बाउलाई गधा र गधालाई बाउ किन भनिएन ?

मान्छेले भाषा र शब्दहरुको प्रयोग बच्चैदेखि सिक्दै आएको हुन्छ ।

पुज्यनीय ‘गधा’ साष्टाङ्ग दण्डवत !

          आराम छु । तर काठमाडौको महांगीले टिक्नै नसकिने रहेछ ! घरबाट ल्याएको पैसा सकिइसकेको छ । त्यसैले, तल्लोघरे खैरेसंग अलिकति पैसा पठादिनु होला । अरु सबै ठीक छ । बाँकी अरु पत्रहरुमा लेख्दै गरौँला ।

उही तपाईहरुको प्यारो ‘कुकुर’

०००

यो पत्र तपाईलाई कस्तो लाग्यो ? पक्कै पनि हाँसो उठ्दो लाग्यो होला । पत्रको व्योहोरा हेर्दा बाबुलाई छोराले लेखेका पत्र जस्तो छ, सम्बोधन चाहिँ  गधा र सम्बोधन कर्ता चाहिँ कुकुर ! तपाईहरु मध्ये कतिलाई त हास्यव्यांग्य नै पो लेख्न आँटेछ कि क्या हो भन्ने पनि लाग्यो होला ?

तर यहाँ मैले हास्यव्यङ्ग्य लेख्न खोजेको पटक्कै होइन । मैले त खालि उदाहारण मात्र दिन खोजेको हुँ । हामीले पहिले देखि नै ‘बा’ को अर्थमा ‘गधा’ शब्द र ‘छोरा’को अर्थमा ‘कुकुर’ शब्दलाई बुझेको भए के हामीले लेख्ने पत्र माथिको किसिमको हुने थिएन होला त ? किन बाउलाई गधा र गधालाई बाउ भनिएन ?  किन हामीले ‘गधा’ को अर्थ बेग्लै र ‘बा’को अर्था बेग्लै वा ‘कुकुर’ र ‘छोरा’को अर्थ बेग्लाबेग्लै बुझ्छौं ? किन र कसरी हामी कुनै पनि शब्दहरुको अर्थ बेग्लाबेग्लै रुपमा बुझ्छौं ? अनि,एउटा वस्तु वा चीजलाई बुजाउने शब्द पनि भाषा, जाति, वर्ग, सम्प्रदाय, स्थान वा समुहपिच्छे किन बेग्लाबेग्लै हुन्छ ? एउटा शब्दले एउटा स्थानमा खास अर्थ दिन्छ तर त्यही शब्द अर्को स्थानमा अर्थ नै नलाग्ने पनि हुन्छ । वा बेग्लै अर्थ लाग्ने पनि हुन्छ । यस्तो किन कसरी हुन्छ ? प्रत्येक शब्दको आफ्नै खास अर्थ हुन्छ । यो किन कसरी हुन्छ ? आउनुहोस यसबारे थोरै चर्चा गरौं ।

शब्द अक्षरहरु मिलेर बन्छ, कुनै कुनै बाहेक अक्षरहरुको आफ्नै खास अर्थ हुदैन । तर जब अक्षरहरु मिलेर शब्द बन्छ, त्यसको चाहिँ निश्चित अर्थ पनि हुन्छ । त्यसैले, शब्द भनेकै कुनै खास कुरालई बुझाउने संकेत हो । त्यो शब्द पनि मान्छेको आवाजबाट उत्पन्न हुन्छ । जो दुई वा दुई भन्दा बढी मान्छेहरुमा ‘निश्चित  आवाज वा आवाजहरुले कुनै कुरालाई बुझाउछ’ भन्ने टुंगो र सहमति, समझदारी कायम हुन्छ, तब त्यहाँ भाषा (Language)  को उत्पति हुन जान्छ । भाषा नै मान्छेहरुबीच सम्वाद आदन प्रदान गर्ने माध्यम हो ।

शब्दहरुको निश्चित मात्र अर्थ हुन्छ । किनभने, निश्चित समुहका मान्छेहले मात्र त्यो को अर्थ ‘यो हुन्छ’ भन्ने निर्धारण गरेको हन्छ । उदाहरणको लागि, जब 'D' ''O'  'G' आवाज संयुक्त रुपले बोलिन्छ, तब अंग्रेजी भाषा बोलने–बुझ्ने मान्छेले त्यसको अर्थ निश्चित जनवार हो भन्ने बझिहाल्छ । अंग्रेजी बोल्ने एउटा व्यक्तिले 'DOG'  भन्ने बित्तिकै अंग्रेजी बोल्ने अर्को व्यक्तिले उसले ‘कुकुर’ भनिरहेछ भनेर बुझिहाल्छ ।

तर त्यही 'Dog' शब्दले अंग्रेजी नबुझ्ने व्यक्तिको लागि चाहिँ कनै अर्थ दिन्छ त ?

अहँ ! उसको लागि 'Dog' शब्द नै अर्थहीन हुन्छ । उदाहरणको लागि, रसियन भाषा बोल्नेला 'Dog'शब्द भनियो भने, उसले कुकुर भनिदैछ भन्ने बुझ्नै सक्दैन । तर 'Dog' को सट्टा ' собака ' भन्यो भने, उसले कुकुर बारे कुरा गरेको  भनेर सजिलै बुझ्छ । त्यसै गरी इटालियन भाषामा 'Cane', स्पेनिशमा 'Perro', जापानीमा  'inu' भन्यो भने कुकुर भनेर बुझिन्छ ।

मान्छेले भाषा र शब्दहरुको प्रयोग बच्चैदेखि सिक्दै आएको हुन्छ । बच्चाले आफ्नो अभिभावक र अन्यहरुले प्रयाग गरेको शब्दहरुको नक्कल वा अनुशरण गरेर भाषा–शब्द र त्यसको अर्थ सिक्छ ।

अँ, भाषाको यो फरकपनाले कहिलेकाहीँ हामीलाई अप्ठेरो अवस्थामा पनि पारिदिन सक्छ । कुनै एक भाषीका लागि श्लील लाग्ने शब्द अर्को भाषाभाषीका लागि अश्लील अर्थ लाग्ने पनि हुन सक्छ । जस्तै, जापानी भाषाको Muji शब्दको नेपाली उच्चारण नेपालीभाषीका लागि अश्लील र अपाच्य हुन्छ तर जापानी भाषामा त्यसको अर्थ 'ब्रान्डेड होइन तर राम्रो गुणस्तरको' भन्ने लाग्छ । नेपाली भाषामा 'हीरा' शब्दले मूल्यवान पत्थरको नाम जनाउँछ तर त्यही शब्द लिम्बूभाषीहरुका लागि अत्यन्तै अश्लील बन्न जान्छ । नेपालीमा हड्डीभित्रको बोसो जस्ताे पदार्थलाई मासी भनिन्छ । तर त्यही शब्दले नेपाल भाषामा भने अश्लील अर्थ लाग्ने गर्छ ।