'६ रुपिया ५० पैसा'ले तयार भएको गुरिल्ला सेना
जब भारतका विद्रोहीहरुले हतियार दिने चीनको प्रस्तावलाई अस्वीकार गरे !
सन् १९६२ को २० अक्टोबरदेखि २१ नोभेम्बरसम्म चीन र भारतबीच १ महिना लामो भीषण युद्ध भएको थियो। मूलत: अक्साइ चीन अरुणाञ्चल प्रदेश र उत्तरपूर्वी फ्रन्टियर एजेन्सीका क्षेत्रहरुमा चलेको उक्त उक्त युद्धमा चीनले विजय हासिल गरेको थियो । युद्धको तयारीको अभाव तथा चीनको तुलनामा कमजोर हतियारका कारण भारतले उक्त युद्ध हारेको विश्लेषण गरिएको थियो । भारतको पराजयपश्चात चीनले एकतर्फी रुपमा युद्धविरामको घोषणा गरेर सेनालाई फर्काएपछि युद्धको अन्त्य भएको थियो ।
यसरी प्रत्यक्ष रुपमा चीन–भारतबीचको युद्धको त अन्त्य भयो तर त्यसपछि दुवै देशहरुले एकाअर्काविरुद्ध छद्मयुद्ध तीब्र बनाए । त्यसक्रममा चीन र भारतले एक अर्का देशका विद्रोही समुहहरुलाई आर्थिक, भौतिक र वैचारिक सहयोग गर्न थालेका थिए। त्यसअनुसार भारतले चीन विरुद्ध तिब्बती समूहलाई तालिम दिने, आर्थिक भौतिक सहायता गर्ने गर्यो । अर्को तर्फ चीनले पनि भारतका उत्तरपूर्वी राज्यका थुप्रै जनजाति र आदिबासी समुहहरुलाई तालिम, हातहतियार, अन्य भौतिक सहयोगहरु तथा वैचारिक प्रशिक्षणहरु उपलब्ध गराउन थालेको थियो।
चीनले सहायता प्रदान गरेका भारतीय विद्रोहीहरु मध्ये नागा, मिजो र मणिपुरी आदिमा भारतीय संस्थापन पक्षविरुद्ध विद्रोह गरेका र लडिरहेका विद्रोहीहरु थिए । मिजो र नागाहरुको कार्यदक्षता एवं गतिविधिहरुबाट चीन खासै सन्तुष्ट थिएन। चीनले प्रदान गर्ने मार्क्सवादी–लेनिनवादी एवं माओका विचारहरुलाई उनीहरु खासै पालना गर्दैन थिए । त्यसो हुनुका विविध कारणहरुमध्ये एउटा प्रमुख कारण मिजो र नागाहरु क्रिस्टियन कट्टरवादी थिए। त्यसमाथि थप, चीनबाट भारतमा तालिम गरेर फर्केपछि भारतीय सेना समक्ष चीनिया हतियारसहित आत्मसमर्पण गर्थे।
त्यसबाट पाठ सिकेर चीनले कम्युनिष्ट राजनीतिक सिद्दान्त र विचारप्रति प्रतिवद्ध समुहलाई मात्र तालिम दिने विचार गर्यो ।त्यसक्रममा मणिपुरका मैतेई जातिको एउटा समुहमा चीन आफुले खोजे जस्तो सिद्धान्तप्रतिको प्रतिबद्धता भेट्यो। उक्त समूहलाई चीनले तालिम दिने भयो ।
सो समूहका विशेश्वर सिंहको नेतृत्वमा १९७६ मा १६ जना मणिपुरी युवाहरु तालिम र प्रशिक्षण लिनका लागि नेपालको बाटो हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पुगे। त्यहाँ उनीहरुलाई २ वर्ष सम्म राजनीतिक र सैन्य तालिम दिइयो। दुई वर्षसम्म तालिम दिएपछि भारत फर्किने बेलामा चीनले मणिपुरी विद्रोहीहरुलाई हतियार उपलब्ध गराउने प्रस्ताव गर्यो। तर विद्रोहीहरुका नेता विशेश्वर सिंहले 'माओ विचारधारा नै सबैभन्दा राम्रो हतियार हो' भन्दै हतियार समेत दिने चिनियाँ प्रस्ताव अस्वीकार गरे।
मणिपुरी विद्रोहीहरु मणिपुर फर्केपछि १९७८ मा जनमुक्ति सेना (पिएलए ) गठन गरे। पिएलएका कमान्डर सोइवाम तेम्बा सिंहले विश्वेश्वर सिंहसंग सेनाको लागि हतियार माग गरे। विश्वेश्वर सिंहले सोइवाम तेम्बालाई भारु ६ रुपिया ५० पैसा दिँदै भने- ''यो इम्फाल (मणिपुरको राजधानी) बजारमा पाइने सबैभन्दा ठूलो छुरीको मूल्य हो। तिमीले त्यो छुरी प्रयोग गरेर भारतीय सुरक्षाकर्मीहरुबाट हतियार खोस्नु पर्छ।'' पिएलएले यही माओवादी रणनीति अपनायो । उसले दुश्मनबाट हतियार खोस्दै आफ्ना कार्यकर्ताहरुलाई सुसजित पार्न थाल्यो। यसरी भारतीय पुलिस, सेना, सिआरपी लगायतका सैन्य दस्ताहरुबाट लुटिएका हतियारहरुबाट एउटा शक्तिशाली हतियारबन्द गुरिल्ला सेनानै सिर्जना भयो।
१९७० को दशक अन्त्यतिर पिएलएले शक्तिशाली छापामार आन्दोलन सुरु गर्यो। १९७९ मा पिएलएले क्रान्तिकारी जनमोर्चा भन्ने राजनीतिक संगठन गठन गर्यो। पहिला सेना गठन भएर पछि राजनीतिक संगठन बनेको घटना सम्भवत: मणिपुरमै पहिलो होला । रोचक कुरा त के हो भने चीनले त्यसरी तालिम दिएको भारतको अन्तिम विद्रोही समुह पनि पिएलए नै थियो। माओ त्से तुङ्गको निधन र चीनको सत्तामा देङ्ग शियाओ पिङ्गको उदय भएपछि चीनको प्राथमिकता बदलिएको थियो। त्यसबीचमा चीन–भारतीबीचको सम्बन्धमा पनि सुधार भएको थियो भने चीन–अमेरिकाबीचको सम्बन्धमा समेत सामान्यीकरण हुँदै गएपछि तिब्बती विद्रोहीहरु पनि अलपत्र पर्न थालेका थिए । त्यस्तो अवस्थामा भारतले पनि तिब्बतीहरुलाई चीनविरुद्ध सशस्त्र विद्रोहका लागि उक्साउने र तिनलाई प्रयोग गर्ने नीतिलाई परित्याग गरेको थियो ।
प्रतिक्रिया