स्खलित तथा अक्षम नेताहरु भएको समाजमा राजनीतिले साहित्यलाई डोर्याउने वा निर्देशित गर्ने अवस्था छैन
प्रा.डा. राजेन्द्रप्रसाद अधिकारी नेपाली साहित्यको फाँटमा सुपरिचित नाम हो । पारिजात स्मृति केन्द्रका निवर्तमान अध्यक्ष अधिकारीसँग साहित्यिक सवालहरुमा केन्द्रीत रहेर दायित्वबोधले लिएको लिखित अन्तरवार्ता प्रस्तुत छ ।
सबैभन्दा पहिले पारिजात स्मृति केन्द्रबाटै शुरु गरौं । पारिजात स्मृति केन्द्रलाई आम साहित्यप्रेमीहरुले कसरी बुझ्ने कसरी लिने ? यसका ध्येय, उद्देश्य र हालसम्म यसले गरेका गर्विलो काम के हुन् ? संक्षेपमा बताइदिनोस् न ।
वि. सं. २०५० साल वैशाख ५ गते पारिजात दिवंगत हुनुभएलगत्तै बैशाख २६ गते (शनिबार) पारिजातको निवास, म्हेपी (काठमाडौं) मा 'सुकन्या वाइवाको प्रेरणा' र 'इन्द्रेणी साँस्कृतिक समाज (इसास) को तत्परतामा' पारिजातका शुभचिन्तकहरु- सुकन्या वाइवा, रायन, रमेश विकल, शक्ति लम्साल, खगेन्द्र संग्रौला, निनु चापागाईं, रामहरी पौडेल, महेश मास्के र राजेन्द्रप्रसाद अधिकारीको उपस्थिति रहेको बैठकले 'पारिजातको स्मृतिको निमित्त' पारिजात स्मृति केन्द्र स्थापना गर्ने निर्णय गरे अनुरुप यो केन्द्र स्थापना भएको हो । उक्त बैठकमा उपस्थित हुन नसक्नु भए पनि केन्द्रको स्थापनामा पद्मरत्न तुलाधर र गोविन्द भट्टको सहमति रहेको थियो । त्यसबेला केन्द्रका निम्न उद्देश्यहरु तय गरिएका थिए :
- पारिजात स्मृति ग्रन्थ प्रकाशित गर्ने,
- पारिजातका कृतिहरुको संरक्षण, प्रकाशन र प्रचार प्रसार गर्ने,
- पारिजातले प्रयोग गर्नु भएका मूल्यवान वस्तुहरु र सिर्जन कक्षको संरक्षण गर्ने,
- पुरस्कार, वृत्ति र सांस्कृतिककर्मी अत्यावस्यक सहयोग कोष स्थापना गर्ने, र
- पुस्तकालय स्थापना गर्ने ।
पारिजात स्मृति केन्द्रले गरेका महत्वपूर्ण कामको रुपमा पारिजात स्मृति ग्रन्थ- २०५१ (वैशाख २०५१), निर्माण प्रकाशन सिक्किमद्वारा ६ भागमा प्रकाशित पारिजातका संकलित रचनाहरु (२०५४) र यस केन्द्रद्वारा स्थापना गरिएका पुरस्कार तथा सम्मानहरु- पारिजात सृजन सम्मान, पारिजात सङ्घर्षशील नारी सम्मान, पारिजात कला सम्मान र पारिजात बालसाहित्य सम्मानलाई लिनु पर्दछ। यद्यपि केन्द्रले पारिजातलाई विद्यालय तहमा पुर्याउनका लागि पारिजातको व्यक्तित्व र सान्दर्भिक सिर्जनाहरुलाई सोही तहका विद्यार्थीहरुको आवश्यकता अनुरुप हुनेगरी तयार पार्नेदेखि लिएर अन्य थुप्रै कामहरु गर्न भने सकेको छैन।
पारिजात स्मृति केन्द्र अस्तित्वमा छ तर पारिजातका कृतिहरुको पुन: प्रकाशन चाहिँ कतिपय व्यावसायिक प्रकाशनहरुले विगतमा गरेको पाइन्छ । पारिजातका कृतिहरुको पुन: प्रकाशन तथा अप्रकाशित कृति रचनाहरुको प्रकाशन गर्ने काम त स्मृति केन्द्रले नै गर्दा राम्रो होइन र ?
हो, केन्द्रले नै गर्दा धेरै राम्रो हुन्थ्यो। तर पारिजात स्मृति केन्द्रले त्यस प्रकारको क्षमता हासिल गर्न सकिरहेको छैन। यसका विविध कारणहरु मध्ये यसको नेतृत्व तहमा पुगेका वा पुग्ने मजस्ता जिम्मेवार सदस्यहरुले पारिजात स्मृति केन्द्रकै लागि प्रतिवद्ध भएर थोरै समय पनि चिन्तन गर्न नभ्याउने वा नचाहने प्रवृत्ति चाहिँ प्रमुख हो भन्ने लाग्छ। आफ्नो यो प्रवृत्तिलाई ढाकछोप गर्न देशको वर्तमान सामाजिक-राजनैतिक अवस्था, संस्थाको आर्थिक सीमितता र व्यक्तिगत व्यस्तताको कारणलाई अगाडि सारेर हामी पन्छिन सक्छौं।
पारिजात नेपाली साहित्यकाशमा अत्यन्तै सम्मानित नाम हो । तपाईंलाई के लाग्छ, पारिजातबारे अहिलेसम्म जे जस्तो मूल्याङ्कनहरु भए गरिए, के ती पूर्ण र न्यायोचित छन् ? वा पारिजातको सम्यक मूल्याङ्कन हुन अझै बाँकी छ ?
पारिजातलाई प्रायः सबैले आफू अनुकुल उपयोग गर्ने गरेको र पारिजातको प्रसिद्धिलाई माध्यम बनाएर आफूलाई चर्चामा राख्न खोजेको महसुस हुन्छ मलाई। पारिजातलाई नजिकबाट बुझेका भनिएका र पारिजातले बढी विश्वास गरेकाहरु पनि पारिजातप्रति इमानदार र जिम्मेवार हुन सकेनन् भन्ने लाग्छ। पारिजातले विश्वास गरेका र पारिजातलाई बुझेका भनिएकाहरुले नै पारिजातको व्यक्तिगत जीवनका अन्तरंग कुराहरु (जसले पारिजातको सार्वजनिक जीवन, लेखनी र कार्यहरुसँग खासै महत्व राख्दैन) पारिजातको मृत्युपछि सार्वजनिक गर्न थाल्नु, कुनै पनि जिम्मेवार लेखकको लेखकीय मर्यादाभित्र पर्छ र ? अति विश्वास गरेर कुनै समय आपसमा साझा गरिएका व्यक्तिगत कुरा, घटना वा विषयहरु त्यस्तो व्यक्तिको मृत्युपछि बाहिर ल्याउनुले कतै पारिजातमाथि विश्वासघात भइरहेको त छैन ? भन्ने पनि सोच्नु पर्ने भएको छ।
पारिजातले विश्वास गरेका र पारिजातलाई बुझेका भनिएकाहरुले नै पारिजातको व्यक्तिगत जीवनका अन्तरंग कुराहरु (जसले पारिजातको सार्वजनिक जीवन, लेखनी र कार्यहरुसँग खासै महत्व राख्दैन) पारिजातको मृत्युपछि सार्वजनिक गर्न थाल्नु, कुनै पनि जिम्मेवार लेखकको लेखकीय मर्यादाभित्र पर्छ र ?
आफ्नो लागि र आफूलाई चर्चामा राख्नका लागि पारिजातलाई माध्यम बनाउन खोजेपछि पारिजातको सही र यथार्थपरक मूल्याङ्कन हुने अवस्था हुँदैन। जसको कारण पारिजातको नाममा टेकेर अरु कसैको चर्चा चाहिँ भइरहेको तर पारिजातको साहित्यिक र सार्वजनिक गतिविधिका महत्वपूर्ण पाटाहरुको मूल्याङ्कन एवम् जिम्मेवार चर्चा भने हुनुपर्ने जति भएको छैन भन्ने नै लाग्छ।
कतिपयले पारिजातलाई 'विक्षिप्त' र 'शोषित' भएकी समेत भनेको पाइन्छ भने पारिजात 'सुश्री' हुनु भएकोले वा 'शारीरिक रुपमा अशक्त' हुनु भएकोले पारिजात पारिजात हुनुभएको हो भन्ने भ्रम स्थापित गर्न खोजेको पनि पाइन्छ। धेरैजसो लेखकहरुले पारिजातका सामान्य बानी र व्यवहारलाई बढी चर्चामा ल्याएर त्यसको साक्षी आफैँ रहेको भन्दै आफू पारिजातको धेरै नजिकको थिएँ भन्ने देखाउदै आफूलाई चर्चामा ल्याउन प्रयास गरेको महसूस हुन्छ मलाई त। कुनै लेखकले पारिजात चुरोट वा रक्सी खानुहुन्थ्यो र म आफैँ कतिपटक चुरोट वा रक्सी लिएर पारिजातकहाँ गएको थिएँ भनेर लेख्नुलाई के भन्ने ? पारिजात सम्बन्धी यस्ता कुराहरु अलि प्राथमिकता र रससहित पस्कनेहरु पनि हुनुहुन्छ। यो प्रवृत्तिलाई जिम्मेवार लेखन मान्न सकिँदैन। यो प्रवृत्ति हाल अलि बढेको पनि महशुस हुन्छ।
पारिजातले बेहोरेको वहाँको आफ्नो व्यक्तिगत अवस्था, भोगेको समाज, गरेको सिर्जना र आफ्नो जीवनकालमा वहाँको सक्रियताको संतुलित मूल्याङ्कन हुन चाहिँ बाँकी नै छ भन्ने लाग्छ। वहाँको सार्वजनिक जीवनको महत्वपूर्ण पक्ष भनेको वहाँका सिर्जनाहरु र वहाँले गरेका कार्यहरु हुन् जस्को गुणदोष दुबैको जिम्मेवारपूर्ण समीक्षा, आलोचना र चर्चा गरिनै पर्छ तर वहाँको व्यक्तिगत जीवनका र कुनै सार्वजनिक महत्व नभएका विषयलाई उधिन्न वा उदाङ्गो पार्न खोज्नुले त्यस्ता लेखकहरुको आफ्नै मानसिकता, नैतिक धरातल र लेखनधर्मितालाई प्रतिनिधित्व गर्छ भन्ने लाग्छ। यसप्रति आम पाठक र अध्ययनकर्ताहरु सचेत रहन जरुरी छ।
पारिजातले बेहोरेको वहाँको आफ्नो व्यक्तिगत अवस्था, भोगेको समाज, गरेको सिर्जना र आफ्नो जीवनकालमा वहाँको सक्रियताको संतुलित मूल्याङ्कन हुन चाहिँ बाँकी नै छ भन्ने लाग्छ।
शिरीषको फूल बाहेकका वहाँका अन्य रचनाहरुकै बारेमा राम्रोसँग चर्चा गर्न पुगेको छैन। लेखन बाहेकका वहाँका सक्रियताका थुप्रै पाटाहरु उल्लेखनीय र उदाहरणीय छन्, तिनीहरुको चर्चा गर्न त हामीले खासै जाँगर चलाएका नै छैनौं। यौटा अन्तर्वार्तामा पारिजातले नै भन्नु भएको थियो 'पूर्वाग्रह र पक्षपात नराखी आलोचना गरिदिए त वेशै हुन्थ्यो तर अध्ययन नै नगरी हावाको भरमा लेख्ने तथाकथित समालोचकहरुसँग मेरो सहमति, असहमतिको के अर्थ ?'
पारिजातको सन्दर्भमा हामीले बुझ्नु पर्ने कुरा के हो भने आफ्नो सिर्जनाको सशक्तता र आफ्नो समयको साहित्यिक-सामाजिक गतिविधिको केन्द्रविन्दुको रुपमा रहनु भएकोले पारिजात पारिजात बन्नु भएको हो। वहाँ मदन पुरस्कार प्राप्त गर्ने पहिलो महिला साहित्यकार हो जसले शिरीषको फूल उपन्यासको लागि मदन पुरस्कार-२०२२ प्राप्त गर्नु भएको थियो।
सम्बन्धित सामग्री |
एउटा निरीह लेखक कसरी आदर्शमा टिकिरहन सक्छ र ! –डी. आर. पोखरेल |
तपाईंको बुझाइमा वर्तमान अवस्थामा नेपाली साहित्यको मूल प्रवृत्ति के हुन् ?
अहिले नेपाली साहित्य ज्यादै छिरलिएको अवस्थामा छ। देशभित्रै लेखिएका साहित्यहरुको पनि मानक स्थापित हुन सकेको छैन। अहिले राजनैतिक दल, दलभित्रका गुटहरु, सत्ता र स्वस्फूर्त समूहरुको केन्द्र वरिपरीका लेखक तथा सर्जकहरुले आफ्नो वरिपरीका लेखकहरुलाई अगाडि सारिरहेको अवस्था छ। यसले गर्दा कतिपय स्तरीय एवम् योगदान गरिरहेका साहित्यकारहरु एक्लिएका र चर्चामा आउन नसकेको अवस्था छ।
अहिले नेपाली भाषामा नेपाल बाहिरबाट उल्लेखनीयरुपमा साहित्य सिर्जना तथा साहित्यिक गतिविधिहरु भइरहेका छन्। खाडी, कोरियाजस्ता मुलुकहरुमा रहेर लेखिएका साहित्यहरु खासै चर्चामा आउन सकेको छैन।
अहिले नेपाली भाषामा नेपाल बाहिरबाट- भारतका विभिन्न स्थानहरु लगायत कोरिया, खाडी मुलुकहरु, बेलायत, अमेरिका, क्यानडा, अष्ट्रेलिया, न्यूजिल्याण्ड, लगायतबाट उल्लेखनीयरुपमा साहित्य सिर्जना तथा साहित्यिक गतिविधिहरु भइरहेका छन्। खाडी, कोरियाजस्ता मुलुकहरुमा रहेर लेखिएका साहित्यहरु खासै चर्चामा आउन सकेको छैन। साहित्यको मूल प्रवृत्ति र अन्तर्विरोधको चर्चा गर्दा यी पक्षहरुमाथि पनि ध्यान दिनु पर्छ भन्ने लाग्छ।
वर्तमान अवस्थामा नेपाली साहित्यको मूल प्रवृत्तिको कुरा गर्दा वि. सं. २०६३ पछिको अवस्थामाथि ध्यान दिनु पर्ने हुन्छ। २०६२/६३ को जनआन्दोलनले ल्याएको राजनैतिक परिवर्तनको कारण देशमा विद्यमान मूल्य र मान्यताले माथिल्लो चेतानस्तरको गुणात्मक फड्को मार्नु पर्थ्यो तर त्यसो हुन सकेन। देशको राजनीति र माथिल्ला नेताहरुको साख दिनप्रतिदिन गिर्दो देखिन थाल्यो भने भ्रष्टाचार संस्थागत मात्र नभएर समाज र समुदायभित्रै फैलिन पुग्यो। यसले गर्दा आज पनि मूलभूतरुपमा विश्वदृष्टिकोणलाई पछ्याउने, आसा जगाउने र नयाँ मूल्य र मान्यता स्थापित गराउने साहित्य सिर्जनातर्फ चाहिँदो मात्रामा ध्यान जान सकेको देखिदैन। यद्यपि कतिपयले नविन विषयवस्तु र नविन शैलीमा सिर्जना गरिरहुन भएको छ र तिनीहरुले पाठकलाई आकृष्ट पनि गरिरहेका छन्।
प्रवृत्तिगतरुपमा हेर्दा, वर्तमान राजनैतिक अवस्थाको चित्रण र त्यसप्रतिको वितृष्णा, पहिचानका विषयहरु, आर्थिक दुरावस्था र सामाजिक परिवेश, विदेशिनुको वाध्यता र पीडा, शहर र ग्रामीण परिवेशको तुलनात्मक वर्णन जस्ता विषयहरु छन्। युगान्तकारी राजनैतिक परिवर्तनपछि पनि देशको राजनीतिले कुनै नयाँ सामाजिक परिवेश र युवाहरुको लागि भविष्यको कुनै खाका दिन सकेन, यो ज्यादै दुःख लाग्दो अवस्था हो। खुला बजार र प्रतिष्पर्धाको कारण आदर्श लोप हुँदै बजार र बिकाउ प्रवृत्ति अहिले अग्रस्थानमा छ र त्यसबाट साहित्य सिर्जना पनि प्रभावित नहुने कुरै भएन।
आजको राजनैतिक परिवर्तनले नयाँ अग्रगामी चेतसहितको स्वतन्त्र चिन्तनयुक्त र नयाँ सामाजिक परिवेश निर्माण गर्न सघाउ पुर्याउने साहित्य सिर्जनातर्फ आम लेखक साहित्यकारलाई डोर्याउनु पर्ने हो तर त्यसो हुन सकेको छैन।
अहिले आफूलाई र आफ्ना विगतलाई उधिन्ने र उदाङ्गिने लेखनहरुले बढी चर्चा र प्रोत्साहन पाएको र पाउने अवस्था देखिएको छ। लेखकहरुले बुझ्नु पर्ने कुरा के हो भने प्रकाशक वा पत्रपत्रिकाहरुले बजारमा लगेर बेचिदिने काम चाहिँ गर्छन् तर जिम्मा लिने काम भने गर्दैनन्। फलतः पछिल्ला कालखण्डमा गएर त्यस्ता लेखकहरुलाई आफ्नै लेखन हेरेर पछुताउनु पर्ने हुन्छ। त्यसैले आफ्ना विगतका परिवेश, पात्र, घटना र समाजमा विद्यमान विकृति र गलत प्रवृत्ति रुद्धको लेखनले आफ्ना विगत हेरेर निराशा, कुण्ठा वा घृणा उत्पन्न गराउने नभएर तिनलाई जिम्मेवार ढंगले उजागर गर्दै त्यसबाट पाठ सिक्न र अगाडि बढ्न, गलत प्रवृत्ति विरुद्ध आवाज उठाउन र आवस्यक परे संघर्ष गर्नसमेत तत्पर हुने मानसिकता विकास गराउने साहित्य सिर्जना हुन जरुरी देखिएको छ। आजको राजनैतिक परिवर्तनले नयाँ अग्रगामी चेतसहितको स्वतन्त्र चिन्तनयुक्त र नयाँ सामाजिक परिवेश निर्माण गर्न सघाउ पुर्याउने साहित्य सिर्जनातर्फ आम लेखक साहित्यकारलाई डोर्याउनु पर्ने हो तर त्यसो हुन सकेको छैन।
अनि वर्तमान नेपाली साहित्यको अन्तरविरोधलाई कसरी हेर्नुपर्छ होला ?
नेपाली साहित्यको अन्तर्विरोध केलाउँदा पहिलो, आफ्नै लेखनमा व्यक्त विचार वा विषयहरु प्रति स्वयम् लेखक साहित्यकारहरुकै अनभिज्ञता वा असावधानीलाई हेर्नु पर्छ भन्ने लाग्छ। उदाहरणको लागि, आफ्ना सिर्जनामा समाजमा विद्यमान विकृति र गलत प्रवृत्तिको विरोध गर्ने तर सत्ताको चाकडी गर्ने, लाभको पद लिने दौडधुपमा लाग्ने, पुरस्कार वा पदक आफुले पाए ठिक, नपाए विरोध गर्ने। आफूले बोल्नु पर्दा समयको परवाह नगर्ने तर समय पालनाको विषयमा घण्टौं बोल्ने, सबैलाई समान भन्ने तर ठेसाठेस गरेरै भएपनि मञ्चमै बस्न पर्ने, मालाखादा लगाउन बढी लालयित हुने, साहित्यिक-साँस्कृतिक कार्यक्रमहरुमा पनि साहित्यकार वा साँस्कृतिककर्मीभन्दा राजनैतिक नेतालाई नै बढी महत्व दिने आदि। यसकारण नेपाली साहित्यको पहिलो अन्तर्विरोध लेखक वा साहित्यकारबाट सिर्जित सिर्जना र तिनै लेखक वा साहित्यकारको जीवन पद्धति र व्यवहारबीचको तादात्मयतालाई लिनु पर्छ भन्ने लाग्छ। सर्जकले त बुझ्नु पर्यो नि उसले के सिर्जना गरिरहेको छ। उसको चेतनास्तर सुगाको जस्तो देखिन्छ कतिपय अवस्थामा।
नेपाली साहित्यको पहिलो अन्तर्विरोध लेखक वा साहित्यकारबाट सिर्जित सिर्जना र तिनै लेखक वा साहित्यकारको जीवन पद्धति र व्यवहारबीचको तादात्मयतालाई लिनु पर्छ भन्ने लाग्छ।
दोस्रोमा, (क) विश्वव्यापीकरण (ग्लोबलाइजेसन), (ख) बहुराष्ट्रिय कम्पनीहरुको (मल्टिनेसनल कम्पनी) उत्पादन प्रणाली, (ग) बजार (मार्केट) र बजारीकरण (मार्केटिङ), र (घ) कृत्रिम बौद्धिकताको (आर्टिफिसियल इन्टेलिजेन्स) बढ्दो उपस्थिति र हाम्रो वर्तमान सामाजिक-साँस्कृतिक (सोसियो-कल्चरल), आर्थिक-राजनैतिक (इकोनोमिक-पोलिटिकल) र डिजिटल प्रविधि (डिजिटल टेक्नोलोजी) मा पहुँचको अवस्थाले सिर्जना गरेको खाडललाई लिनु पर्छ भन्ने लाग्छ। यस अर्थमा आजको प्रगतिवादी साहित्यले श्रम (लेबर), श्रमिक (वर्कर), उत्पादनका साधन (मिन्स अफ प्रडक्सन), उद्योग (इण्डस्ट्री), बजार (मार्केट) र शोषण (एक्सप्ल्वाइटेसन) को नयाँ परिभाषा र बुझाई तयार गर्न सक्नु पर्छ र अहिलेको नेपाली साहित्यको अन्तरविरोधलाई पनि त्यसैभित्र खोज्नु पर्छ भन्ने लाग्छ।
प्रवृत्तिगत रुपमा तपाईं नेपाली साहित्य र साँस्कृतिक आन्दोलनको वर्तमान स्थितिलाई कसरी विश्लेषण तथा विभाजन गर्न रुचाउनु हुन्छ ?
पहिला मूलतः पञ्चायती व्यवस्था, राजतन्त्र, अन्याय र अत्याचारको विरोध तथा प्रजातन्त्र र लेखकीय स्वतन्त्रताको पक्षमा साहित्यकारका आन्दोलनहरु उठ्ने गर्थ्यो भने मूलतः वि. सं. २०६२/६३ को राजनैतिक परिवर्तनपछि लेखक साहित्यकारहरु (क) पद र लाभको आस सहित राजनैतिक दल र सत्ताको वरिपरी पुगेका, (ख) आफ्नै समूह (गुट) बनाई क्रियाशील रहेका, र (ग) माथिका दुबै वर्गमा नपरेका तर सिर्जन कर्म गरिरहेका गरी तीन प्रकार विभाजित भएको अवस्थाले गर्दा साहित्यिक साँस्कृतिक संघसंस्थाहरु र साहित्यिक साँस्कृतिककर्मीहरु पनि विभाजित छन् र आ-आफ्नै चाख र स्वार्थको वरिपरी केन्द्रित हुन पुगेका छन्।
साहित्यकारहरु साहित्यको विकास एवम् विस्तारकै लागि पनि साझा रुपमा एक अर्काको सहयोगी भएर काम गर्न नसकिरहेको कारण साहित्यिक साँस्कृतिक आन्दोलनको अवस्था पनि कमजोर बनेको छ, शायद। साथै प्रज्ञा प्रतिष्ठानहरुमा हुने नियुक्ति, 'प्राज्ञ'हरुका प्रज्ञा र 'प्राज्ञिक' व्यवहार, तथा पुरस्कार र सम्मानको वर्तमान अवस्थाले नेपाली साहित्यिक साँस्कृतिक वातावरणको मर्यादा र छविलाई नराम्ररी खलबलाएको छ।
तर नेपाली साहित्य स्वस्फूर्तरुपमै भएपनि विभिन्न भाषाहरुमा अनुवाद हुन थालेको छ, यद्यपि अनुवादको गुणस्तरीयतामाथि पनि प्रश्न उठिरहेको छ। रियालिटी शो, साहित्य महोत्सव, राइटर्स पोडियम, देशभित्र र बाहिरका साहित्यिक भ्रमण र अन्तर्क्रिया लगायत विभिन्न प्रकारका कार्यक्रमहरु भइरहेका छन्। साथै, देशको केन्द्रिय राजधानीभन्दा बाहिर र विदेशमा पनि उल्लेखनीयरुपमा हुने गरेका साहित्यिक सिर्जना र गतिविधिहरुले अन्ततः लेखन र लेखकको गुणस्तरीयता र बढ्दो चेतनास्तरको आवश्यकता महसूस गर्ने अपेक्षा गर्न सकिन्छ।
नेपाली साहित्यको फाँटमा अवसरवादको उपस्थितिलाई कसरी विश्लेषण गर्नुहुन्छ ? त्यसका विरुद्ध लड्ने र बहसलाई अगाडि बढाउने कार्य पनि भएको देखिएन । किन होला ?
वि. सं. २०६२/६३ को राजनैतिक परिवर्तनपछि नेपाली साहित्यमा अवसरवादले आफ्नो उपस्थितिलाई प्रभावकारी पार्न सफल भयो भन्ने लाग्छ। मूलतः पद, पुरस्कार र सम्मानतर्फ लेखक साहित्यकारहरु पनि बढी आकर्षित हुन थाले र त्यसको प्राप्तिको लागि नेता र सत्ताको वरिपरी रमाउन थालेको देखिन्छ। सत्तामा टिकिरहनको लागि राजनीतिले सिद्धान्त, विचार र आदर्श त्याग गर्दै समय र परिस्थितसँग जे जस्तो पनि सम्झौता गर्न थाल्यो। यो प्रवृत्तिलाई रोक्ने दायित्व साहित्यकारहरुको नै हो तर आमरुपमा उनीहरु पनि पद, पुरस्कार र सम्मानको अवसर प्राप्तिका लागि नेता र सत्ताको प्रदक्षिणा गर्न तिर लागे। यो अवस्थाले गर्दा गम्भीर वहश र छलफलको एजेण्डा कमजोर भएको हुनुपर्छ। यसैले माथि चर्चा गरिएको प्रवृत्तिको प्रतिनिधित्व नगर्ने इमानदार साहित्यकारहरुको साहित्यिक सक्रियता बढ्नु पर्छ भन्ने लाग्छ र नेपाली साहित्यको विकास तथा विस्तार चाहने पत्रपत्रिकाहरुले जिम्मेवार भएर घचघच्याउन पर्ने हुन्छ।
सत्तामा टिकिरहनको लागि राजनीतिले सिद्धान्त, विचार र आदर्श त्याग गर्दै समय र परिस्थितसँग जे जस्तो पनि सम्झौता गर्न थाल्यो। यो प्रवृत्तिलाई रोक्ने दायित्व साहित्यकारहरुको नै हो तर आमरुपमा उनीहरु पनि पद, पुरस्कार र सम्मानको अवसर प्राप्तिका लागि नेता र सत्ताको प्रदक्षिणा गर्न तिर लागे।
तपाईंको विचारमा साहित्यको लेखनशैली र शिल्पकला कस्तो हुनुपर्छ ? आम मान्छेले बुझ्ने शैलीमा लेख्ने कुरालाई कत्तिको जोड दिइनु जरुरी छ ? कतिपयले चाहिँ त्यसरी लेख्दा आफ्नोपन र मौलिकता रहँदैन भन्ने मान्यता पनि अघि सार्ने गरेको पाइन्छ । यो कत्तिको ठीक हो ?
साहित्य मूलतः सरल तर पाठकको बौद्धिक क्षमतालाई परिष्कृत पार्दै लैजाने खालको हुनुपर्छ। सरल तरिकाले गहन विषयवस्तु साहित्यको माध्यमबाट उजागर गर्न सक्नु नै साहित्यकारको विशेषता हो। साहित्य साहित्य नै हुनुपर्छ- विम्ब र प्रतीकहरुले समाज, घटना र पात्रहरुको चित्रण गरेको हुनुपर्छ। त्यसैले साहित्य सृजनामा शिल्पतत्त्वको महत्वपूर्ण भूमिका रहन्छ। सरल लेखनले लेखकको मौलिकतालाई संकुचित गर्दैन। मौलिकता भनेकै लेखकले अभिव्यक्तिको लागि प्रयोग गर्ने उसको सीप र शैलीमा देखिने कला हो। कतिपय विषयवस्तु, प्रयोग र समयको माग अनुरुप सिर्जनाहरु जटिल र बढी बौद्धिक हुने अवस्था पनि रहन्छ। तर विना अर्थका अमूर्त सिर्जनाहरुलाई बौद्धिक र माथिल्लो स्तरको पनि मान्न सकिन्न। साहित्यको यहि पक्षले पाठक र सर्जकबीच सेतुको काम गर्दछ। भूपि शेरचन, हरिभक्त कटुवालका कविताहरु सरल छन्, केबलपुरे किसान वा खगेन्द्र संग्रौला मौलिक छन्, उदाहरणको लागि।
प्रगतिशील साहित्यको फाँटभित्र पनि सामाजिक यथार्थलाई इमान्दारितापूर्वक उद्घाटित गर्नेभन्दा स्तुतिसाहित्यका प्रवृत्तिगत छापहरु बढ्न थालेको गुनासो व्यापक रुपमा सुनिँदै आइएको छ । यसमा कत्तिको सत्यता छ ? यसलाई चिर्न के गर्नु जरुरी छ ?
यो विषयलाई यस समयमा लेखिएका साहित्यको स्तर तथा यस समयका आम साहित्यकारहरुको व्यवहार र आचरणको स्तरसँग दाँजेर हेर्नु पर्ने हुन्छ होला। कोसिस त सामाजिक यथार्थलाई नै उतार्ने होला तर आजको समयलाई प्रतिनिधित्व गर्न भनेर अगाडि उत्रिएका साहित्यकारहरुले सिर्जना गरेका साहित्यको स्तर र त्यस्ता सहित्यकारहरुको आफ्नै व्यवहार र आचरणमा देखिने असामञ्जस्यले गर्दा त्यस्ता सिर्जनाले सामाजिक यथार्थको प्रतिनिधित्व हुन नसकेको र साहित्यकारहरुको व्यवहार र आचरणले पद, लाभ र पुरस्कारलाई बढी महत्व दिएको कारण स्तुति जस्तो भान हुन पुगेको हो भन्ने लाग्छ। यस्तो अवस्थामा आम पाठकहरु वास्तविक सिर्जना र सर्जकबाट टाढिन पुग्छन्।
साहित्यकारहरुको व्यवहार र आचरणले पद, लाभ र पुरस्कारलाई बढी महत्व दिएको कारण स्तुति जस्तो भान हुन पुगेको हो भन्ने लाग्छ।
हिजोआजका सरकारी नियुक्ति, पुरस्कार र सम्मान गर्ने प्रक्रियाले साहित्य सिर्जना र साहित्यकारहरुको साखलाई गिराएको अवस्थाले गर्दा यस्तो देखिएको हो। यो अवस्थामा सुधारको लागि पत्रपत्रिकाहरुले राम्ररी सम्पादन गरेर मात्र रचनाहरु प्रकाशित गर्ने र नचिनिएका वा नयाँ प्रतिभाहरुलाई पनि यथोचित स्थान दिने गर्नु पर्दछ। साथै, पत्रपत्रिकाहरुले आफूले वर्षभरी प्रकाशित गरेका रचनाहरुको मूल्याङ्कन र नियमित पाठक प्रतिक्रियाद्वारा लेखन र लेखकलाई समेटने र स्थापित गर्ने संस्थागत प्रयत्न गर्न जरुरी छ भन्ने लाग्छ। यति हुँदाहुँदै पनि मदन पुरस्कार, मधुपर्क, जनमत आदिले आफ्नो संस्थागत साख जोगाएरै अगाडि बढिरहेको देखिन्छ।
कुनैबेला प्रगतिशील साहित्यको शिविरमा व्यापक रुपमा वैचारिक अन्तर्क्रिया, छलफल र बहसहरु हुने गरेका थिए । तर पछिल्लो कालखण्डमा आएर त्यस किसिमका क्रियाकलापहरु हुन छाडेका छन्। यसरी वैचारिक अन्तर्क्रियाको दरिद्रता रहनुको मूल कारण के हुन सक्छन् ? के साँच्चै नै आजको पुस्तामा प्रगतिशील साहित्यप्रतिको रुझान घट्दै र मर्दै गइरहेको हो ?
यो निकै गम्भीर विषय हो र यसमाथि पनि गम्भीर भएर नै विश्लेषण गर्नु पर्ने हुन्छ। कुनै बेला प्रगतिशील साहित्य नेपाली साहित्यिक क्षेत्रको एक सशक्त र प्रभावकारी धार थियो। अहिले प्रगतिशील साहित्यलाई प्रतिनिधित्व गर्ने नाममा थुप्रै संघसंस्थाहरु देखा परेका छन् तर तिनीहरुको प्रभाव चाहिँ साँघुरिएको र प्रगतिशील खेमाभित्रै पनि व्यापक हुन नसकेको अवस्था छ भने 'आफ्नो' लाई मात्र 'राम्रो' मान्ने हुन थालेपछि प्रगतिशील साहित्यको घेरा र चिन्तन पनि साँघुरिदै गएको हो कि जस्तो लाग्छ। फलस्वरुप गतिलो भनिएको र कुनै प्रभावशाली राजनैतिक पार्टीकै सदस्य रहेको साहित्यकारको कृतिले पनि बजारमा उल्लेखनीय प्रभाव जमाउन सक्ने अवस्था भएजस्तो लाग्दैन। केही अपवाद भेटिए बेग्लै हो नत्र प्राज्ञ भनिएकाहरुबाट पनि त्यस्तो विशेष प्रवचनहरु दिने गरेको पाइदैन। यद्यपि साहित्य सन्ध्याले आफ्नो मासिक कार्यक्रम गरिरहेको छ, अविरल जनसाहित्य यात्रा चलिरहेको छ, सिर्जना यात्रा पनि अगाडि बढिरहेको छ भने अन्य कतिपय संस्थाहरुले कार्यक्रमहरु गरिरहेका नै छन् जुन उल्लेखनीय पनि छन्। तर तिनले आजको समयलाई प्रतिनिधित्व गर्ने गरी प्रगतिशील फड्को मार्न चाहिँ सकेको छैन भन्ने नै लाग्छ।
आजका प्राज्ञहरुबाट कुनै समयका नयराज पन्तको जस्तो कुनै प्रवचन सुन्न पाइदैन भने कार्यक्रम वा गोष्ठीहरुमा पनि कुनै समयका माणिकलाल श्रेष्ठ वा आनन्ददेव भट्ट वा मुरारी अर्यालहरुको जस्तो मन्तव्य शायदै सुन्न पाइन्छ।
कतिपय साहित्यिक संस्थाहरुले विभिन्न विषयमा गोष्ठिहरु त गरिरहेका छन् तर तिनीहरुले पुरानै निश्चित प्रारुपभित्र रहेर वार्षिक कार्यक्रमको संख्या पुर्याउने भन्दा माथि उक्लेर आजको समयलाई प्रतिनिधित्व गर्ने खालको विचार विमर्श गर्न र वहश तथा छलफल चलाउन सकेको देखिएन। उदाहरणको लागि आजका प्राज्ञहरुबाट कुनै समयका नयराज पन्तको जस्तो कुनै प्रवचन सुन्न पाइदैन भने कार्यक्रम वा गोष्ठीहरुमा पनि कुनै समयका माणिकलाल श्रेष्ठ वा आनन्ददेव भट्ट वा मुरारी अर्यालहरुको जस्तो मन्तव्य शायदै सुन्न पाइन्छ। जुन समाजिक मूल्य, मर्यादा र लेखकीय ओजले प्रगतिशील साहित्यिक फाँटको प्रतिनिधित्व गर्नु पर्दथ्यो त्यसमा कमी आएको कारण प्रगतिशील साहित्यले समयानुकूल आकर्षण पैदा गर्न चाहिँ नसकेकै हो भन्ने लाग्छ।
साहित्य राजनीतिबाट वा राजनीति साहित्यबाट निर्देशित हुनुपर्छ भन्ने दुई पृथक धारणा नेपालको साहित्यिक फाँटमा लामो समयदेखि बहसको एउटा मूल विषय बन्ने गरेको छ। कतिपय प्रगतिवादी साहित्य–खेमामा साहित्य राजनीतिबाटै निर्देशित हुनुपर्छ भन्ने एउटा जब्बर खालको विचार पनि विद्यमान रहेको पाइन्छ । के तपाईं यो कुरामा सहमत हुनुहुन्छ ?
साहित्य र समाजबीच घनिष्ट सम्बन्ध छ भन्ने कुरामा कसैको विमति नरहला। समाजको विकास र चेतनास्तरले नै साहित्य र साहित्यकारको मापन गर्दछ। समाज विकासको गति र अवस्था त्यस देशको राजनीतिले निर्धारण गर्दछ। आजको समाज राजनीतिबाट अप्रभावित रहन सक्दैन। तसर्थ साहित्य राजनीतिबाट प्रभावित हुन पुग्छ। यसको अर्थ साहित्य राजनीतिबाट निर्देशित हुनै पर्छ भन्ने चाहिँ होइन। बरु साहित्यले राजनीतिलाई डोर्याउने र निर्देशित गर्ने क्षमता राख्नु पर्ने हुन्छ।
साहित्य राजनीतिबाट प्रभावित हुन पुग्छ। यसको अर्थ साहित्य राजनीतिबाट निर्देशित हुनै पर्छ भन्ने चाहिँ होइन। बरु साहित्यले राजनीतिलाई डोर्याउने र निर्देशित गर्ने क्षमता राख्नु पर्ने हुन्छ।
सिद्धान्त र विचारविहीन राजनीति र स्खलित तथा अक्षम नेताहरु भएको अहिलेको हाम्रो जस्तो समाजमा राजनीतिले साहित्यलाई डोर्याउने वा निर्देशित गर्ने अवस्था छैन। हामी बाँचेको समयका साहित्यकारमाथि अहिले ठूलो जिम्मेवारी आएको छ भन्ने लाग्छ- देशको राजनीति र नेताहरुमा सिद्धान्त, विचार र निष्ठाको पुनःस्थापना गराउने जिम्मा। प्रगतिशील साहित्यकारहरुका लागि अहिलेको समय ऐतिहासिक एवम् चुनौतिपूर्ण देखिएको छ।
साहित्यले यथार्थवादको प्रतिनिधित्व गर्नुपर्छ भनिन्छ । तपाईंको विचारमा वर्तमान नेपालमा प्रगतिवादी साहित्यको मूल स्रोत र विषयवस्तु के हुनुपर्छ भन्ने लाग्छ ? साहित्यले राजनीतिबाहेक जीवनका विभिन्न पाटाहरु तथा आमजनताका विविध रुचि र समस्याहरुलाई सम्बोधन गर्नु जरुरी हुन्छ कि हुँदैन ?
यो प्रश्नलाई सरल ढंगले हेरौ जस्तो लाग्छ। प्रगतिवादी साहित्यको मूल स्रोत समाज र जनता हुन्- बोल्न नसकेका वा बोल्न नसक्ने जनताको आवाज बन्नु पर्छ साहित्य। साहित्यले समेट्ने विषय जनताका सुखदुःख, समस्या, पीडा र उनीहरुका जनजीवनका विविध पक्षहरु नै हुन्। तर साहित्यकारहरुले ध्यान दिनु पर्ने कुरा चाहिँ के हो भने आम जनताको चेतनास्तर बढाउने, श्रम प्रतिको सम्मान जगाउने र जनताको रुचिलाई सकारात्मकरुपमा प्रभावित पार्ने रचनाहरु सिर्जना गर्नु पर्ने हुन्छ। स्वस्थ र स्वच्छ विचार र दृष्टिकोण निर्माण गर्न सहायक हुने साहित्य सिर्जना गर्नु जिम्मेवार लेखकको दायित्व हो। उदाहरणको लागि, युवाहरु देशभित्र सामान्य रोजगारी पनि नपाएर विदेशिनु पर्ने बाध्यता छ त्यस्तोमा विदेशिन बाध्य जनतालाई उल्टै तीखो व्यङ्ग गरेर शासक र सत्तासँग टाँसिएको फोटोहरु सामाजिक सञ्जालमा हालेर 'गणतन्त्र'को गुणगान गाउने साहित्य सिर्जना गर्नुको केही अर्थ होला र ?
नेपाली प्रगतिवादी साहित्यको फाँटमा लेखकीय स्वतन्त्रता र प्रतिबद्धताको कुरा लामो समयदेखि चर्को बहसको मुद्दा बन्ने गरेको छ । नेपालका थुप्रै चर्चित साहित्यकारहरु पार्टीमा खासै आबद्ध नभइकनै पनि प्रगतिवादी रचनाकर्ममा लाग्नुभएको पाइन्छ। यसै सन्दर्भमा एक पटक प्रगतिवादी साहित्यकार पारिजातले ‘पार्टीप्रति प्रतिबद्ध नभएर पनि प्रगतिवादी लेखन हुन सक्छ’ भन्नुभएको पनि पाइन्छ । यसबारे तपाईंको धारणा के हो ?
माथि पनि चर्चा गरिसकिएकै छ- सिद्धान्त र विचारविहीन राजनीति र स्खलित तथा अक्षम नेताहरु भएको अहिलेको हाम्रो परिवेशमा राजनीतिले साहित्यलाई डोर्याउने वा निर्देशित गर्ने अवस्था छैन। सबल र सक्षम नेतृत्व भएको अवस्थामा यस खाले प्रश्नहरु गर्नुपर्ने अवस्था नै रहदैन। नेतृत्वले नै देश, समाज र साहित्यलाई प्रभावित पारिरहेको हुन्छ। नेपालको सन्दर्भमा यतिखेर पार्टीमा आवद्ध प्रगतिवादी साहित्यकारहरुले आफ्नै पार्टी र आफ्ना नेताहरुको विरुद्ध बोल्ने र लेख्ने आँट गर्न जरुरी छ। यस अर्थमा लेखकीय इमानदारी र स्वतन्त्रता आवश्यक छ।
नेपालको सन्दर्भमा यतिखेर पार्टीमा आवद्ध प्रगतिवादी साहित्यकारहरुले आफ्नै पार्टी र आफ्ना नेताहरुको विरुद्ध बोल्ने र लेख्ने आँट गर्न जरुरी छ। यस अर्थमा लेखकीय इमानदारी र स्वतन्त्रता आवश्यक छ।
प्रगतिवादी सिद्धान्त, विचार र व्यवहारको समयानुकुल विकास र विस्तारका लागि प्रगतिवादप्रति प्रतिबद्ध तर स्वतन्त्र चिन्तन गर्न सक्ने लेखक हुन जरुरी देखिएको छ। साहित्य सिर्जना नै साहित्यकारको परिचय हो। प्रगतिवादी धारको प्रतिनिधित्व गर्ने गरी इमानदारीपूर्वक गतिलो रचना सिर्जना गरिरहेको कुनै प्रतिवद्ध साहित्यकारको लेखनलाई के भन्ने त ? साहित्य सिर्जना गर्ने कार्यलाई कुनै पार्टी वा गुटले नियन्त्रण गर्न सक्छ र ? यस अर्थमा साहित्यकारहरु स्वतन्त्र र जिम्मेवार हुन्छन् र हुने क्षमता राख्नु पर्दछ। अतः प्रगतिवादी लेखनमा प्रतिवद्ध कुनै साहित्यकारलाई, कुनै पार्टीको कार्यकर्ता नभएकै कारण, प्रगतिवादको परिभाषाबाट बाहिर राख्न मिल्छ भन्ने लाग्दैन।
प्रगतिशील लेखकहरुको साझा चौतारी प्रगतिशील लेखक संघका पछिल्ला गतिविधिहरुलाई तपाईं कसरी नियालिरहनुभएको छ ? के यो संस्था पनि नेपालमा चिराचिरामा विभाजित वामपन्थी खेमाहरुको रुझान र अन्तरसंघर्षका कारण ‘हाँसको चाल न कुखुराको चाल’ को अवस्थामा पुगेको हो ?
प्रगतिशील लेखक संघका सबै प्रति आदर एवम् सम्मान प्रकट गर्दै मलाई महसूस भएको कुरा भन्नु पर्दा कुनै समयको साझा चौतारीको रुपमा स्थापना भएको प्रगतिशील लेखक संघ अहिले साझा चौतारीको अवस्थामा भए जस्तो लाग्दैन। यसले प्रगतिशील लेखन र साहित्यकारको घेरालाई फराकिलो पार्न सकेको छैन। यसले प्रतिवद्ध एवम् जिम्मेवार लेखकहरु तयार पार्ने र तिनीहरुलाई नेपाली साहित्याकाशमा स्थापित गर्ने काम गर्नु पर्दछ।
कुनै समयको साझा चौतारीको रुपमा स्थापना भएको प्रगतिशील लेखक संघ अहिले साझा चौतारीको अवस्थामा भए जस्तो लाग्दैन।
प्रगतिशील साहित्य सिर्जनाको गहिराइमा पुगेका इमानदार साहित्यकारहरुले प्रगतिशील लेखक संघको नेतृत्व गर्ने र साहित्यको सैद्धान्तिक तथा वैचारिक पक्षहरुमाथि निरन्तर एवम् व्यापक वहस, छलफल, प्रशिक्षण र प्रतियोगिताको माध्यमबाट नयाँ पुस्ताहरुलाई आकर्षण गर्ने तर्फ प्रगतिशील लेखक संघको प्रभावकारी सक्रियता आवश्यक छ भन्ने लाग्छ।
कतिपय स्रष्टाहरुको चिन्ता– यतिखेर कमसल साहित्यहरुले बजार कब्जा गरेका छन्, वैचारिक रुपमा तिनका सामु प्रगतिवादी साहित्य निरीह एवं कमजोर देखापरेका छन्, प्रतिरक्षात्मक अवस्थामा खडा छन्। यसबारे तपाईंको धारणा के हो ? यसलाई चिर्ने उपाय के हुन सक्छ ?
बजारमा आएका सबै साहित्यलाई कमसल साहित्य नै भन्न त नमिल्ला। बजारमा बढी हल्ला गरिएका कतिपय साहित्यहरु कमसल पनि होलान् तर त्यसलाई लिएर धेरै गुनासो गर्नुपर्ने पनि नहोला। अहिलेको हाम्रो बजारमा गुणस्तर पुगेका र कम गुणस्तरका दुबैखाले सामग्री पाइनुलाई पनि स्वभाविकै मान्नु पर्ला। अहिले छलफलमा ल्याउन खोजिएको विषय चाहिँ- प्रगतिवादी साहित्यको अवस्था बजारमा निरीह एवम् कमजोर भएको हो वा होइन ? र प्रगतिवादी साहित्य प्रतिरक्षात्मक अवस्थामा पुगेको हो वा होइन ? भन्ने हो। यी दुबै प्रश्नलाई प्रगतिवादी साहित्यकारहरुले गम्भीररुपमा मनन गर्नु पर्ने देखिएको छ।
जहाँसम्म प्रगतिवादी साहित्यको प्रश्न छ, यो धार कमजोरै भएको जस्तो चाहिँ लाग्दैन तर बजारको शोकेसमा यसको उपस्थिति सशक्त हुन नसकेको चाहिँ हुनसक्छ। यसको कारण प्रगतिवादी साहित्यकारहरुबीच सामुहिकरुपमा वैचारिक छलफल गर्ने तथा असल र गुणस्तरीय साहित्य र साहित्यकारलाई स्थापित गर्दै जाने परिपाटीको अभाव हो कि भन्ने लाग्छ। यो अवस्थालाई चिर्न प्रतिवद्ध प्रगतिवादी साहित्यकारहरुको सकारात्मक सक्रियता आवश्यक छ।
कुनै सबल र प्रतिवद्ध साहित्यकार मेरो खेमाको होइन भने त्यसलाई स्थापित गर्नुभन्दा नकार्नुको मजा नै अर्को छ, अहिलेको हाम्रो मानसिकता यस्तो देखिन्छ। हामीमा सामुहिक सौहार्दता घट्दै गएको जस्तो लाग्छ।
प्रगतिवादी धारको प्रतिनिधित्व गर्नका लागि स्थापना भएका विभिन्न संघसंस्थाहरुले प्रगतिवादी साहित्य र साहित्यकारहरुको पहिचान स्थापित गर्नका लागि राजनैतिक संकिर्णताभन्दा माथि उठेर संस्थागत र दीगो रुपमा काम गर्नु पर्ने हुन्छ तर यसरी काम गर्ने र हुने अवस्था चाहिँ देख्दिन। कुनै सबल र प्रतिवद्ध साहित्यकार मेरो खेमाको होइन भने त्यसलाई स्थापित गर्नुभन्दा नकार्नुको मजा नै अर्को छ, अहिलेको हाम्रो मानसिकता यस्तो देखिन्छ। हामीमा सामुहिक सौहार्दता घट्दै गएको जस्तो लाग्छ।
होइन भने यतिखेर, कम्युनिष्ट पार्टीको नेतृत्वमा बारम्बार सरकार बनिरहँदा र हिजोका प्रगतिशील साहित्यिक-साँस्कृतिक अभियान वा आन्दोलनबाटै परिचय बनाएका थुप्रै 'प्रगतिशील' वा 'प्रगतिवादी' साहित्यिक-साँस्कृतिक कर्मीहरु नै मन्त्री हुँदा, प्रज्ञा प्रतिष्ठान लगायत विभिन्न सरकारी र सार्वजनिक निकायको नेतृत्वदायी पदमा पुगिरहँदा पनि प्रगतिवादी चिन्तन र साहित्यको विकासको निमित्त मदन पुरस्कार बराबर वा त्योभन्दा बढी प्रभावकारी र राशीको पुरस्कार संस्थागतरुपमा स्थापना र सञ्चालन हुन किन सकिरहेको छैन ? प्रगतिवादी साहित्यलाई प्रतिनिधित्व गर्ने वर्षभरीमा प्रकाशित १० वा २५ वा त्यस्तै कुनै संख्याका उत्कृष्ट कृतिहरुको छनौट गरेर बजारलाई तरंगित पारेर आफ्नो प्रभाव फैलाउन किन सकिरहेको छैन ? र प्रगतिवादी लेखनलाई प्रतिनिधित्व गर्ने स्तरीय साहित्यिक पुस्तकहरु बजारबाटै रेकर्ड बनाउने गरी बिक्री हुन सक्ने अवस्था किन बनिरहेको छैन ? छलफलका लागि यी केही व्यवहारिक प्रश्नहरु उदाहरणको रुपमा यहाँ उल्लेख गरिएका मात्र हुन्। प्रगतिवादी खेमाको प्रतिनिधित्व गर्न भनेर साइनबोर्ड सहित बजारमा बसेका संघसंस्थाहरुले जिम्मेवार र उदार भएर सामुहिकरुपमा काम गर्ने हो भने माथि उठाइएका प्रश्नहरुको जवाफ दिनु कुनै कठिन कार्य भने होइन।
छोटो प्रश्नोत्तर |
---|
तपाईंलाई मनपर्ने साहित्यकार ? थुप्रै हुनुहुन्छ, जस्तै लक्ष्मीप्रसाद देवकोटा, पारिजात, रमेश विकल, भूपि शेरचन, हरिभक्त कटुवाल, भैरव अर्याल, देवीप्रसाद किसान, दुर्गालाल श्रेष्ठ, आनन्ददेव भट्ट, खगेन्द्र संग्रौला, डीपि भण्डारी, विमल निभा, कुन्ता शर्मा, नारायण ढकाल, पूर्ण विराम, लक्ष्मी माली, हरिगोबिन्द लुइँटेल, स्नेह सायमी, प्रह्लाद पोख्रेल, झमक घिमिरे, मुकुन्द प्रयास आदि। चाहिँदोभन्दा बढी मूल्याङ्कन गरिएका साहित्यकार ? यो प्रश्नको उत्तर दिन सक्ने क्षमता ममा भए जस्तो लाग्दैन। मनपर्ने साहित्यिक कृतिहरु ? धेरै मध्येका केही- तोरीबारी बाटा र सपनाहरु (पारिजात), घुम्ने मेचमाथि अन्धो मान्छे (भूपि शेरचन), यो जिन्दगी खै के जिन्दगी (हरिभक्त कटुवाल), बेलायततिर बराँलिदा (ताना सर्मा), सोह्र साँझहरु (गोविन्द वर्तमान), आमा (म्याक्सिम गोर्की), दि ओल्ड म्यान एण्ड द सी (अर्नेष्ट हेमिङ्वे), एनिमल फार्म (जर्ज अरवेल), गोदान (प्रेमचंद), १०८४ वें की माँ (महाश्वेता देवी) आदि। पढेर असाध्यै मनछोएको तथा प्रभावित पारेको पुस्तक ? म्याक्सिम गोर्कीको आमा र मेरो बाल्यकाल। सबैले पढ्नै पर्ने पाँच कृतिहरु ? मेरो ज्ञानको सीमाभित्र रही भन्नु पर्दा- दि ओरिजिन अफ स्पेशिस (चार्ल्स डार्विन), हाम्रो समाज : एक अध्ययन (जनकलाल शर्मा), कठोपनिषद् (ओशो), लिभिङ विथ दि हिमालयन मास्टर्स (स्वामी रामा), र एवलिन रिडको इज बायोलोजी वुमन्स डेस्टिनी जस्ता पुस्तकहरु। अहिले पढिरहेको पुस्तक ? समानान्तर रुपमा केही पुस्तकहरु पढिरहेको छु जस्तै : मार्क्सवादी साहित्य-चिन्तन (डा. शिवकुमार मिश्र), सम्झना (भैरव स्मृतिग्रन्थ), पुँजीवाद र नेपाल (चैतन्य मिश्र)। प्रगतिवादी फाँटको पढ्नैपर्ने पाँच पुस्तकहरु ? साहित्य तथा कला (मार्क्स- एंगेल्स), आमा (म्याक्सिम गोर्की), भागो नहीं दुनिया को बदलो (राहुल साँकृत्यायन), एस्थेटिक्स (युरी बोरेभ), दर्शनशास्त्रको प्रारम्भिक ज्ञान (भिक्टर आफ्नासयेभ) जस्ता पुस्तकहरु। प्रगतिवादी फाँटबाहेकका पढ्नैपर्ने अन्य पाँच पुस्तकहरु ? साहित्यले ओगटेको व्यापकताभित्र, ज्ञानको विशाल भण्डारभित्र सिर्जना भएका पुस्तकहरुमा पाठकले आफ्नो रुचि अनुसारका थुप्रै महत्वपूर्ण सामग्रीहरु फेला पार्नु हुनेछ त्यसैले एक व्यक्तिको सीमितताभित्र यसलाई नबाँधौं। यसलाई मेरो अक्षमता नै भन्दा अझ राम्रो होला। साहित्यको मनपर्ने विधा ? मूलतः कविता र निबन्ध (संस्मरण, जीवनी, यात्रा साहित्य लगायत)। तपाईंको बुझाइमा साहित्यको सबैभन्दा प्रभावशाली विधा ? कविता, निबन्ध र उपन्यास। पढ्न मन लागेको तर पढ्न नपाएको कुनै कृति ? पढ्न नपाएकोभन्दा पनि पढ्ने चाँजोपाँजो मिलाउन नसकेको थुप्रै कृतिहरु छन्। मनपरेको धार्मिक साहित्य ? तिनलाई कसरी लिनुपर्छ ? महाभारत र तन्त्रसम्बन्धी पुस्तकहरु। ज्ञान र बुझाइको दायरालाई फराकिलो पार्न यी साहित्यहरु महत्वपूर्ण छन् भन्ने लाग्छ। यस्ता साहित्यको अध्ययन गर्दा पूर्वाग्रह नराखी र आफ्नै दृष्टिकोणलाई संकीर्ण नपारी अध्ययन गर्नु पर्छ। 'धर्म' शव्दलाई शव्दको व्यापकतामा नै बुझ्ने जमर्को गर्नु पर्ने हुन्छ। जीवन र जगतबारे तपाईंको धारणा ? जीवन एक बृहत् र खुला विश्वविद्यालय हो। हामी यसलाई बुझेको (पूर्ण भएको) अभिनय गर्छौं तर थुप्रै विषयहरु बुझ्न बाँकी (अपूर्ण) रहेको हुन्छ। जन्म आकस्मिक हो भने मृत्यु चाहिँ अहिलेसम्मको एक निश्चित सत्य हो जसको निमित्त प्रत्येक प्राणी तयार रहनु पर्दछ। तपाईंलाई मनपर्ने कुरा ? सकियो भने अरुको प्रगतिको लागि आफ्नो काँध दिन। घृणा लाग्ने कुरा ? नेताहरुको खोक्रो भाषण- विषयहरुको व्याख्या, भ्रमण, निरीक्षण र निर्देशन। तपाईंको कमजोरी ? धेरै छन्, तर यो चाहिँ मुख्य हो भन्ने कुरामा सचेतनाको अभाव। तपाईंको आदर्श वाक्य ? राम्रो गरौं, इमानदार बनौं। |
प्रतिक्रिया