नायक र नायकत्वको खोजी !

भरखर भरखर भूमिगत जीवनबाट शान्तिपूर्ण राजनीतिमा होमिन आइपुगेका प्रचण्डसँगको अन्तर्वार्तामा उनलाई सोधेको थिएँ– तपाईंलाई मनपर्ने फिल्म कुन हो ?

उनको उत्तर थियो– नायक ।

अभिनेता अनिल कपुरको मुख्य भूमिका रहेको हिन्दी फिल्म नायक साँच्चै नै स्वैरकल्पनाको उम्दा नमूना हो । यथास्थितिवादी राजनीतिबाट वाक्कदिक्क भएका जनताका लागि अनिल कपुर त्राणहरणकर्ता बनेर देखापर्छन् । फिल्ममा पत्रकारको भूमिकामा देखिएका नायक अनिल कपुर परिबन्दले एकदिनको मुख्यमन्त्री बन्न पुग्छन् । राजनीतिज्ञहरुले वर्षौंसम्म गर्न नसकेका कामहरु फगत २४ घण्टाको छोटो समयावधिमा उनले फटाफट हल गरिदिन्छन् । उनको काम गर्ने तरिका रकेटको गतिमा छ । प्रचलन, परम्परा, विधि र नोकरशाही प्रक्रियालाई सोझै बाइपास गरेर, प्रचलित नियम, कानून र प्रचलनहरुलाई रद्दीको टोकरीमा फ्याँकेर उनी एकमना निर्णय गर्छन् । भ्रष्टाचार, बेथिति र कुशासनका विरुद्ध उनी निर्मम निर्णय गर्छन् र फैसला ठाउँको ठाउँ कार्यान्वयन गर्छन् । उनको त्यो व्यवहारले जनताबाट वाहीवाही पाउँछन् ।

यथार्थ जीवनमा सम्भव नै नहुने हदसम्मको दृश्यहरुले भरमार छ चलचित्र नायक । तर यथास्थितिका विरुद्ध विकल्प खोजिरहेका जनतालाई त्यो चलचित्र मनपर्छ । साधारणजनको त कुरै छाडौं, कुनै बेला जनयुद्धको नेतृत्व गरेका तथा अहिले सत्ताको बागडोर सम्हालिरहेका हाम्रा प्रधानमन्त्रीलाई समेत प्रभावित पार्न सफल हुन्छ त्यो चलचित्र नायक ।

०००

यथास्थितिका विरुद्ध जब जनताका धैर्य र सहनशीलताले सीमा नाघ्छ, स्वभाविक रुपमा सर्वसाधारणहरु त्यसको विकल्प खोज्छन्, विकल्प रोज्छन् । अहिले नेपालको राजनीतिक परिदृश्यमा रवि लामिछाने, वालेन शाह, ज्ञानेन्द्र शाही, हर्क साङपाङहरुको उदयको पछाडिका विविध कारणहरुमध्ये एउटा मूल कारण त्यही नै हो । विकल्पको यो खोजी कुनै दीर्घकालीन सिद्धान्त, वाद वा आस्थाले तथा विगतमा कसले कस्तो योगदान गरेका थिए भन्ने कुराले अर्थात् इतिहासको व्याजले निर्देशित हुँदैन । यथास्थितिसँग वाक्कदिक्क भएका जनताका ठूलो हिस्साले त तत्काल र तत्क्षण परिणाम (रिजल्ट) चाहिरहेका हुन्छन्, धेरै हदसम्म हिन्दी फिल्म नायकका हिरो अनील कपुरको शैलीमा । भलै त्यो दीगो र दीर्घकालीन परिणाममुखी होस् वा नहोस् ।

हिजो पञ्चायती कुशासनबाट थिलथिलो बनेको जनताले विकल्पमा राजनीतिक पार्टीहरु रोजेका थिए । पञ्चायतका विरुद्ध राजनीतिक पार्टीहरु स्वयं एउटा लामो र कष्टसाध्य संघर्षमा होमिएका थिए र उनीहरु निश्चित सिद्धान्त, आस्था र वादबाट निर्देशित थिए । जनताले आआफ्नो आस्थाका आधारमा विभिन्न पार्टीहरुमा आफूलाई जोडेका थिए । पञ्चायतविरुद्धको निर्णायक आन्दोलनमा ती राजनीतिक पार्टीहरु होमिइदा जनताले पनि तिनलाई साथ समर्थन दिएका थिए । सोही कारण जण्ड पञ्चायती व्यवस्था भष्मीभूत भएको थियो ।

पञ्चायत देखेभोगेका पुस्ताहरु बुढा पुस्तामा रुपान्तरण भइसकेका छन् । मौजुदा पुस्ता लोकतन्त्र–गणतन्त्र देखे–भोगेका पुस्ता हुन्, जसलाई पञ्चायतविरुद्धको संघर्षका कुराहरु इतिहासका कुरा भइसकेका छन्, हिजोको संघर्षको गौरवगाथा र भोगाइहरु तिनका लागि ‘अरे’ को तहमा सामान्यकृत घटनाहरुमा परिणत भइसकेका छन् ।

पञ्चायतको आयु जति थियो पञ्चायत ढले यताका प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रहरुले त्योभन्दा बेसी समय व्यतित गरिसकेका छन् । अर्थात् पञ्चायत देखेभोगेका पुस्ताहरु बुढा पुस्तामा रुपान्तरण भइसकेका छन् । मौजुदा पुस्ता लोकतन्त्र–गणतन्त्र देखे–भोगेका पुस्ता हुन्, जसलाई पञ्चायतविरुद्धको संघर्षका कुराहरु इतिहासका कुरा भइसकेका छन्, हिजोको संघर्षको गौरवगाथा र भोगाइहरु तिनका लागि ‘अरे’ को तहमा सामान्यकृत घटनाहरुमा परिणत भइसकेका छन् । हिजोका घटनाहरुको गौरवगानले तिनलाई कमै छुन्छ वा कमै गौरवबोध गराउँछ । तिनले देखेभोगेका र अनुभूत गरेका कुराहरु त यही लोकतन्त्र–गणतन्त्रका हुन् । त्यही भोगाइबारेको अनुभूतिहरु नै उनीहरुबाट प्रकट हुन्छन्– सहमति वा असहमतिका रुपमा ।

यो भन्न कुनै साइत हेर्न वा ज्योतिषसँग सल्लाह गरिबस्नै पर्दैन, अहिलेको पुस्ताको बहुसंख्या लोकतन्त्र–गणतन्त्रका तौरतरिकाहरु र भोगाइसँग सन्तुष्ट छैनन्, मौजुदा राजनीतिक नायकहरुको कार्यशैली र व्यवहारबाट उनीहरु वाक्कदिक्क भएका छन् । हिजो पञ्चायतविरुद्धको संघर्षमा नायकत्व ग्रहण गरेका तथा परिवर्तनका एजेण्डाहरु लागू गराउन मुख्य भूमिका निर्वाह गरेका राजनीतिक दलका बहुसंख्यक नेताहरु आमजनताको नजरमा पूराका पूरै खलनायकमा रुपान्तरण भइसकेका छन् । पुराना पुस्ताका नायकहरुमाथिको जनताको आस्था, भरोसा र विश्वास करिब करिब टुटिसकेको छ । जिब्रो नचपाइकपन भन्ने हो भने जनताका बहुसंख्यक हिस्सा नयाँ नायक र नायकत्वको खोजीमा छन् । त्यसैको परिणति हो– हिजोका नायकहरुलाई विस्थापित गर्छु भन्ने शैलीमा अघि बढेका तर परिक्षण हुन बाँकी नै रहेकाहरुमा पनि जनताले नायकको छवि देख्न थालेका छन्, तिनको नायकत्वमा देशले उन्नति र प्रगतिको फड्को मार्ने सपना देख्न थालेका छन् । सुसङ्गत र विधिपद्दतिभन्दा पनि तत्कालै लोकरिझ्याइँका उग्र कुराहरु बहुसंख्यकलाई प्रिय–रुचिकर बन्ने गरेको छ । यथास्थितिप्रति जनतामा पलाएको वितृष्णा र निराशाको दलदलमा मौलाएर त्यस्ता 'नवनायक'हरुले दीगो रुपमा पक्रने दिशाबारे जनतालाई कुनै मतलब छैन । मतलब छ त बस तत्काल र तुरुन्तै विकल्प दिन सक्ने छवि बनाएका नवनायकहरुको !

पुराना पुस्ताका नायकहरुमाथिको जनताको आस्था, भरोसा र विश्वास करिब करिब टुटिसकेको छ । जिब्रो नचपाइकपन भन्ने हो भने जनताका बहुसंख्यक हिस्सा नयाँ नायक र नायकत्वको खोजीमा छन् ।

इतिहास साक्षी छ– विगतका गौरवबोध र अपनत्वले मानिसलाई खासै प्रभावित गर्दैन जति प्रभावित तत्काल र तुरुन्तै प्रतिफल दिने क्रियाहरुले गर्ने गर्छ । पटक पटक देखिएकै र साबित भएकै कुरा हो, जब जब मानिसमा यथास्थितिप्रति आशा मर्छ, निराशा र वितृष्णा पैदा हुन्छ, तब विकल्पमा तानाशाह र सैनिक शासहरुको पनि उदय हुने गर्छ । हिटलरको दुर्दान्त उदय र विश्वका विभिन्न ठाउँहरुमा भएका सैनिक कुका घटनाहरु त्यसैका प्रतिनिधि उदाहरण हुन् ।

गम्नु पर्ने र खोतल्नै पर्ने कुरा के हो भने, किन आम मानिसहरुमा मौजूद राजनीतिक दल तथा तिनका नेतृत्वप्रति विश्वास र भरोसा टुटेको छ ? संघर्ष र बलिदानका लामो इतिहास बोकेका नेपालका राजनीतिक दलका नेताहरु किन जनताका नजरमा नायकबाट खलनायक बन्दै गइरहेका छन् ? किन राजनीतिक दलहरुका नेतालाई गाली गर्दा अधिकांश मानिसहरुलाई तुष्टिको अनुभूति हुन्छ र उनीहरुबाट तालीको पर्रा छुट्ने गर्छ?

उत्तर सजिलो छ । यो भन्न कुनै शास्त्रको ज्ञान राखिबस्नै पर्दैन । हिजो बलिदानी इतिहास कायम गर्ने नेताहरु एउटा निश्चित सिद्धान्तमा आस्था राख्थे, त्यो सिद्धान्तप्रतिको आस्थामा उनीहरु अविचलित थिए । ती सिद्धान्तले कोरेका गन्तव्यमा पुग्न, तिनलाई हासिल गर्न उनीहरु कटिबद्ध थिए । सोही कारण उनीहरुले जीवनलाई दाउमा राखेर कठीन संघर्षमा आफूलाई होमेका थिए । त्यही भएर पनि जनताको ठूलो हिस्साले उनीहरुलाई साथ समर्थन दिएका थिए ।

यतिखेर शासनसत्तामा रजगज गर्ने हैसियत बनाएका नेपालका राजनीतिक दलहरु तथा तिनका अधिकांश नेताहरुका लागि सिद्धान्त कुन चरीको नाम हो भन्ने भएको छ । आफ्ना जायज–नाजायज कर्महरुलाई सही साबति गर्न उनीहरु सिद्धान्तका तोत्र त जप्छन् तर जनताले थाहा पाइसकेका छन् कि उनीहरु 'बाघ आयो' भनेर झुक्याउने गोठालोकै कथा पुनरावृत्ति गर्दैछन् ।

तर यतिखेर शासनसत्तामा रजगज गर्ने हैसियत बनाएका नेपालका राजनीतिक दलहरु तथा तिनका अधिकांश नेताहरुका लागि सिद्धान्त कुन चरीको नाम हो भन्ने भएको छ । क्षणिक, तात्कालिक र व्यक्तिगत फाइदाका लागि उनीहरु सिद्धान्तलाई टुकुचाको गन्देनालामा बगाउन रक्तिभर पनि हिच्किचाउँदैनन् । आफ्ना जायज–नाजायज कर्महरुलाई सही साबति गर्न उनीहरु सिद्धान्तका तोत्र त जप्छन् तर जनताले थाहा पाइसकेका छन् कि उनीहरु 'बाघ आयो' भनेर झुक्याउने गोठालोकै कथा पुनरावृत्ति गर्दैछन् । भन्नलाई चाहिँ जनताका इच्छा, चाहनाको दुहाइ दिने तर यथार्थमा चाहिँ आफ्ना मनोगत इच्छाहरु तथा क्षणिक राजनीतिक नाफाघाटाका मोलमोलाइलाई लाद्ने, जनतामाथि थोपर्ने– नेतृत्वको यो पटके काइते व्यवहारलाई जनताले राम्ररी बुझिसकेका छन् । नेपालका अधिकांश नेताहरुले आफूलाई जनताका सेवक हैन, हिजोका राजतन्त्र शैलीकै शासक ठान्ने गरेका यथार्थले आम जनताको मनमस्तिष्कमा तीतो छाप छोडिदिएको छ । इमान्दारहरु राजनीतिबाट विस्थापित हुने र बेइमानहरु, आर्थिक रजगज गर्नेहरुले चाहिँ राजनीतिलाई कब्जा गर्दै जाने– यो कुराले जनतामा राजनीतिप्रति वितृष्णा जगाउने काम मात्रै गरिरहेको छ । हिजो जनताका टाउकोमा गिर खेल्ने निरंकुश शासकहरुका विरुद्ध लडेका नेपालका राजनीतिक दल तथा तिनका नेताहरुलाई जनताले यस अर्थमा साथ दिएका थिए र हुन् कि उनीहरुले जनताको सेवा गर्ने छन्, मुलुकको उन्नति र उत्थानमा आफूलाई समर्पित गरेका छन् । तर अहिले परिणाम उल्टो भइरहेको छ । ।हिजो निरंकुशताका विरुद्ध लड्ने नेपालका दलहरु आफैंमा निरंकुश र अत्याचारी बन्दै गइरहका छन् । उनीहरु निरंकुशत शासकका विरुद्ध जनताको शासन स्थापित गर्न होइन कि ती निरंकुश शासकहरुलाई विस्थापित गरेर तिनको ठाउँ ओगट्न मात्रै लडेका रहेछन् भन्ने खालको नमीठो छाप जनतामा छापिएको छ । हिजो निरंकुशताको बेलामा रजगज गर्ने युवराज–युवराजीहरुको काँचोवायु वर्तमानका नेताहरुको छोराछोरीमा देखिएको छ । उनीहरु नवयुवराज–युवराज्ञीको अवतारमा देखापरेका छन् । जुन कुराका विरुद्ध जनताले राजनीतिक दलहरुलाई साथ समर्थन दिएका थिए, सोही कुरा नयाँ रुप र शैलीमा अहिले देखापर्नु नै जनतामा देखापरेको वर्तमानप्रतिको निराशा र वितृष्णाको जड कारण हो । यही कारण, यतिखेर जनताको ठूलो हिस्सा नायक  र नायकत्वको खोजी गरिरहेका छन्

पार्टी नेतृत्वको जीवनशैली भुइँतहका जनतासँग पटक्कै  मेल नखानेगरी बदलिएर गएको छ । साँच्चै भन्ने हो भने भुइँतहका जनताको पहुँच र सम्पर्कबाट अधिकांश पार्टी तथा तिनका  नेताहरु टाढिइसकेका छन्

यतिखेर परिवर्तनका हिमायतीहरु, खटिखानेहरुको शासनसत्ता स्थापित हुनुपर्छ भनेर मान्नेहरुले गम्भीर रुपमा सोच्नैपर्ने सवाल भनेको राजनीतिक परिवर्तनका निर्णायक शक्तिका रुपमा स्थापित  शक्तिहरुको क्रमिक विस्थापन हो ।  पछिल्ला घटनाक्रमहरुलाई नियालेर हेर्ने हो भने परिवर्तनका हिमायती भनिएका पार्टीहरुका आधारभूत शक्तिका रुपमा खटिखाने वर्गका समूह छैनन्, उनीहरु क्रमशः विस्थापित हुँदै गइरहेका छन् । तिनका ठाउँमा अवसरवादी र ढुलमुले चरित्रका भनेर शास्त्रीय रुपमा भनिँदै आइएका मध्यमवर्गीय  शक्तिहरुले क्रमशः प्रभाव र कब्जा जमाउँदै गइरहेको छ । पार्टी नेतृत्वको जीवनशैली भुइँतहका जनतासँग पटक्कै  मेल नखानेगरी बदलिएर गएको छ । साँच्चै भन्ने हो भने भुइँतहका जनताको पहुँच र सम्पर्कबाट अधिकांश पार्टी तथा तिनका  नेताहरु टाढिइसकेका छन् । उनीहरुको कुरा सुन्ने, उनीहरुको मर्मलाई आत्मबोध गर्ने भनेकै उनीहरुसँगको सम्पर्क र सम्बन्ध निरन्तर रहनु हो । तर अहिले त्यो कडी टुटिसकेको छ । हुनेखाने वर्गको कब्जामा पार्टी–नेतृत्व पुग्नु र हिजो परिवर्तन–क्रान्तिका लागि गरिएका बलिदानहरु अपूरो–निरर्थक  जस्तै हुनुको नतिजा– भुइँतहका ठूलो हिस्सामा नैराश्यता बढेर गएको छ । उनीहरुमा विश्वासको संकट पैदा भएको छ । त्यसको प्रतिफल उनीहरु नयाँ नायक र नायकत्चको खोजीप्रति आकर्षित भएका छन् । हिजोका परिवर्तनकारी पार्टीहरुले आफ्नो स्वत्व गुमाउँदा स्वभाविक रुपमा उनीहरुको ध्यान र रुचि ‘नयाँ अनुहार’ तिर बढी आकर्षित भएका छन् । सैद्धान्तिक आधार र विश्वदृष्टिकोण स्पष्ट भइनसकेका नायकहरुको  आकर्षण बढ्नु तत्कालका लागि 'नैराश्यता' निस्कासन गर्ने एउटा बाटो त हुन सक्ला तर त्यसले मुलुकको दीर्घकालीन हिँडाइलाई सही दिशातिरै डोर्‍याउनेछ भन्ने कुरा चाहिँ सुनिश्चित छैन  ।