आम मानिसलाई महान र सत्तालाई सेवक बनाउने सोभियत सत्ताको त्यो पहिलो भुक्तानी !
पहिलो विश्वयुद्धको बेलामा एक गरिब किसानको एउटा घोडा जार सरकारले लगेको थियो । त्यसो त ती बुढा किसानलाई जार सरकारले राम्रै पैसा दिने बचन दिएको थियो। तर समय बित्दै गयो उनले त्यो पैसा पाएनन्। केही समयपछि रुसमा फेब्रुअरी क्रान्ति भयो र जार शासनको पतन भयो। ती बुढा किसान तत्कालीन राजधानी पेत्रोग्राद आए र अस्थायी सरकारका सबै अफिसहरु चहारे तर उनले आफ्नो पैसा पाएनन्। एउटा कार्यालयले अर्को कार्यालय जानु भन्थ्यो र अर्कोले फेरि अर्को। भिन्नभिन्न अफिसहरुको चक्कर काट्नुपर्दा ती बृद्ध मानिस हैरान-परेसान भइसकेका थिए। उनीसंग भएको पैसा र धैर्य पनि समाप्त भइसकेको थियो।
त्यसबीचमा रुसमा फेरि अक्टोबर क्रान्ति भयो र बोल्सेभिकहरु सत्ता पुगे। बृद्ध मानिसलाई कसैले सल्लाह दियो कि तिमी बोल्सेभिकहरुलाई भेट, उनीहरुले जार शासनको बेला सरकार र जमिन्दारहरुले जफत गरेका सामान फिर्ता गर्दैछन् ! यसको लागि खालि लेनिनको एउटा चिट्ठी काफी हुन्छ। ती बृद्ध मानिस लेनिनको निवासमा बिहानै पुगे र आफ्नो व्यथा लेनिनलाई सुनाए। लेनिनले उनको समस्या समाधान गरिदिन एउटा चिठी लेखिदिए। त्यो चिट्ठी लिएर उनी सिधै समाज कल्याण मन्त्रालयका जन कमिसार अलेक्सान्द्रा कोल्लोन्ताईको निवासमा पुगे।
अलेक्सान्द्रा कोल्लोन्ताईले सोधिन्, 'तपाई कसलाई भेट्न आउनु भएको हो ?'
बुढा मानिसले जवाफ दिए- 'म अलेक्सान्द्रा कोल्लोन्ताईलाई भेट्न चाहन्छु र उनलाई सबैभन्दा ठूला बोल्सेभिक नेता लेनिनको चिट्ठी दिन चाहन्छु।'
कोल्लोन्ताईले त्यो चिट्ठी हेरिन्, त्यो साँच्चै लेनिन कै चिट्ठी थियो। त्यसमा लेखिएको थियो – 'यी बृद्ध मानिसको घोडाको भुक्तानी सामाजिक सुरक्षा कोष बाट गरिदिनु होला।'
कोल्लोन्ताईले भनिन्, 'यो चिट्ठी मलाई दिनुहोस् !'
तर बुढाले जवाफ दिए, 'मेरो पैसा पाएपछि मात्र यो चिट्ठी फिर्ता दिन्छु । त्यतिखेर सम्म मसंगै राख्ने छु।'
वास्तवमा जनतालाई क्षतिपूर्तिवापत भुक्तानी दिने लेनिनको त्यो पहिलो आदेश थियो। तर त्यसबेला रुसका मन्त्रालयहरुमा भयानक अराजकता फैलिएको थियो। कर्मचारीतन्त्रले बोल्सेभिक सरकारलाई चरम असहयोग गरिरहेको थियो। कर्मचारीतन्त्रमा पनि आशंका थियो कि नयाँ सरकारले उनीहरुको जागिर खोस्ने हो कि भनेर। त्यस्तै बोल्सेभिकहरुमा पनि यो दुविधा थियो कि मन्त्रालयमाथि कसरि कब्जा गर्ने– प्रेमपूर्वक या बलपूर्वक ?
यो द्विविधालाई चिर्न लेनिनले आदेश दिए– जो जहा काम गरिरहेका छन् तिनीहरु त्यहीँ काम गर्नु, उनीहरुलाई कामबाट निकालिने छैन ।' यसले त्यो अराजकता अलिक शान्त भयो तर पूर्ण रुपमा भने रोकिएन। कोल्लोन्ताई आफूसाथ केही मजदुर र प्राविधिकहरुलाई लिएर खजाना भएको ठाउँमा पुगिन्। उनले देखिन् कि कर्मचारीहरु, टाइपिस्ट र क्लर्कहरु खजानाका सामान लिएर भागिरहेका छन्, कागजपत्र नस्ट गरिरहेका छन्। बैंकको बाहिर मान्छेको लामो लाइन छ। तर खजानाको चाबी भेटिँदैन । सायद कसैले लुकाएको छ वा लिएर गएको छ।
कोल्लोन्ताई चिन्तित भइन्– खजाना खोल्नै सकिएन भने सरकारको काम कसरी चल्छ, अरु विभागहरुले कसरी काम काम गर्लान् ? त्यसमाथि यो घोडावाला किसान छन् जो लेनिनको चिट्ठी बोकेर घुमिरहेको छ र हरेक दिन बिहानै आइपुग्छन्– मैले पैसा कहिले पाउछु भनेर।
दुई दिनपछि बल्ल खजानाको चाबी भेट्टियो र खजाना खोलियो । त्यस बेला क्रान्तिकारी सरकारले आफ्नो पहिलो भुक्तानी घोडाको मालिक ती बृद्ध किसान लाई गर्यो।
यो पहिलो भुक्तानीले मानव सभ्यतामा नयाँ इतिहासको सुरुवात गर्यो। झट्ट हेर्दा सामान्य लाग्ने उक्त घटना आम मानिसलाई महान र सत्तालाई सेवक बनाउने गौरवशाली घटना थियो ।
बुद्धजयन्तीको अवसरमा केही प्रेरक प्रसङ्गहरु
एडीसन: पत्रिका बेच्ने हकरदेखि महान वैज्ञानिकसम्म
१५ डलरको त्यो 'सानो' लगानी: जसले एउटा बालकलाई विश्वकै 'न्यायको योद्धा' बनायो
पानीको रंग किन नीलो हुन्छ ?
कागजपत्रले पर्खन सक्छ तर भोकले पर्खन सक्दैन!
ज्ञानका लागि बलिदान
कस्तो पेशा छान्ने ? किशोर कार्ल मार्क्सको विचार
प्रतिक्रिया