गोञ्जालो, जोसँग मृत्युपछि पनि सत्ता थर्कमान थियो !
नेतृत्वको 'देवत्वकरण'ले मासिए साइनिङ पाथ
आजकै दिन २०२१ को सेप्टेम्बर ११ मा आफुलाई मार्क्सवादको 'चौथो तरबार' भनेर दावी गर्ने, पेरुको साइनिङ पाथका नेता डा अबिमाइल गुजम्यान 'गोन्जालो' को ८६ वर्षको उमेरमा जेलमा निधन भएको थियो ।
माओको छापामार सिद्धान्तलाई लागू गर्दै सन् १९८० को दशकमा पेरुमा जनयुद्ध गरेका उनी पेरुका तत्कालीन फुजिमोरी सरकार र तिनका संरक्षक अमेरिकाका लागि ठूलो टाउको दुखाइ बनेका थिए । अमेरिकी पिछलग्गु सरकारलाई हटाएर नयाँ जनवाद स्थापनाका लागि साइनिङ पाथले सञ्चालन गरेको जनयुद्धलाई दबाउन अमेरिकाले ठूलै धनराशी खर्च गरेको थियो । पछि 'अति आत्मविश्वास' हो वा सांगठनिक कमजोरी'का कारणले हो, उनी पेरुका राजधानी लिमाबाटै सन् १९९२ को सेप्टेम्बर १२ का दिन पक्राउ परेका थिए । उनीहरु लिमाको सरकविलो जिल्लामा रहेका एक नृत्यशालामाथि रहेको अपार्टमेन्टबाट पक्राउ परेका थिए ।
छापामार नेता गोन्जालोको करिब २९ बर्ष लामो जेल बसाइको क्रममा निधन भएको थियो । जिउँदो हुँदा मात्रै हैन, मृत्यु पछि पनि गोन्जालोलाई पेरुको राज्यसत्ताले खतरा ठानेको थियो । पेरुमा गोन्जालोको मृत्यु पछि उनको शरिरलाई के गर्ने भन्ने बारे ठूलो विवाद उठेको थियो। गोन्जालोकी प्रेमिका एबम पत्नी इलेना इपरागुइरेले उनको शरीर अन्तिम संस्कार गर्नको लागि आफूलाई जिम्मा दिनु पर्ने भनेर माग गरिकी थिइन्। स्मरणीय छ इलेना इपरागुइरेले गोन्जालोसंग जेलमै बिबाह गरेकी थिइन्। अहिले उनि आजीवन कारावासको सजाय भोगिरहेकी छिन्। तर पेरुको सरकारले गोन्जालोको शरीर उनको परिवारलाई दिन चाहेन। पेरु सरकारलाई के डर थियो भने गोन्जालोलाई समाधिस्थ गरेको ठाउँ पेरुका तथा संसारभरिकै माओवादी क्रान्तिकारीहरुकालाई तीर्थस्थल बन्न सक्छ। गोन्जालोको मृत्यु भएको १२ दिन पछि पेरुको सरकारले उनको शरीरलाई अज्ञातस्थलमा दाह संस्कार गरेर उनको अस्तुलाई बिसर्जन गरिदियो।
दर्शन शास्त्रका प्राध्यापक समेत रहेका डा अबिमाइल गुजम्यान 'गोन्जालो'को विश्व दृष्टिकोण (Word View) माओवाद थियो। उनी माओ त्से तुङ्गको विचारबाट अति नै प्रभावित थिए। गोन्जालोले केही पटक माओकालीन चीन भ्रमण गर्ने अवसर पाएका थिए। र त्यस क्रममा उनले त्यहाँ दर्शन, राजनीति र सैन्य तालिम पनि पाएका थिए। सैन्य तालिमको क्रममा उनलाई जनयुद्द र जनसेना निर्माणका रणनीति र कार्य नीतिबारे सिकाइको थियो। सैद्धान्तिक पाठ सकिएपछि गोन्जालोलाई सैन्य क्षेत्रबारे प्रयोगात्मक ज्ञान दिन थालियो। जुन क्रममा एम्बुस, छापामार आक्रमण, सैन्य गतिबधि र विस्फोटक पदार्थ सञ्चालन गर्ने बारे गहन रुपमा सिकाइएको थियो । विस्फोटक पदार्थ निर्माण गर्ने क्रममा गोञ्जालोलाई प्रशिक्षकले सधै विचारधारालाई प्राथमिकता दिन सुझाब दिएका थिए । विचारधाराले हामीलाई जे पनि गर्न सक्षम बनाउछ भनी बताएका थिए। विस्फोटक पदार्थ निर्माण र सञ्चालन सम्बन्धि कक्षामा एक दिन चीनिया प्रशिक्षकले गोन्जालोलाई भने – सही विचार दृष्टिकोण भयो भने जे पनि बिस्फोटक बन्न सक्छ। गोन्जालोले कलम उठाए त्यो बिस्फोट भयो, बस्ने कुर्सि उठाए त्यो पनि पड्कियो। कक्षामा भएका हरेक चिज पड्किन थाले। त्यो प्रदर्शन हरेक चिज विस्फोटक बन्न सक्छ यदि हामीले त्यसलाई प्रयोग गर्ने भन्ने जान्यौ भनेर देखाउन खोजिएको थियो। आश्चर्यचकित हुदै गोन्जालोले सोधे– यो कसरी गर्नु भयो र? प्रशिक्षकले जवाफ दिए चिन्ता नगर्नुहोस्, तपाइले पहिलेनै पर्याप्त मात्रामा सिकिसक्नु भएको छ। आम मानिसले के गर्न सक्छन त्यो सम्झिनुहोस्, तिनीहरुसंग कहिले नसकिने कौसलको भण्डार हुन्छ। हामीले यहाँ तपाइलाई जे सिकाएका छौ जनताले त्यो गर्ने छन् र तपाइँलाई यो कुरा फेरि पढाउने छन्।' गोन्जालोले यो पाठ कहिले बिर्सेनन।
गोन्जालो जुन बेला चीन गएका थिए, त्यस बेला चीनमा सांस्कृतिक क्रान्ति चलिरहेको थियो। त्यसको अमिट छाप गोन्जालोमा पर्यो। माओबाद गोन्जालोको सबल पक्ष पनि बन्यो र कमजोर पक्ष पनि। उनले माओवादलाई वैज्ञानिक विचारधाराभन्दा पनि बढी 'सम्प्रदाय'को रुपमा कट्टरताका साथ अपनाए। माओवाद मान्ने बाहेक अरु सबै कम्युनिस्ट धारलाई साइनिङ पाथले दुस्मन सम्झिन्थियो। त्यस बेलाको एउटा चर्चित घटना यस प्रकार थियो। १९८० को एक बिहान पेरूको राजधानी लिमाका धेरै जसो ल्याम्प पोस्टहरूमा कुकुर मारेर झुन्डयाइएको थियो । ती कुकुरको छातीमा एउटा सुचना बाँधिएको थियो । त्यसमा लेखिएको थियो देङ सियायो पिङ: कुकुर्नीको छाउरा (Deng Xiaoping: Son of a Bitch) । यो काम भर्खरै त्यहा जनयुद्ध सुरु गरेको साइनिङ पाथ बिद्रोहीहरुको थियो। यो घटना त्यसबेला पेरुमा निक्कै चर्चित भयो। सामान्य पेरुभियाली जनतालाई देङ को हुन र उनको माओबादीहरू संग के शत्रुता थियो थाह हुने कुरा पनि भएन। र चासो हुने कुरा पनि भएन । तर यो घटनाले साइनिङ पाथलाई धेरै बदनाम गर्यो।
साइनिङ पाथले अन्य कम्युनिस्ट र बामपन्थी पार्टीहरुसंग भातृत्व पूर्ण सम्बन्ध होइन निषेधको ब्यबहार गर्थ्यो। मित्र शक्ति हुन सक्ने अर्को पेरुभियाली छापामार संगठन MRTA संग पनि साइनिङ पाथको युद्धनै चल्ने गर्थ्यो। यही समयमा सयौं सोभियत संघ समर्थक र क्युबा समर्थक पेरुभियाली कम्युनिस्ट पार्टी र अन्य बामपन्थी, ट्रेड युनियन र किसान नेताहरु मारिए। यो हत्याको आरोप पनि साइनिङ पाथमाथि लाग्यो। जबकि पेरुको सरकारले पनि चर्को राज्य आतंक मच्चाई रहेको थियो। यसरी चौतर्फी आक्रमण गर्ने र आफूसंग फरक विचार राख्नेसंग शत्रुतापूर्ण व्यवहार गर्ने कार्यशैलीका कारण साइनिङ पाथले अहिलेसम्म ठुलो बदनामी सहनु परेको छ। जनयुद्धको क्रममा मारिएका कुल ७० हजार सबै मानिसको मृत्युको दोष साइनिङ पाथलाई नै लगाउने गरिएको छ। जवकि पेरुको सरकारी सेनाले त्यस बेला ठुल्ठुला आमहत्या गरेका खबरहरु पर्याप्त मात्रमा आएका थिए। तर साइनिङ पाथको प्रतिरक्षा गर्ने मान्छेहरु पेरु वा अन्यत्र पनि खासै भेटिँदैन। त्यही भएर साइनिङ पाथ 'आतंकारी र आमहत्यारा' हो भन्ने 'न्यारेटिभ' स्थापित भएको छ।
जनयुद्धको सुरुवातमा पेरुका किसान समुदायले साइनिङ पाथलाई ठुलो साथ दिएका थिए। तर पछि गएर पेरुका आदिबासी इन्डियन समुदायको मूल्य मान्यता र संस्कृतिलाई अवहेलना गर्ने, किसानहरुका बजार अर्थतन्त्रलाई नियन्त्रण गर्न खोजेपछि यो समुदाय साइनिङ पाथ विरुद्ध खनियो। किसानहरु साइनिङ पाथ विरुद्ध ग्रामीण आत्मरक्षा दल (Rondas) बनाएर लड्न थाले। पेरुका सरकारले उनीहरुलाई उपयोग गर्यो । यी ग्रामिण रक्षक दललाई सरकारले हतियार र तालिम दिन्थ्यो। यही कारणले पनि साइनिङ पाथ लाई ठूलो प्रतिकूल परिस्थिति तयार भयो । गोन्जालोको मृत्युको समयका तत्कालीन रास्ट्रपति पेड्रो क्यास्टिलो यस्तै साइनिङ पाथविरोधी ग्रामिण आत्मरक्षा दलमा काम गरेका व्यक्ति थिए। त्यसैले उनमा गोन्जालो र साइनिङ पाथप्रति चर्को दुश्मनीभाव थियो ।
साइनिङ पाथ कम्युनिष्ट दर्शन र सिद्धान्तमा चल्ने पार्टी बन्नुपर्थ्यो तर गोन्जालोले त्यसलाई व्यक्ति केन्द्रित संस्थामा ढाले। पार्टीको विचारधारामा उनकै नाममा गोन्जालो पथ पनि थपियो। पार्टीमा सामुहिक नेतृत्वको साटो सर्वेसर्वा गोन्जालो नै बने। नेतृत्वको अति देवत्वकरण हुँदा त्यहाँ एकाधबाहेक केही सक्षम नेतृत्व उत्पान नै हुन सकेन । यसको नकारात्मक असर के भयो भने मुख्य रुपमा गोन्जालो पक्राउ परेपछि र अलि पछि पार्टी हाँक्न सक्ने सम्भावना भएका अरु एकाध नेताहरु समेत पक्राउन परेपछि साइनिङ पाथ तासको घर जस्तै ढल्यो।
गोन्जालोले आफू पक्राउ परेपछि आफ्नो विचारधार प्रति गद्धारी गरेनन्। न त आफ्नो जनयुद्ध चलाउने निर्णय प्रति नै कुनै पश्चताप नै ब्यक्त गरे। उनले सार्वजनिक मिडियामा बोल्ने अवसर पाउँदा सधैं आफ्नो विचारधाराप्रति दृढता जाहेर गरे र त्यसको पक्षमै बोले गोन्जालोले आफ्नो २९ बर्ष जेल जीवन बिताए। टिभी हेर्न नरुचाउने गोन्जालोले यो अवधिमा पार्टीको इतिहासको दुई खण्ड लेखे जुन अनलाइनमार्फत प्रकाशित भएको छ। र उनी जीवनको अन्त्यकालतिर पनि युद्धरत अवस्थाको बेलाको पार्टी इतिहास लेख्दै थिए।
गोन्जालोले बनाएको पार्टी साइनिङ पाथ अहिले पूर्ण रुपमा नस्ट भैसकेको छ। साइनिङ पाथका कार्यकर्ताहरुको हकहितका लागि क्षमदान र मौलिक अधिकारका लागि आन्दोलन (MOVADEF ) भन्ने संस्था कार्यरत छ। तर यसलाई पनि पेरु सरकारले राम्रो रुपले हेर्दैन। अहिले पेरुमा साइनिङ पाथबाट अलग भएको र गोन्जालोलाई 'गद्दार' मान्ने कमरेड जोसेले नेतृत्व गरेको पेरुको सैन्यकृत कम्युनिस्ट पार्टी (Militarized Communist Party of Peru) छापामार संगठनकै रूपमा क्रियाशील छ। यसले बेला बेला छापामार आक्रमण गर्ने गर्दछ। यसलाई पेरुको सरकारले लागु पदार्थ तस्कर र आतंककारी संगठनको रुपमा लिने गरेको छ। यो छापामार संगठनले केही वर्ष अगाडि राष्ट्रपति चुनावको पूर्वसंध्यामा एउटा गाउमा गरेको छापामार आक्रमणमा १८ जना मानिसको मृत्यु भएको थियो ।
नेपालका हालका सत्तासीन पार्टी नेकपा माओवादीका लागि साइनिङ पाथ एउटा आदर्श मोडेल जस्तै थियो । उसले पनि साइनिङ पाथले जस्तै नेपालमा जनयुद्ध सञ्चालन गरेको थियो । उता केन्द्रीय नेताहरु गोन्जालो (१९९२), उनका उत्तराधिकारी जस्तै मानिएका ओस्कार रामिरेज (१९९९) र अर्का नेता आर्टेमियो (२०१२) मा पक्राउ परेपछि साइनिङ पाथ 'थला' परेको थियो । नेपालमा चाहिँ माओवादी पार्टी वृहत् शान्ति सम्झौतामार्फत् शान्तिपूर्ण राजनीतिमा समाहित भयो । कुनै बेला जनयुद्ध सञ्चालन गरेको नेकपा माओवादी पार्टी यतिखेर नेपालको संसदीय राजनीतिमा मुख्य खेलाडी पार्टीहरुमध्येका एक बनेर रमाइरहेको देखिन्छ ।
प्रतिक्रिया