अन्धविश्वास फैलाउनका लागि शासक, पुरेत र राजनीतिक दलहरुको गठबन्धन
ज्ञान, विज्ञान र अन्धविश्वास
वैज्ञानिक द्वन्द्वात्मक भौतिकवादमा आधारित भएर, त्यसको आलोकमा समाजमा अन्धविश्वास समाप्त पार्न तथा वैज्ञानिक दृष्टिकोण बनाउनका लागि, समाजमा भुइँतहका मानिससम्म, उत्पीडित, शोषितहरुको जागरणको लागि भूमिका खेलेवापत सम्मानित हुन पाउनु मेरो लागि निक्कै ठूलो कुरा हो । यस्तो खालको सम्मान कार्यक्रम मैले नेपालमा सम्भवतः पहिलो पटक देख्दैछु ।
नेपालमा वैज्ञानिक समाजवाद, द्वन्द्वात्मक भौतिकवादलाई दर्शन मान्ने पार्टीहरु नभएका होइनन्, छ्यास्छ्यास्ती छन् । सत्ता, प्रमुख प्रतिपक्ष र त्यो वृत्तभन्दा बाहिर पनि त्यस्तै पार्टीहरु छन् । तर वैज्ञानिक दृष्टिकोण फैलाउनको लागि आफूले पनि प्रयत्न गर्ने तथा प्रयत्न गर्नेहरुलाई उत्साहित गर्ने खालको कुनै पनि किसिमका कार्यक्रमहरु उनीहरुबाट आएको मैले देख्दिनँ । यो नेपालको विडम्बना हो ।
वैज्ञानिक दृष्टिकोण ठूल्ठूलो कुरा गरेर थालिँदैन । यो सानो कुराबाट थालिन्छ । त्यसका लागि ससाना कुराहरु ख्याल गरिनुपर्छ । उदाहरणको लागि, कार्यक्रमहरुमा आसन ग्रहण गराउनु आफैंमा पनि अन्धविश्वास हो । मानिसहरु आसनमै छन् । त्यसले समयको सदुपयोग त हुँदैन नै, एउटा तह पनि खडा गरिदिन्छ– आसन ग्रहण गर्नेहरु र आसन ग्रहण गर्न नपर्नेहरु । यो तह किन खडा गर्ने ? ससानो अन्धविश्वासलाई हामीले समाप्त पार्न किन नसक्ने ?
अन्धविश्वास र सुधारका कार्यहरु हामीले घरबाट, आफूबाट नै थाल्नुपर्छ । मेरै परिवारबाट उदाहरण दिन्छु । घरमा छोराछोरी श्रीमान श्रीमती सबैजना सल्लाह गरेर कुनै पनि धार्मिक अन्धविश्वासहरु नमान्ने भनेर थाल्यौं । लामो प्रयत्न लाग्यो तर त्यो गर्न सफल पनि भइयो । ब्रतबन्ध गर्ने, गुफा राख्ने जस्ता कर्मकाण्डहरु केही पनि गरिएन । गर्दा त्यो सम्भव भयो ।
बुबाआमा मर्दा पनि हामीले श्राद्ध गरेनौं । सट्टामा हामी पाँच जना दाजुभाइ र एकजना बहिनी मिलेर शंकरलाल–गणेशमाया ट्रस्ट खडा गर्यौं । पुरेतलाई दिने दान खर्चहरुको सट्टा गरिब विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गर्यौं र त्यसअनुसार हामी शहरमा बसे पनि आफू हुर्केको गाउँमा गएर सबैभन्दा गरिब १० कक्षामा अध्ययनरत विद्यार्थीलाई दिन थाल्यौं । शुरुमा २ जनाबाट शुरु भएको १२–१२ हजारको त्यो छात्रवृत्ति अहिले चारजनालाई दिन थालिएको छ । अन्धविश्वासबाट मुक्त हुनका लागि हामीले त्यो पनि एउटा उपाय हो कि भनेर थालेको प्रयास नै हो ।
यस्तै ससाना कामहरुबाट पनि हामी अन्धविश्वास विरुद्ध सुधारका कामहरु थाल्न सक्छौं । हरेक नेपालीहरुले, आआफ्नो ढंगले आआफ्नो घरमा यो गर्न थाल्नुपर्छ ।
नेपालमा वैज्ञानिक समाजवादका प्रखर वक्ता तथा पार्टीहरु छन्, तर ऊ प्रधानमन्त्री भएलगत्तै बालुवाटार पस्दा बोका काट्छ, कोही भैंसी पूजा गर्नतिर लाग्छन्, कोही चाहिँ कोरोनाले हाहाकार भएको समयमा, देशमा पैसा नभएको समयमा पशुपतिमा जलहरी हाल्न कुद्छ ।
अन्धविश्वास फैलाउनका लागि तीन किसिमको गठबन्धन आवश्यक हुन्छ । पहिलो, जनता अन्धतामै रहोस् भनेर चाहने शासकहरु । दोस्रो, त्यो शासकलाई मद्दत पुर्याउने पुरेतहरु र तेस्रो, राजनीतिक पार्टीहरु । यी तीनटा मिलेपछि मज्जाको अन्धविश्वास शुरुवात हुन्छ । नेपालमा वैज्ञानिक समाजवादका प्रखर वक्ता तथा पार्टीहरु छन्, तर ऊ प्रधानमन्त्री भएलगत्तै बालुवाटार पस्दा बोका काट्छ, कोही भैंसी पूजा गर्नतिर लाग्छन्, कोही चाहिँ कोरोनाले हाहाकार भएको समयमा, देशमा पैसा नभएको समयमा पशुपतिमा जलहरी हाल्न कुद्छ । यसो गर्नुको कारण त्यो अन्धविश्वास हो भनेर नेताहरुलाई थाहा नभएको होइन, उनीहरुलाई राम्ररी थाहा छ । तर यसो गरेपछि जनता पनि अन्धतामा लाग्छन् र आफू भ्रष्टाचारमा लाग्न पाइन्छ भनेर नै हो । त्यसकारण भ्रष्टाचार गर्न सोच्ने हरेक शासकहरुका लागि अन्धविश्वास भनेको डुङ्गा हो, साधन हो । जनता जति अन्धविश्वासमा लाग्छ, उत्ति भ्रष्टाचार मज्जाले गर्न पाइन्छ । त्यसो हुनाले अन्धविश्वास उनीहरुको लागि एकदमै जरुरी कुरा हुन्छ । सर्वसाधारणका लागि अन्धविश्वास जरुरी कुरा होइन । अनावश्यक रुपमा खर्च गराउने तथा दुःख दिने जम्मै कुराहरु त्यही अन्धविश्वासले गर्छ । त्यसकारण, अन्धविश्वास हटाउनका लागि वैज्ञानिक दृष्टिकोण विकास गर्नु जरुरी छ ।
त्यसैका लागि हामीले २०६३–६४ तिर नेपाल एफएम रेडियोमा २ वर्ष लगातार धार्मिक कार्यक्रमको विरोधमा जीवन जागरण कार्यक्रम चलायौं । त्यो कार्यक्रमबाट थुप्रै मानिसहरुलाई अन्धविश्वासबाट मुक्त हुनका लागि मद्दत मिल्यो होला भन्ने मलाई लाग्छ ।
बिहान ऋग्वेदमा के छ भन्ने कुरा गरेका थियौं । त्यो सकिनासाथ प्रधानमन्त्री सूर्यबहादुर थापाको फोन आयो । उहाँले ‘बेदबारे धेरै कुराहरु सुनेको थिएँ, तर यस्तो कुरा सुनेको थिइनँ । मलाई त त्यसले धरमर धरमर पार्यो’ भनेर भन्नुभयो ।
एकदिनको कुरा हो, बिहान ऋग्वेदमा के छ भन्ने कुरा गरेका थियौं । त्यो सकिनासाथ प्रधानमन्त्री सूर्यबहादुर थापाको फोन आयो । उहाँले ‘बेदबारे धेरै कुराहरु सुनेको थिएँ, तर यस्तो कुरा सुनेको थिइनँ । मलाई त त्यसले धरमर धरमर पार्यो’ भनेर भन्नुभयो । त्यसले देखायो, तत्काल र तुरुन्तै असर–प्रतिक्रिया पनि हुँदो रहेछ ।
तर यो अभियान एक्लैले चलाउने अभियान होइन । यो सामुहिक अभियान हो । हामी सबैले चलाउँदा सफल हुने अभियान हो । अन्धविश्वासी मानिसको संख्या घटाउने हो । एकैचोटी राजनीतिक पार्टीहरु, पुरेतहरु र विभिन्नथरि धार्मिक अन्धविश्वासमा लागेका मानिसहरु ठूलो संख्यामा लागेका छन्, हाम्रो साधारण प्रयत्नले त्यो घट्नेवाला छैन । हामी सबै लागिपर्यौं भने अन्धविश्वासका पछि लाग्नेहरुको संख्या दिनहुँ घटाउन सकिन्छ । त्यसको लागि मूल उपाय वैज्ञानिक दृष्टिकोणको विकास गर्नु नै हो ।
हरेक मानिसलाई वैज्ञानिक बनाउने अभियान भरखरै शुरुवात भएको होइन । वृहस्पतिको पालादेखि नै यो शुरुवात भएको हो । चार्वाक दर्शन वा लोकायात दर्शन भनेर हामी जुन भन्छौं, त्यो त्यतिखेरको अन्धविश्वासविरुद्धको ठूलो अभियान थियो । वृहस्पतिले चालेको त्यो अभियानलाई चार्वाक दर्शन भनेर नाम दिइन्छ तर त्यसको असली नाम लोकायात दर्शन हो । जैन दर्शन पनि महावीरले शुरुवात गर्नुभन्दा अगाडिदेखि नै शुरु भएका अन्धविश्वासविरोधी दर्शन हो । त्यो अनिश्वरवादी दर्शन पनि हो । बुद्ध दर्शन त अन्धविश्वासविरुद्ध अभियान चलाउन भनेरै आएको दर्शन हो । सांख्य दर्शन त नेपालकै कपिल मुनिले प्रतिपादन गर्नुभएको दर्शन हो । त्यो पनि अन्धविश्वास विरुद्धको दर्शन हो । यस्ता थुप्रै दर्शनहरु अन्धविश्वासविरुद्ध खडा भएका दर्शनका रुपमा आएका हुन् । नेपालमा दर्शनको खाँचो छैन । हामीले कतैबाट पैंचो ल्याउनु जरुरी पनि छैन । हामीसँग दर्शनहरुको थुप्रै खजाना छन् । त्यसलाई प्रयोग गरेर, हामीले अहिलेको अत्याधुनिक विज्ञानप्रविधिलाई मिसाएर अघि बढ्यौं भने अन्धविश्वासलाई धेरैहदसम्म परास्त गर्न सकिन्छ । त्यसका लागि लोभीपापी अगुवाहरुलाई पनि लक्षित गर्नुपर्छ । तिनीहरुले अन्धविश्वास हो भन्ने जान्दाजान्दै पनि अन्धविश्वास फैलाउँछन् । यो कुरालाई पनि हामीले लक्षित गर्नु जरुरी छ ।
नेपालमा दर्शनको खाँचो छैन । हामीले कतैबाट पैंचो ल्याउनु जरुरी पनि छैन । हामीसँग दर्शनहरुको थुप्रै खजाना छन् । त्यसलाई प्रयोग गरेर, हामीले अहिलेको अत्याधुनिक विज्ञानप्रविधिलाई मिसाएर अघि बढ्यौं भने अन्धविश्वासलाई धेरैहदसम्म परास्त गर्न सकिन्छ ।
अन्धविश्वासविरुद्धको अभियानलाई संसारव्यापी रुपमा जोड्न सकिन्छ । भारतमा संस्था नै बनाएर ठूलो अभियान चलाइरहनुभएको छ प्राडा नरेन्द्र नायकहरुले । भारतसँग यो अभियानलाई तुरुन्तै जोड्न सकिन्छ । अन्धविश्वासका विरुद्धमा, विज्ञानको पक्षमा खडा हुनेहरु संसारव्यापी रुपमा छन् । अहिले विज्ञानको युगमा हामी डराउनु पर्दैन । हिजो इन्द्रले पानी पार्छ भन्ने ठाउँमा अहिले मनसुनले पानी पार्छ भनेर त रेडियोले नै फुक्न थालिसकेको छ । यसले पनि मानिसलाई अन्धविश्वासबाट मुक्त पार्नका लागि भूमिका निर्वाह गर्छ । त्यसकारण, जति ज्ञान–विज्ञान फैलियो, जति मानिसको अज्ञानता हट्यो त्यति अन्धविश्वास खत्तम हुँदै जान्छ । त्यसको ठीक विपरीत जति अज्ञानता रह्यो, विज्ञान पछाडि पर्यो, उति अन्धविश्वासको राज हुन्छ ।
वंश–रत्न मेमोरियल ट्रस्टले असोज २० गते आयोजना गरेको कार्यक्रममा व्यक्त विचार
प्रतिक्रिया