आज शनिवार

सत्तापक्षले हाँक दियो- हामीलाई जनताले म्याण्डेट दिएका छन् । यस्तो म्याण्डेट दिएका छन् कि हामी जे पनि गर्न सक्छौं । दिनलाई रात, रातलाई दिन गराउन पनि सक्छौं । दिन -बार फेरिदिन पनि सक्छौं ।”

मध्यान्ह हुँदा नहुँदै शहरभरि सनसनी फैलिइसकेको थियो । सुनेर कोही हाँस्थे, कोही उदेक मान्थे, कोही खिसीट्यूरी गर्थे, कोही व्यंग्य बोल्थे । कोही एकदमै गम्भीर हुँदै भन्थे- “साँच्चि, हामी के भयौँ हँ अचेल ?”

“जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिँड ।” अर्कोले खुईय्य सुस्केरा काढ्दै भन्यो ।

'काँही न भा'को जात्रा, हाँडीगाउँमा ।” अर्कोले विरक्तिको भावमा मुख खोल्यो ।

संसदमा कुटाकुट भएको, रोस्टम घेराऊ गरेकोसम्म त सुनिएको थियो, गते र वारको कुरामा मतदान भएको चाहिँ आजसम्म सुनिएको देखिएको थिएन, अब त्यो पनि देखिने भयो ।- भन्थे बुज्जुकहरू ।

रमाइलो हेर्न चाहनेहरू कोही संसद भवनतिर त कोही पार्टी कार्यालयतिर त कोही संसदीय दलको अफिसतिर दौडादौड गर्दै थिए । विहानको अधिवेशन सकिएर अपरान्ह सत्रको घोषणा गरेथे सभामुखले । सत्तापक्षका सांसदहरू समेत रनभुल्लमा परेथे । “ के गर्‍या हो, यस्तो !” भन्थे परस्पर । “आफू त आइँदैन अपरान्हको अधिवेशनमा !' भन्थे कोही- सचेतकलाई सुनाएर । 

मध्यान्हदेखि नै संसद परिसरभित्र चहलपहल शुरु भइसकेको थियो । संसद हाताको क्यान्टिन भरिभराऊ थियो । 'प्रवेश पास' पाउनेहरू त्यसै पनि खुसी थिए नै, नपाउनेहरू पनि खुसी नै थिए । 'भित्र न सही, बाहिरै बसेर हामी खबर बुझ्दै गरौंला । परिसर बाहिर हुनुभन्दा त यहीं राम्रो नि ! यसो मौका पर्दा ढोकाबाट चियाउनसम्म त पाइएला नि ! भन्थे ।

कोही आफ्ना सांसदलाई कुरिरहेका थिए, आउलान् र प्रवेशपास मागौंला भनेर ।

“हैन, सांसदहरू त काँ गएछन् ? कोही सांसद पनि घरमा छैनन् । यहाँ पनि छैनन्, न त संसदीय दलकै अफिसमा छन् । पार्टी अफिस त झन सुनसान छ ।” हस्याङ-फस्याङ गर्दै यता उता गरिरहेको एकजना कुर्ता-सुरुवालधारी अधिरतावश बोल्यो ।

“हैन, तिमीले सांसदहरूलाई के ऐरे- गैरे भन्ठान्या छौं कि क्या हो ! सांसद हुन् सांसद । यस्तो उस्तो जाबो ठाउँमा भेट हुनेवाला छैनन् । अरु बेला भए त कुन्नि कसो, संसद चल्या बेला र अझ खास प्रस्तावमा मतदान हुने अवस्थामा ।” उसले बुज्रुकी पाराले जवाफ दियो र चुरोटको लामो सर्को तानेर आकाशतिर धुँवा उडाउन थाल्यो ।

यत्तिकैमा चिल्ला गाडीहरूको लस्कर आयो । परिसरभित्र यताउति रल्लिरहेकाहरू जहाँ जो थिए सतर्क भए । मार्सलहरू गाडीबाट ओर्ले र दायाँ-बायाँ, अगाडि पछाडि सशंकित दृष्टि फ्याँक्दै खास किसिमले संसद भवनमा प्रवेश गरे ।

आज संसदमा मतदान हुँदैथियो– ऐतिहासिक प्रस्तावमा । ऐतिहासिक यस अर्थमा हैन कि यो इतिहास सम्बन्धी कुनै मामिला थियो, बरु यस अर्थमा कि आजसम्म यस्तो प्रस्ताव विश्वमै न त अहिलेसम्म कतै पेश भएथ्यो, न त छलफलै भएथ्यो । जुन कुरो कतै कहिल्यै भएकै थिएन, आज त्यो यहाँ अहिले एकैछिनपछि हुनै लागेको थियो ।

मुलुकमा संसदीय अभ्यास भर्खर-भर्खर शुरु भएको थियो । दुई तिहाई बहुमत ल्याएर अब्बल दर्जाको प्रजातान्त्रिक दलले सरकार बनाएको थियो । बहुमत दुई तिहाई थियो यसैले सरकार अविराम गतिमा तीव्रताका साथ अगाडि बढ्दै थियो, न दायाँ हेर्थ्यो न बायाँ, न पछाडि, न तल, न माथि, बढिरहेथ्यो अगाडि, सिधा अगाडि । यसरी बढ्दा उसका घोषणापत्र त पर छुटे छुटे, जनताले जुन कहर काट्नु पर्‍यो, त्यसको बयान गर्न प्रतिपक्षीहरूलाई साह्रोगाह्रो परिरहेथ्यो, त्यो पराकाष्ठालाई अभिव्यक्ति दिने शब्द संरचना फेला पार्न उनीहरू सकिरहेका थिएनन् । सरकार एकपछि अर्को, त्यसपछि अर्को गर्दै एक से एक जनविरोधी प्रस्तावहरू पारित गराउँदै थियो । प्रतिपक्ष बम्कँदै थियो- 'पाइँदैन, यस्तो मनोमानी गर्न पाइँदैन' भन्दै । सत्तापक्षले हाँक दियो- हामीलाई जनताले म्याण्डेट दिएका छन् । यस्तो म्याण्डेट दिएका छन् कि हामी जे पनि गर्न सक्छौं । दिनलाई रात, रातलाई दिन गराउन पनि सक्छौं । दिन-बार फेरिदिन पनि सक्छौं ।”

“हँ, लौ त !” प्रतिपक्षी पनि हतपत गल्न मान्दैनथ्यो । प्रतिपक्षको आँट के थियो भने ऊ सोच्थ्यो हामी जायज कुरा उठाउँदैछौँ । न्यायोचित मुद्दाहरू उठाउँदैछौं, त्यसैले जनता हाम्रा पक्षमा छन् । 

नभन्दै सत्तापक्षले आफ्नो साँढे स्वभाव देखाइहाल्यो । परिणामतः आज एकैछिनपछि सत्तापक्षले राखेको प्रस्तावमा मतदान हुने भएको थियो । यो प्रस्तावले सत्तापक्षका सांसदहरूमा पनि खैलाबैला ल्याएथ्यो । त्यसैले सत्तारुढ दलले आफ्ना सांसदहरूलाई पाँचतारे होटलमा लगेर ललाई फकाई गर्न थालेथ्यो ।

सत्तापक्षका सांसदहरू पनि धर्म-संकटमा परेजस्तो देखिन्थे । हैन आज शनिवार त हैन नि ! अनि 'आज शनिवार हो' भन्ने पक्षमा मतदान गर्दा 'जोकर हुइँदैन ?' सत्तापक्षका सांसदहरू भन्थे ।

“तिमीहरू पहिले दलका हौ, त्यसपछि सांसद । दलै नरहे तिमी सांसद रहँदैनौं । दलको अस्तित्त्व नरहे तिम्रो-हाम्रो पनि अस्तित्त्व रहँदैन । त्यसैले दलको अस्तित्त्वको रक्ष खातिर भने पनि, आ-आफ्नो विवेक थाती राखेर भए पनि, सो प्रस्तावको पक्षमा आँखा चिम्लेर मतदान गर्नुपर्छ'' भनी प्रमुख सचेतकले ह्वीप जारी गरे- तीन लाइनको ह्वीप ।

देख्दा देख्दै सभामुख पनि आइपुगे । सांसदहरू पनि आए- कडा सुरक्षा व्यवस्थाका साथ । नर्सरी विद्यालयका दूधे बालख झैँ लामबद्ध भई 'पर्यटक बस' बाट ओर्लदै संसद भवनभित्र प्रवेश गरे ।

संसदको कारवाही शुरु भयो ।

सभामुखले प्रस्ताव पढेर सुनाए ।

प्रस्तावकलाई आफ्नो प्रस्तावमा पुनर्विचार गर्न अनुरोध गरे । सत्तापक्ष आफ्नो अडानमा कायम रह्यो ।

यत्तिकैमा वित्तमन्त्री हस्यांग-फस्यांग गर्दै आए र सभामुखको अनुमति लिएर एउटा जानकारी प्रस्तुत गर्न भनी रोष्टममा उभिए र लिखित जानकारी पढ्न थाले ।

000

सांसदहरूका कान ठाडा भए । अनुहारमा चमक देखियो । सत्तापक्षका सांसदहरूले हातले टेबुल ठटाएर समर्थन जनाए । प्रतिपक्षीहरू मुसु-मुसु हाँसे ।

000

"सांसदहरूको असुविधा एवं कठिनाइलाई ध्यानमा राखी तथा बढ्दो महँगीलाई दृष्टिगत गरी आजैदेखि लागू हुने गरी अन्य दिनहरूको भन्दा शनिवार संसद चल्दाको दिनको बैठक भत्ता प्रति शनिवार एक महिनाको तलब दिने तथा शनिवारको बैठकले सांसदको घरपरिवारले पनि असुविधा व्यहोर्नु पर्ने हुँदा सांसदकी श्रीमती (वा श्रीमान् भए श्रीमान्) र छोरा वा छोरी दुबैलाई क्रमशः प्रति शनिवार शाखा अधिकृत र नायब सुब्वा सरहको तलब राहतस्वरुप दिइनेछ भनी सरकारले निर्णय गरेको छ । पेन्सन, उपदान, कार, मोटरसाइकल र आवासगृह सम्बन्धी आकर्षक सुविधाका लागि भोलि नै विधेयक प्रस्तुत गरिनेछ । धन्यवाद !”

सांसदहरूका कान ठाडा भए । अनुहारमा चमक देखियो । सत्तापक्षका सांसदहरूले हातले टेबुल ठटाएर समर्थन जनाए । प्रतिपक्षीहरू मुसु-मुसु हाँसे ।

अब मतदानको प्रकृया शुरु हुनु थियो । पहिले खुला मतदान भनिएको भए तापनि हालको परिस्थितिलाई हृदयंगम गरी सभामुखले मतदानको प्रकृया परिवर्तन गरिदिए ।

मतदान शुरु भयो– गोप्य मतदान । खुला मतदानमा ।सांसदहरुलाई अप्ठ्यारो पर्न सक्थ्यो, त्यसैले सभामुखले बुद्धि पुर्‍याए ।

मतगणना भयो ।

सभामुखले मतगणनाको परिणाम उद्घोष गरे- "हाम्रा माननीय सांसदहरूले आफ्नो विवेक प्रयोग गरी गर्नु भएको अमूल्य मतदानको गणनाबाट प्राप्त भएको परिणाम यस प्रकार छ- प्रस्तावको विपक्षमा परेको मतसंख्या शून्य रहेकोले र पक्षमा सम्पूर्ण मत परेको देखिएकोले संसदका सम्पूर्ण सदस्यहरूको सर्वसम्मतिबाट “आज शनिवार हो” भन्ने मत कायम भएको ठहरिन्छ र अरु वारहरू आनुसंगिक र परिमाणिक रुपले कायम रहनेछन् ।”

'खुसीयालीमा सत्तापक्षका सांसदहरू टेबुल ठोकाठोक गर्न थाले । प्रतिपक्षीहरू मुसुमुसु हाँस्दै मुखामुख गर्न लागे ।

त्यसपछि संसदको कारवाही विधिवत समाप्त भयो ।

रेडियो र टेलिभिजनले यो खबरलाई विशेष समय दिएर प्रसारित गर्‍यो । घर-घरमा मान्छेले खबर सुने र मुखामुख गरे ।

बुढाले बुढीलाई हेयो र भन्यो, “सुनिस्, आज शनिवार रे!”

बुढीले प्रतिवाद गर्दै बुढालाई उल्याई, “हन, के भा तिमी ! आज शनिवार रे ?”

छोराले बाबुलाई भन्यो, “आज शनिवार हो, पिकनिक जाऊँ ।" बाबु ट्वाल्ल हेरिरह्यो ।

दुलहाले विष्मात गर्दै दुलहीलाई भन्यो, “आज शनिवार र'छ, हिजोको 'गुड फ्राइडे' त छुट्यो नि !”

“धत् के भा सरहरू नि ! शनिवार पनि पढाउने ?” भन्दै छात्र-छात्राहरू झोला बोकेर ग्वार्र कक्षाबाट निस्के, हल्ला गर्दै- “आज शनिवार हो ।”

त, आज शनिवार हो । हाम्रा सांसदहरूका लागि । 

मूल्याङ्कन मासिक २०५२ माघ अङ्क ३५ (असोज, २०५२, काठमाडौं) ।