जिम्मेवारहरुबाटै ‘अराजक’ अभिव्यक्ति !
नेपालका अधिकांश नेताहरूको बोली र प्रतिक्रियाहरू समस्या समाधानका इमानदार प्रयत्नतिर केन्द्रित पदीय मर्यादा अनुकूलभन्दा पनि क्षणिक वाही वाही बटुल्ने खालका बन्दै गइरहेको देखिन्छ
पछिल्ला दिनहरूमा नेपालमा जिम्मेवार व्यक्तिहरू नै गैर जिम्मेवार ढङ्गले बोल्ने तथा प्रतिक्रियाहरू सार्वजनिक गर्ने गरेको सुनिन/देखिन थालेका छन् । यसले उनीहरूको खास स्तर र व्यक्तित्वको साँचो परिचय दिन्छ ।
तर, खतरनाक कुरा चाहिँ त्यस खालका बोली/प्रतिक्रियाहरूको पक्षमा देखा पर्ने गरेको व्यापक समर्थन हो । यो निक्कै चिन्ताको विषय हो । यसले मुलुकमा ध्वंशात्मक प्रवृत्तिलाई मलजल गर्ने देखिएको छ ।
सबैभन्दा पछिल्लो उदाहरणका रुपमा काठमाडौँका नगर पिता बालेन्द्र शाहको अभिव्यक्तिलाई लिन सकिन्छ । आफ्नी ‘सुत्केरी’ श्रीमती चढेको गाडीलाई बिदाको दिनमा किन गाडी चलाएको भनी ट्राफिक प्रहरीले गरेका औपचारिक केरकारबाट उनी निक्कै उग्र बनेका थिए । उनले तत्कालै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै सरकारलाई ‘चोर’ मात्र घोषित गरेनन्, अब उप्रान्त महानगरका गाडीहरू ‘चेकजाँच गरिए’ सङ्घीय सरकारको प्रशासनिक केन्द्र सिंहदरबारमा ‘आगो लगाउने’ घोषणा समेत गरे ।
समर्थकहरूले त्यसको व्यापक समर्थन गरे भने उनको निजी सचिवालयले घटनाबारे लामै वक्तव्य निकालेर ‘बचाउको प्रयास’ पनि गर्यो।
राजनीतिक सुझबुझ र चरित्र नझल्कने गरी हुल्याहा शैलीमा प्रस्तुत बालेनको त्यो अराजक र उग्र अभिव्यक्तिको व्यापक आलोचना भयो । अन्ततः उनी सामाजिक सञ्जालबाट त्यो अभिव्यक्ति हटाउन बाध्य भए ।
यस्तो अराजक र उग्र अभिव्यक्ति दिने प्रवृत्ति बालनेमा मात्र सीमित छैन, मुलुकका अन्य जिम्मेवार नेताहरूमा पनि फरक शैली र रुपमा देखा पर्ने गरेका छन् ।
मुलुकको नेतृत्व गरिरहेका प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयमले अघिल्लो साता यस्तै ‘उग्र’ अभिव्यक्ति दिएका थिए । उनले भदौ १४ गते सुर्खेतमा समाजवादी मोर्चाको कार्यक्रममा बोल्दै वर्षा सकिने बित्तिकै ‘राष्ट्रियता, जनजीविका, सामाजिक न्यायको पक्षमा तथा भ्रष्टाचारको विपक्षमा लाखौँ जनतालाई सडकमा उतार्ने अभिव्यक्ति दिए । त्यस बेला उनले सरकार कतिन्जेल चल्छ भन्नेमा आफ्नो चासो नरहेको र सरकार जोगाउन आफू हत्कण्डाहरु गर्ने पक्षमा नरहेको पनि बताएका थिए । यसबाट सम्भवतः उनी आफुलाई सरकारबाट हटाए अरू कसैलाई पनि टिक्न नदिने र आन्दोलनको माध्यमबाट सत्ताच्युत गराउने चेतावनी दिन चाहन्थे ।
सोही मोर्चाले बुटवलमा गरेको घोषणा सभामा एमसीसीसम्बन्धी नेपालको सदनबाट पारित बाह्र बुँदे व्याख्यात्मक घोषणा एमसिसी सम्झौताको अंश नभएमा सडक सङ्घर्ष थाल्ने उनी प्रचण्डले बताएका थिए ।
प्रचण्डको माथिका दुवै अभिव्यक्ति उनले सम्हालिरहेको पदसँग सङ्गति मिल्ने र अनुकूल देखिँदैन । सत्ताको कमाण्ड सम्हालिरहेका व्यक्तिले सडक आन्दोलनको धम्की दिने होइन, विधि प्रक्रिया र प्रशासकीय–कूटनीतिक माध्यमबाट समाधानका उपायहरू खोज्ने हो । यस किसिमका उग्र अभिव्यक्तिले कार्यकर्ता–समर्थकहरूको क्षणिक वाही वाही बटुल्न बाहेक समस्या समाधानका उपायहरू दिन सक्दैन ।
साँच्चै नै सडक आन्दोलनमा आउनै पर्ने अवस्था हो भने प्रधानमन्त्रीले औपचारिक सरकारी विधि प्रक्रियाहरूको माध्यमबाट समस्याको हल खोज्न असमर्थ रहेको स्वीकार्दै प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ । अनि मात्र त्यस किसिमको भाषा बोल्नु उचित हुन्छ।
यी त केही प्रतिनिधि उदाहरण हुन् । जुन हामीले केही साताको दौरान सुन्यौँ/ देख्यौँ । नेपालका अधिकांश नेताहरूको बोली र प्रतिक्रियाहरू समस्या समाधानका इमानदार प्रयत्नतिर केन्द्रित पदीय मर्यादा अनुकूलभन्दा पनि क्षणिक वाही वाही बटुल्ने खालका बन्दै गइरहेको देखिन्छ । यो चिन्ताको कुरा हो । यसले समाजमा अराजकतालाई मान्यता दिने काम गर्छ । अझ त्यस्तो अभिव्यक्ति र प्रतिक्रिया सही हो भन्ने जमात बढ्दै जाने हो भने त्यसले विकाश गर्ने सामाजिक मनोविज्ञान निकै डरलाग्दो हुने निश्चित छ ।
प्रतिक्रिया