विमान उडाउन पूजा गर्ने, विज्ञानको प्रवर्धन गर्ने निकायमा होम लगाउने कुराले के सन्देश दिन्छ?
विज्ञान शिक्षा मात्रै पर्याप्त छैन, वैज्ञानिक विश्वदृष्टिकोणको दर्शनको पनि प्रचारप्रसारको आवश्यक छ । तर यो कार्य कसले गर्ने ? यो कार्य नाष्टको हो कि होइन ? यो कार्य विश्वविद्यालयहरूको हो कि होइन ?
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Tulshidas-Science_hRFBO3sIcZ_3efzt8dkvpicxlgp0jvwmyq8i1av8lictveqwas7srw0wiziepcij7q4bi1q_zZ39C1PEx9_wjkmxjothqytpizwvw0tsbijms8jlzg5n6vyewxecqgbwsksbqhlfk5w1ywh.jpg)
भनिन्छ, स्याउको बोटबाट स्याउको दाना खसेको देखेर १६ औं शताब्दीमा इंगल्याण्डमा न्यूटन भन्ने मान्छे अचम्भित भए । बोटबाट स्याउको दाना खसेको घटना त्यसअघि अरू कसैले नदेखेको त पक्कै होइन । अरू अचम्भित भएनन्, न्यूटन अचम्भित भए । शायद न्यूटन अचम्भित भएको देखेर अरू न ज्यादा अचम्भित भए होलान् । किनकि, बोटबाट स्याउको दाना खस्नु कुन नौलो घटना थियो र ? त्यो त सधैंभरि हुँदै आएको घटना नै थियो क्या रे ! माथिबाट तल खस्नु त बस्तुको धर्म नै हो ।
तर न्यूटनलाई के कुराले चिमोट्यो भने, 'ठीक छ बस्तु माथिबाट तल खस्नु बस्तुको धर्म हो, तर तलबाट माथि जाने चाहिँ बस्तुको धर्म किन हुन सकेन ? यही कुरालाई तर्क-वितर्क गरी अगाडि जाँदा उनी गुरूत्वाकर्षणजस्तो महत्त्वपूर्ण प्राकृतिक नियम पत्ता लगाउन पुगे र महान वैज्ञानिक कहलाउन पुगे ।
गुरूत्वाकर्षण प्रकृतिको नियम हो । त्यो नियम न्यूटनभन्दा अगाडि पनि लागु थियो र पछाडि पनि लागु छ । न्यूटनले पत्ता लगाएकोले समस्त मानव जगतले त्यो नियम थाहा पाए। त्यो नियम अनन्त कालदेखि प्रकृतिमा छ र अनन्त कालसम्म रहने छ । मान्छेले थाहा पाउनु र नपाउनुबाट त्यो नियममा कुनै असर पर्दैन ।
गुरूत्वाकर्षणमात्र होइन, समस्त प्राकृतिक नियमहरू मान्छेले जान्नु र नजान्नुबाट प्रभावित हुँदैनन् । ती नियमहरू मान्छेको चेतनाबाट स्वतन्त्र छन् । मान्छेहरू पृथ्वीमा सधैं रहँदै आएका होइनन् । पृथ्वीमा यस्ता पनि दिनहरू थिए, जुन दिनहरूमा मान्छे त के साना-साना जीवहरू पनि अस्तित्वमा थिएनन् । अरबौं वर्ष पहिले पृथ्वीको उत्पत्ति हुँदा यहाँ कुनै पनि जीव थिएनन्। तर गुरूत्वाकर्षणको प्राकृतिक नियम त्यतिखेर पनि अस्तित्वमा थियो । त्यस्तैगरी अन्य समस्त प्राकृतिक नियमहरू पनि अस्तित्वमा थिए । त्यतिखेर प्राकृतिक नियमहरू बुझ्ने मान्छे थिएनन्, अहिले छन्। फरक यतिमात्र हो ।
तसर्थ मान्छेको चेतनाबाट प्राकृतिक वा भौतिक पदार्थ विल्कुलै अलग वा स्वतन्त्र छ । चेतनाले त त्यसलाई थाहा पाउने र बुझ्ने मात्र गर्दछ । चेतनाको कारणबाट भौतिक यथार्थलाई जति बढी जान्न र बुझ्न सकिन्छ, त्यति नै बढी मान्छेले प्रकृतिलाई आफ्नो अनुकूल प्रयोग गर्नसक्छ ।
हिजो मान्छेलाई आकाशबाट पानी पर्नुको कारण थाहा थिएन, त्यसैले ऊ पानी पर्नुमा कुनै अलौकिक, जान्न र बुझ्न नसकिने शक्तिको हात देख्थ्यो । उसलाई पानी पर्नु अचम्मको कुरो थियो । तर आज मान्छेलाई पानी पर्नुको प्राकृतिक रहस्य थाहा छ, त्यसैले ऊ कुन बेला पानी पर्छ भन्न सक्छ ।
प्राकृतिक वा भौतिक यथार्थलाई थाहा पाउने र त्यसलाई मान्छेको जीवनपयोगी काममा उपयोग गर्ने शास्त्रलाई विज्ञान भनिन्छ । हो, विज्ञानले नै मान्छेलाई प्रकृतिका प्रत्येक रहस्यलाई उद्घाटन गर्ने काममा बाटो देखाउँछ । यो सत्य पत्ता लगाउने औज़ार हो, शास्त्र हो, विधि हो । यसले प्रकृतिका प्रत्येक नियमलाई पत्ता लगाई मानवोपयोगी नयाँ नयाँ प्रविधि तथा औजार आविष्कार गर्नको लागि पथप्रदर्शकको भूमिका खेल्दछ ।
हिजो मान्छेलाई आकाशबाट पानी पर्नुको कारण थाहा थिएन, त्यसैले ऊ पानी पर्नुमा कुनै अलौकिक, जान्न र बुझ्न नसकिने शक्तिको हात देख्थ्यो । उसलाई पानी पर्नु अचम्मको कुरो थियो । तर आज मान्छेलाई पानी पर्नुको प्राकृतिक रहस्य थाहा छ, त्यसैले ऊ कुन बेला पानी पर्छ भन्न सक्छ । पानी किन पर्छ, त्यसको कारण पनि बताउन सक्छ ऊ । पानी पर्नु उसको लागि अब कनै रहस्यको विषय रहेन ।
हिजो मान्छेलाई आकाशमा विजुली चम्कनुको कारण थाहा थिएन। त्यसैले उसले त्यसबारे विभिन्न मनगढन्त कथाहरू हाल्यो । तर विज्ञानले त्यसको रहस्य पत्ता लगायो र त्यसले बिजुली चम्केर चट्याङ्ग बर्सी अग्ला घरहरूमा पुग्ने क्षतिबाट बचाउने प्रविधिको आविष्कार गयो ।
आजको युग भनेको विज्ञानको युग हो विज्ञानले यो गयो, त्यो गयो भन्ने कुराहरू असंख्य छन् । विज्ञानले नै मान्छेलाई मोटरमा गुडायो, हवाईजहाजमा उडायो र रकेटमा चढाई चन्द्रमामा पुर्यायो । हिजो मान्छेलाई चन्द्र, सूर्य के हुन्, थाहा थिएन । उनीहरूले शक्ति मानी तिनीहरूलाई पूजा गरे । तर आज मान्छेले चन्द्रमामा पाइला टेकेर आइसक्यो । ऊ अब मंगल ग्रहमा पाइला टेक्ने तयारीमा छ ।
बीसौं शताब्दीमा आविष्कार गरिएको कम्प्युटरले त अहिलेसम्म आइपुग्दा उधुम नै गरिसक्यो । कम्प्युटरले के गर्न सक्छ होइन, अब के गर्न सक्दैन भन्ने प्रश्न गर्नुपर्ने समय आइसक्यो। कम्प्युटरले जे पनि गर्छ । घरायसी काममा मान्छेलाई सेवा गर्नेदेखि लिएर ठूलाठूला कारखाना चलाउनेसमेत काम अब कम्प्युटरले गर्न थालेको छ ।
सबै उपकरणहरूमा वैज्ञानिकहरूले प्राकृतिक नियमलाई बुझेर तरिकाहरू प्रयोग गरेका छन् । तिनीहरू आफ्नै नियममा चल्छन् । तर हाम्रो समाजको ठूलो हिस्सा ती उपकरणहरूलाई पूजा गर्छन् । तर ती उपकरणहरूको संचालन र पूजाबीच कुनै पनि सम्बन्ध छैन । पूजा गरेर ती उपकरणहरू चल्ने पनि होइन, पूजा नगरेर नचल्ने पनि होइन ।
तर विडम्वना, विज्ञानको यति ठूलो चमत्कारिक प्रगतिका बावजुद पनि हाम्रो समाजको ठूलो हिस्सा विज्ञानबाट बेखबर छ । उनीहरू विज्ञानले बनाएका बस्तुहरू प्रयोग त गर्छन् तर ती बस्तुहरू कसरी आए भन्नेबारेमा बेखबर छन् । वैज्ञानिकहरूले प्राकृतिक नियम पत्ता लगाएर त्यसलाई उपयोग गरी मोटर, रेडियो, टेलिफोन, टेलिभिजन, कम्प्युटर, मोवाइल आदिजस्ता उपकरणहरू आविष्कार गरी सर्वसाधारणको प्रयोगमा ल्याए । ती सबै उपकरणहरूमा वैज्ञानिकहरूले प्राकृतिक नियमलाई बुझेर तरिकाहरू प्रयोग गरेका छन् । तिनीहरू आफ्नै नियममा चल्छन् । तर हाम्रो समाजको ठूलो हिस्सा ती उपकरणहरूलाई पूजा गर्छन् । तर ती उपकरणहरूको संचालन र पूजाबीच कुनै पनि सम्बन्ध छैन । पूजा गरेर ती उपकरणहरू चल्ने पनि होइन, पूजा नगरेर नचल्ने पनि होइन ।
हरेक बस्तु वा घटना आफ्नै नियममुताविक चल्छन् र त्यो नियम नै ती बस्तु वा घटना संचालन हुनुको कारण हो । भौतिक नियम वा भौतिक कारणलाई पत्ता लगाएर नै बस्तु वा घटना सञ्चालनलाई बुझ्न सकिन्छ । विज्ञानले पत्ता लगाएको सत्य यही हो । भौतिक कारणविना कुनै पनि बस्तु वा घटनाको अस्तित्व रहन्न । यो सत्य नै विज्ञान हो। तर हाम्रो समाजको ठूलो हिस्साले बस्तु वा घटनालाई बुझ्दा कारण खोतल्ने गर्दैन । कसैले भनेको विश्वासको आधारमा बस्तु वा घटनालाई बुझ्ने गरिन्छ । कारणसहितको विश्वासले सत्यको नजिक पुऱ्याउँछ । कारण थाहा नपाई कसैले भनेको आधारमा गरिने विश्वासले सत्यबाट टाढा पुऱ्याउँछ । यो अन्धविश्वास हो । हाम्रो समाजको ठूलो हिस्सा अहिले यही अन्धविश्वासको सागरमा डुबेको छ ।
मान्छेको जीवनमा विज्ञानले जति स्थान पाउँछ, त्यति नै ऊ सत्यको नजिक पुग्दछ । अन्धविश्वास सत्यको शत्रु हो । विज्ञान प्रकाश हो भने अन्धविश्वास अन्धकार हो । जहाँ विज्ञान हुन्छ, त्यहाँ अन्धविश्वास भाग्दछ । विज्ञानले मान्छेलाई सिर्जना गर्न सिकाउँछ, अन्धविश्वासले मान्छेको सिर्जना रोक्दछ । त्यसैले त संसारमा जहाँको समाजमा विज्ञान घुसेको छ, त्यहाँ सिर्जनाको काम भएको छ, विकास भएको छ, जहाँको समाजमा विज्ञान घुसेको छैन, त्यहाँ सिर्जनाको काम कम भएको छ र त्यो समाज पछौटे छ ।
समाजलाई सत्य र सिर्जनाको बाटोमा हिँडाउन जनमानसको प्रत्येक पाइलामा विज्ञानलाई प्रवेश गराउनुपर्दछ । जनमानसले जति बढी आफ्ना जानकारीका बस्तु वा घटनाहरूको कारण थाहा पाउँछन्, उति नै बढी तिनीहरू अन्धविश्वासबाट अलग हुन्छन् । उनीहरू पानी पर्नुका कारणहरू थाहा पाउँछन् । घाम लाग्नुका कारण थाहा पाउँछन् । दिनरात हुनुका कारण थाहा पाउँछन् । रोग लाग्नुका कारण थाहा पाउँछन्, उनीहरू आदि आदि रहस्यहरू थाहा पाउँदै जान्छन् भने बत्ती बाल्दै जाँदा अन्धकार हट्दै गएजस्तै उनीहरूको जीवनमा विज्ञान पस्दै गएअनुसार अन्धविश्वास पनि हट्दै जान्छ । अन्धविश्वासलाई विरोध गरेर मात्र होइन, विज्ञानलाई प्रवेश गराएर मात्रै अन्धविश्वास हटाउन सकिन्छ ।
तर विडम्बना हाम्रो समाजमा अहिले पनि लेखपढ गर्न नजान्नेहरूमा मात्र होइन, जान्नेहरूमा पनि विज्ञानको प्रवेश न्यून छ । स्कूल कलेजहरूमा विज्ञानको पढाइ त हुन्छ, त्यसलाई व्यवहारिक रूपमा नै आत्मसात गराउने विधि र दृष्टिकोणको अभाव छ ।
अर्को कुरा, विज्ञान विषय पढ्नुमात्र पर्याप्त हुँदैन । विज्ञानलाई प्रयोगशाला र सूत्रमा मात्र सीमित राखेर मान्छेको जीवनमा विज्ञानले प्रवेश पाउँदैन । केही वर्षअगाडि मात्र नेपाल वायुसेवा निगमका इन्जिनीयरिङ्ग निर्देशक र महाप्रबन्धकले निगमको बोइङ्ग ७५७ जति बनाउँदा पनि बिग्रँदै, बन्दै गर्ने गरेकोले आकाश भैरव रिसाएको हो कि भनेर बोका बली दिएको अनौठो घटना छापामा आएको थियो । जसको जीवनमा अलिकति पनि विज्ञानले प्रवेश गरेको हुन्छ, उसलाई भित्र मनैदेखि के बोध भएको हुन्छ भने जेट विमानमा खराबी आउने वा नआउने र बोका बलीबीच कुनै साइनो छैन । ती इन्जिनीयर तथा विज्ञहरूले विज्ञान प्रविधि त पढे तर त्यसलाई आफ्नो चिन्तनमा प्रवेश गराउन सकेनन् । यस घटनाको सन्दर्भमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का पूर्व उपकूलपति एवं वैज्ञानिक डा. दयानन्द बज्राचार्य भन्छन्, “शिक्षित वर्गमा विद्यमान अन्धविश्वासको यो एउटा ज्वलन्त उदाहरण हो ।”
त्यस्तै गरी केही वर्षअगाडि मात्र अर्को एउटा अनौठो घटना पनि छापामा आयो । त्यो नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को परिसरभित्र होम गर्न लागिएको कुरो हो । देशमा विज्ञान र प्रविधिको विकास गर्न स्थापित त्यस संस्थाभित्र विज्ञानसँग कुनै साइनो नै नभएको र अन्धविश्वासी कार्य गरिएको घटनाले के सन्देश दिन्छ ? निश्चय नै यसले नाष्टभित्र अवैज्ञानिक र अन्धविश्वासी चिन्तनधाराले कब्जा गरेको देखाउँछ । अनि त्यस संस्थाबाट कसरी विज्ञान र प्रविधिको विकासको आशा गर्ने ? यस सवालमा नेपालका विज्ञानकर्मीहरू, वैज्ञानिकहरू तथा समाजलाई अग्रगमनको दिशामा लान चाहनेहरूले गम्भीर भएर सोच्ने कि नसोच्ने ? यो प्रश्न अहिले समयले सोधिरहेछ ।
एउटा कुरा के साँचो हो भने मान्छेमा वैज्ञानिक विश्वदृष्टिकोण नभइकन ऊ अन्धविश्वासबाट अलग हुन सक्दैन, चाहे त्यो विज्ञानको विद्वान नै किन नहोस्। यो कुरो विमानका इन्जिनियरले आकाश भैरव खुसी पार्न दिएको बोका बलीले पुष्टि गरिदिएको छ । त्यसैले हाम्रो समाजलाई अन्धविश्वासको दलदलबाट माथि उठाउन विज्ञान शिक्षा मात्रै पर्याप्त छैन, वैज्ञानिक विश्वदृष्टिकोणको दर्शनको पनि प्रचारप्रसारको आवश्यक छ । तर यो कार्य कसले गर्ने ? यो कार्य नाष्टको हो कि होइन ? यो कार्य विश्वविद्यालयहरूको हो कि होइन ?
हाम्रो समाजलाई अन्धविश्वासको दलदलबाट माथि उठाउन विज्ञान शिक्षा मात्रै पर्याप्त छैन, वैज्ञानिक विश्वदृष्टिकोणको दर्शनको पनि प्रचारप्रसारको आवश्यक छ । तर यो कार्य कसले गर्ने ?
अर्को कुरो, समाज अहिले अन्धविश्वासको दलदलमा फसेको छ । यो समस्याको हल कसरी गर्ने ? यस्तै समस्यालाई हल गर्ने उद्देश्यले विभिन्न देशहरूमा आम जनतालाई विज्ञानको पहुँचमा पुऱ्याउन विभिन्न विज्ञान समाज'हरू जनस्तरबाट खोलिएको कुरो समाचारमा आएका छन् । पश्चिमा देशहरू तथा एशियाका अन्य देशहरू हामीभन्दा विज्ञान प्रविधिमा धेरै अगाडि बढेका देशहरू हुन् । तर ती देशहरूमा पनि आम समाजमा अन्धविश्वास व्याप्त छ । आम जनताको जीवनमा वैज्ञानिक विश्वदृष्टिकोणले प्रवेश पाएको छैन। यसै समस्यालाई समाधान गर्न नै ती देशहरूमा जनस्तरमा 'विज्ञान समाज' हरू खुलेका हुन् ।
त्यसैले हामीकहाँ पनि त्यस्ता 'विज्ञान समाज' हरू खोलिनु जरूरी देखिन्छ, जसले आम जनस्तरमा विज्ञानलाई सरल र जनताको भाषामा अनुवाद गरी पस्कोस्, जसले विज्ञानको जानकारीमार्फत् आम जनतामा वैज्ञानिक विश्वदृष्टिकोणको शिक्षा दिई उनीहरूलाई अन्धविश्वासबाट मुक्ति पाउने बाटो देखाओस् । यस्तो कार्यलाई हामी जन-विज्ञान भन्न सक्छौं । यो जन-विज्ञानको कामको जिम्मेवारी कसले लिने हो, अनुत्तरित नै छ ।
(२०६४ साल चैतको मूल्याङ्कन मासिकमा प्रकाशित यस लेखमा उठाइएका सवालहरु अझै पनि सामयिक र ज्वलन्त छन् । तिनले राज्यका नीतिनियामक निकायहरु तथा वैज्ञानिक चिन्तनका पक्षधरहरुसँग जवाफ खोजिरहेका छन् भन्ने हामीलाई लाग्छ । –दायित्वबोध)
![ग्रहका आकारसम्बन्धी केही रमाइला तथ्यहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Planet%2520size%2520comparision_q1PjHpOiRJ_r1606svicsx1mtru40vz8twsvjt9ka0qls0xdm7d9iwad0xegbbjpdoxapeo_AIXx9fziC9_bmcvhlzt9jt8iegeg9imjih41vcntwdwrqki8pi0n8jmbdhzkqcleioecj3a.jpg)
ग्रहका आकारसम्बन्धी केही रमाइला तथ्यहरु
![भूउपग्रहका विरुद्ध लेजर हतियारयुक्त पनडुब्बीको प्रयोग गर्न सकिने](https://snowberry.prixacdn.net/media/gallery_folder/starlink%2520satalite_XUJNkGeLpx_eqftj5mivkzhppfn1goaziqayqkr6gbfiudahw1g0beadntwzmqfhypzwtet_s9QSP43DbP_othgwtus55j42xxcandulinfrovh1fwyag9bt5dy52urn7rs4li5h00gvd16.webp)
भूउपग्रहका विरुद्ध लेजर हतियारयुक्त पनडुब्बीको प्रयोग गर्न सकिने
![ब्लाक होल: ब्रम्हाण्डको विचित्र क्षेत्र](https://snowberry.prixacdn.net/media/gallery_folder/Black%2520hole%2520imagine_iGHl02yOOj_dpmtgcaprnmtach5trarbxqybkbmrvi3xrl1pajmlz7elzroylrgrevxzwgi_Zr8u06xe8K_lnq7rkjnnvx5ccqsgwmbgeexyeop17tqxb1jvw2phau8egjzjwgpc2rocigm.jpg)
ब्लाक होल: ब्रम्हाण्डको विचित्र क्षेत्र
![विरुवालाई हरियो बनाउने क्लोरोफिल](https://snowberry.prixacdn.net/media/gallery_folder/chlorophlly_XxftgfuMkq_03qqgqbvymopkcnkppjwozw8lupav9w1ixrsxxiundpxvsi0eqienlzpwfus_1Hys3yz9Fl_gferfruhn0astqwbc48cicuaqaxew2c02kq8v3qsvduvpdjk5idzpa5x0jdf.jpg)
विरुवालाई हरियो बनाउने क्लोरोफिल
![कसले गर्यो प्लास्टिकको आविष्कार ?](https://snowberry.prixacdn.net/media/gallery_folder/Leo%2520Baekeland_rh9r5z5JQ7_5nwloxxgzfn9ryjntltpuavi8vwvn2toda7xm2xejyiplcw5kex0kko2t9d7_BoBewDxK2A_em4gbn3aoucreztayspilo4beauvovkvohbcbf68wxrurenikmwcwsnleibi.jpg)
कसले गर्यो प्लास्टिकको आविष्कार ?
![समलिङ्गीको आरोपमा नपुंसक बनाइएका महान वैज्ञानिक, जसले आत्महत्या गरे !](https://snowberry.prixacdn.net/media/gallery_folder/Alan%2520Turing_DbRw0SBQjs_epus53dhetlrp0xvwgboi5bhwxl3f4dqns8ilvgpcwmfdqxhfu7w65qaa0kq_r4zdScC9gR_h7xsmaelsjiiurazkldbratpp9nhaqdei1ietpljdqk7oc9jsgkguigphuhp.jpeg)
समलिङ्गीको आरोपमा नपुंसक बनाइएका महान वैज्ञानिक, जसले आत्महत्या गरे !
![आणविक हतियार हैन, सबैभन्दा ठूलो आम विनासको साधन त मान्छे !](https://snowberry.prixacdn.net/media/gallery_folder/save%2520earth_aWSigzox92_uxcz8wfvev3szfpwnsgnekkhl6j0xhvb172riodtl9bpflipvela7nfluedu_LS8CiNzz54_0lqpmdffegqujyljmv6jxdmcxsilsqbjgeafahxfeupsfseujxg4cox1fuy3.jpg)
आणविक हतियार हैन, सबैभन्दा ठूलो आम विनासको साधन त मान्छे !
![के ब्रम्हाण्डको पनि आयु सकिनेछ ?](https://snowberry.prixacdn.net/media/gallery_folder/universe_SyLXucRCTS_i1tjppqdziazewy2vv3zl2ocdrntiak80qtclldfqszofyeszwwwq1j3zoec_ORVUkkDhNi_k76bja2znmcdfep9fdg12bw1ioqcylmwazenc4iawangvpmtaewjnudyjuuo.jpg)
प्रतिक्रिया