‘निरोका नयाँ अवतार’ नबनुन् राष्ट्रपति पौडेल

मार्च २०११ मा जापानमा गएको भूकम्प र त्यसपछिको सुनामीको विध्वंशको बेला नागरिक सेवामा लागेका त्यहाँका तत्कालीन प्रधानमन्त्री नाओतो कान एक सातासम्म लगातार कार्यालयमा नै व्यस्त रहे । उनी निवाससम्म जान भ्याएनन् ।

संकट र आपतकालको बेला नेतृत्वले देखाउनु पर्ने जिम्मेवारी र अभिभावकत्वको एउटा उदाहरण हो यो । तर, विपदको समयमा उनले जे जति गर्नुपर्थ्यो त्यो भएन भन्दै विपक्षीले कडा आलोचना गरेपछि केही महिनापछि उनले राजिनामा दिए, आफ्नो कमजोरी स्वीकार्दै ।

जिम्मेवारीबोध र नैतिकता भनेको नै यही हो । त्यसबाहेक सही नेतृत्वका अन्य खास गुणहरु भनेको उदारता हो, लोकप्रतिको समवेदना हो, जनताका दुःखलाई आत्मसात गर्ने कोमलता हो । त्यसले नेतृत्वको सक्षमता र विवेकलाई झल्काउँछ । असक्षम र अविवेकी नेतृत्व जनताका दुःख, दर्द र पीडाप्रति संवेदनशील हुँदैन । उसलाई जनताका पीडा, दुःख र आपतले छुँदैन ।

जनताका पीडालाई अनुभूत नगर्ने शासकहरु वास्तवमा नालायक हुन्, त्यस्ता शासकहरुलाई 'रोम जलिरहँदा बाँसुरी बजाएर बस्ने' अलोकप्रिय र स्वेच्छाचारी रोमन शासक ‘निरोका नयाँ अवतार’ उपमा दिने गरिएको छ ।

नेतृत्वको खुवी र क्षमताको परीक्षा संकट र आपतको बेलामा हुन्छ भन्ने यथार्थ झल्काउने रोमन सम्राट निरोको कथा जगप्रसिद्ध छ । उक्त कथाको सार यस्तो छः

आख्यानअनुसार, रोमन सम्राट निरोले जुलाइ १९, सन् ६४ का रात आफ्ना वैभवशाली राजधानीमा आगो लगाए । आगोको भीषण दावानलले समग्र राजधानी शहरलाई खाक तुल्याइरहँदा सम्राट निरो भने मस्त भएर बाँसुरीमा आफ्ना औंलाहरु नचाइरहे । आगलागीले जनता त्राहीमाम बनेको र हाहाकार मच्चिएको कुराले उनलाई पटक्कै छोएन ।

जनताका पीडा, दुःख र आपतप्रति अत्यन्तै असंवेदनशील सम्राट निरोको त्यही स्वभाव र चर्तिकला उनको शासन अन्त्यको कारक बन्यो । रोमन शासनसत्तामा उनको वंशको पकड समाप्त भयो र जुलियस सिजरको उदय भयो ।

यो कथाको सत्यताबारे मतभेद छन् । तर के कुरामा चाहिँ मतैक्यता छ भने सम्राट निरो जनताका दुःख, पीर र मर्काप्रति भने भयानक रुपमा असंवेदनशील थिए ।

०००

यतिखेर पश्चिम नेपाल भूकम्पको भयानक प्रकोपले विपत्तिग्रस्त छ । सारा नेपाल र नेपालीहरु शोकमग्न छन् । शोक र पीडाको यो दुःखद क्षणमा अप्रियकर खबर के छ भने हाम्रा राष्ट्रपति रामचन्द्र पौडेल दश दिने विदेश भ्रमणमा जाँदैछन् । यसअघि प्रधानमन्त्री प्रचण्डले गरेको लामो खर्चिलो र बोझिलो विदेश भ्रमणको समयसीमालाई पनि माथ गर्ने खालको छ, राष्ट्रपतिको विदेश भ्रमणको तालिका ।

पञ्चायतीतन्त्रको लोकाचार र शिष्टाचारलाई ग्वार्लाम्मै अङ्गालेका र त्यसको काँचोवायुले ग्रस्त वर्तमान लालफिताशाही प्रणालीमा राष्ट्रपतिको भ्रमणमा राजकीय स्रोतबाटै व्यहोर्ने गरी ठूलै लावालस्कर पनि साथसाथै जानेछ । जसले अहिलेको संकटग्रस्त अर्थतन्त्र भएको मुलुकको ‘गाँडमाथि खटिरा’ थप्ने पक्का छ ।

कात्तिक २२ देखि मंसिर १ गतेसम्म तय भएको राष्ट्रपतिको यो विदेश भ्रमणमा उनले 'पेरिस पिस फोरम'मा भाग लिने र त्यसपछि जर्मनी र इटालीको भ्रमण गर्ने कार्यक्रम सार्वजनिक भएको छ । दोहोर्याउनै पर्दैन कि पञ्चायतीतन्त्रको लोकाचार र शिष्टाचारलाई ग्वार्लाम्मै अङ्गालेका र त्यसको काँचोवायुले ग्रस्त वर्तमान लालफिताशाही प्रणालीमा राष्ट्रपतिको भ्रमणमा राजकीय स्रोतबाटै व्यहोर्ने गरी ठूलै लावालस्कर पनि साथसाथै जानेछ । जसले अहिलेको संकटग्रस्त अर्थतन्त्र भएको मुलुकको ‘गाँडमाथि खटिरा’ थप्ने पक्का छ ।

सामान्य शिष्टाचार र लोकाचारले भन्छ– राष्ट्रिय विपत्तिको यो घडीमा राष्ट्रपति मुलुक छाडेर विदेश भ्रमणमा कुद्नु निको कुरा होइन । राष्ट्रपति पदको छवि र भूमिका भनेको मुलुकका संरक्षक र अभिभावकको हो । यो बेलामा राष्ट्रपति विदेश भ्रमणमा नजाँदैमा आकाश खसिहाल्दैन, मुलुक पातालमा धँसिइहाल्दैन । अर्थात्, त्यसले मुलुकको छवि र अन्तराष्ट्रिय सम्बन्धमा उत्पात्तै फरक पार्दैन ।

साँच्चै नै भन्ने हो भने राष्ट्र नै शोकमग्न भएको यस्तो बेलामा मुलुकको अभिभावकको दायित्व सम्हाल्नुपर्ने व्यक्ति विदेश भ्रमणमा जानु भनेको मृत्युशोक परेको घरमा विवाह उत्सवको कार्यक्रम आयोजना गर्नु भन्दा सारभूत रुपमा फरक कुरा होइन । त्यसैले यस्तो बेलामा राष्ट्रपति विदेश भ्रमणमा नजानु नै बुद्धिमानी हुन्छ ।

तर्क आउन सक्छ– आलंकारिक राष्ट्रपतिले देशमै बसेर यो विपतलाई कम गर्न के चाहिँ गर्न सक्छ र ? तर्कका लागि तर्क ठीक लाग्न सक्छ । उनिसँगै शयर गर्ने तय्रिमा रहेकाहरुका लागी । तर, उनी विदेश भ्रमणमा नजाँदा ठूलो धनराशी जोगिन सक्छ ।

पहिलेका दृष्टान्तहरु छन्– शासनसत्ताका उच्च तहमा बसेका मानिसहरु विदेश भ्रमणमा जाँदा करोडौं रकम खर्च हुन्छ । त्यो रकम विदेश भ्रमणमा जानेको खल्तीबाट हैन, जनताको रगतपसिनाबाट संकलित करबाट निर्मित राष्ट्रिय ढुकुटीबाट व्यहोरिन्छ । अहिले आपत परेको बेला विदेश भ्रमण नगर्दा जोगिने करोडौंको धनराशीले अहिले भूकम्प पीडितहरुलाई खानपान र बसोबासको व्यवस्था मिलाउन, मृतकका परिवारजनलाई राहतको मल्हम लगाउने, पीडितहरुलाई उपचार गराउन थोरै भए पनि मद्दत पुग्न सक्छ । जसरी उनी बाहिर जाँदैमा आधारभूतमा फरक पर्दैन, त्यसैगरी अहिले राष्ट्रिय विपत्तिको यो बेलामा उनी बाहिर नजाँदैमा हाम्रो वाह्य सम्बन्धमा पनि फरक पर्ने होइन। तर, अर्थ संचयमा भने पक्कै फरक पर्छ/पार्छ ।

हाम्रा राष्ट्रपति लोकतन्त्रका लागि लामो संघर्ष गरेका व्यक्तित्व हुन् । उनलाई सल्लाह दिनका लागि विवेकशील सल्लाहकारहरुको लर्को नै छ । हाम्राे अपेक्षा– उनले इतिहासको विरासत र राजनीतिक नैतिकतालाई तिलान्जली दिएका छैनन् । त्यसमाथि लोकतन्त्र र जनहितको लागि काम गर्ने 'कसम खाएको' सरकार पनि छ, यो मुलुकमा ।

आशा गरौं, हाम्रा राष्ट्रपति र सरकारले संकटको यस घडीमा मुलुकलाई खर्चिलो साबित हुने आसन्न विदेश भ्रमणलाई रद्द गर्नेछन् । मुलुकमा जनताका दुःखदर्दप्रति असंवेदनशील हुकुमी शासन सत्ता हैन, साँच्चै नै जनहितकारी शासन व्यवस्था छ भन्ने कुरा प्रत्याभूत गर्ने काम हुनेछ भन्ने अपेक्षा आम जनताले गरेका छन् भन्ने कुरालाई शासनसत्तामा बसेकाहरुले बोध गर्नेछन् । नत्र, मुलुकमा संकटकाल घोषणा गरेर अफ्रिकी मुलुकमा परम्परागत नाच हेर्दै रमेका पूर्व राजा ज्ञानेन्द्र र राष्ट्रपति रामचन्द्र पौडेलबीच तुलना गर्न नेपाली नागरिक बाध्य हुनेछन् ।