इजरायलको टाउको दुखाइ बनेको हमास उसैको सन्तान !

यासेर अराफातको धर्मनिरपेक्ष र बामपन्थी सङ्गठन पिएलओविरुद्ध इजरायलले हमासलाई जन्माएको थियो !

हमासका लडाकुहरु

केही दिन यता पश्चिम एसियामा प्यालेस्टाइनी प्रतिरोध संगठन हमास र इजरायलका बीचमा घमासान युद्ध चलिरहेको छ। त्यो युद्धको बाछिटाबाट सम्पूर्ण विश्व नै प्रभावित भएको छ। यसबाट हाम्रो देश नेपाल पनि अछुतो छैन। दशजना नेपाली युवाहरु अनाहाकमा यो युद्धमा मारिएका छन्। यो युद्ध हमास र इजरायल बीच मात्र सीमित नरहेर अझ व्यापक रुपमा क्षेत्रिय युद्धको रुपमा फैलिने खतरा बढ्दै गएको छ।

इजरायल र प्यालेस्टाइनबीचको यो युद्धको जरा धेरै गहिरो छ। यसको पछाडि ऐतिहासिक र सभ्यताजन्य कारणहरु रहेका छन्। सयौं र्ष पुरानो यो लडाइँका अनेकौं आयामहरु छन्। हरेक चरणका संघर्षहरु अघिल्लोभन्दा झन् पेचिलो बन्दै गरिरहेको छ। यो छोटो लेखमा यस पटकको संघर्षको एउटा पक्ष हमासको बारेमा चर्चा गरिनेछ।

अरब र इजरायल बीच इजरायलको स्थापना भए यता पाच वटा ठुला युद्धहरु भएका छन्। ती युद्धहरु यस प्रकार रहेका छन् ;

 १. पहिलो अरब- इजरायल युद्ध १९४८

२. स्वेज नहर युद्ध १९५६

३. ६ दिने युद्ध १९६७

४. योम किपुर युद्ध १९७३

५. लेबनान माथि आक्रमण १९८२

यी सबै युद्धको केन्द्रमा प्यालेस्टाइन रहेको थियो जुन आफैमा अस्तित्वको लडाइँमा लामो समयदेखि सहभागी छ

यासेर अराफात । तस्विर: CNN

त्यस बखत रहेका प्यालेस्टाइनी समुहमध्ये सबै भन्दा प्रखर थियो फ़तह। यो संगठन सन् १९५९ मा इजिप्टमा प्यालेस्टाइनी विद्यार्थी नेता यासेर अराफातको नेतृत्वमा स्थापना भएको थियो। फ़तह धर्मनिरपेक्ष र समाजवादी विचार बोक्ने संगठन थियो। 

अरब विश्व र प्यालेस्टाइन

१९५० को दशकसम्म अरब जगतमा अरब एकताको लहर थियो। त्यसबेला अरब एकताको नारा खुब चर्चित थियो। प्यालेस्टाइनीहरुको भाग्य र भविष्य अरब देशहरुमा निर्भर थियो। प्यालेस्टाइनीहरु विभिन्न देशहरुमा छरिएका थिए। उनीहरुको कुनै एउटा केन्द्रिय नेतृत्व र संगठन थिएन। उनीहरु साना साना भूमिगत प्रतिरोध आन्दोलनमा सीमित थिए। सन् १९६४ मा विभिन्न समुहमा छरिएका प्यालेस्टाइनी समुहहरुलाई एउटा मोर्चामा ल्याउन प्यालेस्टाइन मुक्ति संगठनको गठन गरिएको थियो। यो संगठनको वास्तविक हर्ताकर्ता प्यालेस्टाइनी रास्ट्रवादीहरु नभएर अरब शासकहरु थिए। त्यस बखत रहेका प्यालेस्टाइनी समुहमध्ये सबै भन्दा प्रखर थियो फ़तह। यो संगठन सन् १९५९ मा इजिप्टमा प्यालेस्टाइनी विद्यार्थी नेता यासेर अराफातको नेतृत्वमा स्थापना भएको थियो। फ़तह धर्मनिरपेक्ष र समाजवादी विचार बोक्ने संगठन थियो।  १९६७ को इजरायल- अरब युद्धपछि यासिर अराफात पिएलओका अध्यक्ष बने। त्यस्तै प्यालेस्टाइनीहरु माझ अर्को एउटा अर्को प्रभावशाली संगठन थियो पपुलर फ्रन्ट फर लिबरेसन फर प्यालेस्टाइनी (पिएफएलपी)।  जर्ज हबासको नेतृत्वमा रहेको यो संगठन मार्क्सवादी विचार बोक्थ्यो

१९७० को दशकको अन्त्य र ८० को दशकको सुरुवाततिर इजरायलले पिएलओको प्रभावलाई नियन्त्रण गर्नको लागि अतिवादी इस्लामिक संगठन खडा गर्ने विचार गर्यो। यसको लागि एक जना कम आँखा देख्ने  र अशक्त धर्मगुरु प्यालेस्टाइनी शेख मोहमद यासिन रोजियो । शेख मोहमद यासिनले १९७३ मा मुजमा अल -इस्लामिया नामक एउटा परोपकारी संस्था स्थापना गरेका थिए। शेख मोहमद यासिन गाजामा मुस्लिम ब्रदरहुड नामक संगठनका नेता पनि थिए। इजरायलले यसलाई बढावा दिन थाल्यो। यो संस्थालाई इजरायल सरकारले तत्काल आर्थिक सहायता पनि उपलब्ध गराउन थाल्यो। यही मुजमा अल -इस्लामियाबाट हमासको सिर्जना भएको हो। १९८७ मा शेख मोहमद यासिनले हमास गठन गरे।

१९७० को दशकको अन्त्य र ८० को दशकको सुरुवाततिर इजरायलले पिएलओको प्रभावलाई नियन्त्रण गर्नको लागि अतिवादी इस्लामिक संगठन खडा गर्ने विचार गर्यो। यसको लागि एक जना कम आँखा देख्ने  र अशक्त धर्मगुरु प्यालेस्टाइनी शेख मोहमद यासिन रोजियो ।

यसरी भयो हमासको स्थापना

माथि मैले उल्लेख गरेका तथ्यहरु कुनै षड्यन्त्रको सिद्धान्तका पटकथा होन। १९८० मा गाजाका सैन्य गभर्नर रहेका इजरायाली सेनाका ब्रिगेडियर जनरल इत्जाक सेगेभले अमेरिकी पत्रिका न्युयोर्क टाइम्सलाई आफूले धर्मनिरपेक्ष र बामपन्थी पिएलओलाई चुनौतीको रुपमा इस्लामिक आन्दोलनलाई आर्थिक सहयोग गरेर खडा गर्न मद्दत गरेको स्वीकार गरेका थिए। उनका अनुसार इजरायली करदाताको पैसाबाट ती संस्था र मस्जिद बनाउन बजेट दिने गरिएको थियो। त्यस्तै सन् १९७० र ८० को दशकमा गाजापट्टीमा धार्मिक मामिला हेर्ने इजरायली अफिसर एनभर कोहेनले पनि आफूले हमासको सिर्जना गर्नमा भूमिका खेलेकोमा खेद प्रकट गरेका छन्। उनले २००९ मा अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नललाई भनेका थिए- म बडो खेदका साथ भन्दै छु कि हमासको सिर्जना इजरायलले गरेको हो। इजरायलले इस्लामिक अतिवादी हमासलाई सुरुमै नियन्त्रण गर्नको साटो धर्मनिपेक्ष पिएलओविरुद्ध सन्तुलनको रुपमा प्रोत्साहन दियो। कोहेनले १९८० को दशकको मध्यतिर आफूभन्दा माथिल्ला निकायहरुलाई हमासले भविष्यमा निम्त्याउने खतराबारे चेतावनी दिदै रिपोर्टहरु लेखेर बुझाएका थिए। उनले इजरायलले गाजापट्टीमा फुटाउ र शासन गर्ने नीति लिएर इस्लामिक समुहलाई साथ दिएर  धर्मनिरपेक्ष प्यालेस्टाइनी समुहविरुद्ध लडाउने खेल खेल्नु हुँदैन भन्ने चेतावनी दिएका थिए। उनले सुझाव दिएका थिए कि हाम्रो प्रयत्न हमास नामक राक्षस हामीमाथि खनिनुभन्दा अगाडि नै नस्ट गर्न केन्द्रित हुनुपर्छ। एनभर कोहेनको कुराको कुनै सुनवाई भएन। हमास र इजरायल बीचको मेलमिलापको एउटै कारण थियो पिएलओ र यासेर अराफातप्रतिको दुबैको अपार घृणा। पिएलओ हमास र इजरायलको साझा शत्रु बनेको थियो। पिएलओको धर्मनिरपेक्ष र रास्ट्रवादी विचार यी दुवै शक्तिलाई मनपर्दैन थियो। यासेर अराफात हमासलाई इजरायलको सन्तान भन्ने गर्थे।

सन् १९७० र ८० को दशकमा गाजापट्टीमा धार्मिक मामिला हेर्ने इजरायली अफिसर एनभर कोहेनले इजरायलले गाजापट्टीमा फुटाउ र शासन गर्ने नीति लिएर इस्लामिक समुहलाई साथ दिएर  धर्मनिरपेक्ष प्यालेस्टाइनी समुहविरुद्ध लडाउने खेल खेल्नु हुँदैन भन्ने चेतावनी दिएका थिए।

आफ्नै कर्दको धारमा पर्यो इजरायल

हमास स्थापना भएकै साल १९८७ मा प्रख्यात प्यालेस्टाइनी जनविद्रोह इन्तिफादा सुरु भयो। त्यसको दुई र्ष पछि १९८९ मा मात्र हमासले इजरायल विरुद्ध संघर्ष सुरु गर्यो। त्यसपछि मात्र इजरायलले हमासतिर आफ्नो ध्यान केन्द्रित गर्न थाल्यो। तर त्यसबेला निक्कै ढिलो भसकेको थियो। १९९०९-९१ को खाडी युद्धपछि इजरायल र पिएलओ बीच बार्ता सुरु भएको थियो। बार्ताकै क्रममा पिएलओले इजरायलको अस्तित्वलाई मान्यता दियो। तर इजरायललाई मान्यता दिएकोमा हमासले पिएलओलाई गद्धारीको आरोप लगायो। १९९३ मा पिएलओ र इजरायल सरकारबीच ओस्लो सहमति भयो। दुवै पक्ष बीच इजरायल र प्यालेस्टाइन दुई रास्ट्रको अस्तित्व स्वीकार गर्ने सहमति भएको थियो।  हमासले ओस्लो सहमतिपछि इजरायल सरकार विरुद्ध आत्मघाती बम आक्रमणको लहर नै चलायो। अझ २००६ मा भएको प्यालेस्टाइनी आम निर्वाचनमा हमासले विजय प्राप्त गर्यो। त्यसलाई इजरायलले मान्यता दिएन। २००६ यता हमास र इजरायल बीच ५ वटा ठुला युद्धहरु भसकेका छन्। इजरायलले गाजापट्टीलाई जल, स्थल र हवाई नाकाबन्दी लगाएर पुरै खुला जेल जस्तो बनाएको छ।

हमासलाई इजरायलको अप्रत्यक्ष साथ

इजरायल र हमास बीच यस्तो शत्रुतापूर्ण सम्बन्ध भएपनि उसले हमासलाई परोक्ष सहयोग गर्न छोडेको छैन। उसले वेस्ट व्याङ्कमा रहेको यासेर अराफात र राष्ट्रपति महमूद अब्बासले नेतृत्व गरेको प्यालेस्टाइनी प्राधिकरणलाई पंगु बनाउने काम निरन्तर गरिरहेको थियो। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो अघिल्लो कार्यकालमा कतार सरकारलाई गाजापट्टीमा अरबौ डलर पठाउने अनुमति दियो। जस मध्ये आधा रकम हमासले प्राप्त गर्यो। यस विषयमा प्रश्न उठ्दा सत्तारुढ लिकुड पार्टीको बैठकमा बेन्जामिन नेतन्याहुले जवाफ दिएका थिए- पैसा हस्तान्तरणको नीति गाजा र वेस्ट व्यांकका प्यालेस्टाइनीहरुलाई विभाजित गर्ने रणनीतिको एक हिस्सा हो। प्यालेस्टाइनी राज्य स्थापनाको विरोध गर्ने सबैले कतारबाट हमासलाई पैसा दिने कामलाई समर्थन गर्नु पर्छ।

इजरायल र हमास बीच यस्तो शत्रुतापूर्ण सम्बन्ध भएपनि उसले हमासलाई परोक्ष सहयोग गर्न छोडेको छैन। उसले वेस्ट व्याङ्कमा रहेको यासेर अराफात र राष्ट्रपति महमूद अब्बासले नेतृव गरेको प्यालेस्टाइनी प्राधिकरणलाई पंगु बनाउने काम निरन्तर गरिरहेको थियो।

इजरायलले सुरुमा रास्ट्रवादी र बामपन्थी प्यालेस्टाइनी समुहहरुलाई सन्तुलन गर्न र नियन्त्रण गर्नको लागि हमासको सिर्जना गरे। पछि इजरायलका भित्रकै बेन्जामिन नेतन्याहुजस्ता दक्षिणपन्थी नेताहरू जो प्यालेस्टाइन राज्य नबनोस् भन्ने चाहन्थे, उनीहरुले हमासलाई परोक्ष रुपमा मलजल गरिरहे। अहिले त्यही हमास इजरायलको लागि भयानक चुनौती बनेर आएको छ। उसले इजरायललाई १९७३ यो योम किपुर युद्धपछि सबै भन्दा ठूलो क्षति पुर्याएको छ। अहिले इजरायल हमासको समुल नाश गर्नको लागि पुरै गाजापट्टीलाई ध्वस्त पार्न तत्पर बनेको छ। इजरायलले हमासलाई यो पटक उन्मुलन गरेपनि उसले फेरि हमास भन्दा अर्को भयानक शक्तिलाई सिर्जना गर्न सक्छ। इजरायलको आत्मघाती खेल जारी छ।

Title Photo: dw.com