दुष्ट बाँदरको फटाहा व्यवहार
बौद्ध जातक कथा
बनारसको एउटा गाउँमा एक जना सज्जन बस्थे । उनले घर नजिकको मूल बाटोमा एउटा इनार बनाइदिएका थिए । इनारको छेउमा जनावरहरुका लागि पानी खान सजिलो होस् भनी एउटा लाम्चो काठको भाँडो पनि राखिएको थियो । त्यो बाटो भएर हिँड्ने बटुवाहरु इनारको पानी खाएर तिर्खा मेट्ने गर्थे । साथै, उनीहरु जनावरको लागि राखिएको त्यो काठको भाँडोमा पनि पानी भरिदिन्थे । त्यसो गरेर उनीहरु धर्म पुण्य कमाउन चाहन्थे । बाटोको नजिकैमा एउटा घना जंगल पनि थियो । त्यो जंगलमा विभिन्न जनावरहरुका साथै धेरै बाँदरहरु पनि बस्दथे । बाँदरहरुको पानी खाने ठाउँ पनि त्यही इनार नै थियो ।
एक दिनको कुरा हो । त्यो बाटो भएर कोही पनि बटुवा हिँडेका थिएनन् । त्यसैले जनावरका लागि राखिएको पानीको भाँडो पनि रित्तो नै रह्यो । तिर्खाएरको एउटा बाँदर आएर पानी खान खोज्यो, तर भाँडोमा पानी थिएन । त्यसैले तिर्खाले त्यो बाँदर व्याकुल भयो ।
संयोगको कुरा, त्यसैबेला त्यो बाटो भएर एकजना भलाद्मी मान्छे आए । उनले इनारबाट पानी झिकेर खाए । अनि तिर्खाले व्याकुल बाँदरलाई देखेर उनले मानिसहरुले गर्ने गरेको जस्तो गरी इनारबाट पानी झिकेर काठको भाँडो भरिदिए । त्यसपछि उनी आराम गर्न नजिकैको रुखमुनि गएर सुस्ताए ।
भाँडोमा भरिएको पानी खाएर बाँदरले तिर्खा मेट्यो । तिर्खा मेटेर खुरुखुरु आफ्नो बाटो लाग्नुको साटो त्यो बाँदरले भाँडाको सबै पानी घोप्टाइदियो र पानी झिकिदिने मानिसलाई सताउन थाल्यो । उसलाई तर्साउनको लागि अनुहार विरुप बनाउँदै जिस्काउन थाल्यो ।
बाँदरको त्यस्तो ताल देखेर त्यो मानिसले शान्त स्वरमा भन्यो– ए बाँदर ! तँ तिर्खाले छट्पटाइरहेको थिइस्, मैले तेरो लागि इनारबाट पानी झिकिदिएँ । अहिले उल्टो तँ मलाई सताउन थालिस् । के तँ राम्रो व्यवहार गर्न जान्दिनस् ?’
मानिसको त्यस्तो भद्र कुरा सुनेको नसुन्यै गरेर त्यो बाँदर उफ्रेर रुखमा चढ्यो र मानिसको टाउकोमाथिको हाँगामा गएर बस्यो । “म त्योभन्दा पनि राम्रो व्यवहार गर्न जान्दछु” भन्दै बाँदरले त्यस त्यो मानिसको टाउकोमा नै विष्टा गरिदियो र “गुनको बदला तिर्ने हाम्रो तरिका यो हो” भनी चिच्याउँदै जंगलतिर भाग्यो ।
त्यस मानिसले फेरि इनारबाट पानी झिक्यो । यस पटक चाहिँ उसले खानको लागि होइन, आफूलाई सफा गर्न पानी झिकेको थियो । आफूलाई सफा गरिसकेपछि त्यस मानिसले पुनः जनावरले पानी खाने भाँडोमा पानी भरिदियो र आफ्नो बाटो लाग्यो ।
प्रतिक्रिया