाउन बाटोभरि लठ्ठीले हानिरहे ।

आफ्नो गलत व्यवहारको फल गधाले भोग्यो । उसले बल्ल थाहा पायो, नचाहिने चलाखी गर्दा उल्टै दुःख पो पाइने रहेछ । त्यसदिनपछि गधाले कहिल्यै पनि नदीमा लड्ने र व्यापारीलाई नोक्सानी पुर्‍याउने काम गरेनन् ।

Photo: openart.ai