पर्यावरण कि बसिबियाँलो गफ ?
नेपाली पत्रकारिताका भिष्मपितामह, पूर्वेली दर्शनका उद्भट विद्वान मदनमणि दीक्षितको प्रस्तुत लेख ‘पर्यावरण कि बसिबियाँलो गफ?’ सँग एउटा रोचक र रमाइलो प्रसङ्ग गाँसिएको छ । त्यसबेला मैले सम्पादन गरिरहेको संरचना साप्ताहिकमा समाजमा चर्चित एवं स्थापित विद्वानहरुबाट पारिश्रमिक प्रदान गर्ने गरी लेखरचना माग्ने योजनाअन्तर्गत म र मेरा मित्र भरत कोइराला उहाँको डिल्लीबजार, कालिकास्थानस्थित निवासमा पुगेका थियौं । तर हाम्रो उत्साहमा बरफ पानी खन्याउँदै उहाँले ‘किन लेख्ने मैले, म तपाईंहरुको कारिन्दा हो ?’ भनेर सातो खानुभयो । तर लगत्तै उहाँले हामीलाई करिब ढेढ दुई घण्टा आफ्ना वैयक्त्तिक जीवनका प्रसङ्गहरु विस्तारमा सुनाउनुभयो । अनि हामीले छुट्टिनका लागि विदा माग्दै गर्दा मायालु स्वरमा ‘ओठ निचार्दा पनि दूध आउला जस्तो कलिलो बालकहरुलाई इन्कार किन गर्ने ? ल यो लेख छाप्नोस् !’ भनी घर्राबाट हस्तलिखित लेख थमाउनुभयो । यो त्यही लेख थियो ।
आजभन्दा करिब ३२ वर्षअगाडि लेखिएको र त्यसबेला संरचना साप्ताहिकमा छापिएको यो लेख अझै पनि उत्तिकै सान्दर्भिक र मननीय छ । लेखमा उठाइएका विषयहरु आज पनि उत्तिकै ज्वलन्त र जब्बर प्रश्न बनेर हामीसामु जवाफ खोजिरहेका छन् । अहिले 'जलवायु परिवर्तनले नेपालमा पारेको प्रभाव नजिकबाट हेर्ने र नाेभेम्बरमा हुने काेप २८ काे एजेण्डा बनाउने' ध्येयका साथ संयुक्त राष्ट्रसंघका महासचिव नेपाल भ्रमणमा रहेको सन्दर्भमा हामीले यो लेखलाई पुन:प्रकाशित गरेका छौं ।
–चन्द्र खाकी
पर्यावरणसम्बन्धी धेरैजसो नेपाली संस्थाले आफ्नो नाउँमा र व्यक्ति तथा वैज्ञानिकले समेत आफ्ना काममा Environment निम्ति वातावरण भन्ने शब्द प्रयोग गर्ने गरेको देखिएको छ । त्यसका निम्ति पर्यावरण नै बढी उपयुक्त र यथार्थ अर्थ बोध गराउन सहायक हुने शब्द हो । Atmosphere र Environment ले दुई भिन्न विषयबारे बोध गराउँछन् । विभिन्न नेपाली र हिन्दीका कोषले ती दुई अर्थको शब्द निम्ति पर्यावरण भन्ने शब्द समेत दिए तापनि पहिलो शब्दले वायुमण्डललाई नै मूलतः बोध गराउँछन् । वातावरणले पानी, वायु, बादल, शीत, ताप, मौसम र आद्रता आदिलाई नै प्रत्यक्ष बोध गराउँछ ।
मूल अर्थमा विभेद रहेको माथि ध्यान नदिएमा विशेष गरी तत्सम्बन्धी संस्थाहरुका दृष्टिकोण र काममा फरक पर्न जाने गर्छ । यो कुरा नेटिभीको कार्यक्रममा पर्यावरणबारे समय समयमा भएका छलफलबाट प्रष्ट भएको छ । पर्यावरण सुरक्षा र सुधारसम्बन्धी विषयमाथि भएको ती छलफलले विशेष गरी बन, जङ्गलको विनास र विकास समस्याप्रति ध्यान दिने काम गर्यो । बन, जङ्गलको सम्बन्ध पर्यावरणसित अवश्य छ तर पर्यावरणले सामाजिक र औद्योगिक अवस्था प्रदूषण, स्वच्छता, निर्माण योजना र विधि, शहरीकरण, भूउपयोग, फोहोरमैला व्यवथास्थापन, बाहन विसौनी (Parking) सवारी साधनका जर्जर अवस्थाजनति विषदि प्रसार, ध्वनि प्रदूषण, सडक चेत र चौबाटथोमा खसी–बोका काटेर खुइल्याउने आन्द्राभुँडी सफा गर्ने र मासु बेच्ने, बाक्लो जनसंख्या र घरहरु भएका शहरबजारमाथि विमान र हेलिकोप्टर उड्डयन, शवाधानसम्बन्धी कुव्यवस्था (नेपालका बागमती र विष्णुमति लगायतन सबैजसो प्रमुख नदीहरु मानिस र पशु दवैका शवाधान निम्ति प्रयोग गरिन्छन् । काठमाडौं आर्यघाटको भष्मेश्वरको सत्तलका भित्ता र दलीनमा शवको अग्नि संस्कारबाट उठेका धुँवाका कति लाख पत्र परेका होलान् ? उद्योगका मेशिनगत चरित्र र स्थापनास्थल आदि आदि सबैका समष्टिको सम्बन्ध पर्यावरण र त्यसको नियन्त्रणसित रहेको छ । मानव समुदायले बसोबास गरेको पृथ्वीको माथिल्लो पत्र र त्यसको समग्र र सार्वजनिक उपयोग पर्यावरणको विषय हो ।
पर्यावरण र मुलुकका राजनैतिक अवस्थाबीच कुनै प्रत्यक्ष सम्बन्ध रहेको देखिन्न । प्रजातन्त्रले पर्यावरण नियन्त्रणलाई खास मद्दत गर्ने भएको भए विकसित पश्चिमा प्रजातान्त्रिक मुलुक नै विश्व पर्यावरण प्रदूषणका मूलस्रोत हुन पुग्ने थिएनन् ।
त्यसो हुँदा त्यस्ता छलफल र चर्चामा प्रकट गरिएका बनजङ्गल, भूमि वा अन्य सम्पदामाथि समाजको कुन समुदायतको हातमा कुन प्रकारको स्वामित्व छ र पर्यावरण नियन्त्रण तथा सुधारलाई अर्थपूर्ण, प्रभावकारी तुल्याउन श्रोत साधनका स्वामित्वसम्बन्धमा कस्तो हेरफेर गर्नुपर्छ भनी प्रकट गरिएको विद्वान विचारहरु समस्याको सम्पूर्णताको पृष्ठभूमिमा गैर सान्दर्भिक र अपेक्षाकृत अनभिज्ञ नै ठहरिन्छन् ।
पर्यावरण र मुलुकका राजनैतिक अवस्थाबीच कुनै प्रत्यक्ष सम्बन्ध रहेको देखिन्न । प्रजातन्त्रले पर्यावरण नियन्त्रणलाई खास मद्दत गर्ने भएको भए विकसित पश्चिमा प्रजातान्त्रिक मुलुक नै विश्व पर्यावरण प्रदूषणका मूलस्रोत हुन पुग्ने थिएनन् । पृथ्वीको उच्च वायुमण्डलको पर्यावरणमा ओजोन ग्याँस् पत्र काटेर मानव स्वास्थ्य निम्ति विकट समस्या उत्पन्न हुनु र जीवनकै अस्तित्व निम्ति खतरा बढ्नु निम्ति एक मात्र विकसित प्रजातन्त्रवादी देशहरु जिम्मेवार छन् । पर्यावरणलाई नियन्त्रित र स्वच्छ राख्न नेपाल जस्ता विपन्न र विकासोन्मुख मुलुकले हरेक कोशिश गर्नैपर्छ तर जसरी आफ्ना बहुराष्ट्रिय निगमका माध्यमबाट तेस्रो विश्वमा विविध शोषणद्वारा नाफा जम्मा पार्दै तिनका शिरमा गीर खेलेर आफू भन्ने प्रचार र हल्ला मात्र गर्ने गराउने परन्तु विश्व पर्यावरण प्रदूषणका सर्वत्तोमुखी रोकथाम निम्ति प्रभावकारी पाइलो चाल्न इन्कार गर्नेमा पश्चिमा देश लागेका छन् त्यसलाई पनि नेपालीले बुझिराख्नु आवश्यक छ । अफ्रिका र ल्याटिन अमेरिका तथा एशियामा वन विकास निम्ति जापान, युरोप र अमेरिकाद्वारा दिइएका जोड र गरिएका आर्थिक सहायता पर्यावरण नियन्त्रण नीति हुन भने पहिले आफ्नै देशका घोर प्रदूषणकारी औद्योगिक स्थापनाहरू, यातायात परिवहन साधन आदिमाथि त्यस्ता नियन्त्रण किन शुरू नगर्नु ?
पर्यावरणलाई नियन्त्रित र स्वच्छ राख्न नेपाल जस्ता विपन्न र विकासोन्मुख मुलुकले हरेक कोशिश गर्नैपर्छ तर जसरी आफ्ना बहुराष्ट्रिय निगमका माध्यमबाट तेस्रो विश्वमा विविध शोषणद्वारा नाफा जम्मा पार्दै तिनका शिरमा गीर खेलेर आफू भन्ने प्रचार र हल्ला मात्र गर्ने गराउने परन्तु विश्व पर्यावरण प्रदूषणका सर्वत्तोमुखी रोकथाम निम्ति प्रभावकारी पाइलो चाल्न इन्कार गर्नेमा पश्चिमा देश लागेका छन् त्यसलाई पनि नेपालीले बुझिराख्नु आवश्यक छ ।
पर्यावरण सम्बन्धी समस्याबारे काठमाडौमा निकै ठूलो र गम्भीर छनफलहरू जिम्मेवार जानकार र वैज्ञानिकहरुले रेडियो, टिभि र गोष्ठी तथा सेमिनारहरू तारे होटेलमा सभाकक्षहरूमा समेत भेला भएर चलाइसकेका छन् ।ती सबैमाथि नयाँ कुरा के नै थप्न सकिएला ? तैपनि नेपाल निम्ति सानो समस्या रहेको ध्वनि प्रदूषणबाट शुरू गरौं । मानिसको शरीरको बनोट ध्वनिको न्यूनतम र अधिकतम तरङ्ग प्रति- सेकेण्डलाई मात्र ग्रहण गर्न क्षमतायुक्त छ । न्यूनतम तरङ्ग हुनु हानिकारक होइन तर अधिकतम तरङ्गको ध्वनिले रक्तचाप र बहिरोपन बढाउने, ध्यानलाई केन्द्रित गर्ने क्षमता घटाउने, चिड्चिडापन र असन्तोष उत्पन्न गर्ने जस्ता शुरूमा विकृति तर अन्ततोगत्वा मानसिक रोग नै उत्पन्न गर्ने गर्छन् ।
तराईका शहर बजारहरुमा रहेका मन्दिर र पूजा केन्द्रहरू टोलभरीका नरनारीलाई एकै पटक स्वर्ग पठाउँला र धार्मिक बनाउँला उद्देश्य राखेर मन्दिरका माइक्रोफोनमा विहान दिउँसो बेलुकीका भजनहरू प्रचण्ड स्वरले घन्काउने गर्छन् । मन्दिर नजिकका यताउताका घरहरू तिनका कोठा चोटाहरू कति बढ़ता ध्वनि प्रदूषणग्रस्त हुन्छन् भने मन्दिरमा भजन नभएको वा घण्टा नबजेको समयमा ती भित्ताहरूबाट आफ से आफ ध्वनि फुट्न पालेर राति कोठामा निन्द्रा पाउनु असम्भव जस्तो हुने गर्छ ।
यो उपत्यका मन्दिरै मन्दिरहरूको थलो रहे तापनि मन्दिरबाट ध्वनि प्रदूषणको त्यति सारो समस्या यहाँ अहिले छैन । हुन त केही मन्दिरमा ध्वनि विस्तारक यन्त्र जडान गरिसकिएका छन् । यहाँको समस्या हो घर घरका रेडियो, टीभी र डेक । यस्ता इलेक्ट्रोनिक ध्वनियन्त्रमा बजाउने भजन सुन्नेकोलाई धर्म गरेको ठहराएर तिनका निम्ति स्वर्गका ढोका खुला पारिएको कुनै घटनाबारे कुनै पनि पुराण वा धार्मिक ग्रन्थमा उल्लेख भएको पाइन्न तैपनि मन्दिर जान छोडी रेडियो वा टिभि सुनेर आफू स्वर्ग जाने र टोललाई नै सँगै लाने आशामा यहाँ निकै घर परिवार व्यस्त देखिन्छन् । भजन र पूजापाठ शान्त र समर्पित भक्ति निम्ति हुन्, हल्ला बढाउन होइन ।
भजनका कुरा मात्र होइनन् । नयाँ टोपी र डेक राख्ने परिवारहरु आफ्नो टोल भरिलाई नै एक पटक आफ्ना ती उपकरणबारे थाहा हुने गरी आवाज घन्काएर जानकारी दिन्छन् । तिनका डेक र टिभिले टोलभरिकै सांस्कृतिक र साङ्गितिक उद्धार होस् भन्ने कल्याण कामना तिनमा रहेको पनि हुन सक्दछ तर त्यस्ता आकाङ्क्षाहरुमा जतिसुकै सदासय रहे पनि तिनीहरू हानिकारक ध्वनि प्रदूषण बढाएर पर्यावरणलाई खलबल्याउने कोटिमा पर्छन् ।
छाता ओढेर हिँड्नेले सडक छेउबाट गडगडाउँदै मोटर वाहन गुज्रिँदा मात्र होइन, आकाशबाट ठूला हेलिकप्टर र जेट विमान गुज्रिँदा आफ्ना हातमा छाताको डण्डीको कम्पन अनुभव गर्छ । त्यस्ता कम्पनले केही दशकभित्र शहरका भवनहरूलाई हानी पुर्याउँछन् भने व्यक्तिका स्वास्थ्य, स्नायु र मुटुमा पार्ने प्रभावको अनुमान गर्न गाह्रो छैन ।
यो उपत्यकाको पर्यावरण प्रदूषणको अर्को गम्भीर स्रोततिर कमै ध्यान दिइएको देखिन्छ। आकाशका जेट विमान र सडकका रिकन्डिसन्ड भन्दै पैठारी गरिएका मोटर वाहनहरुबाट हुने विषाक्त धुँवा प्रवाह, ध्वनि प्रदूषण र उच्च शक्तिमानका विशद चुम्बकीय तरङ्ग मानव र भवनका स्वास्य तथा दीर्घायु निम्ति निकै हानिकारक हुन् । छाता ओढेर हिँड्नेले सडक छेउबाट गडगडाउँदै मोटर वाहन गुज्रिँदा मात्र होइन, आकाशबाट ठूला हेलिकप्टर र जेट विमान गुज्रिँदा आफ्ना हातमा छाताको डण्डीको कम्पन अनुभव गर्छ । त्यस्ता कम्पनले केही दशकभित्र शहरका भवनहरूलाई हानी पुर्याउँछन् भने व्यक्तिका स्वास्थ्य, स्नायु र मुटुमा पार्ने प्रभावको अनुमान गर्न गाह्रो छैन ।
पर्यावरणको वायुमण्डलीय प्रदूषणतिर विचार गर्दा सन्तोष गर्न सकिने कुनै ठाउँ पाइदैन । नेपालमा वायुमण्डल त्यति सारो प्रदूषित भइसकेको छैन भन्नेबाट निकट भविष्यमै त्यस्तो हुने छैन भन्न मिल्दैन । के कराण्ले समेत भने प्रदूषणका स्रोतलाई रोकथाम र अन्त्य गर्नुसट्टा त्यसको बृद्धिमा सघाउन हुने काम स्वयं सरकारी नीतिका कारणबाट समेत भइरहेछन् ।
काठमाडौं उपत्यकाको भूबनौट वायुको नियमित प्रवाह वा आवश्यकताको प्रतिकूल छ । यहाँको वायुमा आद्रता बढी मात्रा रहनु, कुइरोको अधिक्य तथा तापमान त्यही भूबनौटको कारणले हो भनी भूगोलशास्त्रीहरु भन्छन् । यस अवस्थामा यहाँको वायुमण्डलमा जे जति प्रदूषण वर्षेनी थपिँदै जान्छ, त्यसको यो उपत्यका बाहिरको इलाकामा विस्तार प्रसार निकै कम अनुपातमा हुन पाएर प्रदूषणको प्रभाव यही उपत्यकाभित्रै सीमित रहँदै यहीँ घनीभूत हुँदै जान्छ ।
परन्तु यी ठूला विषयतिर जानुभन्दा पनि आज निम्ति सानै सानै कुरातिर हेरौं । काठमाडौंका सडक किनाराका वालहरु सामयिक सफाइ नपाएर फोहोर मैलाले टम्म भरिएर रहने गर्छन् । अति नै भएदेखि ती सफा गरिँदा तिनमा जमेका फोहरहरु पेटीमा रास लगाइने र केही दिनपछि मात्र उठाइन चलन कसले चलाएको हो तर त्यस्तै छ । यो उपत्यकामा धूमप्रदूषणका श्रोत र बृद्धिबारे नेटिभिले फेरि चर्चा गरेको केही दिन भयो । बारम्बार भएका ती चर्चाले कुनै सामाजिक र सरकारी स्तरमा प्रतिक्रिया जगाउन नसकेको हुँदा त्यस्ता सबै प्रयासका उपयोगिता मनोरञ्जन जस्तामा सीमित भएका छन् । कतिसम्म मनोरञ्जन भने पोहोर जे कुरा गर्दै स्वयं गृहमन्त्रीले घन हानी सिंहदरवारका तीनतिरका पर्खाल भत्काउने कामको शुभारम्भ गरेका थिए गृहमन्त्री आफू राजदूत भएर अमेरिका गए तर सिंह दरवार भने उत्तर–पूर्व र दक्षिण फर्किएर ती सडकमा डाँको छोडेर रोइरहेछ। अरु कुरा के गर्नु १८४ लाख जनसंख्याको देशका ५–७ लाख निम्ति बाहक चर्पीका व्यवस्था नभएको, रोजिन्दा जीवन त्याग्ने दशपन्ध्र हजार पशु र मानवमा प्रदूषणरहित र व्यवस्थित समाधानको प्रबन्ध नगरिएको आजको अवस्थामा Environment लाई वातावरण भन्ने कि पर्यावरण तथा तत्सम्बन्धी मन्त्रालय स्वतन्त्र रहनुपर्छ कि अर्को कुनै मन्त्रालयसित गाँसिएर भन्ने सैद्धान्तिक कुरा उठाउनु सबै निरर्थक र बुद्धि तथा श्रोत साधनका अपव्यय मात्र ठहरिन्छन् । समाज, प्रशासन, बुद्धि, चिन्तन र संस्कार अठारौं शताब्दीमा रहँदा या देशमा प्रतिदिन हुने सूर्योदय मात्र एक्काइसौं शताब्दीको प्रथम दिवसतिनर बिनासित्ति लम्किरहेछ । ‘वातावरण’ भनेर गफ गर्दा र त्यसो गर्ने निम्ति विदेशबाट रकम प्राप्त भइरहनु नै पर्याप्त भइएपछि थप झन्झट गर्नु पनि किन ?
प्रतिक्रिया