बन्दी अवस्थामै यसरी भएको थियो क्रान्तिकारी नायक चे ग्वेभाराको निर्मम हत्या
अमेरिकी सहयोगमा गरिएको एउटा भयानक युद्धअपराध !
Photo: www.economist.com
सन् १९६७, अक्टोबर ९ को दिन । बोलिभियाको एउटा ग्रामीण भेग ला हिग्वेराको माटोको पर्खाल भएको स्कुलको एउटा कक्षमा एकजना घाइते मानिसलाई राखिएको थियो । उनलाई वरिपरिबाट बोलिभियाका सैनिकहरुले घेरेर राखेका थिए । दिउँसोको करिब १ः१५ बजेतिर उक्त कोठामा बोलिभियाली सेनाका सार्जेन्ट मारियो टेरान प्रवेश गरे । उनी रक्सीको नशामा चूर थिए । उनलाई ती घाइतेको हत्या गर्न भनिएको थियो । टेरानले ती घाइते व्यक्तिमाथि शुरुमा त गाेली चलाउनै सकेनन् । उनकाे हात काँप्यो । तर घाइतेको ललकारसमेत सुनेपछि उनले बन्दुककाे ट्रिगर दबाएर अन्धधुन्ध गोली प्रहार गर्न थाले । तत्कालै ती घाइते व्यक्तिको प्राणपखेरु उड्यो ।
त्यसरी सैनिक कब्जामा निर्दयतापूर्वक हत्या गरिएका व्यक्ति अरु कोही थिएनन्, विख्यात क्रान्तिकारी चे ग्वेभारा थिए । उनीसँग पक्राउ परेका तथा अर्कै कोठामा बन्दी बनाइएका अरु चेका अन्य दुई साथीहरुलाई त्यही दिन केहीबेर अघि मात्रै त्यसरी नै गोली हानी हत्या गरिएको थियो । अर्जेन्टिनामा जन्मेका, क्यूबामा फिडेल क्यास्त्रोसँग मिलेर सशस्त्र क्रान्ति सफलतापूर्वक सम्पन्न गरेका तथा ल्याटिन अमेरिकाका अरु देशहरुमा पनि सशस्त्र क्रान्तिको दावानल सिर्जना गर्न हिँड्ने क्रममा बोलिभियाका अमेरिका समर्थित तानाशाह राष्ट्रपति जनरल रेने बेरियन्तोसको शासनविरुद्ध सशस्त्र संघर्ष गर्ने क्रममा पक्राउ परेका युद्धबन्दी चे र उनका साथीहरुको त्यसरी निर्मम हत्या गरियो ।
अन्तर्राष्ट्रिय कानूनको सिद्धान्तअनुसार, युद्धबन्दीको हत्या गर्न पाइँदैन । भीडन्तमा मारिएको अवस्थामा बाहेक, पक्राउ परिसकेपछिको अवस्था भनेको युद्धबन्दीको अवस्था हो । युद्धबन्दीको हत्या गर्नुभनेको युद्धअपराध हो । तर चे ग्वेभारालाई पक्राउ गरिसकेपछि र आफू चे ग्वेभारा हुँ भनेर परिचित गराइसकेपछि पनि उनको निर्मम हत्या गरियो ।
उक्त हत्यालाई बोलिभियाको तानाशाह सरकारले भीडन्तमा मारिएको घटनाको रुप दिन खोज्यो । चे ग्वेभारा भीडन्तको क्रममा मारिएको भनी स्थापित गर्न अमेरिका र उद्वारा समर्थित बाटिस्टा सरकारले ठूलै कसरत गर्यो । तर त्यो सफल भएन । विस्तारै चे ग्वेभारा भिडन्तमा मारिएको नभई बोलिभियाली सैनिकहरुको कब्जामा मारिएको तथ्य प्रकाशमा आउन थाल्यो ।
क्युबाको सफल सशस्त्र क्रान्तिको सफलता अनि ल्याटिन अमेरिकाका विभिन्न देशहरुमा चलिरहेको सशस्त्र संघर्षहरु अमेरिकाको लागि ठूलो टाउको दुखाइको विषय बनेको थियो । क्यूबाको क्रान्तिलाई रोक्न नसकेपछि अब अमेरिकाको ध्यान बोलिभियामा केन्द्रीत भएको थियो । त्यहाँ चलिरहेको सशस्त्र संघर्षलाई दबाउन उसले बाटिस्टा सरकारलाई भरपूर सहयोग गरिरहेको थियो । कतिसम्म भने, बोलिभियाको सैनिकको भेषमा अमेरिकी सैनिक अफिसरहरु नै पनि चेको खोजी अभियानमा सामेल थिए । सिआइएका विशेष अधिकारी फेलिक्स रोड्रिगेज त बोलिभियाली सेनाका क्याप्टेनको भेषमा कार्यरत थिए । सिआइएले आफ्नो पूरै ध्यान चेको खोजीमा केन्द्रीत गरेको थियो ।
चेको निर्मम हत्या तथा त्यसमा भएको युद्धअपराधबाट पिछा छुडाउन अमेरिकाले जेजस्ता तर्कहरु दिए पनि सत्य कुरा चाहिँ के हो भने, उनको हत्या अमेरिकाको निर्देशन र चाहनामै भएको हो । चेले बोलिभियामा थालेका क्रान्तिका विरुद्ध ठूलो धनराशी, सैनिक सहायता तथा भेष बदलेर नै सही प्रत्यक्ष मैदानमा उत्रिएका अमेरिकाले चेको जीवनरक्षा गर्न चाहन्थे होला भन्ने कुरा पचाउन सयौं बोतल पाचक खाए पनि गाह्रै पर्छ ।
स्वभाविक थियो– चेको निर्मम हत्या भएपछि त्यसको दोष अमेरिकामाथि लाग्यो । तर अमेरिकाले त्यसलाई स्वीकारेन । उसले बारम्बार चेको हत्या बोलिभिया सरकारको उच्च तहबाट आएको आदेशअनुसार भएको थियो भनेर प्रष्टिकरण दिइरह्यो । कतिसम्म भने, चेको हत्या भएको दुई दिनपछि नै अर्थात् ११ अक्टोबर १९६७८ मा वाल्ट ह्विटम्यान रोस्टोले सैनिक कब्जामा आइसकेका चेको हत्या ‘मूर्खता’ थियो भनी प्रतिक्रिया दिए । रोस्टो अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा मामिलासम्बन्धी विशेष सहयोगी थिए । यसरी अमेरिकाले आफूलाई चेको हत्याको पक्षमा नरहेको कुरा प्रदर्शित गर्न भरमग्दूर कोशिश गरिरह्यो ।
तर चेविरुद्ध परिचालित बोलिभियाली सेनाका विशेष दस्तामा क्याप्टेनको भेषमा रहेका तथा चेको हत्याकाका बेला त्यही प्रत्यक्ष सामेल फेलिक्स रोड्रिगेजले आफ्नो पुस्तक ‘स्याडो वारियरः द सिआइए हिरो अफ अ हन्ड्रेड अननोन व्याटल्स’ मा खुलासा गरे– उनलाई सिआइएका उच्च अधिकारीहरुले चे समातिए भने उनलाई जिउँदो राख्नका लागि सम्भव भएसम्म सबै उपायहरु गर्न’ निर्देशन प्राप्त भएको र आफूले चाहेको भए चेको जीवन रक्षा गर्न सक्ने स्थिति रहेको खुलासा गरे । साथसाथै उनले तर आफूले त्यसो नगरेको र चेको भाग्य बोलिभियाली सैनिकहरुकै हातमा छाडिदिएको’ कुरा पनि उल्लेख गरे । अर्थात् उनले पनि घुमाइफिराइ अमेरिकाले कुनै पनि हालतमा चेको हत्या गर्न नचाहेको र उनको हत्यामा अमेरिकाको हत्या नरहेको तथ्यलाई नै अघि सार्न कोशिश गरे ।
चेको निर्मम हत्या तथा त्यसमा भएको युद्धअपराधबाट पिछा छुडाउन अमेरिकाले जेजस्ता तर्कहरु दिए पनि सत्य कुरा चाहिँ के हो भने, उनको हत्या अमेरिकाको निर्देशन र चाहनामै भएको हो । चेले बोलिभियामा थालेका क्रान्तिका विरुद्ध ठूलो धनराशी, सैनिक सहायता तथा भेष बदलेर नै सही प्रत्यक्ष मैदानमा उत्रिएका अमेरिकाले चेको जीवनरक्षा गर्न चाहन्थे होला भन्ने कुरा पचाउन सयौं बोतल पाचक खाए पनि गाह्रै पर्छ ।
जनतासँग कटिएको छापामार संघर्ष
क्युबाको सफल क्रान्तिलाई चे विश्वका अरु भागहरुमा पनि फैलाउन र सम्पन्न गर्न चाहन्थे । उनी साम्राज्यवादका विरुद्ध अरु थुप्रै भियतनामहरु खडा गर्न चाहन्थे, जसले साम्राज्यवादलाई धूलो चटाओस्, विश्वभरिको उसको दबदबा र लूटतन्त्रलाई ध्वस्त पारिदिओस् र विश्वमा शोषणसहित समाजको बलियो उपस्थिति होस् । चेको बुझाइमा त्यो ल्याटिन अमेरिकामा तत्कालै गर्न सम्भव छ । त्यसैले सफल क्रान्तिपछिको क्यूबाको आरामको जीवन छाडेर उनी गुरिल्ला संघर्षको कठीन र कष्टसाध्य जीवन रोजेर बोलिभियातिर लागेका थिए । उनी भन्ने गर्थे– ‘क्युबाली क्राीन्तको उदारहण र पाठहरु ल्याटिन अमेरिकाका अरु देशहरुमा पनि लागू हुन सक्छ, संख्यामा थोरै भए पनि आम जनताको सहयोगमा मृत्यको भयलाई जितेको एउटा सानो समूहले पनि राज्यका एउटा नियमित सेनालाई पनि परास्त गर्न सक्छ ।’
ल्याटिन अमेरिकालाई नै क्रान्तिको अखडा बनाउने चेको सपना र त्यसअनुरुपका प्रयासहरु उद्घोष साम्राज्यवादको नाइके अमेरिकाको लागि खतराको घण्टी थियो । उसको रोक्ने अथक प्रयासका बाबजूद क्युबामा सफलतापूर्वक सम्पन्न क्रान्तिले उसको निद्रा, सुखचैन हरण गरिदिएको थियो । त्यसैले अमेरिकाले गुरिल्ला युद्ध प्रतिरोधी रणनीति नै तयार गरेर ल्याटिन अमेरिकाका आफ्ना पिठ्युँ सरकारहरुलाई भरमग्दूर सहयोग गरिरहेको थियो ।
क्रान्तिको अदम्य उत्साह अनि समग्र ल्याटिन अमेरिकालाई क्रान्तिको अखडा बनाउने सपना बोकेका चे ग्वेभाराले जायर, कंगो, अर्जेन्टिनामा पनि छापामार युद्ध सञ्चालन गर्ने तथा त्यहाँ चलिरहेका छापामार युद्धहरुलाई सघाउने काम गरेका थिए । तर त्यो सफल हुन सकेन । तर त्यसले उनको उत्साहमा कुनै कमी आएन । उनले क्यूबामा ल्याटिन अमेरिकाका क्रान्तिकारीहरुलाई छापामार संघर्ष, राजनीतिबारे प्रशिक्षण दिने तथा हातहतियार तथा सैन्य एवं सञ्चार बन्दोबस्तीका अन्य सहयोगहरु प्रदान गर्ने काम गरिरहे ।
ल्याटिन अमेरिकालाई नै क्रान्तिको अखडा बनाउने चेको सपना र त्यसअनुरुपका प्रयासहरु उद्घोष साम्राज्यवादको नाइके अमेरिकाको लागि खतराको घण्टी थियो । उसको रोक्ने अथक प्रयासका बाबजूद क्युबामा सफलतापूर्वक सम्पन्न क्रान्तिले उसको निद्रा, सुखचैन हरण गरिदिएको थियो । त्यसैले अमेरिकाले गुरिल्ला युद्ध प्रतिरोधी रणनीति नै तयार गरेर ल्याटिन अमेरिकाका आफ्ना पिठ्युँ सरकारहरुलाई भरमग्दूर सहयोग गरिरहेको थियो । यसक्रममा स्वभाविक रुपमा चेले गुरिल्ला युद्ध सञ्चालन गरिरहेको बोलिभियामा त उसको तनमन धन खनिने नै भयो । माथि पनि उल्लेख भइसकेको छ, उसले आफ्ना एजेन्ट तथा सैनिकहरुलाई नै बोलिभियाली सेनामा हुलेर चेविरुद्धको अभियानलाई सहयोग तथा नेतृत्व गरिरहेका थिए ।
अमेरिकाको तथा बोलिभियाका सरकारको मुख्य ध्यान, चासो र चिन्ता चेलाई समात्ने र मार्ने थियो । नोभेम्बर ४, १९६६ मा आफ्ना ५० जना छापामार सहकर्मीहरुका साथ बोलिभियाको छापामार युद्धमा समावेश भएका चे अमेरिका तथा बोलिभिया सरकारको लागि सबैभन्दा मुख्य तारो थियो । त्यसअनुसार चे र उनका छापामार साथीहरुको दस्ता खोज्नका लागि तयार गरिएको बोलिभियाली सेनाका दस्ताहरु सम्भाव्य ठाउँहरुमा परिचालन गरिएका थिए ।
चेको सफल नेतृत्वमा भएको गुरिल्ला युद्धको शुरुमा केही सफलताहरु हात लागेका थिए । मार्च २३, १९६७ मा पहिलो पटक गरेको छापामार कारवाहीमा उनीहरुले केही सफलता हासिल गरे । अझ जुलाइ ६, १९६७ मा सामाइपाता शहरमाथि गरेको छापामार आक्रमणमा त झनै ठूलो सफलता हात लागेको थियो । उनीहरुले पूरै शहर तथा सैनिक अड्डाहरु समेत केही समय कब्जा गरेका थिए । २० औं हजार मजदूरहरु छापामारहरुको समर्थनमा सडकमा उत्रिएर कारखानाहरु कब्जा गरेका थिए ।
स्वभाविक रुपमा बोलिभिया सरकारले सैनिक दमन गरेर त्यसलाई दबायो ।
चे तथा क्युबाली छापामारहरुको प्रत्यक्ष संलग्नतामा भएको उक्त छापमार युद्धले बोलिभियालाई क्युबाको उपनिवेश बनाउने धुँवाधार प्रचार गरिन थालियो । त्यसले छापामारहरुविरुद्ध आम मानिसहरुमा ठूलो भ्रम सिर्जना गर्यो । छापामारहरुले त्यसलाई चिर्न नसक्दा उनीहरुले आममानिसको साथ समर्थन पाउन सक्ने अवस्था कमजोर बन्यो ।
यो घटनाले बोलिभिया सरकार र अमेरिकाको निद्रा हरायो । बोलिभियाका वेरियन्तोस सरकारलाई अमेरिकाले खुलेरै आर्थिक सैनिक सहयोग दियो । उसले पानामा नहरस्थित आफ्नो सैनिक शक्तिलाई समेत बोलिभियाली सरकारको समर्थनमा परिचालन गर्यो । बोलिभियाको सैनिकलाई प्रत्यक्ष प्रशिक्षण दिने र हरसम्भव सहयोग गर्ने काम अमेरिकाले गर्यो । बोलिभियाली सैनिकको आवरणमा ठूलो संख्यामा अमेरिकी सेना तथा सैन्य विशेषज्ञहरु बोलिभियामा उतारिए । चे तथा क्युबाली छापामारहरुको प्रत्यक्ष संलग्नतामा भएको उक्त छापमार युद्धले बोलिभियालाई क्युबाको उपनिवेश बनाउने धुँवाधार प्रचार गरिन थालियो । त्यसले छापामारहरुविरुद्ध आम मानिसहरुमा ठूलो भ्रम सिर्जना गर्यो । छापामारहरुले त्यसलाई चिर्न नसक्दा उनीहरुले आममानिसको साथ समर्थन पाउन सक्ने अवस्था कमजोर बन्यो । जनताका बीचमा, जनताका साथ समर्थन पाएर अघि बढ्नुपर्ने छापामारहरुमाथि नै अब सुरक्षाको सवाल खडा भयो ।
जसोतसो छापामार युद्ध सञ्चालन गरिरहेका बोलिभियाली छापामारहरुले त्यहाँको जनताको मन जित्न सकेनन् । उनीहरुको विरुद्धमा छापामार युद्धको बलियो आधार बन्न सक्ने किसानहरु नै पनि उत्रिए । छापामारहरुलाई उनीहरुले विदेशी आक्रमणकारी ठाने र कतिपय बेला त प्रतिरोधमै समेत उत्रिए । जनताबाट कटिँदै गएको चेका छापामार समूहमाथि सबैभन्दा ठूलो संकट चाहिँ बोलिभियाली कम्युनिष्ट पार्टीले सहयोग गर्न छाडेपछि पैदा भयो । छापामारहरुको संख्या कमजोर भयो, हातहतियारको आपूर्ति रोकियो, रसदपानीको अभाव हुन थाल्यो । एकातिर यस्तो प्रतिकूल स्थिति, अर्कोतिर अमेरिकाको प्रत्यक्ष साथसहयोग र समर्थनमा बोलिभियाली सरकारले कस्दै लगेको सैनिक घेराबन्दीले छापामारहरुमाथि ठूलो संकटको स्थिति पैदा भयो । छापामारविरुद्ध किसानहरु नै सुराकी गर्न थाले, थुपै छापामार नेताहरु घेराबन्दीमा परेर मारिए, पक्राउ परे । १९६७ को सेप्टेम्बरसम्म आइपुग्दा चेको छापामार दस्ता निक्कै सानो र कमजोर बनिसकेको थियो ।
चेको गिरफ्तारी र हत्या
प्रतिकूल स्थितिसँग जुघ्दै चेको छापामार दस्ता बोलिभियाको क्वेब्रदा डे यूरो नामक खोंचमा आइपुग्यो । त्यो अक्टोबर ७ को दिन थियो । चेको छापामार दललाई एकजना किसान महिलाले देखिन् । उनले त्यो जानकारी बोलिभियाको सेनालाई नदिउन् भनेर थम्थमाउने तथा पैसा दिएर मुख बुचो लगाउने प्रयास गरियो तर सफल भएन । ती महिलाले दिएको सूचनाको आधारमा सोही रात किसानहरुको एक हुल त्यस स्थानमा आइपुगे र सेनालाई खबर गरे । छापामार युद्धको लागि प्रतिकूल भूगोल अर्थात जंगल कम नांगा पहाडहरु भएको उक्त क्षेत्रबाट भाग्ने अवस्था नरहेपछि छापामारहरुले प्रत्याक्रमणको तयारी गरे । छापामारहरुलाई घेर्दै आइरहेको बोलिभियाली सेनाको एउटा ठूलो टुकडीले अक्टोबर ८ को दिउँसो १ः३० बजेतिर चारैतिरबाट भयानक आक्रमण गर्यो । उक्त सेनाको नेतृत्व क्याप्टेन गेरी प्रादो सालोमनले गरेका थिए । सीमित गोलीगठ्ठा, जनशक्ति र रसदका बाबजूद छापामारहरुले उच्चमनोबलका साथ प्रत्याक्रमण गरे । तर बोलिभियाली सैनिकहरुको जनबल र सैन्य बलले जित्यो । धेरै छापामारहरु मारिए । चेको खुट्टामा गोली लाग्यो । गोली सकिइसकेको थियो । आफूलाई बचाउनका लागि चेले नजिकको खोचमा लुक्ने कोशिश गर्नुभयो तर त्यो सफल भएन । चे र उनका साथी बिल्ली एकै ठाउँमा पक्राउ परे । सालोमनले आफ्ना डिभिजन कमाण्डलर कर्णेल जेन्तेनोलाई कोडभाषामा खबर गरे– 500 Causado । त्यसको अर्थ थियो– चेलाई बन्दी बनाइयो ।
चेको खुट्टामा गोली लाग्यो । गोली सकिइसकेको थियो । आफूलाई बचाउनका लागि चेले नजिकको खोचमा लुक्ने कोशिश गर्नुभयो तर त्यो सफल भएन । चे र उनका साथी बिल्ली एकै ठाउँमा पक्राउ परे । सालोमनले आफ्ना डिभिजन कमाण्डलर कर्णेल जेन्तेनोलाई कोडभाषामा खबर गरे– 500 Causado । त्यसको अर्थ थियो– चेलाई बन्दी बनाइयो ।
बोलिभियाली सैनिकहरुले उनीहरुलाई पाता कसेर रातारात दुई किमि टाढा ला हिग्वेरा गाउँमा हिँडाएरै लगे ।
अक्टोबर ९ को बिहानै बोलिभियाली सेनाका उच्च पदाधिकारीहरु कर्णेल जेन्तेनो, सेनाध्यक्ष जनरल ओभाण्डो त्यहाँ आए । उनीहरुका साथ बोलिभियाली क्याप्टेनको भेषमा रहेका सिआइए एजेण्ड फेलिक्स रोड्रिग्वेज पनि थिए । क्याप्टेन गेरी प्रादो र क्याप्टेन मारियो भर्गास त्यहाँ पहिल्यै थिए । उनीहरु सबै मिलेर चेलाई लामो केरकार गरे । उनका डायरी र सरसामानहरु कब्जामा लिए । चेको फोटोहरु खिचे ।
औपचारिक रुपमा खुलासा भएका तथ्यहरुअनुसार, सोही दिन दिउँसो बोलिभियाको राजधानी ला पाजमा सैनिक जनरलहरु अल्फ्रेडो ओभान्डो र जनरल हुँआ जोसे टोरेस लगायत अन्य उच्च सैनिक अधिकारीहरु, सिआइएको केन्द्र र बोलिभियाली–अमेरिकी सैनिक प्रमुखहरुको बैठक बस्यो । त्यस बैठकले चे ग्वेभारालाई मृत्युदण्ड दिने निधो गर्यो । सोहीअनुसार राष्ट्रपति बेरियन्तोससँग उनीहरुले सल्लाह गरे र त्यसलाई पारित गराइयो । राष्ट्रपतिको आदेशलाई ला हिग्वेरामा कर्नेल जेन्तेनोले रक्सी खुवाएर मताइएका सैनिक मार्फत् कार्यान्वयन गराए ।
चेलाई गोली हान्न कोठाभित्र छिरेका मारियो टेरानले शुरुमा प्रहार नै गर्न सकेनन् । त्यसबेला चेले ती हत्यारालाई गर्जेर भनेका थिए– गोली हान् कायर ! तैले एउटा मान्छेलाई मार्दैछस् !’ चेले त्यसो भन्दै गर्दा टेरानले अन्धधुन्ध गोली प्रहार गरेका थिए ।
भनिन्छ, चेलाई गोली हान्न कोठाभित्र छिरेका मारियो टेरानले शुरुमा प्रहार नै गर्न सकेनन् । त्यसबेला चेले ती हत्यारालाई गर्जेर भनेका थिए– गोली हान् कायर ! तैले एउटा मान्छेलाई मार्दैछस् !’ चेले त्यसो भन्दै गर्दा टेरानले अन्धधुन्ध गोली प्रहार गरेका थिए ।
चेको छतविछत शवलाई त्यही दिन हेलिकोप्टरमा हालेर भ्यालेग्राण्डेको अस्पतालमा पुर्याइएको थियो । त्यहाँ उनको रक्ताम्य शरीरलाई पुसपास, धोइपखाली गरेर स्थानीय जनतालाई तर्साउनको लागि सार्वजनिक प्रदर्शन गरिएको थियो । उनको आँखा खुल्ला रहेको त्यो शवको फोटोको विश्वव्यापी प्रचार होस् भन्ने बोलिभियाका तानाशाही सरकार र अमेरिका चाहन्थे, ताकि त्यसले विश्वभरिका क्रान्तिकारीहरुमा हतोत्साह पैदा होस्, उनीहरु डराउन् ।
शवसँग पनि डराए !
२४ घण्टा शवको प्रदर्शनपछि रोकियो । चेको शवलाई वेपत्ता बनाइयो । उनको औपचारिक मृत्यु संस्कार हुन दिइएन । बोलिभिया र अमेरिकाको सरकारलाई डर थियो– चेको औपचारिक दाह संस्कार गर्न दिइयो भने त्यो विश्वभरिकै क्रान्तिकारीहरुको लागि तीर्थस्थल बन्नेछ । फलतः उनको अन्तिम संस्कारबारे सत्यतथ्य लुकाइयो । बोलिभियाका सेनाध्यक्ष ओभाण्डोले ‘अज्ञात ठाउँमा चेको लाश गाडिएको’ बयान दिए । त्यसका साथसाथै, चेको शव जलाएर खरानी तुल्याएको र अज्ञात स्थानमा गाडिएको कुराहरु पनि बाहिर प्रचार गरिए । त्यसबाहेक, उनको लाशलाई सिआइएले लगेको जस्ता हल्ला पनि फैलाइए ।
यसरी एउटा महान क्रान्तिकारीसँग अमेरिका र बोलिभियाका तानाशाहहरु जिउँदो छँदा मात्र हैन, निर्ममतापूर्वक मारिएपछि पनि भयभीत बने, उनको शवलाई वेपत्ता बनाए ।
फेला परिछाड्यो चेको अस्थिपञ्जर
चेको भौतिक शरीरलाई सधैंको लागि बेपत्ता बनाउन खोज्ने अमेरिकी र बोलिभियाली सरकारको षड्यन्त्र सफल हुन सकेन। हत्या गरिएको २८ वर्षपछि सन् १९९५ मा उनको शव कहाँ गाडिएको छ भनेर रहस्योद्घाटन भयो । अमेरिकी पत्रकार जोन ली एन्डर्सनले चे ग्युभाराको जीवनी लेख्ने क्रममा बोलिभियाली सेनाका जनरल मारियो भरगास सलिनासले त्यो रहस्य खोलिदिएका थिए। सलिनासले दिएको जानकारी अनुसार चे र उनका अरु साथीहरुलाई बोलिभियाको भ्यालेग्रान्ड़े विमानस्थलको धावनमार्ग मुनि गाडिएको छ भन्ने ज्ञात भयो। त्यही जानकारीको आधारमा चेको मृत्युको ३० पछि सन् १९९७ मा त्यो बिमानस्थलमा खन्दा ६ फिटमुनि चे र उनका ६ जना छापामार साथीहरुको अस्थिपन्जर भेटियो। खाकी रंगको ज्याकेटले छोपिएको एउटा हात काटिएको अस्थिपन्जर चेको भनेर पहिचान भयो। किनकि बोलिभियाली सेनाले चे मारिएको प्रमाणको लागि र चे नै हुन्न भनेर सुनिश्चित गर्नका लागि उनको एउटा हात काटेर सुरक्षित राखेका थिए र त्यसलाई सनाखतका लागि चेको जन्मथलो अर्जेन्टिनामा पठाइएको थियो । पछि चे को त्यो हात र उनको 'बोलिभिया डायरी' क्युबा सरकारले अथक प्रयास गरेर आफ्नो देशमा ल्याएको थियो।
सामग्री स्राेत:
'चे ग्वेभारा विश्वक्रान्तिका नायक' – राजेन्द्र महर्जन
'Who Killed Che How the CIA Got Away with Murder' – Michael Ratner and Michal Steven Smith
'Che: A Revolutionary Life' – Jon Lee Anderson
प्रतिक्रिया