रुसको रास्ट्रपतिसँग जब किसान र सैनिकले कर छुटको माग गरे !
मास्को, २६ अक्टोबर १९२१ - सामान्यभन्दा सामान्य किसानपनि बिना कुनै झन्झट सोभियतसंघका रास्ट्रपति मिखाइल कालिनिनसंग सहयोग माग्न र सल्लाह गर्न आउन सक्छन् ।
भेडाका छालाको ज्याकेट र धुस्रो फुस्रो लुगा लगाएका मानिसहरु (जुन रुसी किसानको पहिचान हो) पचास साठी जनाको हुल राष्ट्रपतिको टेबलको नजिक आइरहेको छ। कसैले खानाको पोको बोकेका छन् भने कसैले ओड्ने ओछ्याउने बिस्तारा बोकेका छन्। यो त्यो कुराको संकेत हो कि यी मानिसहरु रास्ट्रपति कालिनिनलाई भेट्न धेरै टाढा बाट आएका हुन्।
मिखाइल कालिनिन अत्यन्त सहजताका साथ आफ्ना पाहुनाहरुलाई स्वागत गर्छन। उनी पालैपालो किसानहरुसंग उनीहरुकै भाखामा कुरा गर्छन्।
यो विश्वास गर्न पनि गाह्रो हुन्छ कि तपाईंकै आँखाको अगाडि रुसी जनतामाथि बोल्सेभिकहरुको पकडको रहस्योद्घाटन हुँदैछ। कालिनिनले आफ्ना सबै साथीहरु भन्दा बढी, अझ लेनिन भन्दा पनि बढी, यो कुरा जान्दछन् कि किसानले के सोच्छन्, कुन चिजलाई प्रेम गर्छन्, केलाई घृणा गर्छन र उनीहरु के चाहन्छन्?
किसानहरुका गुनासोलाई सम्बोधन गर्न वा उनीहरुका अनुरोधलाई पूरा गर्न, चाहे त्यो असम्भव नै किन नहोस्, कालिनिन जसोतसो गरेर सबैलाई राहात दिन र सन्तुष्ट पारेर फर्काउने कुनै उपाय खोजिहाल्थे। उनको हरेक शब्द र हावभावमा अरुलाई आकर्षित गर्ने र प्रभावित तुल्याउन सक्ने चुम्बकीय शक्ति थियो।
हजार माइलको यात्रा गरेर एक जना बृद्ध महिला राष्ट्रपति समक्ष 'यस पटक उनको गाउमा खेतिमा सोचे भन्दा आधि मात्र उत्पादन भयो' भन्न आएकी थिइन् । त्यसकारण उनको माग राज्यलाई तिर्नुपर्ने कर मिनाह गरियोस् भन्ने थियो। कालिनिनले ती बृद्ध महिलालाई सम्झाउदै भने – 'हेर्नुहोस् सानिआमा, तपाइको उत्पादन १००० पुद (तौल नाप्ने रुसी एकाइ, एक पुद बराबर करिब ३६ किलो हुन्छ) को ठाउमा ५०० पुद मात्र भएको छ। त्यसैले तपाईंले प्रति १०० पुदमा ५५ को ठाउँमा २५ पुद मात्र दिनु पर्छ। तपाईंले तिर्नुपर्ने कर यही हो।'
उनी थप भन्छन्– 'हामी यो भन्दा बढी अरु केही पनि गर्न सक्दैनौ। किनकि हामीले एक दाना पनि उत्पादन नभएका भोल्गाका ती भोका भाइहरुको पनि पेट भर्नु पर्नेछ। तपाईं पनि त उनीहरु भोकै मरेको हेर्न त चाहनुहुन्न नि !'
बृद्ध सहमतिमा आफ्नो टाउको हल्लाउछिन्। र, उनी सन्तोष महसुस गर्दै फर्किनछिन् कि उनले जे गरेर भए पनि करमा पचास प्रतिशतभन्दा बढी कटौती गराउन सफल भइन् । निश्चय पनि उनका गाउलेहरुको लागि यो खुशीको कुरो नै हुनेछ।
त्यसपछि एकजना जवान सैनिक आउँछ र दावी गर्न थाल्छ कि ऊ पोल्याण्ड युद्धमा भाग लिएको अनुभवी सैनिक हो। त्यसैले उसले कर तिर्नु पर्दैन।
कालिनिनले ती फौजीलाई भन्छन्- 'तर तपाईं त तूला भन्ने ठाउँको मानिस हुनुहुन्छ। तूलाका मानिसहरु खेती पनि गर्छन र लडाइँ पनि लड्छन। मैले सुने अनुसार तूलामा रुसभरिकै सबैभन्दा राम्रो उत्पादन भएको छ। पक्कै पनि तपाईं आफ्ना भोका दाजुभाइहरुलाई मद्दत गर्नमा गुनासो गर्नुहुन्न होला जो न तपाईं जति चलाख छन् न भाग्यमानी नै छन् ?'
सैनिक अलिक लज्जित जस्तो हुन्छ तर ऊ आफ्नो कुरामा अडिग रहन्छ।
'कामरेड कालिनिन, मैले आफ्नो खेती रोप्न र बालि भित्र्याउन पाएको यो सात वर्षमा पहिलो पटक होला। जुन बेला म अरुको रक्षाको लागि लड्दै थिएँ त्यतिखेर उनीहरु आफ्नो बाली काट्दै थिए। अब मेरो भागको कर उनीहरुलाई चुकाउन दिनुहोस्।
कालिनिन उनको कुरामा असहत हुन्छन् । उनी केही चर्को स्वरमा भन्छन- वाह ! जुन समय तपाईं मान सम्मान बटुल्दै हुनुहुन्थियो, त्यसबेला अरु तपाईंको पेट भर्नको लागि मेहनत गर्दै थिए।'
कालिनिनले युवा सैनिकतिर झुक्दै उनको ओभरकोटमा झुण्डिएका रातो तारा वाला तक्मालाई स्पर्श गर्दै भने- 'अब तपाईंले पनि आवश्यकता परेका मानिसहरुको सहायताको लागि केही मद्दत गर्नुपर्छ। '
यो पटक उनले सैनिकको मर्ममा लाग्ने गरी प्रहार गरे। गर्वले प्रफुल्ल सैनिकले रास्ट्रपतिसंग कसिलोसंग हात मिलायो र भन्यो - 'एकदम ठिक कुरा हो कमरेड। म आफ्नो गाउँका अरु सैनिक साथीहरुलाई पनि तपाईंको कुरा भन्नेछु र सबैजनाले मद्दत गर्नेछन् ।'
यो सिलसिला यसरीनै चलिरह्यो। ताम्बोकको एक जना बृद्ध र मास्को नजिकको गाउँकी एकजना विधवाले आफुले तिर्नु पर्ने करको केही भाग माफ गराए। किनकि ती बृद्धले युद्धमा घाइते भएका छोराका एकमात्र सहारा थिए र विधवा महिलाले बाउ बिनाका ५ जना सानासाना बच्चाहरुलाई हुर्काइरहेकी थिइन्।
यी किसानहरु, जनताका नया साँचो साथी कालिनिनबाट राम्रा दिनहरुको संदेश बोकेर रुसका अनगिन्ती गाउँहरुमा फर्किन्छन् ।
–प्रस्तुति: केदार सिटौला । Title Photo: https://soviet-art.ru
प्रतिक्रिया