प्रश्नभन्दा पर !

एकतर्फी बाटो जस्तै पस्न मिल्ने फर्कन नमिल्ने त्यो सुरुङतिरअघि बढ्नु भनेको आखिरमा समाज–राज्य अराजकतातिर उन्मुख हुनु हो, राज्य विघटनको दिशातिर अघि बढ्नु हो भनेर यहाँ सम्झाइदिने–बुझाइदिने कसले ?

सुन्नुहोस्

शासकीय अहंकारको अनौठो उन्माद

अङ्ग्रेजी भाषामा एउटा शब्द छ– Fluck । सम्भवतः यसलाई बुझाउने सटीक नेपाली शब्द कागताली हुन सक्छ । त्यही कागतालीले होस् वा भागबण्डाको सत्ता समीकरणले, सत्ता राजनीतिमा रजगज गर्ने हैसियत प्राप्त गरेपछि, सत्तासीन हुन पुगेपछि वा राजनीतिको मूलधारमा उदाएपछि नेपालका अधिकांश राजनीतिक कर्मीहरुमा शासकीय अहंकारको अनौठो उन्माद देखापर्ने गर्छ । उनीहरु आफूलाई यसै धर्तीमा जन्मेका अरु आम मानिसहरु जस्तै दुईखुट्टे स्तनधारी प्राणी हो भन्ने ठान्न र मान्न छाड्छन् । उनीहरुमध्ये अधिकांश आफूलाई विश्वब्रम्हाण्डको कुनै अलौकिक जगतबाट अवतरित विशिष्ट प्राणी हुँ भन्ने विचित्रको मतिभ्रमको शिकार बन्ने गछन् । फलतः आफूलाई अलौकिक ठान्ने ती ‘प्राणीहरु’ स्वयंलाई प्रश्नको घेराभन्दा परको ठान्ने गर्छन् । उनीहरुलाई प्रश्न सोध्न पाइन्न ! प्रश्न सोध्नु 'महाअपराध' जस्तै ठहरिन सक्छ । नेपाली राजनीति र समाजमा यस्ता मतिभ्रमित प्राणीहरु यत्रतत्र सर्वत्र पाइने गर्छ ।

भक्त भर्सेज कार्यकर्ता

नेताको सामान्य अर्थ नेतृत्व गर्ने क्षमता भएका व्यक्ति हुनु हो । अर्थात् उनी मार्गदर्शन गर्ने अगुवाका भूमिकामा हुने गर्छन् । अगुवाको रुपमा पत्याइएको नाताले स्वभाविक रुपमा नेताका पछाडि कार्यकर्ताका जमात् पनि हुने गर्छन् । कार्यकर्ता भनेका नेताका पिछलग्गु हनुमान गिरी गर्ने भक्तहरुको जमात मात्रै होइन । कार्यकर्ताको अर्थ त नेता वा नेतृत्वले अङ्गालेका नीति तथा सिद्धान्तले सही दिशाबोध गर्छ र समाज–राज्यलाई सही एवं उन्नत गन्तव्यमा पुर्‍याउँछ भन्ने विश्वासका साथ उसलाई साथ समर्थन गर्ने जमात हो । कार्यकर्ता–समर्थक हुनु भनेको नेताको भनाइ र नेतृत्वलाई देववाणी ठानेर आँखा चिम्लेर साथ समर्थन दिने अन्धभक्तहरुको जमातमा पूर्णरुपेण रुपान्तरित हुनु कदापि होइन । नेतृत्वका हरेक कामकारवाहीहरुलाई चनाखो भएर परख गर्ने र सहीलाई सही वा गलतलाई गलत भन्न सक्ने आलोचनात्मक चेतसहितका जमात हो– कार्यकर्ता–समर्थक । तर विडम्बनाको कुरा, समकालीन राजनीतिमा त्यस खालका कार्यकर्ता–समर्थकहरुको जमात मासिँदै गइरहेका छन् । तिनलाई भक्तहरुको हुलले विस्थापन गर्दै गइरहेको छ । 

कार्यकर्ता–समर्थक हुनु भनेको नेताको भनाइ र नेतृत्वलाई देववाणी ठानेर आँखा चिम्लेर साथ समर्थन दिने अन्धभक्तहरुको जमातमा पूर्णरुपेण रुपान्तरित हुनु कदापि होइन । नेतृत्वका हरेक कामकारवाहीहरुलाई चनाखो भएर परख गर्ने र सहीलाई सही वा गलतलाई गलत भन्न सक्ने आलोचनात्मक चेतसहितका जमात हो– कार्यकर्ता–समर्थक । तर विडम्बनाको करा, समकालीन राजनीतिमा त्यस खालका कार्यकर्ता–समर्थकहरुको जमात मासिँदै गइरहेका छन् । तिनलाई भक्तहरुको हुलले विस्थापन गर्दै गइरहेको छ । 

 नेता–नेतृत्वको कामकारवाहीलाई आँखा चिम्लेर साथ–समर्थन दिने, जयजयकार गर्ने र तिनको शासकीय उन्मादको आगोमा पेट्रोल थपिदिने काम यस्ता जमातले गरिदिने गर्छन् । तिनले नेता–नेतृत्वका कामकारवाहीहरु ठीक वा बेठीक के हो– सत्यतथ्यको आधारमा धारणा बनाउने र सोहीअनुसार बोल्ने काम गर्दैनन् । नेतृत्वले गरेका हरेक कामकारवाहीहरु शतप्रतिशत ठीक हुन्छ भन्ने अनौठो मतिभ्रम यी भक्तहरुको जमातमा हुने गर्छ । एउटा धार्मिक सम्प्रदायका मानिसहरुले जस्तै आफ्ना ‘अगुवा’ले गरेका हरेक कामकारवाहीहरु उनीहरुका लागि ‘इररफ्री’ (गल्तीमुक्त) हुने गर्छ । यस किसिमका भक्त कार्यकर्ता–समर्थकहरुको साथ समर्थन र जयजयकारले आफूलाई प्रश्नभन्दा परको ठान्ने शासकीय अहंकारलाई झनै बढावा दिने गर्छ ।

मर्दै गइरहेको आलोचनात्मक चेत !

राजनीतिक दलहरु तथा तिनका नेतृत्वलाई सही दिशामा हिँडाउने तथा त्यसका लागि निरन्तर खबरदारी गरिरहने प्रमुख तत्व भनेका कार्यकर्ता–समर्थकहरुमा अन्तरनिहित आलोचनात्मक चेत नै हो । विडम्बनाको कुरा, नेपालका समकालीन राजनीतिमा राजनीतिक दलहरु भित्र आलोचनात्मक चेतको निर्मम हत्या हुने गरेको छ । नेता–नेतृत्वका कामकारवाहीहरु प्रति आलोचनात्मक चेत राख्ने कार्यकर्ताहरुलाई पार्टीभित्र किनारा लगाइने भयानक प्रवृत्ति मौलाउने गरेको छ । नेताको गलत कामकारवाहीहरुको आलोचना गर्नु भनेको पार्टी र त्यसका नेतृत्वलाई ‘डिरेल्ड’ हुन नदिनुका लागि अत्यावश्यक प्राणवायु हो भन्ने तथ्यलाई चटक्कै भुल्ने गरिएको छ । त्यस किसिमका चेत राख्ने कार्यकर्तालाई व्यक्तिगत तहमा 'इगो' साँध्ने र उनलाई हरतरहको अवसरहरुबाट बञ्चित गर्ने तथा पार्टीभित्र किनारा गराउने प्रवृत्तिले हरेक पार्टीहरुभित्र डरलाग्दोसँग जरा गाडेको छ । फलतः अवसर र सुविधाका लागि पनि नेतृत्वको चाकरी गर्ने, उनको कमी कमजोरीहरुलाई औंल्याउने होइन कि उल्टै त्यसलाई 'ग्लोरीफाइ' गरेर नेतृत्वको कृपादृष्टि प्राप्त गर्ने प्रवृत्तिले मलजल पाएको छ ।

जम्मामा भन्दा, कार्यकर्ताहरुको आलोचनात्मक चेतलाई निर्मम हत्या गर्ने प्रवृत्ति अधिकांश राजनीतिक पार्टीहरुभित्र मूल प्रवृत्ति बन्दै गइरहेको छ । यस्तो हुनु भनेको अन्ततः पार्टीहरु नै आत्महत्याको बाटोतिर अग्रसर हुनु हो भन्ने चेत खुल्न बाँकी नै देखिन्छ ।

पञ्चायतको काँचोवायु

नेपाली समाज यतिखेर तीनथरिको पुस्तामा बाँचिरहेको छ । एउटा पुस्ताले पञ्चायत देखे– भोगेको छ । अर्को पुस्ताले लोकतन्त्र–प्रजातन्त्रलाई देखेको छ भने गणतन्त्र देखे–भागेका अर्को थरि पुस्ता पनि समाजमा विद्यमान छ । लोकतन्त्र–गणतन्त्रमा जन्मे–हुर्केका लागि पञ्चायती विसङ्गति र उत्पीडनका कुराहरु दन्तेकथा जस्तै लाग्न सक्छन् । त्यसलाई प्रत्यक्ष अनुभूत नगरेका यो पुस्ताका लागि पञ्चायतविरुद्धका भीषण संघर्ष, त्यसबखत भोग्नुपरेका कठिनाइ र उत्पीडनका कुराहरुले नछुन पनि सक्छ । आफूले प्रत्यक्ष नभोगका कारण उनीहरुले त्यसका मर्म र गुरुत्वलाई बोध र अनुभूत नगर्न पनि सक्छन् । तर पञ्चायत देखे–भोगेको पुस्ताले राम्ररी महसूस गरेको हुनुपर्छ– यतिखेर नेपालकाका राजनीति पञ्चायतको काँचोवायुले पनि पीडित बनेको छ ।

पञ्चायतकालमा शासनसत्ताका हर्ताकर्ता श्री ५ नामधारीहरु हुने गर्थे । जनताबाट छानिनु–चुनिनु नपर्ने, अमुक घरानामा जन्मनेबित्तिकै शासकीय अधिकार प्राप्त हुने त्यो जमात आफूलाई प्रश्नभन्दा पर ठान्थ्यो र त्यसका लागि अनुकूल हुने नीति–नियम र कानूनहरु नै बनाइएका थिए । श्री ५ हरुलाई कुनै पनि प्रश्नहरुबाट उन्मुक्ति थियो । अर्थात् उनीहरु प्रश्नभन्दा पर थिए । उनीहरुका कुनै पनि काम कारवाहीहरुमाथि प्रश्न उठाइनु गैरकानूनी ठहरिन्थ्यो । मानवीय वा प्राविधक त्रुटीवश उनीहरुका नाम मात्रै गलत उच्चारण गरिएमा वा छापिएमा पनि ठूलै दण्ड भोग्नुपर्ने अवस्था थियो । उनीहरुलाई आममानिसभन्दा माथिका दैवीशक्तिसम्पन्न मानिइन्थ्यो र सोही मान्नका लागि हर तरहले बाध्य बनाउने कोशिश गरिइन्थ्यो । 

गणतन्त्रमा कानूनी रुपमा शासक वर्गलाई प्रश्न गर्न निषेध त गरिएको छैन तर व्यवहारमा भिन्न भिन्न राजनीतिक दलहरुमा छरिएर रहेका शासक वर्गले जसरी आफूलाई प्रश्नभन्दा पर ठान्ने र उभ्याउने कसरत गरिरहेका छन्, त्यो आफैंमा अनौठो र उदेकलाग्दो देखिन्छ । यस्तो प्रतीत हुन्छ, गणतन्त्र नेपालका शासक वर्गहरु पनि आफूलाई श्री ५ हरुले जस्तै प्रश्नभन्दा पर ठान्ने पञ्चायती प्रेतका काँचोवायुले अभिशप्त छन् । 

 यस धरामा सन्तानोत्पत्तिका आम प्रक्रियाबाट जन्मने कुनै पनि प्राणीलाई दैवीय अधिकारवाला सिद्धान्तका आधारमा छानेर–मानेर हैन, जनताले छानेका र चुनेकाहरुबाट शासनसत्ताको सञ्चालन हुनुपर्छ भन्ने गणतन्त्रको मूलमन्त्र हो । नेपालमा त्यो गणतन्त्र स्थापित भएको पनि एक दशक बढी बितिसकेको छ । तर दुःखको कुरा, श्री ५ को ‘दैवीसत्ता’ लाई इन्कार गरेर जनताको शासन स्थापित गर्नेहरुले नै आफूलाई ‘दैवीसत्ता’ सम्पन्न ठान्न र महसूस गर्न थालेको उनीहरुको कामकारवाही र व्यवहारबाट प्रतीत हुन्छ । गणतन्त्रमा कानूनी रुपमा शासक वर्गलाई प्रश्न गर्न निषेध त गरिएको छैन तर व्यवहारमा भिन्न भिन्न राजनीतिक दलहरुमा छरिएर रहेका शासक वर्गले जसरी आफूलाई प्रश्नभन्दा पर ठान्ने र उभ्याउने कसरत गरिरहेका छन्, त्यो आफैंमा अनौठो र उदेकलाग्दो देखिन्छ । यस्तो प्रतीत हुन्छ, गणतन्त्र नेपालका शासक वर्गहरु पनि आफूलाई श्री ५ हरुले जस्तै प्रश्नभन्दा पर ठान्ने पञ्चायती प्रेतका काँचोवायुले अभिशप्त छन् । हेक्का रहोस्, पुराना भनिएका दलहरु मात्रै हैन, नयाँ र उदाउँदा भनिएका दलहरु तथा आम मानिसले अहिले अत्यन्तै रुचाएका जस्ता देखिका स्वतन्त्रका आवरणमा रहको शासक वर्गहरु समेत आफूलाई ‘प्रश्नभन्दा पर ठान्ने’ उक्त पञ्चायती प्रेतबाट अभिशप्त देखिन्छन् ।

लोकरिझ्याइको खतरनाक बाटो

भक्तहरुको जयजयकारको चर्को आवाजले सत्य असत्य के हो ? सही वा गलत के हो भन्ने चेत माथि पर्दा हालिदिन्छ । नेता–नेतृत्वको देवत्वकरण हुँदा उसलाई आफ्ना हरेक वाणी, अनि क्रियाकलापहरु चौबीस क्यारेटको सुन जस्तै शुद्ध लाग्न थाल्छ । के बोलिदिँदा भनिदिँदा कार्यकर्ताहरुले आफ्नो समर्थनमा जयजयकारका गगनभेदी हुँकार गर्छन् भन्नाखातिर उनीहरु लोकरिझ्याइँको बाटो अंगाल्न थाल्छन् । नीति–नियम र नैतिकतालाई ताकमा राखेर आफ्ना ‘भक्तजमात’ का लागि कर्णप्रिय हुने उग्र र भड्काव वाणी तथा लेखनहरु नेता–नेतृत्वबाट वर्षा हुन थाल्छन् । जति चर्को र उग्र कुरा– उत्तिनै बढी समर्थन ! सामाजिक सञ्जालको लोकप्रियता, यसको बढ्दो प्रयोग र प्रभावले त्यसलाई झनै बढी विस्तारित गरिदिएको छ ।  

लोकरिझ्याइको यो खतरनाक बाटोतिर हिँड्दा प्राप्त हुने जयजयकार र अन्ध समर्थनले तत्कालका लागि त नेता–नेतृत्वलाई अवश्य पनि क्षणिक आनन्द त प्रदान गर्ला तर अन्ततः त्यसले समाजलाई सत्यतथ्यको परख नगर्ने, उन्माद र ध्वंशलाई बढावा दिने जमात तथा तिनका नेता–नेतृत्वाबाट शासित र नियन्त्रित हुनुपर्ने अवस्था पैदा हुन्छ । त्यसले अन्तत: मुलुकलाई विनाशको अँध्यारो सुरुङको यात्रातिर हुल्दै जान्छ ।

एकतर्फी बाटो जस्तै पस्न मिल्ने फर्कन नमिल्ने त्यो सुरुङतिर अघि बढ्नु भनेको आखिरमा समाज–राज्य अराजकतातिर उन्मुख हुनु हो, राज्य विघटनको दिशातिर अघि बढ्नु हो भनेर यहाँ सम्झाइदिने–बुझाइदिने कसले ?