गाजापट्टीको नरसंहारबाट अमेरिकाले उठाएको आर्थिक लाभ

गाजा-इजरायल युद्द सुरु भएदेखि अहिलेसम्म अमेरिकाका हतियार उत्पादक कम्पनीहरूको शेयर मूल्यमा सात प्रतिशतको वृद्धि भएको छ । यसरी नाफा बढ्दा ती कम्पनीमा लगानी गरेका वित्तीय संस्थाहरू पनि मालामाल हुँदै गएका छन् ।

दि गार्जियनमा प्रकाशित एक रिपोर्ट अनुसार संयुक्त राष्ट्र सङ्घले युद्धको बिस्तार र अनियन्त्रित विस्फोटले इजरायलले गाजामा युद्द अपराध गरेको प्रमाणित हुने चेतावनी दिइरहेको बेला वाल स्ट्रिटले भने नाफामा व्यापक वृद्धि गर्ने अवसरको रुपमा यो युद्धलाई हेरिरहेको छ ।

अमेरिकाका ठुला लगानीकर्ता वित्तीय संस्थाहरू मोर्गन स्टेन्डली र टिबी बैंकले यो युद्धबाट ठूलो वित्तीय नाफा भैरहेको जनाइरहेका छन् । उनीहरूको लगानी रहेको जेनरल डाईनामिक्स र एरोस्पेस जस्ता हतियार उत्पादक कम्पनीले यसबिच १६ मिलियन डलर नाफा आर्जन गरेको बताएका छन् ।

टिबी बैंकका महाप्रबन्धक चैँ वोन रुमोह्रलाई उद्धृत गर्दै समाचारमा हमासले पनि थप हतियार माग गरिरहेको र राष्ट्रपति (अमेरिकी राष्ट्रपति जो बाइडेन) ले १०६ अर्ब डलर बराबरको युद्द सामग्री इजरायल र युक्रेनलाई सहयोग गर्ने घोषणा गरेकोले हतियार उद्योगको नाफ अझै बढ्ने उल्लेख गरिएको छ । 

यसैगरी अर्को हतियार निर्माता कम्पनी आरटीएक्सका अध्यक्ष गेर्ग हयेसले आफ्नो कम्पनीको पोर्टफोलियोमा यो युद्धले निकै सकारात्मक प्रभाव पारेको बताएका छन् । वित्तीय संस्था मोर्गन स्टेन्डलीको २.१ प्रतिशत शेयर आरटीएक्समा रहेको छ । यसरी हेर्दा पश्चिमेली बैंक तथा वित्तीय संस्थाहरू आफ्नो घोषित नीति मानव अधिकारको रक्षाको विपरीत हुनेगरी मानव नरसंहारबाट आर्जित रकमलाई नाफाका रुपमा गणना गर्न पाउँदा मक्ख परेको देखिएको छ ।

१० कम्पनी जो हुँदैछन् मालामाल

अहिलेको युद्धबाट सर्वाधिक र सिधा लाभ प्राप्त गरिरहेका हतियार निर्माता कम्पनीहरूमा आरटीएक्स, लोकहीड मार्टिन, बोइंग, जेनरल डाईनामिक्स र नर्थरोप ग्रुमन रहेका छन् । समाचार रिपोर्ट अनुसार उनीहरूले युक्रेन, इजरायल र ताइवानलाई हतियार र बन्दोबस्तीका सामग्रीहरू सहयोग गर्न ठुलो सहयोग राशिको घोषणा गर्न अमेरिकी सरकारलाई दबाब दिइरहेका छन् ।

अमेरिकाका मात्र नभएर विश्वभरका हतियार कम्पनीहरूले हालैका युद्हरुबाट राम्रो नाफा आर्जन गरिरहेको देखिएको छ । त्यस्ता कम्पनीहरू अधिकांश अमेरिकी भए पनि अन्य मुलुकका पनि रहेका छन् ।

उनीहरूले सन् २०२२ मा आर्जन गरेको नाफा र व्यापारको हिसाबले विश्वका ठुला १० हतियार र रक्षा सम्बन्धी उत्पादन गर्ने कम्पनीहरू यस प्रकार रहेका छन् :

कम्पनी रहेको मुलुक कम्पनीको नाम व्यापारको आकार*
अमेरिका लोकहीड मार्टिन ६३३
अमेरिका आरटीएक्स ३९६
अमेरिका नर्थरोप ग्रुमन ३२४
चीन एभिएसन इन्डस्ट्री कर्पोरेसन अफ चाइना ३१०
अमेरिका बोइंग ३०८
अमेरिका जेनेरल डाइनामिक्स ३०४
बेलायत बिएई सिस्टम २५२
चीन चाइना नर्थ इन्डस्ट्री ग्रुप १८०
अमेरिका एल३ह्यारिस टेक्नोलोजिज १३९
चीन चाइना साउथ इन्डस्ट्री ग्रुप १३५

(* मिलियन डलरमा) 

उल्लेखित कम्पनीहरू बाहेक फ्रान्स, इटाली र डेनमार्कका कम्पनीहरू पनि यस्ता बस्तु उत्पादनमा अगाडि रहेका छन् । जसमा चर्चित विमान कम्पनी एयरबसदेखि रोल्स रोयससम्म रहेका छन् । तर, यहाँ उल्लेखित रोल रोयस कम्पनी भने कार उत्पादक कम्पनी होइन