चीन–अमेरिका व्यापार युद्ध सघन बन्दै: चीन प्रत्याक्रमणमा उत्रँदा यसरी पछारिँदैछ अमेरिका !
अत्याधुनिक चिप्स र त्यो बनाउने मेशिन निर्यातमा अमेरिकाले प्रतिबन्ध लगाउँदा चीनले आफैं ७ नानोमिटरको चिप्स बनायो !
ताइची दर्शनमा एउटा भनाइ छ– भकुण्डोलाई जति बेसी जोडका साथ थचार्यो, त्यो उत्तिनै जोडका साथ उफ्रन्छ !
सम्भवतः यो भनाइ अहिले अमेरिकाले चीनमाथि लागू गरेको प्रतिबन्धहरुको सन्दर्भमा सटीक लागू भएको छ । अमेरिकाका प्रतिबन्धहरुलाई चिर्दै यतिखेर चीनले अत्याधुनिक सेमीकण्डक्टर (चिप्स) स्वदेशमै बनाउन सफलता हासिल गरेको छ । त्यसले चिप्समाथि लगाएको अमेरिकी नाकाबन्दी ध्वस्त भएको छ । त्यसबाहेक, अमेरिकाको प्रतिबन्ध र नाकाबन्दीको प्रतिरोधमा चीनले एकपछि अर्को प्रतिकारात्मक कदम चालेपछि अमेरिका आफैं अप्ठ्यारोमा पर्न थालेको छ ।
चिप्समाथिको अमेरिकी प्रतिबन्ध र चिनियाँ सफलता
प्रविधि र अर्थतन्त्रको क्षेत्रमा चीनको बढ्दो अग्रतालाई छेकबार हाल्न अमेरिकाले चीनमाथि कडा प्रतिबन्धको वमवर्षा नै गरेको छ । प्रविधिको क्षेत्रमा चीनले मारिरहेको छलाङ विश्वबजारमा अमेरिकाको एकछत्र राइँदाइँलाई चुनौती दिने निश्चित छ । त्यसैलाई रोक्नको लागि अमेरिकाले उन्नत खालका चिप्सहरु चीनलाई बेच्न प्रतिबन्ध लगायो । त्यसमध्ये सबैभन्दा ठूलो र कठोर छेकबार चाहिँ चीनलाई मोबाइल लगायत अन्य थुप्रै अत्याधुनिक उपकरणहरुमा प्रयोग हुने उन्नत खालका चिप्सहरु तथा त्यस्ता चिप्स बनाउने मेशिनहरु उपलब्ध गराउन लगाएको प्रतिबन्ध हो । यसका लागि उसले तत्सम्बन्धी प्रविधि भएका मुख्य देशहरु जापान, दक्षिण कोरिया र नेदरल्याण्डसमेतलाई आफ्नो पक्षमा पार्यो । अमेरिकी प्रभाव र दवाबका कारण अत्याधुनिक चिप्स बनाउने बनाउने डीप अल्ट्रा भायोलेट लिथोग्राफी मेशिनहरु ( deep ultraviolet (DUV) lithography machines) चीनलाई उपलब्ध गराउँदै आएको नेदरल्याण्डले मेशिन उपलब्ध नगराउने भयो । उसले एकपछि अर्को गर्दै चीनमाथि त्यस्ता मेशिनहरु निर्यातमा प्रतिबन्धका घोषणाहरु गर्यो ।
अमेरिकी प्रतिबन्धको सबैभन्दा ठूलो असर कालान्तरमा चिनियाँ फौजी हतियारहरुको अत्याधुनिकीकरणमा पर्ने वाला थियो । त्यसबाहेक अत्याधुनिक माइक्रोचिप्सहरुको प्रयोग हुने अन्य प्रविधिजन्य उत्पादनहरुमा पनि पर्दै जाने निश्चित थियो । तर तत्काल चाहिँ त्यसको प्रभाव चीनको विश्वप्रसिद्ध ब्रान्ड हुवावेमा पर्यो । चिप्सको निर्यातमा मात्रै हैन, २०१९ देखि अमेरिकाले हुवावेका मोबाइल फोन तथा अन्य प्रविधिहरुबाट अमेरिकाविरुद्ध जासूसी हुने र त्यसले राष्ट्रिय सुरक्षामा नै खतरा पैदा गर्ने तर्क दिँदै प्रतिबन्ध लगायो ।
०००
प्रविधिको क्षेत्रमा चीनले मारिरहेको छलाङ विश्वबजारमा अमेरिकाको एकछत्र राइँदाइँलाई चुनौती दिने निश्चित छ । त्यसैलाई रोक्नको लागि अमेरिकाले उन्नत खालका चिप्सहरु चीनलाई बेच्न प्रतिबन्ध लगायो । त्यसमध्ये सबैभन्दा ठूलो र कठोर छेकबार चाहिँ चीनलाई मोबाइल लगायत अन्य थुप्रै अत्याधुनिक उपकरणहरुमा प्रयोग हुने उन्नत खालका चिप्सहरु तथा त्यस्ता चिप्स बनाउने मेशिनहरु उपलब्ध गराउन लगाएको प्रतिबन्ध हो ।
०००
झनै शक्तिशाली बन्दै हुवावे !
व्यापक रुपमा फैलिँदो टेलिकम्युनिकेशन र मोबाइल प्रविधिको विश्वबजारमा चिनियाँ ब्रान्ड हुवावेले आफूलाई अकल्पनीय रुपमा विस्तार गर्दै गइरहेको थियो । त्यो कुरा अमेरिकालाई पच्ने कुरै भएन । फलतः उसले ‘हुवावेका प्रविधि र उत्पादनहरु मार्फत् जासुसी हुने’ खतरा देखाएर त्यसको प्रयोगमा प्रतिबन्ध लगायो । उसले फाइभ जी प्रविधिमाथि त प्रतिबन्ध लगायो नै हुवावेका मोबाइल फोनहरुमाथि पनि प्रतिबन्ध लगायो । हुवावेका कुनै पनि उत्पादनहरुमा अमेरिकी प्रविधिहरु उपभोग गर्न नपाउने बनाइयो । त्यसमा विशेष लाइसेन्सको व्यवस्थाबिना कुनै पनि सफ्टवेयर तथा हार्डवेयरहरु चलाउन नपाउने प्रतिबन्ध लगाइयो । एन्ड्रोइड प्लेटफर्मको सो मोबाइलका नयाँ भर्सनहरुमा एन्ड्रोइड सिस्टम नै चलाउन निषेध गरियो । त्यसमाथि थप, चिप्सको निर्यातमा प्रतिबन्ध लगाइयो र चिप्स प्रविधि प्रयोग हुने सबै चिनियाँ प्राविधिक उत्पादनहरुलाई ‘अन्त्य’ गर्ने भरमग्दूर कोशिशमा अमेरिका लाग्यो । स्वभाविक रुपमा अमेरिकाको यो कार्यलाई युरोपियन युनियन तथा उनका समर्थक जापान, दक्षिण कोरिया जस्ता मुलुकहरुले साथ दिए ।
त्यसो त चीनमा माइक्रोचिप्स बनाउने कम्पनी एसएमआइसी (Semiconductor Manufacturing International Corporation –SMIC) पनि छ । त्यसले अमेरिकी प्रतिबन्धअघि १४ नानोमिटरसम्मको मात्र चिप्स बनाउँदै आएको थियो । त्यसबाहेक, हुवावेको आफ्नै सेमिकण्डक्टर डिभिजन पनि छ । हाइसिलिकन नाम गरेको सो डिभिजनले हुवावेका सबै चिप्सहरुको डिजाइन गर्ने गर्छ । हुवावेका मोबाइलहरुमा प्रयोग हुने सेमिकण्डक्टर किरिन (Kirin) हो । हाइसिलिकनले ताइवानको चिप्स कम्पनी टिएसएमसीसँगको सहकार्यमा आफूलाई चाहिने अत्याधुनिक चिप्सहरु आपूर्ति गर्दै आएको थियो । तर अमेरिकी दवाबका कारण टिएमसीले पनि हुवावेको अडरहरु लिन छाडे । चीनसँगको व्यापार रोकिँदा हुने घाटा पूर्ति गर्न अमेरिकाले टिएमसीलाई ठूलै अनुदान समेत दियो । फलतः हुवावेलाई फाइभजी क्षमता भएका चिप्सहरु आपूर्ति गर्ने कोही भएन । फलतः हुवावेले फोरजी क्षमताका फोनहरु मात्रै उत्पादन गर्न थाल्यो ।
रोचक कुरा चाहिँ के रह्यो भने हुवावेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत रिचार्ड युले सन् २०२१ मा सार्वजनिक घोषणा गरेका थिए– 'हुवावेका चिप्र उत्पादनहरु सन् २०२३ मा विश्वबजारमा फेरि पूर्णरुपमा फर्कनेछ ।'
वास्तवमा हुवावेमाथिको प्रतिबन्ध अझ त्यसमाथि थप अत्याधुनिक माइक्रोचिप्स (सेमिकण्डक्टर) माथिको नाकाबन्दी एउटा कम्पनीको उत्पादन माथिको मात्रै प्रतिबन्ध थिएन । त्यसलाई चिनियाँहरुले सिङ्गो चीनविरुद्धको कदमका रुपमा लिए । राष्ट्रिय सुरक्षाका नाममा अमेरिकाले चीनका थुप्रै कम्पनीहरुमाथि लादेको नाकाबन्दीको पनि जवाफ दिनुथियो । फलतः चिनियाँ सरकारले फाइभजी क्षमताको चिप्स उत्पादन जसरी पनि गर्नका लागि चाहिने आवश्यक स्रोत साधनहरु हात फुकाएर जुटाइदियो । त्यसैपनि चीनको विशेषता नै अनुसन्धान र विकासमा हात फुकाएर लगानी गर्ने त छँदैथियो । हुवावेले त्यही लिगेसीलाई पछ्याएर अनुसन्धानमा पूरै होमियो । उसले सन् २०२२ मा मात्रै त्यसका लागि २३ विलियन अमेरिकी डलर खर्च गर्यो । अमेरिकी दवाब र नाकाबन्दीलाई ध्वस्त पार्ने एउटै उपाय– फाइभजी क्षमताको चिप्स चीनभित्रै उत्पादन गर्ने थियो । फलतः हुवावे टाउकोदेखि पुच्छरसम्मै बल लगाएर फाइभजी चिप्स उत्पादनतिर लाग्यो । चीनलाई राम्ररी थाहा छ– प्रविधिको सर्वोच्चतामा आर्थिक–सामरिक सर्वोच्चता हासिल गर्न सकिने वर्तमान विश्वव्यवस्थामा सेमिकण्डक्टरको उत्पादनमा आत्मनिर्भर हुनु कत्तिको जरुरी छ भन्ने कुरा । त्यसमा चीन सरकारले त्यहाँको चिप्स उत्पादन गर्ने तथा आफ्नो आंशिक लगानी भएको कम्पनी एसएमआइसीलाई पनि यसदिशामा परिचालन गर्यो ।
यसै सन्दर्भमा स्मरणीय कुरा के छ भने कुनैबला ब्रेन डेनको समस्या भाेगिरहेको चीनमा यतिखेर उच्च क्षमतावान मस्तिष्कहरु चीन नै फर्कने लहर पनि चलेको छ ।
हुवावे र एसएमआइसीको संयुक्त प्रयासका कारण आखिरमा चीनले अत्याधुनिक माइक्रोचिप्स उत्पादन गर्न सफलता हात पारिछाड्यो । उसले पहिलो पटक सात नानोमिटर क्षमताको अत्याधुनिक माइक्रोचिप्स बनायो । सेमिकण्डक्टरमा जति सानो नानोमिटरको हुन्छ, त्यो त्यतिनै बढी शक्तिशाली र अत्याधुनिक क्षमताको हुने गर्छ । अहिले हुवावेको बाहुचर्चित मोबाइल फोन मेट६० मा त्यही चिप्स प्रयोग भएको छ । त्यस चिप्सलाई ‘किरिन हाइ सिलिकन ९००० एस प्रो’ नाम दिइएको छ । त्यो सफलता हात परे लगत्तै निर्धारित समयभन्दा अगावै हुवावेले आफ्नो उक्त उत्पादन बजारमा ल्याएको हो ।
अमेरिकी प्रतिबन्धका कारण मोबाइलमा प्रयोग हुने एन्ड्रोइड अपरेटिङ सिस्टम चलाउन नपाइने भएपछि हुवावेले एन्ड्रोइड भन्दा उन्नत खालका आफ्नै अपरेटिङ सिस्टमको विकास गर्यो । त्यसमाथि थप, चिप्सको विकल्पमा आफ्नै चिप्स उत्पादन गर्यो । त्यो दुवैको प्रयोग गरेर अहिले हुवावेले बजारमा हुवावे मेट ६० प्रो फोन ल्याएको छ । परम्परागत मोबाइल फोनका फिचरहरु मात्र हैन, सोझै भूउपग्रहमार्फत् इन्टरनेट कनेक्सन गर्न सकिने फिचर अनि सम्भवतः अहिलेसम्मकै सबैभन्दा शक्तिशाली मोबाइल चिप्सका साथ यो आएपछि विश्वबजारमा नयाँ हलचल पैदा भएको छ । यो फोन आइफोनका सबैभन्दा पछिल्ला भर्सन जत्तिकै पनि शक्तिशाली मानिएको छ ।
हुवावेको पी ६० फोनको बजारमा प्रवेशले चिप्सको निर्यात तथा हुवावेमाथि लगाएको अमेरिकी नाकाबन्दी– दुवै एकै झट्कामा ध्वस्त भएको छ । तर रमाइलो कुरा के छ भने अत्याधुनिक प्रविधिलाई आफ्नो वपौती ठान्ने अमेरिकाले हुवावे र चीनले अत्याधुनिक प्रविधिको विकास र अनुसन्धानलाई अगाडि बढायो भने झनै कडा प्रतिबन्ध लगाउने घुर्की दिन भने छाडेको छैन ।
अमेरिकाको तत्कालीन ट्रम्प प्रशासनले हुवावेमाथि प्रतिबन्ध लगाउनुपूर्व यसका फोनहरुले स्मार्ट फोनको बजारको शिखरमा रहेका दक्षिण कोरियाली ब्रान्ड सामसुङ र अमेरिकी ब्रान्ड आइफोनलाई पछार्न थालिसकेको थियो । अहिले हुवावेको पी६० बजारमा आएसँगै चिनियाँ बजारमा आइफोनको बिक्रीमा गिरावट आएको छ । विश्वबजारमा यसले पुरानो साख स्थापित गर्ने आँकलन विज्ञहरुले गर्न थालिसकेका छन् ।
सकसमा अमेरिकी कम्पनीहरु
अमेरिका र चीनबीच व्यापार युद्ध अन्य विविधि प्रतिबन्धहरुका साथ हुवावेमाथिको नाकाबन्दी हुँदै र चिप्स निर्यातमा समेत प्रतिबन्धको चरणमा आइपुगेपछि चीनले गम्भीर प्रत्यारोध गर्यो । शुरुमा मौखिक तथा सानातिना प्रतिरोध गर्दै आइरहकेो चीन गम्भीर प्रतिरोधमा उत्रियो । उसले पनि विस्तारै कडा कदमहरु चाल्दै गयो । चीनले अमेरिकाको मेमोरी चिप्स बनाउने प्रसिद्ध कम्पनी माइक्रोनका उत्पादनहरु आफना मुख्य क्षेत्रहरुमा प्रयोग गर्न नपाइने गरी प्रतिबन्ध लगायो । अमेरिकाले हुवावेमाथि लगाएको आरोपकै शैलीमा चीनले पनि मूलतः स्मार्ट फोन र कम्प्युटरमा प्रयोग हुने चिप्स उत्पादक कम्पनी माइक्रोनका उत्पादनहरुले चीनको राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुने तर्क दिएको छ । अमेरिकाले चीनको आरोपमा कुनै सत्यता नरहेको भनी प्रतिवाद गरेको छ ।
चीनको यो कदम माइक्रोनका लागि ठूलो धक्का हो । उसको कूल आम्दानीको १० प्रतिशत हिस्सा चीनबाट आउने गर्छ । त्यसमा हङकङलाई सामेल गर्दा १६ प्रतिशत हुन आउँछ । यो भनेको माइक्रोनले ठूलो बजार गुमाउनु हो ।
हुवावेमाथिको प्रतिबन्ध अनि चिप्स निर्यातमाथि लगाइएको बन्देजको प्रतिवादमा चीनले चालेका कदमहरुको असर अरु अमेरिकी कम्पनीहरुमाथि पनि पर्न थालेको छ । ‘ओपन सोर्स कोड’ मा आधारित गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमको अत्याधुनिकरण र फिचरहरुको विस्तारमा हुवावेको ठूलो योगदान रहँदै आएको थियो । हुवावे अलग्गिएपछि अहिले त्यसको फिचरहरुको विस्तारमा सुस्तता छाएको छ । अमेरिकाका चिप्स निर्माता कम्पनीहरु इन्टेल लगायतको बजारमा मन्दी छाएको छ । उनीहरु चीनको बजारबिना टिक्न नसक्ने अवस्थामा पुगेका छन् ।
पछिल्लो चरणमा आएर चीनले प्रसिद्ध अमेरिकी मोबाइल कम्पनी आइफोनको प्रयोगमा चीनका केन्द्रीय सरकारी निकायहरुमा गर्न नपाउने गरी भरखरै मात्र प्रतिबन्ध लगाएको छ । त्यसमाथि थप उसले त्यस्ता सरकारी कार्यालयहरुमा आइफोन लानै नपाउने कडा नियम पनि अघि ल्याएको छ । यो निश्चित छ, उसले यो प्रतिबन्धको दायरा थप फराकिलो बनाउँदै लैजानेछ । आइफोनको प्रयोगमाथि चीनले कडाइ गरेको खबरले मात्रै पनि आइफोन निर्माता कम्पनी एप्पलको शेयरमा भारी गिरावट आएको छ । गत बिहीबार मात्रै उसको शेयरमा २.८ प्रतिशत र त्यसअघि बुधबार ३.६ प्रतिशतले गिरावट आएको थियो । दुई दिनमा मात्रै उसलाई २०० विलियन डलर घाटा लागेको थियो । अझ चीनले आइफोनमाथिको प्रतिबन्धलाई विस्तार गरेर सरकारी संलग्नता रहेको सबै एजेनसीहरु, राज्यका कम्पनीहरुमा पनि आइफोनमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको खबरले एप्पलको शेयरमा थप पहिरो जाने निश्चित छ ।
हेक्का राख्नुपर्ने कुरा के छ भने अमेरिकी प्रतिबन्धले हुवावेका फोनहरुको विश्वबजारमा गिरावट आए पनि उसको घरेलु बजारमा खासै फरक परेको थिएन । हुवावे पी६० सार्वजनिक भए लगत्तै घरेलु बजारमा आइफोनको बजारलाई यसले संकुचन गर्न थालेको छ ।
Photo: downtoearth.org
चीनले चिप्स बनाउका लागि अत्यावश्यक दुर्लभ खनिज (Rare earth materials) भनिने ग्यालियम (gallium) र जर्मानियम (Germanium) को निर्यातमा कडाइ गरेको छ, सरकारी लाइसेन्सबिना ती खनिजहरुको निर्यातमा प्रतिबन्ध लगाएको छ । ती धातुहरुका प्रमुख निर्यातकको हैसियत राख्ने चीनको प्रतिबन्धले अमेरिका लगायत देशका चिप्स निर्माण गर्ने कम्पनीहरु संकटमा फसिसकेका छन् ।
०००
अमेरिकाको चिप्स प्रतिबन्ध मोबाइल फोनहरुको उत्पादनमा मात्र सीमित छैन, त्यो प्रतिबन्धले अत्याधुनिक सैनिक हतियारको उत्पादनलाई पनि प्रभावित गर्ने गर्छ । तर चीनले प्रतिरोध स्वरुप चिप्स बनाउका लागि अत्यावश्यक दुर्लभ खनिज (Rare earth materials) भनिने ग्यालियम (gallium) र जर्मानियम (Germanium) को निर्यातमा कडाइ गरेको छ, सरकारी लाइसेन्सबिना ती खनिजहरुको निर्यातमा प्रतिबन्ध लगाएको छ । यो धातु चिप्सका अलावा, राडार, इलेक्ट्रोनिक डिस्प्ले, सञ्चार लेजर डिटेक्टर, सोलार प्यानल विद्युतीय गाडीहरुमा पनि अत्यावश्यक मानिन्छ । ती धातुहरुका प्रमुख निर्यातकको हैसियत राख्ने चीनको प्रतिबन्धले अमेरिका लगायत देशका चिप्स निर्माण गर्ने कम्पनीहरु संकटमा फसिसकेका छन् ।
त्यसबाहेक उसले अमेरिकी कम्पनी लकहिल मार्टिन र रेथियनमाथि ताइवानलाई हतियार बेचेको आरोपमा उसलाई अविश्वसनीय घोषित गरेको छ र ताइवानलाई हतियार बेचेको भन्दा दोब्बर जरिवाना घोषित गरेको छ । यद्यपि ती कम्पनीहरुले हतियार बेच्न छाडेका छैनन् । शुरुमा चीनको घोषणाले खासै फरक नपर्ने घोषणा गरेको रेथियनका सिइओले चिनियाँबजारबेगर आफूहरु टिक्न नसक्ने स्वीकारिसकेको छ । सैनिक उत्पादनबाहेक रेथियन अन्य गैर सैनिक उत्पादनका लागि पनि ठूलो मात्रामा चीनमाथि निर्भर छ । चीनको विशाल बजारलाई गुमाउनु उसको व्यवसायिक हितमा छैन भन्ने कुरा उसले राम्ररी बुझेको छ ।
वास्तवमा, विश्वबजारमा हतियार कम्पनीहरुलाई चाहिने रेयर अर्थका मूल उत्पादक र निर्यातक नै चीन हो । अमेरिकाको बहुचर्चित एफ ३५ युद्धक विमान उत्पादन गर्नलाई मात्रै ४०० किलो रेयर अर्थ सामग्रीहरुको आवश्यकता पर्ने बताइन्छ । रेयर अर्थको उत्पादन र निर्यातमा चीनले विश्वबजारको ९४ प्रतिशत (ग्यालियम) र ८३ प्रतिशत ( जर्मानियम) हिस्सा ओगट्छ । प्रतिशत हिस्सा ओगट्ने चीनले त्यो सामग्रीको निर्यातमा प्रतिबन्ध लगाएपछि अमेरिकी हतियार कम्पनीहरु समेत हल्लिएयो । चीनले अमेरिकी कम्पनीहरुमाथि भकाभक लगाएको प्रतिबन्धले चीन गम्भीर प्रत्याक्रमणमा उत्रिएको सन्देश अमेरिकी कम्पनीहरुमा गयो । चीनको बजार गुमाउँदै जाँदा र स्थितिमा बदलाव नआउने हो भने थुप्रै कम्पनीहरु धरखराउने निश्चित छ । त्यसैले चीनमाथि लगाएको चिप्स निर्यात लगायतका प्रतिबन्ध हटाउनुपर्ने दवाब अमेरिकी प्रशासनलाई दिन थालेका छन् । उता नेदरल्याण्डको लिथोग्राफी मेशिन बनाउने कम्पनी एएसएमएल ('Advanced Semiconductor Materials Lithography- ASML) ले पनि चीनविरुद्ध निर्यातमा लगाएको प्रतिबन्धलाई हटाउन माग गर्न थालेको छ । उसले चीनलाई आफूसँग किन्दै आएको डीप अल्ट्रा भायोलेट लिथोग्राफी मेशिनहरु यथावत रुपमा किन्न अनुरोध नै गरेको छ । उता चीनले आफूसँग भएका लिथोग्राफी मेशिनहरुलाई नै परिमार्जन र विकिसित गर्दै अत्याधुनिक बनाउन थालेको छ । उसले अत्याधुनिक सेमिकण्डक्टर बनाउने आफ्नै २८ नानोमिटरको लिथोग्राफी मेशिन बनाउन पनि सफलता हासिल गरेको छ । चीनको यो अगाडि बढाइले चाँडै नै लिथोग्राफी मेशिन र सेमिकण्डक्टरको बजारमा उसले अमेरिका, नेदरल्याण्ड, जापान र दक्षिण कोरियाजस्ता देशहरुलाई नै धक्का दिन सक्ने अनुमान गर्न थालिएको छ ।
चीनमा संकट पर्न सक्ने केही अमेरिकी कम्पनी र तिनका आय
एप्पल विश्वचर्चित ब्रान्ड भएकोले यतिखेर चीन–अमेरिका चिप्स युद्धका कारण घाटा खाने कम्पनीको कुरा उठ्दा यसको नाम स्वतः आउने गरेको छ । तर चीनसँग व्यापार गर्ने अमेरिकी कम्पनीहरु अरु पनि थुप्रै छन्, जसको व्यापार चीनमा संकट पर्न सक्छ । चीनसँगको व्यापारमा एप्पलभन्दा पनि बढी आम्दानी गरिरहेका केही कम्पनीहरु यस प्रकार छन्
जेनरिक औषधीमा पनि चीनकै वर्चस्व !
एक रिपोर्टअनुसार, जेनेरिक एन्टिबायोटिक्स बनाउनका लागि चाहिने कच्चा पदार्थमध्ये ९० प्रतिशत चीनले विश्वव्यापी रुपमा निर्यात गर्दै आएको छ । ती कच्चा पदार्थहरु अमेरिकाका गहन उपचार केन्द्र, आपतकालीन कक्षहरु र एम्बुलेन्सहरुमा प्रयोग हुने जेनेरिक मेडिसनहरुको निर्माण पनि तिनै कच्चा पदार्थहरुबाट हुने गर्छ ।
अहिलेसम्म चीनले औषधीका सवालमा चाहिँ खासै केही गरेको छैन । तर अमेरिकी कदमको प्रतिरोधमा चीनले यस दिशामा पनि प्रतिबन्ध लगाइहाल्यो भने त्यो कुनै अनौठो हुने छैन ।
चेत्दै अमेरिका !
अमेरिकी प्रतिबन्ध र नाकाबन्दीको मौखिक प्रतिरोध गर्दै आएको चीनले पछिल्लो वर्षमा आएर कडा प्रतिरोध गर्न थालेको छ । उसले आफ्नो अग्रता रहेका प्रविधिहरुको निर्यातमा प्रतिबन्ध लगाएको छ ।
चीन माथि अमेरिकाले लगाउँदै आएको प्रतिबन्धलाई अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षाको सवाल भनेर वैधानिक ठहराउने कोशिश गर्दै आएको छ । तर चीनको दावी चाहिँ अमेरिकाको व्यवहार अरु देशहरुमाथिको दादागिरी तथा स्वतन्त्र व्यापार नीतिको प्रतिकूल रहेको छ । तर अहिले अमेरिकी कदमको प्रतिरोधमा चीनले गम्भीर असर पैदा गर्ने प्रतिकारात्मक कदमहरु चाल्न थालेपछि अमेरिकाले चीनविरुद्ध चालेका कदमहरुलाई खुकुलो बनाउन थालेको छ । यसले २७ वटा चिनियाँ कम्पनीहरुमाथि लगाएको ‘अविश्वसनीय’ को आरोप हटाएको छ । त्यसमाथि थप यतिखेर चीनलाई मनाउन अमेरिकी उच्चस्तरीय टोलीको चीन भ्रमण एकपछि अर्को गर्दै भइरहेको छ ।
त्यसबाहेक, अमेरिकी प्रतिबन्धका कारण भकाभक चीन छाडेका थुप्रै अमेरिकी कम्पनीहरु पुन: चीन फर्कनका लागि हारगुहार गर्न थालिसकेका छन् ।
Photo: cnn.com
प्रतिक्रिया