एउटा निरीह लेखक कसरी आदर्शमा टिकिरहन सक्छ र ! –डी. आर. पोखरेल
पार्टीहरूले नै वर्गीयपक्षघरता छोडिसकेको, कमिशनलाई जायज मानिरहेको र पैसावाललाई पार्टीमा प्रवेश दिएर पैसा तानिरहेको, समर्पित मानिसहरूलाई उपेक्षा गरिरहेको, आफ्ना नातागोतालाई पोसिरहेको, अपारदर्शी, अप्रजातान्त्रिक अमानवीय चलखेल रहेको आजको 'कम्युनिष्ट' परिवेशमा प्रगतिवादी साहित्यकार कलाकार हुँ भनेर अडिन धेरै अप्ठेरो भएको छ।

नेपाली साहित्य–सँस्कृतिको फाँटमा लामो कालखण्डदेखि अनवरत साधनारत स्रष्टा–चिन्तक तथा मार्क्सवादी सौन्दर्यशास्त्रीको नाम हो– डी. आर. पोखरेल । साहित्य–कला र सँस्कृतिको फाँटमा पुर्याएको योगदानको कदर गर्दै भरखरै मात्र राज्यले उनलाई राष्ट्रिय प्रतिभा पुरस्कार– २०७९ ले सम्मानित पनि गरेको छ ।
यतिखेर नेपालको प्रगतिशील साहित्यको फाँट सुस्ताएको छ । कुनैबेला घनीभूत वैचारिक बहस, छलफल र अन्तरक्रिया हुने यो क्षेत्रमा यतिखेर भयानक शून्यता छाएको छ । प्रगतिशील साहित्य लेखनसम्बन्धी चर्चा परिचर्चाहरूको खडेरी लागेको छ । युवाहरूको ठूलो हिस्सा धन–सम्पत्ति र अवसरको खोजीमा विदेशिएका छन् र देशमा भएका अध्ययनमा रुचि राख्ने युवाहरूलाई समेत 'पपुलिस्ट' प्रकाशनहरूले आफ्नो गिरफ्तमा जकडेको छ ।
यो स्थितिलाई स्रष्टा पोखरेलले कसरी हेरिरहेका छन् ? प्रगतिशील साहित्यको वर्तमान हविगतबारे उनको धारणा के छ ? यावत विषयहरूमा केन्द्रीत रहेर दायित्वबोधले पोखरेलसँग गरेको कुराकानी प्रस्तुत छ ।
०००
भरखरै मात्र राज्यले तपाईंलाई राष्ट्रिय प्रतिभा पुरस्कार– २०७९ ले सम्मानित गर्यो । यस कुरालाई कसरी लिनुभएको छ ?
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संवत् २०८०, असार २९ गते आदिकवि भानुभक्तको जन्म दिवस पारेर मलाई संस्कृतितर्फको राष्ट्रिय प्रतिभा पुरस्कार - २०७९ बाट पुरस्कृत गरेको छ । यो मेरा लागि खुसीको विषय बन्यो । कतै न कतै मेरा कृतिहरू पढिदिने र मूल्याङ्कन गर्ने सहृदयी विद्वज्जन हुनु हुँदा रहेछन् भन्ने लाग्यो र मन कृतज्ञताले भरियो । निरन्तर काममा लागिरहेपछि कतै न कतैबाट एक दिन मूल्याङ्कन हुने रहेछ भन्ने बोधका साथै इमानसाथ लेखनमा लागिरहनु भएका तमाम सर्जकहरूमा पनि केही सन्देश प्रवाह गरेजस्तो लाग्यो । लेखेकै कारणले राज्यले पत्याएर यति ठूलो सम्मान दिनुलाई सरकारको नयाँपनको द्योतक हो कि भन्ने ठानेको छु ।
नेपालमा राज्यद्वारा स्रष्टाहरूको सम्मान र मूल्याङ्कन उनीहरूको समग्र योगदानका आधारमा कम, राज्यसत्तामा हावी राजनीतिक शक्तिसँगको निकटता वा दूरीका आधार बढी हुने गर्छ भन्ने आवाज बारम्बार उठ्ने गरेको छ । त्यहीकारण, थुप्रै योग्य र सक्षम स्रष्टाहरूको मूल्याङ्कन राज्यबाट नभइरहेको स्वरहरू पनि सुन्ने गरिन्छ । यस पृष्ठभूमिमा, सिर्जनाकर्ममा लामोसमयदेखि लागिपर्नुभएका तपाईं अहिले आफू सम्मानित हुँदा कस्तो अनुभूत गरिरहनुभएको छ ?
यस प्रश्नको केही जवाफ पहिलो प्रश्नमा नै आइसकेको छ ।
जहाँसम्म राज्यले स्रष्टाहरूको यथोचित मूल्याङ्कन योगदानको आधारमा गरेको छ कि छैन भन्ने प्रश्न छ, यो गम्भीर प्रश्न हो । जनताप्रति जवाफदेही सरकारले सिर्जनाको क्षेत्रलाई अनुत्पादक क्षेत्र नसम्झनु पर्ने हो । तर उन्नत चिन्तन र जीवन मूल्यमा आइरहेको निरन्तरको स्खलनले केही विसङ्गति भने भित्रिएको देखिन्छ । भनिन्छ नि हाम्रो जस्तो मुलुकमा जतिसुकै उन्नत कुराहरू आए पनि त्यसले केही न केही भ्रष्टीकरणको बाटो समात्छ । उन्नत कुरा सप्रिने सांस्कृतिक धरातल अझै निर्माण नभइसकेको हो कि हामीकहाँ भन्ने पनि लाग्छ । स्रष्टाहरूको सम्मान र मूल्याङकन उनीहरूको विधागत योगदानकै आधारमा गरिनु पर्छ । तर सिर्जनाहरू निरपेक्ष रूपमा चिन्तनबाट अलग्गै कुरा भने हुन सक्तैनन्। यसमा वर्गीय पक्षधरता त रहन्छ नै । तर यसको नाममा पक्षपात गरिने र आफ्नाहरूलाई पोस्ने कामलाई भने उचित मान्न सकिँदैन ।
हाम्रो राजनीतिले समावेशीताको अवधारणालाई समातेकाले गुणग्राहीताको पक्ष केही फितलो पनि देखिएको छ । मूल्याङ्कनमा परिनुपर्ने केही स्रष्टाहरू यिनै कारणले बाहिर पनि परेका छन् ।
अर्को कुरो, हाम्रो राजनीतिले समावेशीताको अवधारणालाई समातेकाले गुणग्राहीताको पक्ष केही फितलो पनि देखिएको छ । मूल्याङ्कमा परिनुपर्ने केही स्रष्टाहरू यिनै कारणले बाहिर पनि परेका छन् । फेरि एकै पटक सबै स्रष्टालाई सम्मान दिन सकिने कुरा पनि भएन । एक वर्षमा सरकारले (संस्कृति मन्त्रालयले) एउटा विधामा देशभरबाट छानेर एउटा स्रष्टालाई र प्रदेशबाट छानेर सातजना स्रष्टालाई पुरस्कार दिने गरेको छ । यसो गर्दा कोही न कोही स्रष्टा छुट्छन् । तर मूल्याङ्कनको मापदण्ड र विधि विधिसम्मत भयो भने छुटेका स्रष्टा फेरि अर्को चोटिमा जुट्छन् ।
तपाईंको बुझाइमा वर्तमान अवस्थामा नेपाली साहित्यको मूल प्रवृत्ति र अन्तरविरोध के हुन् ?
वर्तमान अवस्थामा नेपाली साहित्यको मूल प्रवृत्ति र अन्तरविरोध के हुन् भन्ने तपाईंको प्रश्न विशेष गरेर आजको साहित्यिक अन्यौलप्रति केन्द्रित छ जस्तो लागेको छ । किनभने आज कस्तो माहौल छ भने सबै सुविधाभोगतिर दौडिएका छन् । आफ्नो आस्था र विश्वास, आफ्नो नीति र आदर्श एकातिर पन्छाएर 'जहाँ काफल पाक्छ त्यहीं चरी नाच्छ' भने जस्तै अवसरको खोजीमा भड्किएको देखिन्छन् ।
सिर्जनाको स्रोत भनेको समाज हो । समाजको आर्थिक राजनीति सामाजिक सांस्कृतिक नैतिक अवस्थाले नै सबै कुरालाई निर्धारण गर्ने हुनाले यसको प्रतिछाप कला र साहित्यमा पनि पर्ने नै भयो । त्यसो भएकाले साहित्य र कलाको चिन्तन र व्यवहारमा अन्तरविरोध देखिएको हो । 'धुम्रपान गर्नु हानिकारक छ' भन्ने कुरोलाई त भन्दै आएका छौं तर कसरी भनेका छौं भने अरूलाई उपदेश दिनमात्र भनेका छौं, आफूले धुम्रपान गर्न छोडेका छैनौं । हो यही प्रवृत्ति जताततै मौलाएको छ ।
नत्र भने नेपाली साहित्यको मूल प्रवृत्ति भनेको विश्वव्यापी रहेको साहित्यिक वा सामान्य प्रवृत्तिहरू नै हुन् । जस्तो यथास्थितिवाद, स्वच्छन्दतावाद, अस्तित्ववाद, यथार्थवाद, आलोचनात्मक यथार्थवाद, समाजवादी यथार्थवादी आदि । यी नै वाद विशेषका विशेषता भएका लेखन नै साहित्यक सामान्य प्रवृत्ति हुन् । अब यसमा आफ्नो राष्ट्रिय परिस्थिति अनुसार कतै रुढि र अन्धविश्वासको विरुद्ध, कतै सीमा समस्याका विरुद्ध, कतै भ्रष्टचारका विरुद्ध, कतै नेतृत्वको स्वेच्छाचारिता विरुद्ध, कतै महिला हिंसा र बेचबिखन विरुद्ध, कतै अन्तरराष्ट्रिय सांस्कृतिक अतिक्रमण विरुद्ध, कतै बेरोजगारी, महङ्गी, अशिक्षा, अन्याय र शोषण विरुद्ध, कतै वैदेशिक हस्तक्षेप विरुद्ध आवाज उठाउनु पर्ने अवस्था हुन्छ र त्यसै खालको प्रवृत्ति भएका साहित्य सिर्जना गरिन्छ । यिनलाई विशेष प्रवृत्ति भन्न सकिन्छ । तर नेपाली साहित्यमा अन्तरविरोधहरू के रहेका छन् भने उठाउनु पर्ने कुरा एकातिर छन्, उठाइन्छ अर्कै । लगभग दलाली गर्ने, पाखण्ड गर्ने, भ्रम सिर्जना गर्ने, पुरस्कारहरू साटासाट, दलहरूको चाकरी गर्ने, ब्रह्मले देखेका हुए नलेख्ने इत्यादि प्रवृत्तिहरू मौलाउँदै गएको महसुस भएको छ ।
प्रवृत्तिगत रूपमा तपाईं नेपाली साहित्य र साँस्कृतिक आन्दोलनको वर्तमान स्थितिलाई कसरी विश्लेषण तथा विभाजन गर्न रुचाउनु हुन्छ ?
नेपाली साहित्य र सांस्कृतिक आन्दोलनमा विसङ्गतिहरू पस्दै गएको छ ।साहित्य र संस्कृतिको गरिमा भनेको यिनको विधागत सौन्दर्य, कलागत सौष्ठव, अभिव्यक्तिगत कुशलता, यथार्थिक समाज-चित्रण, प्रारूपण, प्रतिनिधिकरण, आदर्शीकरण आदिमा फुल्ने फल्ने हो । जनताप्रति जवाफदेहिता, राष्ट्रप्रति ममता, उद्देश्यपरकता, स्वाभिमानी लेखाइ इत्यादि कुराहरू पनि साहित्यका पेच किलाहरू हुन् । यस्तै गरी साहित्यका विभिन्न विधाहरू छन् र विधागत कलातत्त्वहरू छन्, यिनलाई यिनकै सौन्दर्यमा रम्ने अवसर पनि प्रदान गरिनुपर्ने हो । विधामिश्रण, विधाभञ्जन, प्रेत-लेखन, स्वेच्छाचारिता, बहुलवादिता, भाइरल बन्ने र सर्टकर्ट बाटो रोज्ने अमर्यादित आचरण इत्यादि कुराहरूले बजार लिंदै गएको र गम्भीर प्रकारको लेखन थला पर्दै गएको आजको स्थिति हो ।
वर्गीय पक्षघरताका नाउँमा आफ्नो मान्छेको पक्षपोषण, इमान्दारहरूप्रति उपेक्षा, प्रकाशक र बिक्रीबितरकहरूको दादागिरी, दलीय स्रष्टाहरूको चुरीफुरी, विनादलीयहरूको निरपेक्ष स्वतन्त्र लेखनको राग, शृङ्गारवादी लेखनको बजार भाउ, ग्रुपिजम र दाउपेच इत्यादि रहेको साहित्यिक परिवेश छ ।
यसै गरी वर्गीय पक्षघरताका नाउँमा आफ्नो मान्छेको पक्षपोषण, इमान्दारहरूप्रति उपेक्षा, प्रकाशक र बिक्रीबितरकहरूको दादागिरी, दलीय स्रष्टाहरूको चुरीफुरी, विनादलीयहरूको निरपेक्ष स्वतन्त्र लेखनको राग, शृङ्गारवादी लेखनको बजार भाउ, ग्रुपिजम र दाउपेच इत्यादि रहेको साहित्यिक परिवेश छ । सांस्कृतिक आन्दोलनको नाममा सांस्कृतिक कार्यक्रमहरू गर्ने, नाचगानलाई नै संस्कृति सम्झने, संस्कृति जीवन मूल्यसँग जोडिएको हुन्छ भन्ने कुरालाई भन्दा लोकगीत, रीतिरिवाज, चाडपर्व र केही कर्मकाण्डहरूलाई नै संस्कृति सम्झिएर सांस्कृतिक अभियान चाल्ने गरेको देखिन्छ । यस स्थितिमा सही आन्दोलनका निम्ति गम्भीर चिन्तन मननको जरूरी छ ।
नेपाली कला–साहित्यको फाँटमा, अनि अझ विशेष गरेर प्रगतिशील कलासाहित्यको फाँटमा विद्यमान वैचारिक समस्याहरू के के हुन् ?
नेपाली कला - साहित्यको फाँटमा माथि वर्णन गरिएका समस्याहरू बढ्दै गएको देखिन्छ । विशेष गरेर प्रगतिशील साहित्य फाँटमा वैचारिक र कलागत समस्याहरू दिनदिनै बढिरहेको देखिन्छ । पहिलो त समाजवादी - यथार्थवादी साहित्यिक धारालाई 'प्रगतिवादी र प्रगतिशील' भन्ने नाम दिइएको छ र यसलाई ट्रेडमार्क जस्तो मात्र बनाइएको छ । यस धाराका गहन विशेषताहरूलाई वास्ता गरिएको छैन । भित्री सारलाई भन्दा रूपलाई महत्त्व दिने गरिएको पाइन्छ । समाजवादी यथार्थवादी सिर्जना उद्देश्यमूलक हुन्छ, यसले वर्गीय पक्षधरता अप्नाउँछ, समाजको यथार्थ चित्रण गर्छ तर यथार्थको फोटोकपी नभएर जीवन्त चित्रण गर्छ, घटना र पात्रहरूको प्रतिनिधिकरण प्रारूपीकरण, नवचेतनाको सम्प्रेषण र त्यसको आदर्शीकरण, नवचेतनाले युक्त नायक, समाजको रूपान्तरणका लागि सघर्ष, रुढिचिन्तनको विरोध, जातभात छुवाछूत र वर्णभेदको विरुद्ध कलम चलाउँछ भन्ने कुरा नै हराएको छ ।
वर्तमान भूमण्डलीकृत एवं उत्तरआधुनिकतावादी युगमा पुराना विचारहरूले पनि नयाँ रूप र शैली ग्रहण गर्दै आइरहेको देखिन्छ । यस सन्दर्भमा नेपाली प्रगतिवादी साहित्यको क्षेत्रलाई सही दिशामा अघि बढाउनका लागि गम्भीर ढङ्गले छलफल र वैचारिक बहस गरिनुपर्ने मुद्दाहरू के के देख्नुहुन्छ ?
वर्तमान भूमण्डलीकृत एवं उत्तरआधुनिकतावादी युग भन्नु भएको छ । यसमा के छ भने उत्तरआधुनिकतावाद भनेको पूँजीवाद एकाधिकार पूँजीवादमा परिवर्तन भइसकको सङ्कटग्रस्त युगको एउटा साहित्यिक-साँस्कृतिक प्रवृत्ति हो। यो मार्क्सवादजस्ता 'महाआख्यान' विरोधी एउटा र एउटा आन्दोलन पनि हो। यसले केही वाद प्रवृत्ति र धारणालाई समेटेको छ । जस्तै रोला बार्थको लेखकको मृत्युको धारणा, ज्याक डेरिडाको विनिर्माणवाद, रोलाबार्थकै उत्तरसंरचनावाद, नारीवादी लेखन, नवमार्क्सवाद, उत्तर औपनिवेशिक समालोचना आदि । त्यसकारण यो एउटा चर्चित वादको रूपमा नेपालमा पनि देखापरेको हो। यसले नै उत्तरआधुनिकतावादी युगको अवधारणा भित्र्याएको हो । यो आधुनिकता विरोधी, विज्ञान विरोधी, विचारका केन्द्रहरू विरोधी, सभ्यता विरोधी एउटा अराजक अभियान हो । जबकि प्रगतिवादी साहित्य भनेको समाज, सभ्यता, आधुनिकता, विज्ञानलाई स्वीकार्ने द्वन्द्वात्मक भौतिकवादी चिन्तनमा आधारित मानव जातिको सर्वोत्कृष्ट सुन्दर समाजको परिकल्पना भएको मार्क्सवादलाई अङ्गीकार गर्ने जीवनदर्शन भएको साहित्य सिद्धान्त हो। यो आजको युग आधुनिक युग नै हो । पूँजीवाद सङ्कटग्रस्त अवस्थामा रहेको, समाजवाद रक्षात्मक अवस्थाबाट गुज्रिरहेको, विज्ञान र प्रविधिले विश्वलाई एउटा गाउँजस्तो तुल्याइरहेको, बहुराष्ट्रिय कम्पनीले संसार लुटिरहेको तर मरणासन्न अवस्थामा रहेको साम्राज्यवाद विरोधी सर्वहारा क्रान्तिको युग हो यो । सङ्कटग्रस्त पूँजीवादको आर्थिक र साँस्कृतिक भूमण्डलीकरणका विरुद्धको सर्वहारा वर्गको सघन सङ्घर्षको समय भएकाले नेपाली प्रगतिवादी साहित्यले यिनै मुद्दाहरूमा बहस उठाउनु पर्दछ ।
नेपाली साहित्यको फाँटमा अवसरवादको उपस्थितिलाई कसरी विश्लेषण गर्नुहुन्छ ? त्यसका विरुद्ध लड्ने र बहसलाई अगाडि बढाउने साहित्यका प्रवृत्तिहरू के के हुन सक्छन् ?
आफ्नो चिन्तन र आदर्शबाट विचलित भएपछि अवसरवाद जन्मिने हो। अवसारवादको कुनै सिद्धान्त हुँदैन, आदर्श हुँदैन, नैतिकता हुँदैन र यो मानवीय पनि हुँदैन । यसलाई त दुत्कार्नु पर्दछ । यसलाई त जरैदेखि निमोठ्नु पर्दछ । यसका लागि सिद्धान्तनिष्ठ, नैतिक धरातलमा उठेको, उन्नत मूल्यबोध र वैज्ञानिक दृष्टिसहितको कठोर आन्दोलनको जरूरत पर्दछ ।
तपाईंको विचारमा साहित्यको लेखनशैली र शिल्पकला कस्तो हुनुपर्छ ? आम मान्छेले बुझ्ने शैलीमा लेख्ने कुरालाई कत्तिको जोड दिइनु जरुरी छ ? कतिपयले चाहिँ त्यसरी लेख्दा आफ्नोपन र मौलिकता रहँदैन भन्ने मान्यता पनि अघि सार्ने गरेको पाइन्छ । यो कत्तिको ठीक हो ?
लेखन शैली भनेको हरेक स्रष्टाको आफ्नो अभिव्यक्तिगत कौशलको कुरो हो । सबैको एउटै शैली हुन सक्ने कुरा भएन। अर्को प्रत्येकको भाषा ज्ञान र अभिव्यक्ति क्षमता पनि फरक फरक हुन्छ । कसैले कुनै कुरा सरल ढङ्ले भन्न सक्छन्, कसैले सक्दैनन्। अर्को विषयवस्तुको ज्ञानले पनि फरक पार्छ । उद्देश्यले पनि फरक पार्छ । किन लेख्ने? कसको लागि लेख्ने भन्ने कुराले पनि लेखन कलालाई प्रभावित पार्छ ।अर्को लेख्ने अभ्यास र मनका कुरा सहज रूपमा भन्ने प्रवृत्तिले पनि लेखनमा असर पार्छ । तर सामान्य रूपमा भन्दा सरल ढङ्गले, सबैसे बुझ्ने गरी, साहित्यका कलात्मक तत्त्वहरू: विम्ब, प्रतीक, अलङ्कार, रस, लय, छन्द, अनुप्रास, विचलित भाषा एवं अभिरा, लक्षणा र व्यञ्जनाको सहारा लिएर र साहित्यका विधाहरू र तिनका विधागत सौन्दर्यको ज्ञानसमेत आर्जन गरेर मौलिक लेखन गर्नु नै सुन्दर लेखनको विधि हुन सक्छ ।
नेपालका प्रगतिवादी साहित्यलेखन जनताले सजिलै बुझ्ने र ग्रहण गर्ने खालको भन्दा पनि बढीजसो शास्त्रीय नारावादी, क्लिष्ट र दुरुह हुने गरेको टिप्पणी पनि बेलाबेलामा सुन्ने गरिन्छ । तपाईंलाई कस्तो लाग्छ ?
नेपालको प्रगतिवादी साहित्य फाँटको लेखन त्यति कमजोर छैन । श्यामप्रसाद, युद्धप्रसाद मिश्र, हृदयचन्द्र सिंह प्रधान, भूपी शेरचन, केबलपुरे किसान, पारिजात, डिपी अधिकारी, मोदनाथ प्रश्रित, खगेन्द्र सङ्ग्रौला, कृष्णसेन इच्छुक, आनन्देव भट्ट, गोविन्द भट्ट आदिका लेखन कहाँ क्लिष्ट र दुरूह छन् र ! गोपाल प्रसाद रिमाल, गोविन्दप्रसाद लोहनी आहुति आदि स्रष्टाहरू कति सुन्दर साहित्य सिर्जना गर्दछन् । आज हामीले उहाँहरूबाट सिक्नु पर्दछ । हो, हिजोको अवस्थामा प्रगतिवादी लेखनमा नाराहरू पनि आए । त्यो जरुरी पनि थियो । नेपाली समाज मध्ययुगीन समाज र सँस्कृति बोकेर आएको अशिक्षित समाज पनि हो । आम जनसमूहमा उच्च कला सौन्दर्य भएको कुराले भन्दा प्रचारात्मक कुराले महत्त्व राख्थ्यो ।' 'कोही त भने जहाजमा हरर...' भन्ने गीतले कतिको मन छोएको थियो । 'अब ड्याङ ड्याङ्ती हान्नुपर्छ' 'फटाहालाई मास्नु पर्छ' भन्ने नारा जस्ता गीत र कविता र 'पचास रुपैयाँको तमसुक' जस्ता, नाटकहरूको जरूरत थियो । तर आज समय फेरिएको छ, समाजको रुपान्तरणका निम्ति मार्मिक भावबोध भएका, गहन विचार सम्प्रेषण गर्ने खालका ललित सिर्जनाको जरूरत छ ।
स्रष्टाहरू नै नेताहरूकहाँ पुगेर आफूलाई "प्राज्ञ" बनाइ दिनु पर्यो भनेर विन्तिपत्र हाल्न थालेपछि र आफूभन्दा योग्य र योगदान भएको व्यक्ति हुँदा हुँदै आफैंले राज्यको अति संवेदनशील र जिम्मेवार पद ओगट्न "स्रष्टाहरू" नै अघि सर्न थालेपछि साहित्य सिर्जनाको गुणस्तर मात्र होइन, संस्थाप्रतिको विश्वसनीयता पनि स्वतः हराउनेनै भयो ।
प्रगतिशील साहित्यको फाँटभित्र पनि सामाजिक यथार्थलाई इमान्दारितापूर्वक उद्घाटित गर्नेभन्दा स्तुतिसाहित्यका प्रवृत्तिगत छापहरू बढ्न थालेको गुनासो व्यापक रूपमा सुनिँदै आइएको छ । यसमा कत्तिको सत्यता छ ? यसलाई चिर्न के गर्नु जरुरी छ ?
आज जताततै मूल्यहिनता छाएको छ । अवसरवादले घर गरेको छ । त्यसो भएकाले प्रगतिशील साहित्य लेखनले गति लिन सकेको छैन । यो ट्रेडमार्कको रूपमा मात्र रहेको पाइन्छ । हिजो 'राजाको नाम लिएपछि पञ्चखत माफ'को जुन प्रवृत्ति थियो, आज पनि ठूला नेताको आडमा जे गरे पनि हुने प्रवृत्ति कायमै छ । स्रष्टाहरू नै नेताहरूकहाँ पुगेर आफूलाई "प्राज्ञ" बनाइ दिनु पर्यो भनेर विन्तिपत्र हाल्न थालेपछि र आफूभन्दा योग्य र योगदान भएको व्यक्ति हुँदा हुँदै आफैंले राज्यको अति संवेदनशील र जिम्मेवार पद ओगट्न "स्रष्टाहरू" नै अघि सर्न थालेपछि साहित्य सिर्जनाको गुणस्तर मात्र होइन, संस्थाप्रतिको विश्वसनीयता पनि स्वतः हराउनेनै भयो । हाम्रो दुर्भाग्य भन्नुपर्छ हामीले यस्तो स्थिति भोगिरहेका छौं ।
कुनैबेला प्रगतिशील साहित्यको शिविरमा व्यापक रूपमा वैचारिक अन्तरक्रिया, छलफल र बहसहरू हुने गरेका थिए । तर पछिल्लो कालखण्डमा आएर त्यसकिसिमका क्रियाकलापहरू हुन छाडेका छन् । यसरी वैचारिक अन्तरक्रियाको दरिद्रता रहनुको मूल कारण के हुन सक्छन् ? के साँच्चै नै आजको पुस्तामा प्रगतिशील साहित्यप्रतिको रुझान घट्दै र मर्दै गइरहेको हो ?
एकदमै मनछुने प्रश्न गर्नुभयो- आजको पुस्तामा प्रगतिशील साहित्यप्रति चाख र चासो घटेको हो कि भन्ने ! यो घट्ने नै भयो, किनभने मूल स्रोतमै अवसरवादी प्रवृत्ति हावी भएपछि र कला साहित्यलाई राज्यले नै अनुत्पादक क्षेत्रजस्तो सम्झिएपछि र नयाँ पुस्ता बेरोजगार भएर लाखौंको सङ्ख्यामा विदेशिन बाध्य भएपछि बाँकी रहेका युवायुवतीको मन कमाइधमाइतिर जानु स्वभाविकै जस्तो भयो । नेतृत्व वर्ग नै कमिशन र भ्रष्टचारको चास्नीमा डुब्दै गएको परिवेशमा एउटा निरीह लेखक कसरी आदर्शमा टिकिरहन सक्छ र ! उसले चाहना गरेर मात्र पनि हुने कुरा भएन। पुरै कुवा धमिलिएको अवस्थामा त्यहाँबाट निकालेको एकबाल्टी पानीमात्र कसरी सफा होस् र ! अर्को कुरो प्रगतिशीलहरूको बीचमा आपसी सद्भाव रहुन्जेल भेटघाट, छलफल हुने गर्थ्यो । अहिले मन विभाजित छ, कुण्ठित छ, पारस्परिक अविश्वास छ, उछिनपाछिन छ, निषेधको राजनीति छ, अनि कसरी वैचारिक छलफल होस् ! तर हामीले एक दुई जनाको बीचमा मात्र भए पनि पुरानो स्कुलिङलाई बचाएर भने राख्नुपर्छ ।
मूल स्रोतमै अवसरवादी प्रवृत्ति हावी भएपछि र कला साहित्यलाई राज्यले नै अनुत्पादक क्षेत्रजस्तो सम्झिएपछि र नयाँ पुस्ता बेरोजगार भएर लाखौंको सङ्ख्यामा विदेशिन बाध्य भएपछि बाँकी रहेका युवायुवतीको मन कमाइधमाइतिर जानु स्वभाविकै जस्तो भयो । नेतृत्व वर्ग नै कमिशन र भ्रष्टचारको चास्नीमा डुब्दै गएको परिवेशमा एउटा निरीह लेखक कसरी आदर्शमा टिकिरहन सक्छ र !
साहित्य राजनीतिबाट वा राजनीति साहित्यबाट निर्देशित हुनुपर्छ भन्ने दुई पृथक धारणा नेपालको साहित्यिक फाँटमा लामो समयदेखि बहसको एउटा मूल विषय बन्ने गरेको छ । यस मेसोमा राजनीति र साहित्यको अस्तित्व एवं अन्तरसम्बन्धलाई तपाईं कसरी विश्लेषण गर्न रुचाउनुहुन्छ ?
राजनीति र साहित्यको सम्बन्ध र स्वतन्त्रताबारे उठिरहने प्रश्न हो यो । राजनीति भनेको सबै नीतिको माउ नीति हो । यसले कन्टेन्ट दिन्छ, दृष्टिकोण दिन्छ, दिशा दिन्छ । तर राजनीति आफैंमा भने नभत्केको हुनु पर्यो। यस अर्थमा साहित्य र कला राजनीतिबाटै निर्देशित हुन्छ । तर साहित्यको सापेक्षिक स्वतन्त्र संसार पनि छ । साहित्यले जुन कुरा गर्न सक्छ, त्यो राजनीतिले गर्न सक्तैन । साहित्यको कन्टेन्टलाई सुमधुर बनाउने, सुबोध्य बनाउने र मनोहर बनाउने काम साहित्यको ललीत पक्षले पूरा गर्छ। कन्टेन्ट मात्रै दिनु चाहिँ पर्चाबाजी गर्नु हो । यो भने राजनीतिले गर्छ ।
कतिपय प्रगतिवादी साहित्य–खेमामा साहित्य राजनीतिबाटै निर्देशित हुनुपर्छ भन्ने एउटा जब्बर खालको विचार पनि विद्यमान रहेको पाइन्छ । के तपाईं यो कुरामा सहमत हुनुहुन्छ ?
राजनीतिबाट हामी कोही पनि अछूतो छैनौं । राजनीति विश्व दृष्टिकोणसँग सम्बन्धित हुन्छ । भनिन्छ नि राजनीति गर्दिनँ भन्नेले पनि राजनीति गरिरहेको हुन्छ । राजनीतिले लेखनको दिशा निर्धारण गर्छ, एउटा क्यानभास पनि दिन्छ । तर नभत्किएको राजनीतिले मात्र यस्तो गर्न सक्छ ।
साहित्य वा राजनीतिलाई निर्देशित गर्ने सवालमा राजनीतिलाई नै प्रधान मान्ने हो भने त्यो राजनीति कस्तो हुनुपर्छ ? कदाचित त्यो कम्युनिष्ट राजनीति हो भने नेपालमा विभिन्न धारका कम्युनिष्ट राजनीति विद्यमान रहेको सन्दर्भमा त्यसलाई कसरी ग्रहण गरिनुपर्छ भन्ने ठान्नुहुन्छ ?
नेपालमा वामपन्थी दलहरूले 'कम्युनिष्ट पार्टी' को ट्रेडमार्क बोकेर रमिता गरिरहेका छन्, कम्युनिष्ट आदर्शमा छैनन् । सिद्धान्तनिष्ठ पनि छैनन्। साहित्य-कलाप्रतिको उनीहरूको दृष्टिकोण पनि साफ छैन। त्यसो भएकाले दलैपिच्छेका साहित्यकार जन्मिएका छन् । साहित्यकारको काम विश्व दृष्टिकोणमा स्पष्ट भएर लिखत सिर्जना गर्नु हो, दलीय प्रचार सामग्री बोकेर हिँड्नु होइन । साहित्यले त जीवन र जगतका यथार्थहरूको जीवन्त चित्रण गर्न सक्नुपर्छ, समाजलाई उन्नत मूल्यहरू प्रदान गरेर दिशानिर्देश गर्न सक्नुपर्दछ ।
साहित्यले यथार्थवादको प्रतिनिधित्व गर्नुपर्छ भनिन्छ । तपाईंको विचारमा वर्तमान नेपालमा प्रगतिवादी साहित्यको मूल स्रोत र विषयवस्तु के हुनुपर्छ भन्ने लाग्छ ?
प्रगतिवादी साहित्यको मूलस्रोत भनेको समाजको आर्थिक - भौतिक जीवन हो । यो त्यसैबाट उत्पन्न हुन्छ र त्यसैमा आधारित हुन्छ। आर्थिक भौतिक धरातलमा परिवर्तन हुँदा धेरथोर साहित्य र कलामा पनि परिवर्तन हुन्छ । यसमा मानव चेतनाको पनि भूमिका हुन्छ । एउटा आर्थिक - भौतिक अवस्थामा, यो अवस्था र मानव चेतनाको बीचको सङ्घर्षमा मानिस कति सचेत रहन्छ र कति सङ्घर्ष गर्छ भन्ने कुरा पनि हेर्नु पर्दछ । जस्तै नेपालको राजनीतिमा परिवर्तन त भयो, तर साहित्य कला क्षेत्रमा परिवर्तन भएन । यसमा सष्टाहरूको भूमिका अर्थात मानव चेतनाको भूमिका वा प्रयत्न कति रह्यो भन्ने महत्त्वपूर्ण प्रश्न उभिएको छ ।
साहित्यले राजनीतिबाहेक जीवनका विभिन्न पाटाहरू तथा आमजनताका विविध रुचि र समस्याहरूलाई सम्बोधन गर्नु जरुरी हुन्छ कि हुँदैन ?
साहित्यले राजनीतिलाई मात्र सम्बोधन गर्ने नभई जीवनका विभिन्न पाटाहरू - आम जनताका विविध रुचि, भोगाइ, मूल्यगत जीवन, पेचिंदा समस्याहरू आदि सबैलाई सम्बोधन गर्नुपर्छ। भनिन्छ नि सामाजिक क्रान्ति र समाजको पुनर्निमाणमा साहित्य र कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु पर्दछ । किनभने साहित्य र कला परिवेशबाट प्रभावित हुनेमात्र नभई यसले परिवेशलाई पनि प्रभावित पार्दछ। मध्यकालीन आर्थिक भौतिक चरित्र भएको शोषणयुक्त समाजमा प्रगतिवादी चिन्तकै एउटा रूप साहित्य र कला पैदा भयो र त्यसले गणतन्त्र प्राप्तिसम्मको सङ्घर्षलाई प्रभावित पार्यो । हामीले अनि गणतन्त्रको समर्थनमा कविताहरू लेख्यौं । पुरानो सत्ताको विरुद्ध कला र साहित्यको सिर्जना गर्यौं ।
साहित्य र कला परिवेशबाट प्रभावित हुनेमात्र नभई यसले परिवेशलाई पनि प्रभावित पार्दछ।
नेपालमा आममानिसमाझ बलियो वामपन्थी रुझान रहँदै आएको देखिन्छ । यसका लागि कला–साहित्य–सँस्कृतिको भूमिकालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
नेपालका आम मानिसबीच वामपन्थी रुझान त छ तर अध्ययन-अनुसन्धानको कमी भएर हो वा मध्ययुगीन सामन्ति संस्कृतिको प्रभावले हो आलोचनात्मक चेत त्यति दरिलो देखिँदैन । सत्य-असत्य छुट्याउने, न्याय-अन्याय छुट्याउने, आफ्ना चिन्तन र आदर्शमा अडिने त्यति दरिलो अडान पनि देखिँदैन । अरूका रणनीतिक दाउपेचलाई बुझेर कदम चाल्ने चनाखोपन पनि देखिँदैन । जसले लतार्दै ल्याएको छ, त्यसकै पोल्टामा खाजा हाल्दिने दबिएको मानसिकता र पहाडी खस-आर्यहरूमा जेलाई पनि स्वीकार गरिदिने स्वभाव भएका कारणले प्रगतिशील कला साहित्यले भने जस्तो अडान लिन नसक्ने जस्तो देखिन्छ । त्यसो भएकाले प्रगतिशील कला साहित्यले आफूलाई साइजमा ल्याउन धेरै पापड बेल्नुपर्ने देखिन्छ ।
नेपाली प्रगतिवादी साहित्यको फाँटमा लेखकीय स्वतन्त्रता र प्रतिबद्धतको कुरा लामो समयदेखि चर्को बहसको मुद्दा बन्ने गरेको छ । नेपालका थुप्रै चर्चित साहित्यकारहरू पार्टीमा खासै आबद्ध नभइकनै पनि प्रगतिवादी रचनाकर्ममा लाग्नुभएको पाइन्छ । यसै सन्दर्भमा एक पटक प्रगतिवादी साहित्यकार पारिजातले ‘पार्टीप्रति प्रतिबद्ध नभएर पनि प्रगतिवादी लेखन हुन सक्छ’ भन्नुभएको पनि पाइन्छ । यसबारे तपाईंको धारणा के हो ?
प्रतिबद्धता र स्वतन्त्रता छुट्टाछुट्टै कुरा होइनन् । प्रतिबद्धता भनेको मेरो विचारमा जवाफदेहीता हो। किन लेख्ने ? कसको लागि लेख्ने ? भन्ने प्रश्नको उत्तर खोतल्दा जवाफदेहितासम्म पुगिन्छ र पुग्नुपर्दछ। प्रगतिशील साहित्य भनेको उद्देश्यपरक लेखन हो । यसमा वर्गीय पक्षधरताको कुरा आउँछ । श्रमजीवी वर्ग, समाजवाद र यथार्थ चित्रण र वस्तुपरक लेखनप्रति प्रतिबद्ध नभई प्रगतिवादी लेखन हुन सक्तैन।
प्रतिबद्धता र स्वतन्त्रता छुट्टाछुट्टै कुरा होइनन् । प्रतिबद्धता भनेको मेरो विचारमा जवाफदेहीता हो। किन लेख्ने ? कसको लागि लेख्ने ? भन्ने प्रश्नको उत्तर खोतल्दा जवाफदेहितासम्म पुगिन्छ र पुग्नुपर्दछ।
अब आयो स्वतन्त्रताको कुरो, एकछिन मनन गरौं त केबाट स्वतन्त्र हुने हो ? जिम्मेवारीबाट स्वतन्त्र हुने कुरा त आएन । जुन विशेषताहरू भएको साहित्य लेखनबारे तपाईँ संकल्परत हुनुहुन्छ, त्यो त गर्नुपर्यो नि, त्यसमा त आउनुपर्यो नि ! भ्रष्टचारविरोधी, अन्यायविरोधी साहित्य लेखनमा लाग्नु सजिलो काम होइन। त्यहाँ सुको कमाइ पनि हुँदैन । अनि तपाईँको मन पैसा, पद र सुविधा तिर ढल्किन्छ भने के त्यसलाई स्वतन्त्रता भन्ने ! स्वतन्त्रता भनेको त ठूलो जीवनमूल्य हो । यो आफ्नो आदर्शमा ढलपल भएर आउँदैन । अनि आदर्शमा टिकिरहनु भनेको प्रतिवद्धता कै कुरा हो । तर मलाई थाहा छ तपाईको प्रश्नको आशय पार्टीका आदेश मान्ने कि एउटा स्रष्टाले आफ्नो बुझाइ अनुसार गर्ने भन्ने हो भने म एङ्गेल्सको एउटा उदाहरण दिन चाहन्छु उहाँले भन्नुभएको थियो, ''सिद्धान्तको आरोपणले कलाकृति निस्सार बन्छ । यो स्व:स्फूर्त हुनुपर्छ। " हुन पनि हो सिर्जनामा सिद्धान्तको बलपूर्वक समावेश भयो भने त्यो प्रचारवादी साहित्य हुन्छ तर श्रेष्ठ साहित्यमा सिद्धान्त आफैं मुखरित हुन्छ । भनिन्छ श्रेष्ठ साहित्य सत्यको सन्निकट हुन्छ र युगीन सिद्धान्तहरू पनि सत्यको सन्निकट हुन्छन्। यी कुराहरूको आधारमा प्रतिबद्धता र स्वतन्त्रता एक आपसका परिपुरक कुराहरू हुन् र यिनको द्वन्द्वात्मक सम्बन्ध रहेको हुन्छ भन्ने बुझ्नु पर्दछ ।
प्रगतिशील लेखकहरूको साझा चौतारी प्रगतिशील लेखक सङ्घका पछिल्ला गतिविधिहरूलाई तपाईं कसरी नियालिरहनुभएको छ ? के यो संस्था पनि नेपालमा चिराचिरामा विभाजित वामपन्थी खेमाहरूको रुझान र अन्तरसङ्घर्षका कारण ‘हाँसको चाल न कुखुराको चाल’ को अवस्थामा पुगेको हो ?
प्रगतिशील लेखक सङ्घबारे मेरो गहिरो अध्ययन छैन । तर सामान्य रूपमा मैले देखेको के भने त्यहाँ दलीय छाया पसेर सङ्घलाई एकदलीय बनाउने प्रयत्न रहेको छ । त्यहाँ समाजवादी यथार्थवादी साहित्य लेखनको भन्दा दलीय तानातानकै भाउ छ कि जस्तो लाग्छ । तर यति हुँदाहुँदै पनि प्रलेसले केही मुखपत्रहरू चाहिँ स्तरीय निकालेको देखिन्छ । अझै प्रलेस विभाजित मनस्थितिबाट मुक्त हुने हो भने केही राम्रा कार्यहरू गर्न सक्थ्यो होला भन्ने लागेको छ !
कतिपय स्रष्टाहरूको चिन्ता– यतिखेर कमसल साहित्यहरूले बजार कब्जा गरेका छन्, वैचारिक रूपमा तिनका सामु प्रगतिवादी साहित्य निरिह एवं कमजोर देखापरेका छन्, प्रतिरक्षात्मक अवस्थामा खडा छन् । यसबारे तपाईंको धारणा के हो ? यसलाई चिर्ने उपाय के हुन सक्छ ?
आहा! यो आजको ज्वलन्त प्रश्न गर्नुभयो । कतिपय ठाउँमा म प्रगतिवादी हुँ भनेर भन्न नसकिने अवस्था देखिँदै छ । म प्रगतिवादी लेखक हुँ भनेर डिफेन्ड गर्न नसकिने भएको छ । पार्टीहरूले नै वर्गीयपक्षघरता छोडिसकेको, कमिशनलाई जायज मानिरहेको र पैसावाललाई पार्टीमा प्रवेश दिएर पैसा तानिरहेको, समर्पित मानिसहरूलाई उपेक्षा गरिरहेको, आफ्ना नातागोतालाई पोसिरहेको, अपारदर्शी, अप्रजातान्त्रिक अमानवीय चलखेल रहेको आजको 'कम्युनिष्ट' परिवेशमा प्रगतिवादी साहित्यकार कलाकार हुँ भनेर अडिन धेरै अप्ठेरो भएको छ। हालत कस्तो छ भने एउटा वैचारिक पत्रिका (मूल्याङ्कनलाई समेत देशको वामपन्थी आन्दोलनले अड्याउन सकेन । यो देशका प्रगतिशील कलाकारहरू अझै सडकमै छन्, विचारा भएर रहेका छन् । पार्टीहरूले टिकट पैसावाललाई मात्र दिन्छन् । मोहनचन्द्र जस्ताहरू निरीह बनेका छन् । प्रज्ञाप्रतिष्ठान लगायतका प्राज्ञिक क्षेत्रपनि कार्यकर्ता भर्नास्थल बनाएर हास्यास्पद बनेका छन् । यस्तो माहोलमा नक्कली सिक्काले सक्कली सिक्कालाई बजारबाट अपदस्थ गर्छ भनेजस्तै यहाँ भएको छ । यसरी प्रगतिशीलहरूले प्रतिरक्षात्मक बाटोमा हिँड्नु परेको छ।
नेपालका साहित्यिक कृतिको विक्रीको मापन सामग्रीको गुणस्तरभन्दा बेसी बजारमा गरिन सक्ने होहल्ला–प्रचारबाजी भएको देखिन्छ । अहिले ठूलो होहल्लाका साथ बजारमा बिकिरहेका वा बिक्ने गरेका समकालीन साहित्यहरू कत्तिको कालजयी होलान् ?
बजार उत्पादकको हुँदैन, उपभोक्ताको पक्षमा पनि हुँदैन, बजार सधैं नाफाखोरको पक्षमा हुन्छ, दलालहरूको पक्षमा हुन्छ । त्यसो भएकोले बजार गुणस्तरको होइन, गुणहीन होहल्लाको हुन्छ ।
अहिले साहित्यलाई कुनै मालवस्तुजस्तो गरेर चमकधमकवाला विज्ञापनका आडमा बढीभन्दा बढी बिक्री गर्ने होडबाजी चलेको देखिन्छ । साहित्यिक कृतिहरूलाई यसरी बजारु सामान जस्तै बेच्दा गुणस्तको हिसाबले कमसल कृतिको पनि बढाइचढाइ हुने तथा त्यसले कालान्तरमा समग्र साहित्यप्रति नै पाठकहरूमा वितृष्णा पैदा हुने खतरा रहँदैन ?
माथि भनिएजस्तै बजारको अवस्था हुनाले बजारमा नक्कली वस्तुकै बिगबिगी हुन्छ। बजारको चमकधमकले कतिपय राम्रै स्रष्टाहरूलाई पनि तान्छ । साहित्य-कलाको महत्वभन्दा बजारको चमक धमकलाई, कमाइ धमाइको पक्षलाई महत्व दिने प्रवृत्ति निर्माण भएको आजको परिवेशमा साहित्यिक मूल्य भएका पुस्तक-पत्रपत्रिका भन्दा हल्का खालका सामग्री कै बोलवाला हुन्छ होला । बजारको सर्भे त गरिएको छैन, कस्ता खालका सामग्रीहरूले पुस्तक बजार ढाकिएका छन् भनेर । तर प्रगतिशील पुस्तक र पत्रपत्रिकाहरूको स्थिति भने दयनीय नै हुनुपर्छ। किनभने त्यसका पाठकहरू विभाजित मनस्थितिबाट गुज्रिरहेका छन् । आआफ्नो समूहको मात्र खोज्ने र त्यसमा पनि पठन-संस्कृति ठ्याप्पै जस्तो भइसकेको आजको अवस्थामा प्रगतिशील कृतिहरू भन्दा अन्य प्रकारका सस्ता साहित्यको नै बजार बनेको होला भन्ने ठानेको छु ।
छोटो प्रश्नोत्तर
नेपालभित्र र विश्वस्तरमा मनपर्ने साहित्यकार ?
नेपालमा पारिजात। विश्वमा शरतचन्द्र चट्टोपाध्याय
अति मूल्याङ्कन गरिएका स्वदेशी साहित्यकार ?
भानुभक्त ।
मनपर्ने साहित्यिक कृति– स्वदेशी, विदेशी ?
शरतको 'पथ के दाबेदार'
पढेर असाध्यै मनछोएको तथा प्रभावित पारेको पुस्तक ?
आन्तोन चेखवको 'चेरीको बगैंचा' ।
सबैले पढ्नै पर्ने पाँच कृतिहरू ?
ऋग्वेद, कार्लमार्क्सको 'पूँजी', मोर्गनको 'प्राचीन समाज', एङ्गेल्सको 'डुहरिङ मत खण्डन' र प्लेखानोवको 'इतिहासप्रति एक- सत्तावादी दृष्टि' ।
अहिले पढिरहेको पुस्तकहरू ?
इमानसिंह चेमजोङको 'किराँत इतिहास'
प्रगतिवादी फाँटको पढ्नैपर्ने पाँच पुस्तकहरू ?
गोर्कीको 'आमा', राहुल सांकृत्यायनको 'भोल्गा से गङ्गा', भिक्टर आफ्नासयेभको 'दर्शनशास्त्रको प्रारम्भिक ज्ञान', 'सुरेन्द्र केसीको 'नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास' र मोदनाथ प्रश्रितको 'देवासुर सङ्ग्राम' ।
प्रगतिवादी फाँटबाहेकका पढ्नैपर्ने अन्य पाँच पुस्तकहरू ?
भवानी भिक्षुको 'आगत', लैनसिंह वाङदेलको 'मुलुक बाहिर', बाबुराम आचार्यको 'नेपालको संक्षिप्त वृत्तान्त', डोरबहादुर विष्टको 'फेटालिज्म एण्ड डिभलप्मेन्ट' जङ्गबहादुरको 'मुलुकी ऐन (१९१०)'
साहित्यको मनपर्ने विधा ?
साहित्यको सबैविद्या मन पर्छ ।
तपाईंको बुझाइमा साहित्यको सबैभन्दा प्रभावशाली विधा ?
पहिले काव्य, अहिले उपन्यास ।
पढ्न मन लागेको तर पढ्न नपाएको कुनै कृति ?
राहुल सांकृत्यायनको 'निबन्धावली' ।
मनपरेको धार्मिक साहित्य ? तिनलाई कसरी लिनुपर्छ ?
मन परेको 'धार्मिक साहित्य 'रामायण' । यसलाई काव्यको रूपमा लिनुपर्छ, इतिहासको रूपमा होइन ।
जीवन र जगतबारे तपाईंको धारणा ?
जगत सुन्दर छ, समाजले मानव जीवनलाई कुरूप बनाएको छ ।
तपाईंलाई मनपर्ने कुरा ?
इमान्दारी ।
घृणा लाग्ने कुरा ?
पाखण्ड ।
तपाईंको कमजोरी ?
सहज विश्वास र क्रोध ।
तपाईंको आदर्श वाक्य ?
मानव जीवन जाने श्रीखण्ड नजाने कोदालाको बिंड ।
प्रतिक्रिया