बुङ्गमति पर्यटन महोत्सव किन ?

पहिलेझैँ यसपाला अलि विशिष्ट किसिमले बुङ्गमति पर्यटन महोत्सव मनाइदैछ । भदौ २९ र ३० गते गरी दुई दिन मनाइने यो महोत्सव किन ? बुङ्गमति किन जाने ? त्यहाँ के विशिष्टतम चीज छन् ? बुङ्गमति पर्यटनका लागि आम पाहुनालाई आमन्त्रित गर्दा पक्कै यस्ता कुराहरु मनमा खेल्न सक्दछ । यस आलेखमा यी विषयमा चर्चा गर्दैछु । बुङ्गमतिको कला, संस्कृति, पौरख र गौरवका प्रतिनिधि कथाहरु बुँदागत रुपमा भन्दैछु ।

१. ललितपुर जिल्लाको दक्षिण भेकमा रहेको सुन्दर वस्ती हो । यसलाई स्थानीय भाषामा बुङ्ग भनिन्छ । यसको अवस्थिति ८५.३० पूर्वी देशान्तर र २७.६२ उत्तरी अक्षांश र समुद्री सतहबाट १४०० मिटर माथी अवस्थित छ । यसको पूर्वमा सुनाकोठी, ठेचो, दक्षिणमा कार्यविनायक, उत्तरमा खोकना रहेको यस बुङ्गमतिमा सन् २०२१ को जनगणना अनुसार ७,८९४ बुङ्गमतिमा नेवार बाहुल क्षेत्र भएकोले यहाँको टोलहरुको अधिकांश नाम पनि नेवार भाषामै रहेको पाइन्छ । बुङ्गमति हाल ललितपुर महानगरपालिकाको वडा नं. २२ मा पर्छ ।

ऐतिहासिक र प्राचीन साँस्कृतिक स्थान बुङ्ग अर्थात बुङ्गमति किराँतकालदेखि नै स्थापना भएको देखिन्छ । यस स्थानमा स्थापित जलप्राणी (खाले पानी राख्ने भाडो) आजु अजि द्यो (मनकामना देवी) जुन मुःननीमा छ । मच्छिन्द्र बहालभित्रको बहिमा दशैंको अष्टमी, महानवमी, विजया दशमी र एकादशी चार दिन भव्य रुपमा जात्रा गरिन्छ । यस जात्राको अवधिमा धुस्वाँपो खाय्गु जात्रा (जुन तन्त्रमय साधनाबाट यस गाउँकै मान्छेमा हनुमानको शक्ति उत्पन्न भई स्वतःस्फूर्त रुपमा बाँसमाथि चढ्ने र ओर्लने गरी यस मच्छिन्द्र बहालका देवी देवताको मन्दिर घुमी सम्पन्न गरिन्छ ।

२. जात्रा सकिएपछि मुर्छित हुने र सो व्यक्तिलाई तन्त्र साधना पूजाआजा गरी ब्युँत्याइन्छ । महिस्पाल, माली, ज्यापु, पो, नाय् लगायत अन्य जातजाती रहेको यस बुङ्गमतिमा वडेमानको भैलद्यो विराजमान छ । जसलाई ह्यग्रीव भैरवको नामले परिचित छ । सो भैरवको अगाडि खोकना, थेचो, हरिसिद्धि अन्य ठाउँको देवी नाच देखाउन ल्याइन्छ प्रत्येक बाह्रवर्षे मेलाको । यसबाट पनि बुङ्गमतिको प्राचीनतम् इतिहास प्रष्ट हुन्छ । दशैको मूल जात्रा मनकामना माई (आजु अजि)को जात्रामा सलचा प्याखँ देखाइन्छ । जुन नाँच आजु अजि द्योको खत जात्रा सँगसँगै अगाडि बढाएर टोल टोलमा जात्रा गरिन्छ ।

सेतो मुकुण्डो, सेतै जामा लगाएर सेतै घोडा चढेर बाजाको तालमा नाचिन्छ । मच्छिन्द्र नाथको मन्दिरमा तिनचोटी परिक्रमा गरेपछि मात्र अन्य टोलमा अघि बढ्छ । खोकनाको जात्रामा दक्ष प्रजापतिको अश्वोमधयद्यको पुरातन कथा र सो कथामा छोडेको अश्व (घोडा) बुङ्गमतिमा आएको एकथरिको विश्वास छ भने अर्कोथरिको विश्वास अनुसार ह्याग्रीव भैरव स्वयम् घोडा भई दशैको जात्रामा मच्छिन्द्रनाथको परिक्रमा गर्दछ भन्ने कथा पनि पाइन्छ ।

३. बुङ्गमति बहिली स्थित थाना गणेश मन्दिर किराँतकालको उत्कृष्ट नमूना हुन् । मच्छिन्द्र बहालमा रहेको तगःचिवाह सेतो जसको गर्भभित्र पुरातन शास्त्रहरु राखेको छ भनि विश्वास गरिन्छ । यो लिच्छविकालीन नमूना चैत्य हो । बुङ्ग(कुवा)को पानी पिउनको लागि उपयोग गरिने र सो बाँकी पानीबाट कृषिमा सिंचाई प्रवन्ध गर्ने लिच्छविकालीन कृषि प्रणालीको अवशेषको रुपमा यहाँ ठाउँठाउँमा न्हवंगा च्वंगा, ख्वाय्चाबोंगा र अन्य कुवाहरु अझैपनि यथावत् छ । प्रथमपुर महाविहार भैरवको मन्दिर मच्छिन्द्रनाथको शिखाशैलीको मन्दिर, पातिंगा (तेतिस कोटी देवता रहेको चारपाटे खाल्डो) स्वयम् मच्छिन्द्र नाथ विराजमान भएको कर्ण महादिप टोल टोलमा निर्मित मन्दिर मूर्ति यहाँको प्राचीन काष्ठकला, प्रस्तर कलाका नमूना हुन् ।

लिच्छविकालीन शिलालेख मल्लकालीन शिलालेख मच्छिन्द्रनाथको ढोकामा लेखिएको स्वर्णपत्र जसमा मच्छिन्द्रनाथलाई बौद्ध लोकेश्वर तस्...व्रम्ह स्वरुपिणे मच्छिन्द्र नाथको बाह्रवर्षे लामो जात्रा जुन जात्रामा विविध जातजातीहरुको विशाल सहभागिताबाट सम्पन्न हुन्छ । बत्तीस लक्षणको मच्छिन्द्रनाथको रथ पनि बत्तीस हातकै निर्माण गर्ने परम्परा छ ।

बुङ्गमति भाग यस्तो अपूर्व संस्कृतिको संगम स्थल हो जहाँ काठमाडौबाट बज्राचार्य, शाक्य जातीहरु, भक्तपुरबाट श्रेष्ठ जाती ललितपुरबाट महर्जन र अन्य जाती ल्याई शहर बसाएको लिच्छविकालीन पाचौं शहर हो जसलाई बुङ्गमति ग्राम बुङ्गयुगी भनि उल्लेख गरेको पाइन्छ । यहाँ प्रत्येक जाती वा समुदायको आ–आफ्नै पोखरी रहेको पनि पाइन्छ । यहाँ दे पुखु, पो पुखु, नःपुखु, ढोकांपिन पुखु आदि पोखरीहरु रहेको छ । अधिकांश टोलहरुको नाम पनि नेपालभाषा मै छ ।

खान्न भुत प्राणनंकव सतलाछि, बहिली, ननि, चोक, पाउली, बाछो, वारप्वा, वरिननि, साचो, खलतुथि लख्वाया बुगले, ढोकापिने आदिमा रहेको पाटीपौवा सतल यस बुङ्गमतिको ऐतिहासिक धरोहर एवं गौरव हो ।

लिच्छविकालमा खेतीपाटी सामान्य हाते कुटिर उद्योगबाट सामान्य जनजीवनयापन गर्दै आइरहेको यस बुङ्गमतिमा समयको प्रवाह सँगै कला कौशल र अन्य व्यवसायमा पनि परिवर्तन आएको छ ।

५. मल्लकालिन समयमा स्थापना गरेको कुमारी विराजमान गर्ने परम्परा भोटो जात्रा मनकामना माइको जात्रा गुठी मच्छिन्द्रनाथको महास्नात (न्हव लुइगु) खिचा भू (कुकुरलाई भैरवको प्रतिक मानी राँगो काटेर कुकुरलाई एक पटक मासु खुवाउने चलन) यहाँको विशेषता हो । कृषि संस्कृतिमा बला पिइगु (घैयाको धान रोप्ने) लभा पिइगु (लसुन रोप्ने) वा पिइगु (धान रोप्ने) कनि पिइगु (मकै रोप्ने) दुसि पिइगु (कोदो रोप्ने) मल्टा पिइगु (खोर्सानी रोप्ने), सिन्याज्या, सामाज्या आदि पर्दछ । कृषि कार्य गर्दा बोलुकु (पर्म) जाने काम र हाते औजारले खेत खन्ने दल्ला फोर्ने खेत सम्म पार्ने चलन विस्तारै हटेर ट्रयाक्टरबाट खेत खन्ने काम शुरु भइसकेको

छ ।

प्नाचीन अवस्थामा जाति अनुसारको पेशा अपनाउँथ्यो भने वर्तमान समयमा पेशा पनि परिवर्तन हुँदै आइरहेको छ । खाद्य संस्कृतिमा थिलागाःमा थोमरी अक्षतिथिमा देवालीमा चौमरी, चतामरी सिनखःमा व चतामरी गुन्हुपुन्हिमा क्वाटी स्वन्तीमा ख्येँ सगं लिने चलन यथावत नै छ ।

६.बुङ्गमति अनेक जातजाती भएको सानो ठाउँ हो । यहाँ सनातन धर्म बौद्ध धर्मालम्बी र अन्य धर्म मान्नेहरु पनि छन् अथवा एकै व्यक्तिले भैलद्यो र बुद्धको पनि पूजा गर्दछ यसर्थ धार्मिक सहिष्णुता यहाँ छ । अनेकतामा एकता छ । मच्छिन्द्रनाथको रथ जात्रामा विभिन्न जातजातीले आफ्नो पुरानो कार्य विभाजन अनुसार नै कार्य सम्पन्न गर्दछ । पुतुवारले रथ बनाउन आवश्यक काठ ताच्छ, सुवाः महर्जनले न्हवं द्यःमा न्ह्वंगाःबाट घडामा पानी भरेर ल्याउछ । यसैगरी बज्राचार्य, शाक्यले मच्छिन्द्र नाथको पूजा आराधना गर्ने गर्छ ।

३१ पानेजु र स्वयम् मच्छिन्द्रनाथ सहित ३२ पानेजु यहाँको विशिष्ता हो । कटुवाल दह (कुरुवा)मा औंसीको भोलिपल्ट पारुको दिन जल, कलश लिई सुवा, मालिनी, बज्राचार्य र अन्य लावा–लस्कर सहित उपस्थित भई मच्छिन्द्रनाथको जीवन्यास गरेर ल्याउने चलन नानिचा नाँच, नेकु बाजा यहाँको प्रचीन नृत्य र संगीत हो । नानिचा नाँच फुलपातीको दिन प्रर्दशन गर्छ भने नेकुबाजा गुँला पर्वमा बजाएर विहार चैत्य र मन्दिरहरु परिक्रमा गर्दछ । नाय्खिं बाजा, काँ बाजा, धिमे भूज्या, बाँसुरी बाजा पनि यहाँको संस्कृति हो ।

७. वि.सं. २०७२ सालको महाभुकम्पले कतिपय सांस्कृतिक धरोहरको विनास भयो । सो सम्पदा र संस्कृति बचाउन सत्प्रयास भइरहेको छ । पौभा चित्र, दुईसय वर्ष अघिको जीवन्त संस्कृतिको प्रदर्शनी यस बुङ्गमति महोत्सवको शोभा हुनेछ । धिमेबाजा धिमेनाच, नायखिं बाज, नेकुबाजाको सांगेतिक तालमा आगन्तुकहरुलाई संस्कृतिको प्रभाव पार्न सक्छ । जीवन्त संस्कृति पुस्तान्तर गर्न र नव पुस्तामा कला संस्कृतिप्रति मोह जगाउन बुङ्गमति महोत्सव एक उदाहरणीय कार्य सावित रहने छ ।

८. बुङ्गमतिको स्थानीय व्यक्तिहरुलाई पनि यो बहुत अर्थोपार्जन हुने र आन्तरिक बाह्य पर्यटकलाई यस बुङ्गमतिको कला संस्कृतिको गहन ज्ञान हासिल गर्न टेवा बुङ्गमति पर्यटन महोत्सव २०८० ले गर्नेछ भनि विश्वास सवैमा जागेको छ । ललितपुर महानगरपालिकाले खोकना बुङ्गमतिलाई साँस्कृतिक क्षेत्र घोषणा गरिसकेको छ । फास्ट्रयाक योजनाले खोकना बुङ्गमति क्षेत्रको उर्वराभूमि सुरक्षाले हनुमानलाई निल्न दुस्प्रयास गरेको अवस्था छ ।

०००

खोकना बुङ्गमतिको जमिन फास्ट्रयाकले अधिकरण गरेपछि जमिनै नरहेपछि कसरी जीवन्त संस्कृति परम्परा बाँकी रहन्छ ? कुरा सोचनीय र गम्भीर छ ।

०००

यदि खोकना बुङ्गमतिको जमिन फास्ट्रयाकले अधिकरण गरेपछि जमिनै नरहेपछि कसरी जीवन्त संस्कृति परम्परा बाँकी रहन्छ ? कुरा सोचनीय र गम्भीर छ । यसर्थ यस्तो कला संस्कृति, पौरख र गौरवको स्थल बुङ्गमति खेकनालाई बचाई राख्ने हो भने वा नेवाः संस्कृतिलाई सदैव जीवित राख्ने हो भने फास्ट्रयाक योजनालाई रोक्नु जरुरी छ ।

९. तेस्रो पटक हुन लागेको बुङ्गमति पर्यटन सहकारीबाट आयोजित ललितपुर महानगरपालिकाको सहयोग एवं वडा नं. २२ र घरेलु महासंघ लगायत अन्य संस्थाको सहकार्यमा आयोजना हुन लागेको यस बुङ्गमति महोत्सवमा अन्य भन्दा पृथक र महत्वले भरिएको छ ।

यसर्थ, यस महोत्सवमा सवैलाई समान रुपमा सहभागी गरी सत्प्रयास गरिएको हुँदा आन्तरिक, वाह्य पर्यटकहरुलाई यस बुङ्गमति वासीहरुको मौलिक कला संस्कृति गौरव र पौरखको प्रदर्शन हुनेछ । जब नयाँपुस्तामा पुरातन संस्कृति प्रतिको मोह जाग्ने छ, जीवन्त संस्कृतिमा पुनः नव आशाका किरणहरु उदय हुनेछ । बुङ्गमति निकट खोकनाको सुन्दर हरियाली धानखेतको दृश्यावलोकन र परम्परागत तेलमिलबारे ज्ञान हासिल गर्न सक्नेछन् । रुद्रायणी देवीको दर्शन गर्दै हर्षले पुलकित हुनेछन् । कला संस्कृति पौरख र गौरवको अमित धाप प्रत्येक पर्यटकहरुको हृदयमा प्रगाढ रहनेछ ।