अफ्रिकी लोककथा – बोल्ने खप्पर !

 एकादेशमा एउटा शिकारी जङ्गलमा हिडदै थियो। अचानक उसले एउटा खप्पर देख्यो।

खप्परलाई देखेर शिकारी तीनछक्क पर्‍यो । उसले आफैले आफैंसंग बोले जस्तो गरेर सोध्यो- 'हन जङ्गलको बीचमा यो मान्छेको खप्पर कसरी आइपुग्यो । '

अचम्मको कुरा ! त्यो खप्पर त बोल्दो पो रहेछ ! खप्परले शिकारीको जिज्ञासालाई शान्त पार्दै उत्तर दियो- 'म पनि पहिले तिमी जस्तै शिकारी थिएँ । बढी बोल्नाले मलाई यो हालतमा पुर्‍यायो।'

खप्पर बोलेको सुनेर शिकारी छक्क पर्‍यो। उ कुद्दै आफ्नो गाउँ पुग्यो। गाउँमा उसले भेटेका सबैलाई आफूले बोल्ने खप्पर देखेको कुरा बताउँदै हिँड्यो। गाउँमा एकान दोकान हुँदै त्यो कुरा जङ्गलको आगोसरि फैलियो ।

 राजाले पनि त्यो कुरा सुने। उनले शिकारीलाई आफ्नो दरबारमा बोलाए र बोल्ने खप्परबारे सोधे। शिकारीले कसम खाएर त्यो खप्पर देखेको कुरा भन्यो। राजाले उनको कुरा गलत भए मृत्युदण्ड दिने धम्की दिए ।

बोल्ने खप्पर ! धैत यस्तो पनि कहीँ हुन्छ? कसरी पत्याउनु ! पत्याउनै गाह्रो कुरा । तर नपत्याउँ पनि कसरी ? मृत्युदण्डको भय देखाउँदा पनि शिकारी आफ्नो बोलीमा टसका मस भएका छैन । त्यसैले राजाको उत्सुकता झनै बढ्यो । उनले शिकारीलाई त्यो खप्पर भएको ठाउँमा आफुलाई पुर्‍याउन आदेश दिए।

शिकारीले राजालाई जंगलको बीचमा खप्पर भएको ठाउमा पुर्‍याए । साँच्चै नै त्यहाँ खप्पर थियो । त्यो खप्परतिर देखाउँदै शिकारीले भन्यो– महाराज ! यही हो त्यो बोल्ने खप्पर।

आफ्नो कुरालाई प्रमाणित नै गरेर देखाउने उद्देश्यले खप्परको नजिक पुगेर शिकारीले खप्परलाई सम्बोधन गर्दै भन्यो- 'ए खप्पर ! त यहाँ के गर्दैछस् ?' अचम्मै भयो, पहिले बोलेको खप्परले अब चाहिँ केही पनि बोलेन। शिकारीले फेरि भन्यो- ' ए खप्पर ! केही त बोल्। त यहाँ के गर्दैछस्?' खप्पर फेरि पनि बोलेन।

राजा रिसाउन थालिसकेका थिए। शिकारीको निधारबाट चिटचिट पसिना आउन थाल्यो । मृत्युको भयले आतङ्कित शिकारीले खप्परलाई फकाउँदै भन्यो– 'ए खप्पर! कृपया केही त बोल। हाम् महाराजलाई देखाइदेउ कि तिमी बोल्न सक्छौ भनेर।'

 खप्पर फेरि पनि मौन रहयो। रिसले चुर भएका राजाले तरवार झिकेर शिकारीको टाउको छिनालिदिए । अनि राजा आफ्नो दरवार फर्के।

दिनहरु बिते, महिनाहरु बिते । एक दिनको कुरा हो, अर्को एकजना शिकारी त्यही जंगलको बाटो भएर जाँदैथियो। उसले बाटोमा लडिरहेको दुइवटा खप्पर देख्यो। उसले आफैंले आफैसंग बोले जस्तो गरेर गुन्गुनायो- लौ यस्तो जङ्गलका बीचमा यी दुइटा खप्परहरु कहाँबाट आएछन् ।'

शिकारीको लागि घोर आश्चर्यको कुरा ! दुइटै खप्पर त बोल्दो पो रहेछ । शिकारीको जिज्ञासालाई जवाफ दिँदै ती खप्परहरुले भन्यो– हामी पनि पहिले तिमी जस्तै शिकारी नै थियौं । तर बढी बोल्नाले हाम्रो यो हालत भयो ।

खप्परको कुरा ती शिकारीको लागि विचित्रकै कुरा थियो । उनी त्यहाँबाट कुलेलाम ठोके ।